site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नगेन्द्रराज शर्माको राष्ट्रिय अभिनन्दन

काठमाडौं । वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्माको ८४औँ जन्मोत्सवको अवसर पारेर उनलाई राष्ट्रिय अभिनन्दन गरिएको छ ।

आइतबार प्रज्ञा प्रतिष्ठानमा अभिनन्दन मूल समितिद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीले विगत ५० वर्षदेखि अभिव्यक्ति द्वैमासिक साहित्यिक पत्रिका प्रकाशन तथा सम्पादन गर्दै आएका शर्मालाई दोसल्ला ओढाई अभिनन्दनपत्र प्रदान गरे । जोशीले शर्मापत्नी कमला शर्मालाई पनि दोसल्ला ओढाई सम्मानित गरे ।

उक्त अवसरमा ४० भन्दा बढी साहित्यिक संघ संस्थाहरूले शर्मालाई अभिनन्दनपत्र अर्पण गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा मूल समितिबाट अभिनन्दित व्यक्तित्व नगेन्द्रराज शर्मामाथि केन्द्रित रहेर तयार पारिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो भने शर्माका समग्र रचनाहरु संकलित कृति ‘नगेन्द्रराज शर्मा : समग्र आख्यान’ सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा वाङ्मय शताब्दीपुरुष जोशीले शर्माको समग्र व्यक्तित्वको चर्चा गरे । जोशीले भने, “नेपाली साहित्यको उत्थानमा साहित्यिक पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको छ । अभिव्यक्तिका सारथि शर्मा ८४ वर्ष पुग्नुभएको छ । ८४ पुगेपछि मानिस पनि कालजयी हुन्छ । यो ईश्वरीय वरदान हो ।”

अभिनन्दित व्यक्तित्व शर्माले आफू साहित्यको सामान्य विद्यार्थी मात्र भएको बताए । उनले साथीहरू रोचक घिमिरे, भैरव अर्याल र भाइ जगदीश घिमिरेको बल र प्रेरणाले २०२७ सालमा अभिव्यक्ति दर्ता गरी प्रकाशनमा ल्याएको स्मरण गरे । आफ्नो मन्तव्यमा उनले अभिव्यक्तिको प्रकाशनको थालनीदेखि आजसम्मको अवस्था बयान गरे ।

नगेन्द्रराज शर्माले भने, “अक्षरसँग खेल्न मन पराउने मैले पाएको यो सम्मानको हकदार म मात्रै होइन, मेरा सबै साथी र साहित्यकारहरू पनि हुन् ।”

अभिनन्दन मूल आयोजक समितिका अध्यक्ष पवन आलोकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरु रमा शर्मा, विधान आचार्य, किशोर पहाडी, देविका तिमिल्सिना, श्रीओम रोदनलगायतले आफ्नो धारणा राखे ।

साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अभिनन्दित व्यक्तित्व शर्मामाथि पञ्चेबाजा धुनका बीच पुष्प अर्पण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  २१:३२
प्रतिक्रिया दिनुहोस्