
ललितपुर । शिक्षाका लागि साइकल यात्रा (पेडल फर एजुकेसन) स्लोगनका साथ गएको फागुन २८ गतेदेखि थालिएको देवेन्द्र बस्न्यातको साइकल यात्राको यो चरण समापन गरिएको छ ।
बिहीबार ललितपुरस्थित शताब्दीपुरुषको निवास स्थानमा प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले समाजसेवी साइकल यात्री बस्न्यातलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरे ।
सम्बोधनका क्रममा शताब्दीपुरुष जोशीले साहसिक साइकल यात्री बस्न्यातको प्रशंसा गर्दै उनले समाजसेवाका लागि सबैलाई जागृत बनाएको उल्लेख गरे । जोशीले भने, “भौगोलिक विविधता भएको हाम्रो मुलुकमा साइकल यात्रा चुनौतीपूर्ण हुनु स्वाभाविक हो । यद्यपि, सांस्कृतिक विविधताले भरिपूर्ण देशका विभिन्न क्षेत्रमा साइकल यात्रा गर्नु आफैँमा एक किसिमको नियात्रा हो । र, यो यात्राले समाजमा जागरणका साथै समाजसेवाको सन्देश पनि प्रवाह गरेको छ ।”
परोपकारी संस्था हेल्प नेपाल नेटवर्कद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले दोलखाको राजकुलेश्वर सामुदायिक विद्यालयको निर्माण तथा डडेलधुराको पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको साहसिक एकल साइकल यात्रा गर्ने बस्न्यातको चर्चा गरे ।
हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले यसपटकलाई परोपकारी साइकल यात्रा समापन भएको बताउँदै १२ सय किलोमिटरको साहसिक तथा एकल यात्रा गर्ने बस्न्यात पहिलो व्यक्ति भएको बताए । उनले राजकुलेश्वर विद्यायल तथा डडेलधुरा पुस्तकालयका लागि सहयोग गर्न चाहनेले सहयोग गर्न सक्ने उल्लेख गरे ।
कार्यक्रममा हेल्प नेपालका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र, संस्थाका सल्लाहकारहरू शंकर कोइराला, विजय राजभण्डारी, साइकल यात्री देवेन्द्र बस्न्यात र संस्थाकी सचिव लता घिमिरेले आफ्नो धारणा राखे ।