site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दिशाहीन 

सञ्जीवनको जीवनमा एकैपटक तीन घटनाहरू घटे । पहिलो, श्रीमती बेपत्ता हुनु, दोस्रो, अफिसमा नयाँ हाकिम आउनु र तेस्रो, साविकको आफ्नो भट्टी बन्द हुनु । केही वर्षयता सञ्जीवन जो सोच्थ्यो– हुन्थ्यो ठिक त्यसको उल्टो । 

जब बजारमा चामल महँगो भएर ऊ आलुले गुजारा गर्न खोज्दथ्यो, चामलभन्दा आलु दोब्बर महँगो हुन्थ्यो । जब अफिसबाट महँगोमा बेच्न ऊ पेट्रोल चोर्थ्यो, त्यसबेला पेट्रोल सस्तो हुन्थ्यो र डिजेल महँगो अनि डिजेल हात परेको बेला डिजेल सस्तो, पेट्रोल महँगो । सधैँ यस्तै केही उसलाई हुन्थ्यो ।

तलब नबढोस् महँगी बढ्छ भनेर सञ्जीवनले सोचेको बेलामा सरकारले ठ्याम्मै तलब बढाउँथ्यो र महँगी तीन सय प्रतिशत बढ्थ्यो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तो संकट आएको यो पहिलो थिएन । धेरैपल्ट जीवनका धेरै मोडहरूमा सञ्जीवन आफैले भोगी आएको चक्र थियो यो । अझै आफ्नो पिताबाट अंशदान पाएका पनि यिनै सन्त्रासहरू थिए । 
राति अलि धेरै दारू पेटमा परेकाले आज पनि बिहान ऊ उठेन, ढिला नै भयो । उसलाई थाहा छ– तराईमा सूर्य यौटा उदाउँछ र हरेक घण्टामा दुई, तीन, चारको हिसाबले बढ्दै जान्छ । सञ्जीवन हिजोको जस्तो उठ्यो । अस्तिको जस्तै मुख धोयो । अफिस जानुपर्ने– सचेत भयो । तर, हाकिम नयाँ आएको छ– के भन्ने हो । अस्थायी जागिर हात धुनुपर्ने हो कि । झुप्रोमा न खाने कुरा छ, न पकाउने मान्छे । नजिकैको अर्को छाप्रोमा गएर उसले नास्ता गर्यो ।

सञ्जीवन कच्चा खेलाडी कहाँ हो र । उसले तुरुन्त केही सोच्यो । उसले पत्ता लगाइसकेको थियो– अहिलेको हाकिम हरियो रङको हो । हरियो रङका केही झन्डाहरू बजारमा लिएर ऊ अफिस पुग्यो । गाडी ग्यारेजबाट निकाल्यो । ठिक ९.०० बजे नै हाकिमको घरमा पुग्यो । गाडी हिजै सफा गरिसकेको थियो । ढोकामा घण्टी दियो । कोही निस्क्यो । अफिसबाट गाडी ल्याएको खबर दियो । बस्दै गर्नुको संक्षिप्त आदेश कहीँ कतैबाट भयो ।

सञ्जीवन बाहिर निस्क्यो । हाकिमको घर ठिकठिकै रहेछ– सोच्यो । बाहिर गर्मी थियो । गाडीभित्र पस्यो । एयर कन्डिसन चलायो । यो हाकिमले जागिर खाइदिने हो कि ? दशा लागेको छ । पुतली राँडीले यही थाहा पाएजस्तो बेपत्ता भइदिई । इन्डिया नजिक छ– गइहोली कोहीसँग । मसँग चित्त नबुझेको भए राम्रै बिदाबारी भएकी भए पनि उसले के भन्थ्यो र । तर, जसरी आई–उसरी गई । सडकमा भेटिएकी–सडकबाट नै हराई । दारू बढी खायो भनेर सधैँ कराइरहन्थी । अब भेटी होली कोही भगवान् राम । दारू, खैनी केही नखाने पत्नीव्रत ।

नजिकको उधारो खाने भट्टी पसल पनि यसैपालि बन्द । कस्तो छ यो उनान्सय साल उसको । यो आठ महिना गएपछि त शताब्दी नै नयाँ आउँछ– दुई हजार । तर तीन–तीन सुन्ना छ– एक नआउन्जेल के राम्रो होला र ।

“ढोका खोल– के नाम हो तिम्रो ?” यौटा जुँगाको रेखी बसेको केटाले एक्कासि उसलाई झस्कायो । यही दूधमुखे केटो उसको हाकिम । 
“मेरो नाम सञ्जीवन हो हजुर”– उसले सामान्य रूपमा भन्यो । गाडी स्टार्ट गर्यो र अफिसतिर लाग्यो । बाटोमा त्यो हाकिम–केटो फेरि कड्क्यो– “जागिर खाएको कति भो ?”

“तीन वर्ष भयो हजुर”

“हाकिमलाई नमस्ते गर्न पनि तिमीलाई आउँदैन हगि ?”

“...” सञ्जीवन डरायो ।

“तिमी त अनुशासनहीन रहेछौ । के काम गर्लाउ,” – हाकिम अझ कड्क्यो ।

“मैले हजुरलाई देखेकै थिएन ।” उसले आफ्नो स्पष्टीकरण दियो । 

अफिस त सञ्जीवन पुग्यो । तर, दिनभरि जसो ऊ झोक्राइरह्यो । आफ्नो दिनदशा ठिक छैन । पहिलो दिन नै हाकिमलाई खराब प्रभाव पर्यो । अस्थायी यसै त नराख्ने भन्छन् । जागिर हिँडेपछि के गर्ने । के दारूपानी खाएर सडकमा हल्लिएर हिँड्ने वा साथीभाइसँग सिनेमा हेर्न फारवीसगन्जसम्म पुग्ने । 

फेरि जोगवनीमा त्यही पुतली राँडीसँग भेट होला । पानले बिगारेका काला दाँतहरू देखाएर ङिच्च ङिच्च हाँसेर व्यंग्य गर्लि– घुमी बस अब जोगवनी–विराटनगर, विराटनगर–जोगवनी । ठाडो घाँटी लाएर मरून्जेल दारू घिच र मुर्दा भएर सुती बस छाप्रोमा । पानीसमेत खान नपाएर मर्लास् अब । विचरा सञ्जीवनले के जवाफ दिने ।

“ढोका खोल–बाहिर जानुपर्यो,” त्यही केटो–हाकिमले उसको सानु तन्द्रालाई विथोलिदियो । हाकिमलाई स्थानीय कुनै पार्टीको नेतासँग भेट्नु थियो ।

“तिमी त अस्थायी रहेछौ होइन ?,” हाकिमले बाटोमा यही प्रश्न गर्यो, जो उसलाई शंका थियो । “सरकारले अब अस्थायी नराख्ने निर्णय गरेको छ, तिमीलाई थाहा छ ?,” हाकिमको स्वर भारी थियो ।

सञ्जीवनलाई थाहा भएन– बाटोमा गाडीको हैन्डिल के–कसरी घुमायो । उसको दिमागमा त तिनै अनुहारहरू आए– जसबाट उसले धोका मात्र पाइआएको छ । मेचीदेखि महाकालीसम्मको नेपालमा उसको आफ्नो भन्नु कोही छैन । यो लामो भूखण्डमा उसको आफ्ना नाममा जग्गाको एक टुक्रा छैन । कुनै ऐलानी जग्गाको यो झुप्रो कसले बनाएर उसलाई बस्न दियो कुन्नि । उसको जिन्दगीको प्रारम्भ र अन्त्य त्यही झुप्रो हो–जो कुनै पोखरीको किनारमा छ ।

सहरको त्यही सडकबाट सञ्जीवन गाडी कुदाइरहेछ । तर, आज उसलाई कहिल्यै नआएको बस्तीमा नयाँ ठाउँमा आएको अनुभूति भइरहेछ । बाटो उबडखाबड छ, भर्खरै आएको पानी जहाँतहाँ जमेको छ । बाटाको हरेक मोड उसलाई नयाँ र अनौठो लाग्छ । 

स्थानीय नेताको त्यो भव्य विशाल महलमा पुगेर सञ्जीवन अनायास सोच्दछ– अस्तिसम्म नेताजीको कुनै घर थिएन । सहरका सारा भट्टी र क्वाटरको गाहकी ऊ नै थियो । सहरका धनाढ्यहरूको अंगरक्षक उही थियो । यौटा चप्पल उसले साथीहरूबाट चन्दा लिनुपर्थ्यो । यही हरियो रङको पार्टीले उसलाई यस ठाउँमा पुर्याइदियो । तर, ऊजस्ताहरू भने जहाँका तहाँ छन्, पोखरीहरूमा छन्, डिलहरूमा छन् । खुला आकाशमुनि छन् ।

ठूला मान्छेहरूका बारेमा सञ्जीवनले किन सोच्यो ? यौटा निमुखा गरिब अस्थायी ड्राइभरलाई– यी नेताहरूका बारेमा, यिनका पार्टीहरूका बारेमा सोचेर यो सानु टाउकोलाई किन दुक्ख दिइरहने । उसले आफ्नो सोचाइको मोड बदल्यो ।

उसको सानो टाउकोमा अब बजारको सानो भट्टी आयो । हरेक भट्टीलाई टिक्न नदिई भगाउने सञ्जीवन स्वयम् थियो । पहाडमा पहिरो गएर, बाढी आएर, अनिकाल परेर तराईमा झर्नेहरू सानुतिनो कामको खोजीमा हुन्छन् । ठूलो व्यापारका लागि ती विचरासँग रकम कहाँ हुनु । अनि, तिनले जानेको भनेको जाँड बनाउनु र रक्सी पार्नु न हो– सीप भने पनि कला भने पनि । 

कुनै नयाँ भट्टी खुलेको दिन सञ्जीवनलाई चिट्ठा परेसरह हुन्छ । जागिरको धाक दिएर लोकल रक्सी जत्ति उधारो खाए पनि भयो । महिना पुग्न अगाडि नै तलब लिइसकेर पनि ‘आएको छैन, आउनसाथ बुझाउन आउँछु’ भनी ढाँट्दै, थप उधारो खाँदै गए पनि भयो । नत्र तलब लिएर दुई चार दिन लुकेर वा भागेर हिँडे पनि भयो । अनि, ठूल्दिदीलाई हाँसेर सुनाइदिए भो– यसपालि माथिबाट बजेट नै आएको छैन । बजेट आउनासाथ तलब लिन्छु र तलब पाउनासाथ बुझाइहाल्छु ।

कत्ति सोझी थिई– त्यो भट्टीवाल्नी ठूल्दिदी । गोरो अनुहार– सुन्तलाका दानाजस्ता राताराता गाला । पोखरीका जस्ता सुन्दर आँखा । भनौँ भने चुन्ना दाम नतिरी उसले तीन महिना हावामा उडाइदियो । अब त भट्टी नै उड्यो । फेरि पहाडबाट कोही कान्छी आइपुग्ली सञ्जीवनका लागि भट्टी खोलिदिन ! त्यसको चिन्ता उसलाई छैन ।

उसलाई चिन्ता त यही जागिरको छ । जागिर नभएको भए पनि लन्ठा नै सकिन्थ्यो । जागिर खानभन्दा थाम्न गाहारो भयो । खानभन्दा पचाउन गाह्रो जस्तो । 

सञ्जीवनलाई केही वर्षयता किन यो सहर आफ्नो होइन, विरानो जस्तो लागिरहेछ । जहाँ ऊ जन्म्यो, हुर्क्यो र बढ्यो– त्यही बजार किन अरू कसैको हो जस्तो भइरहेछ । सारा अनुहारहरू पाउरोटी झैँ बासी लाग्छन् । 

सहरभरिका आँखाहरूमा सन्त्रासको छाया छ– अहिले केही हुने हो कि, भरै केही हुने हो कि । भुइँचालोको प्रतीक्षा गरिरहेको छ जस्तो लाग्छ सारा देश । हरेक मान्छे किन केही हराएजस्तो उदास र निराश छ ।

यत्ति ठूलठूला कुरा किन सोच्ने सञ्जीवनले । जसलाई काली पुतली समेतले पत्याइन । लाउन र खान पाउन्जेलकी राँडी पुतली । म अर्कोसँग पोइल जान्छु, तिमीसँग बस्दिन भनेर राम्रै बिदाबारी लिएर गएकी भए के बिग्रन्थ्यो बोक्सीलाई । अब कहाँ खोज्न जानु त्यस बाइफालेलाई । सडकमा भेटेको थैली सडकमा नै हराइएको जस्तो भयो । साथीभाइका अगाडि कसरी मुख देखाउने । उसले बिहेको भोज ख्वाउन नपाई वियोगको दारू खानुपर्ने भो ।

हाकिम महलभित्र छन् । सञ्जीवनलाई भोक लाग्ला जस्तो भयो । यताउता कत्तै चियापसल पनि छैन । न कुनै भट्टी छ । भट्टी भए पनि नगद छैन । नचिनेको ठाउँमा उधारो कसले पत्याउने ! विचरी ठूल्दिदी, त्यसलाई नङ्गट पार्यो सञ्जीवनले । पहाडबाट ल्याङफ्याङ बसाइ सरेकी ठूल्दिदीलाई डोको बोकेर उकालो नै चढ्न बाध्य बनायो उसले ।
किन हो– सञ्जीवनको मन भारी भएर आयो । भित्रसम्म कहीँ कतै अप्ठेरो भयो । यस्तो कठिन कहिले भएको थिएन । आज... अहिले... यो क्षण किन यस्तो भयो । के सञ्जीवनभित्र पनि कहीँ कतै संवेदनाको सानु स्वर बाँकी छ ? के उसभित्र मायाको, प्रेमको सानु अंश वा फूल बाँकी छ ? उसलाई विश्वास भएन । 

त्यहीबेला पूर्वी हावा आयो र उसलाई अलिकति छोएर गयो । त्यस हावाले महलमा पाकेको मासुको वासना पनि ऊसम्म आयो । त्यो वासनाले उसभित्र फेरि भोक जगायो । अघि एकपल्ट हल्लाएर गएको पेटको ज्वाला फेरि बल्यो । कति लामो सरसल्लाह हो ! कत्ति दिक्कलाग्दो भलाकुसारी हो ! ड्राइभरको जागिर । उसले आफूलाई धिक्कार्यो ।

घाम डुब्नै लाग्यो । सारा शरीर पनि गल्यो भोकले । ‘एक कप चिया खाने हो’ भनेर कोही सोध्न आएन । तिमीले खाना खाएको छ कि छैन भनेर खोजखबरी गर्न कोही आएन । गाडी छाडेर हिँडूजस्तो भयो– सञ्जीवनलाई । हाकिम–केटालाई के थाहा– मान्छेको दुःख, कर्मचारीको आँसु र भोकको वेदना । उसले दाह्रा किटेर सबै सह्यो । एक दिनको भोकले सञ्जीवन मर्दैन । तर, एक दिनको बेहोसीले उसले जागिरबाट हात धुन सक्छ । बाली उठाउने बेलामा उसले असिनापानीका कुरा सोच्न हुँदैन ।

फेरि पूर्वी हावा आयो । अहिले स्कच रक्सीको वासना आएर सञ्जीवनलाई छोयो । आज दिन मात्र होइन, रात पनि जाने भो– उसले सोच्यो । तर, उसले के गर्न सक्थ्यो– जागिर जो खाएको छ ड्राइभरको । त्यसमा पनि पहिले दैनिक ज्यालादारीमा, अहिले अस्थायीमा । कति सिरियस बनाएको यो जागिरले– पुतलीले छाडी जानुभन्दा, ठूल्दिदीले भट्टीको पसल बन्द गर्नुभन्दा । 

घाम डुब्यो र जून नानीहरूको खेलौना अर्थात भकुन्डो बनेर उदायो । सञ्जीवनले चारैतिर अन्धकारै अन्धकार देख्यो । भोक धेरै लागेकाले यत्ति बजिसक्यो भनेर मनलाई अरू अशान्त बनाउन सञ्जीवनलाई मन लागेन । हाकिमलाई घर पुर्याउन जाँदा पनि उसले घडी हेरेन । सडकभरि बत्तीहरू बलेर फेरि निभिसकेका थिए ।

“मिडिङ धेरै लामो भो ।” हाकिमले कहीँ कतै सुनायो । उसलाई त्यो सुनिरहन मन लागेन । सबै हाकिमहरू यसै भन्छन् । हाकिमको होस ठेगानामा थिएन । कहिले ऊ मन्त्रीको कुरा गर्थ्यो, कहिले नेताजीको । कहिले पार्टीको, कहिले अफिसको । 

हाकिम अघाएर डकारेको कुरा गर्थ्यो । सञ्जीवन भने बिहानदेखि भोको थियो । हाकिम भोको थिएन । बाटोमा हाकिमले कहीँ कतै सुनायो– पार्टीलाई ठूलै थैली चन्दा दिनुपर्छ । यो सानु अफिसबाट त्यत्रो चन्दा कसरी जम्मा गर्नु ।

हाकिमले फेरि कुनै मोडमा सुनायो– हाम्रो पार्टीका मान्छेलाई मात्र जसरी हुन्छ थामीराख्ने, अरू आउट । हाम्रो रङबाहेक अरू सबै रङहरू आउट । हामीलाई जनताले जो यस्तरी पत्याएको छ, तिनको मतको कदर पनि त हामीले केही गर्नुपर्ने हुन्छ । सञ्जीवनले धेरै सुन्यो र थोरै बुझ्यो । त्यो बुझेको यौटा कुरा के थियो भने सञ्जीवनले पनि त्यही पार्टीको झन्डा बोक्नुपर्छ, नत्र उसको कुनै खैरियत छैन । अरू साथीहरूको जस्तै उसको जागिर पनि पानीमा बग्नेछ । हावामा बिलाउनेछ !

रातभरि सञ्जीवन निदाएन । के के– उसलाई केही खान पनि मन लागेन । निद्रा पनि आएन । तीनतीनवटा दुर्घटनाहरूलाई एकैपटक सहनुपर्ने ! आफ्ना सारा इच्छा र आकांक्षाहरूलाई मारेर बाँच्नुपर्ने ! के मान्छेहरू बसेको देश हो यो ? के देवताहरूले बास गरेको देश हो यो ? कहिले पुतलीको अनुहार आउँछ र व्यंग्य गर्छ– नपुंसक मोरा ! कहिले ठूल्दिदीको अनुहार आउँछ र रिसाउँछ– अर्काको खाएको रुपियाँ नतिर्ने ठग मोरा !

फेरि बिहान भयो । सञ्जीवन चिया नखाई अफिस पुग्यो । गाडी खोल्यो । हिजो राखेका हरिया झन्डाहरू झिक्यो । ती झन्डाहरूले गाडीलाई सजिसजाउ पार्यो, हुनेसम्म सिँगार्यो । चुनावमा प्रचारप्रसारमा जाँदा सिँगार्नुपर्छ– उसलाई थाहा नै थियो । अलिअलि अविर पनि छर्क्यो । धूप–पूजा गर्यो । गाडी र झन्डाहरूलाई घुँडा टेकेर ढोग्यो– धेरै समयसम्म ढोगिरह्यो । खालि ढोगिरह्यो ।

पालेले आएर सञ्जीवनलाई हकार्यो– “तिमी के गर्न लागेका छौ सञ्जीवन । बहुलाउन त बौलाएनौँ ?”

“म बहुलाएँ–म पागल भएँ । मेरो यस अफिसमा अब कुनै काम छैन... ।” सञ्जीवन त्यहाँबाट बाहिर निस्क्यो । ऊ दिशाहीन थियो । आफू कहाँ जाँदै छु भन्ने कुरा उसलाई थाहा भएन । 

पूर्वी हावा आएर सञ्जीवनलाई फेरि छोयो । तर, उसले पछाडि फर्केर हेरेन ।

(वरिष्ठ कथाकार परशु प्रधानको कथासंग्रह ‘उत्तराद्र्ध’का सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)


 

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ०६:२४
प्रतिक्रिया दिनुहोस्