site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मित्रलाल पंज्ञानीका दुई कविता

राराको किनारबाट                                                                            

गर्छु भन्ने निकै आए नगरी नगरी गए
विश्वासै लाग्न छाडेको छ अचेल, मरी गए
दिन आउनु पर्ने हो सिङ्गै रात बितेपछि
अँध्यारो हार्नु पर्ने हो समयले जितेपछि
‘आयो आयो, उषा आयो’ भन्दा भन्दै गयो यहाँ
आयो रातपछि रातै, के भयो के भयो यहाँ ! 

बाढीझैँ उर्लिएका छन् दुख्खै दुख्ख जताततै
कैले दुश्चक्र यो तोड्ने द्वारै खुल्दैन खै कतै
कर्णाली स्वर्ग भैसक्थ्यो एन्जिओले हुने भए
हामी सम्पन्न भैसक्थ्यौँ ती कुराले छुने भए
यी विज्ञापन झूटा छन् झूटा छन् सयमा सय
हाम्रा बुद्धि भुटेका छन् लुटेका छन् धनञ्जय  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खुला छन् व्ययका बाटा बन्द छन् आयका पथ
विकासे गफ चुट्नेको खुल्यो ढोँगी मनोरथ
गरीबी माल हो यौटा बेची खान्छन् उनीहरू
धन मात्रै भए पुग्ने अधर्मी बैगुनीहरू

बढी विश्वास गर्नाले पर्नाले अति नै भर
वस्तुतथ्य नबुझ्नाले नचिन्नाले खुनी नर
भोग्यौँ दुर्घटना धेरै अब जाग्छ महाबली
घैँटामा घाम लाग्लाझैँ भएको छ अलि अलि
जहाँ रारा त्यहीँ सारा दुख्ख ! अच्चम्मको कुरो !
सत्ताका छल हुन् जम्मै खोटी होइन पुर्पुरो । 

० ० ०

विकास हो यो कि विनास हो यो !

खेती हुने उर्वर खेत मासी
सिमेन्ट थुप्रो घरनाम राशि
गाँठो पर्‍यो प्रश्न फुकेन पोयो
विकास हो यो कि विनास हो यो ! 

काटेर जम्मै वन वृक्ष ढाली
उजाड पारी पहिरो खसाली
पहाडको भूरचना बिगारी
के गर्न आँट्यौ भन धुन्धुकारी !

गाँठो पर्‍यो प्रश्न फुकेन पोयो
विकास हो यो कि विनास हो यो !

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  ०८:४८
प्रतिक्रिया दिनुहोस्