site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदी व्यवसायीको हत्याप्रति महासंघको आपत्ति, सुरक्षा माग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ ।

सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या भएकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै व्यावसायिक सुरक्षाको माग गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लहानस्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएको लुटेरा समूहले गोली हानी हत्या गरेको पाइएको महासंघले जनाएको छ । “यो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित मात्र बनाएको छैन, यसले सिंगो मुलुकको सुरक्षा व्यवस्था र व्यावसायिक सुरक्षाको विषयमा समेत गम्भीर प्रश्नचिह्न खडा भएको छ,” महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

व्यवसाय सञ्चालनका क्रममा लुटपाट तथा हत्या गरिनु अत्यन्तै निन्दनीय मात्र नभई मुलुकमा विद्यमान शान्ति–सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको पनि महासंघले जनाएको छ । यसले आम व्यवसायीलाई हतोत्साही, चिन्तित र दुखितसमेत तुल्याएको महासंघले जनाएको छ ।

“यस किसिमका घटना विगतमा पनि बारम्बार हुँदै आएका छन् । यस किसिमका आततायी क्रियाकलापको नियन्त्रण गरी आम व्यवसायीलाई निर्वाध रुपमा शान्ति–सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व हो,” प्रवक्ता मनोजकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसतर्फ हामी सरकार एवं सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछौँ ।”

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १३:५१
प्रतिक्रिया दिनुहोस्