
ब्रसेल्स । भविष्यमा आउन सक्ने महामारी रोकथाम गर्न अन्तर्राष्ट्रिय सन्धि गर्नुपर्ने प्रस्तावमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र विश्वका २३ देश सकारात्मक देखिएका छन् ।
महामारीका बेला खोप, औषधि र उपचारमा सबै देशको न्यायोचित र समान पहुँच बनाउनुपर्ने प्रस्तावमा उनीहरुले समर्थन जनाएका हुन् । युरोपेली संघ (ईयू)का नेता चाल्र्स माइकलले गत वर्ष नोभेम्बरमा भएको जी–२० सम्मेलनका क्रममा यस्तो प्रस्ताव गरेका थिए ।
उनको प्रस्तावमा फिजी, पोर्चुगल, रोमानिया, बेलायत, रुवान्डा, केन्या, फ्रान्स, जर्मनी, ग्रीस, कोरिया, चिली, कोस्टारिका, अल्बानिया, दक्षिण अफ्रिका, ट्रिनिडाड एन्ड टोबागो, नेदरल्यान्ड्स, ट्युनिसिया, सेनेगल, स्पेन, नर्वे, सर्बिया, इन्डोनेसिया, युक्रेन र डब्ल्यूएचओले मंगलबार समर्थन जनाएका हुन् ।
“भविष्यमा फेरि अन्य महामारी र स्वास्थ्य आपत्को अवस्था आउनसक्छ । कुनै पनि सरकार वा बहुराष्ट्रिय एजेन्सी एक्लैले सो समस्या समाधान गर्न सक्दैन,” नेताहरुले एक पत्रिकामा संयुक्त रुपमा लेख लेख्दै जनाएका छन्, “महामारीको तयारी र प्रतिक्रियाको लागि सबै देशले अन्तर्राष्ट्रिय सन्धिको लागि मिलेर काम गर्नुपर्छ ।”
सन्धिको मुख्य उद्देश्य उचित चेतावनी प्रणाली, तथ्यांक बाँडफाँड, अनुसन्धान एवं खोप र औषधिको उत्पादन तथा वितरणमार्फत महामारीसँल लड्ने क्षमता वृद्धि गर्नु रहने बताइएको छ ।
मानिस, जनावर र पृथ्वीको स्वास्थ्य एकापसमा सम्बन्धित रहेकाले विश्वका सबै राष्ट्रले यसमा साझा जिम्मेवारी, पारदर्शिता र सहयोग बहन गर्नुपर्ने नेताहरुले उल्लेख गरेका छन् । रोयटर्सबाट ।