1617526019.jpg)
काठमाडौं । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको आफ्नो दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गरेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभरमा अलआउट हुँदै मात्र ९० रन बनायो ।
सुदूरपश्चिमका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाइन् । यस्तै, डोली भट्टले १६ रन जोड्दा रेवती धामीले १२ रन बनाइन् ।
बलिङतर्फ एपीएफकी बिनु बुढाले ३ विकेट लिइन् । यस्तै, सीता रानामगर र सुमन विष्टले २/२ तथा रेखा रावल र सुष्मा श्रेष्ठले एक/एक विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
एपीएफका लागि ज्योति पाण्डेले ५९ रनको अर्शतकीय इनिङ्स खेलिन् । यस्तै, सरिता मगरले अविजित ३५ रन जोड्दा इन्दु वर्मा ४ रनमा अविजित रहिन् ।
बलिङतर्फ सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १/१ विकेट लिए ।
जितसँगै एपीएफले २ खेलबाट ४ अंक जोडेको छ । सुदूरपश्चिमको यो पहिलो हार हो ।