
मुक्तककार मुकुन्द पौडेलको नयाँ मुक्तकसंग्रह ‘मनशिला’ बजारमा आएको छ । सिद्धकाली अफसेट प्रेसले मुद्रण गरेको यो पुस्तक पौडेलको तेस्रो प्रकाशित कृति हो । यसअघि, उनका ‘मनसिन्धु’ मुक्तकसंग्रह र ‘मझधारमा’ कवितासंग्रह प्रकाशित भएका छन् । यो पुस्तकमा ३२८ वटा मुक्तक समावेश गरिएको छ ।
यो संग्रहमा मुक्तककार पौडेलले प्रेम, बिछोड, राजनीतिलगायत विभिन्न विषयमा केन्द्रित रहेर मुक्तक लेखेका छन् । अधिकांश मुक्तकहरु उनका निजी भोगाइहरुसँग सम्बन्धित छन् । यद्यपि, उनका व्यक्तिगत भोगाइमा पाठकले आफूलाई पनि सँगसँगै बगेको महसुस गर्नेछन् । मुक्तकमा आफ्ना जीवन र भोगाइलाई प्रस्तुत गर्नुका साथै मुक्तककारले राजनीति र सामाजिक विकृतिको खुलेर आलोचना गरेका छन् ।
६० को दशकमा यात्रा गरिरहेका मुक्तककारले किशोर÷युवावस्थामा मनमा आउने प्रेमिल भवहरुलाई लिपिबद्ध गरेका छन् ।
२६. दिनभन्दा कहिलेकाहीँ त, रातै मन पर्छ
बत्ती निभाइ गर्ने खासखुस, बातै मन पर्छ
अरुलाई नि यस्तै हो कि, मलाई मात्र कुन्नि
यो शिर दुख्दा छाम्ने उनको, हातै मन पर्छ ।
जवानीको प्रेम भावलाई उनले जति मिठासपूर्ण तरिकाले लेखेका छन्, त्यति नै गहन रुपमा ढल्कँदो उमेरमा मनभित्र खेल्ने भावनालाई पनि पोखेका छन् । हिजोभन्दा आज र आजभन्दा भोलि समय घर्किरहेको भन्दै उनी यो सुन्दर जीवनलाई सदुपयोग गर्न यसरी आग्रह गर्छन्–
९. थियो राम्रो जीवन हिजो, आज लर्की सक्यो
बुझ्दैनन् खै ? किन अझै उमेर घर्की सक्यो
हिजोजस्तो छैन आज, आजजस्तो हुन्न भोलि
हेर्दा–हेर्दै प्यारो जीवन, आफैँबाट तर्की सक्यो ।
प्रेम र वियोगका विषयमा पौडेलले जति धेरै लेखेका छन्, त्यति नै चिन्ता र चासो राजनीतिक विकृतिमा पनि देखाउँछन् । व्यक्तिगत स्वार्थपूर्ति गर्न नेताहरुले दोहोरो चरित्र निर्वाह गरिरहेको वर्तमान परिप्रेक्ष्यलाई उनी यसरी व्यंग्य गर्छन्–
३५.राजनीतिमा चल्दो रै’छ, कस्तो कस्तो खेल
बाहिर–बाहिर मेलजस्तो, भित्र–भित्रै झेल
गर्न पनि नाटक यहाँ, गर्छन् कस्ता–कस्ता
आफ्नो स्वार्थ मिलेपछि, गरिहाल्छन् मेल ।
राजनीतिले आम मानिसको नैसर्गिक अधिकारसमेत प्रत्याभूत गर्न नसकेको तितो यथार्थलाई मुक्तककारले प्रस्तुत गरेका छन् । धेरैले गीत, कविता, मुक्तक लेखेर जति विरोध जनाए पनि अन्यायमा परेका बालिका÷युवतीले न्याय नपाएको तितो यथार्थलाई उनले यसरी प्रस्तुत गरेका छन्–
१२१. छैन अब आँसु पनि, के ले लेख्नु कविता खै
जति लेखे पनि आज, नमिता र सुनिता खै
ऐले पनि लेखेकै छन्, लेख्नेजति सबैले नै
अझै पनि लेख्दै जालान्, हराएकी निर्मला खै ?
पौडेलले यो संग्रहमा माया–प्रेम, विरह, सामाजिक–साँस्कृतिक विकृतिलगायतका विविध विषयलाई समेटेर मुक्तक लेखेका छन् । विविध विषयमा गहन भावयुक्त मुक्तक लेख्न सक्नु उनको विशेषता हो । यद्यपि, कतिपय मुक्तकमा भाव र प्रस्तुतिको हिसाबले पनि पुनरावृत्ति भएजस्तो लाग्छ । समग्रमा पुस्तक मध्यमस्तरको छ ।