
काठमाडौं । रियालिटी टीभी स्टार किम कार्डसियनले पति कान्ये वेस्टसँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएकी छिन् । लस एन्जलसस्थित सुपेरियर अदालतका क्लर्कले यो खबरलाई पुष्टि गरेको सीएनएनले लेखेको छ ।
यद्यपि किमले भने यसबारे केही बोलेकी छैनन् । किमले आफ्ना चार सन्तानलाई दुवैले राख्न पाउने र सम्पत्ति पनि बाँडफाँडबारे पनि कुरा उठाएको सीएनएनले उल्लेख गरेको छ । सन् २०१४ मा इटालीमा भव्य रुपमा विवाह गरेका किम र कान्ये पछिल्लो लामो समयदेखि छुटिएर बसेका छन् । कान्ये बायोमिंगस्थित घरमा बसिरहेका छन् भने किम भने आफ्ना चार सन्तानसहित क्यालिफोर्नियास्थित घरमा बसिरहेकी छिन् ।
सन् २००० मा एकअर्कासँग चिनाजानी भएको दुई वर्षपछि उनीहरूले प्रेमसम्बन्धमा भएको खबर सार्वजनिक गरेका थिए ।
सामाजिक सन्जालमार्फत एक-अर्कालाई साथ र समर्थन दिइरहने यी जोडीको सम्बन्धविच्छेदबारे हल्ला केही समयदेखि चलिरहेको थियो । यसैबीच केही साताअघि मात्रै कान्ये आफ्नो कम्पनीको सयौं जुत्ता लिएर किमको घर छोडेको भन्ने समाचार पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको थियो ।