
नयाँदिल्ली । भारतले अक्सफोर्ड–एष्ट्राजेनिका कोरोनाभाइरसविरुद्धको खोप निर्यातमा अस्थायी रोक लगाएको छ । बढ्दो संक्रमणका कारण आगामी केही साता भारतमा आन्तरिक खपत बढ्ने भन्दै खोप निर्यातमा अस्थायी रोक लगाएको हो ।
यो निर्णय आजदेखि नै लागु हुने भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भारतको यो कदमले विशेषगरी कोभ्याक्स कार्यक्रमलाई प्रभावित गर्ने अनुमान गरिएको छ । कोभ्याक्स कोरोनाविरुद्धको खोपमा विश्वका सबै राष्ट्रको समान पहुँच पुर्याउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले सुरु गरेको खोप कार्यक्रम हो ।
भारतले हालसम्म ७६ देशहरुमा ६ करोडभन्दा बढी डोज कोरोनाविरुद्धको खोप निर्यात गरिसकेको छ । जसमा सबैभन्दा धेरै मात्रा अक्सफोर्ड–एष्ट्राजेनिकाकै रहेको छ । यसअघि नै भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्टिच्युट (एसआईआई)ले खोप दिन ढिलाइ गर्दा बेलायत र ब्राजिललगायतका देशहरुमा खोप कार्यक्रम प्रभावित भएको थियो ।
भारतले किन चाल्यो यस्तो कदम ?
हिजो भारतमा यो वर्षकै सबैभन्दा धेरै ४७ हजार नयाँ संक्रमित थपिएपछि भारतले खोप निर्यातमा अस्थायी रोक लगाएको हो । हिजो एकैदिनमा यहाँ कोरोनाका कारण २७५ जनाको मृत्यु भएको थियो ।
अप्रिल १ तारिखदेखि भारतले ४५ वर्षमाथिका मानिसलाई खोप दिने तयारी गरेको छ । संक्रमणसमेत बढ्दै गएकाले भारतमा खोपको माग बढ्ने आँकलन गरिएको छ ।
यस निर्णयका विषयमा खोप उत्पादक कम्पनी एसआईआईले भने कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख छ । गत जनवरीमा एसआईआईले मार्च महिनादेखि मासिक १० करोड डोज खोप उत्पादन गर्ने दाबी गरेको थियो । यद्यपि, कम्पनीले पुरानै परिमाणमा मासिक ६–७ करोड डोज मात्र उत्पादन गरिरहेको समाचारमा उल्लेख छ ।