
मेरो घरको छिमेकमा बस्थे पुष्प । भोजपुरबाट सानै उमेरमा आफ्नो बुबालाई गुमाएर आमासँग मावलमा बस्न आएका थिए । उमेरले मभन्दा २/३ वर्ष जेठा थिए होलान् । हामी त्यसबखत जुवा खेल्नमा खुबै रमाउँथ्यौँ ।
उनको मामाघरमा भाँडाकुडा र कपडाको दोकान भएकाले उनीसँग १/२ रुपैयाँ कहिल्यै खाली हुँदैनथ्यो । मसँग भने त्यस्तो पैसा हुने कुरै थिएन । कहिलेकाहीँ १०/२० पैसा हुँदा पनि मैले आफूलाई खुबै धनी ठान्थेँ । अनि पैसावाल साथी पुष्पसँग तास खेल्थेँ । तर तास खेलेर कहिल्यै जित्दिनथेँ । सधैँ हार्थें ।
बारीतिर बाटोमा, रूखको फेदमा वा पर्खालको चेपमा ५/१० रुपियाँ भेट्न पाए पनि कस्तो हुन्थ्यो होला ! यस्तै यस्तै कल्पना खुब गर्थें । तर कल्पना न हो, कल्पनामै सीमित रहन्थ्यो ।
एक दिन मैले फुटेको हाँडीको खबेटालाई घोट्दा–घोट्दा गरेर एक रुपियाँको आकारमा ल्याएँ । अनि कमिजको दाहिनेपट्टिको खुट्टानेरको खल्तीमा हालेँ । कपडाभित्र खबेटाको आकार–प्रकार बाहिरबाट हेर्दा ठ्याक्कै कम्पनी रुपियाँ जस्तै देखिन्थ्यो । मैले त्यस्तै देख्ने बनाएँ । त्यस पछि भने तास खेल्न पुष्पलाई बोलाएँ ।
उप्रान्त हामी भोजपुरे (कुवेरलाल) काकाको पसलको कुनामा तास खेल्न बस्यौँ । पुष्पले मैले देखाएको खबेटालाई कम्पनी रुपियाँ भनेर पत्याएको देखेर म आफै दङ्ग परेँ । धन्न, छाम्न खोजेनन् । म जुवा जितेसरह नै ढुक्क भएँ ।
तर म तासमा कमजोर नै थिएँ । तसर्थ, सदाझैँ हार्ने प्रक्रिया सुरु भयो । ४ आना, ५ आना गर्दै मैले ८ आना हारिसकेपछि उनले ‘बाँकी ८ आना फर्काइदिन्छु, रुपियाँ दे’ भन्न थाले । मलाई टार्न गाह्रो हुँदै’गो । तैपनि आश्वासन दिँदै गएँ । टार्दै गएँ र तास खेल्न थालेँ ।
अब भने मलाई पैसो हार्न थालेकामा निकै डर लाग्न थाल्यो । तर पनि पुष्पले रुपियाँ भनेर पत्याई दिएकामा ढुक्क थिएँ । र अलिकति पनि जित्ने आशले तास बाँड्न बाध्य बनाइराखेको थिएँ ।
अन्त्यमा १२ आनाको गोट लगाई सकेपछि पुष्पले ४ आना फर्काई दिँदै रुपियाँ माग्न छाडेनन् । त्यै पनि २ आना पैसा एकैचोटि थापेर १० आना बाँकी पार्ने आँट गरेँ । तर मेरो दुर्भाग्य, १४ आनाको चोट लाग्यो । अब मेरो भाग्नुशिवाय अर्को बाटो केही पनि थिएन ।
पुष्प पनि मेरो चालामाला देखेरै होला, पूरै तयारीमा रहेछन् । म उठेर भाग्न मात्र के लागेको थिएँ, मेरो कँठालोमा त समाती हाले । टाँक झरेको मेरो कमिजको आधा बाहुलासहितको एक टुक्रा उसको हातमा पर्यो । धन्य भगवान्, म भाग्न सफल भएँ ।
म हतार–हतार घरको पछाडितिरको गल्लीबाट घर भित्रिएँ । सबैजना भात खाँदै रहेछन् । आमाले सोध्नुभयो, “भात खाने बेलामा कहाँ गएको थिइस् ? कमिज पनि च्यातेको छ त ?”
मैले तुरुन्तै जवाफ दिएँ, “तिँ तल बाँसघारीतिर गएको थिएँ बारको भाटामा अल्झिएर च्यातियो ।”
“हेर ! कसो आँखामा लागेन । लु बस् भात खान, पस्किसकेको छ ।” म बस्ने ठाउँ खाली नै थियो । बसेर भकाभक् भात खान थालें ।
यतिबेला मेरा आदरणीय पुष्प शाक्य दाइ, त्रिलोकमुनि आफ्नो व्यवसाय गर्दै जिन्दगी रमाइलोसँग बिताउँदै छन् । यद्यपि, त्यो खबटे सम्झनाले मलाई अहिले पनि त्यही ठाउँमा पुर्याउँछ ।