
काठमाडौं । नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ ।
मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ वर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन् । भर्खरै स्नातक सकेका महिलाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।
असारको १० गते फिनाले हुने बताइएको सौन्दर्य प्रतियोगिताका सहभागीले आकर्षक पुरस्कारसँगै कर्पोरेट क्षेत्रमा काम गर्न पाउने आयोजकले जनाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताले कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुमा लिडरसिपको समेत विकास हुने आयोजकको विश्वास छ । मिडियाकी अध्यक्ष अनुजा आचार्यले उक्त प्रतियोगिताले कुनै न कुनै पेशामा आबद्व भएका महिलाभित्र लुकेको क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्ने बताइन् । उनले सौन्दर्य प्रतियोगिता ग्यामर तथा फोटोसुट मात्र नभई आफ्नो भित्री प्रतिभा प्रस्फूटन गर्ने माध्यमसमेत रहेको बताइन् ।
आगामी वैशाख २० र २१ अडिसन राउण्डबाट शुरु हुने उक्त प्रतियोगिताबाट असार १० विजयी चुनिनेछन् । प्रतियोगिताको लागि इच्छुक एवम् योग्य १८ वर्षदेखि २८ वर्षसम्मका महिला समूहले मिस कर्पोरेट नेपाल’ को वेबसाइटमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।