
काठमाडौं । समालोचक डा. विदुर चालिसेले नियात्रा साहित्यको इतिहास, सिद्धान्त र नविनतम प्रयोगका विषयमा लेखेको ‘नियात्रामा नौलो आयाम’ पुस्तक बजारमा आएको छ ।
पुस्तकमा नियात्रा साहित्यको वि.सं. १३७८ देखिको लिखित इतिहासको खोजी र पहिचान गरिएको छ । नियात्रा लेखनको निबन्धात्मक शैली, जापानी हाइबुन शैली, नेपाली कर्खाटन शैली, हाइगामा हाइकु र चित्रकलाको प्रयोग आदिको सिद्धान्त र मान्यताका बारेमा किताबमा चर्चा गरिएको छ ।
त्रिविविका सहप्राध्यापक डा. चालिसेले ‘नियात्रामा नौलो आयाम’का अतिरिक्त भाषा, साहित्यिक सिद्धान्त, समालोचना, कविता र लघुकथाका तेह्रवटा पुस्तक प्रकाशित गरिसकेका छन् ।
नियात्रा लेखिरहेका र लेख्न चाहने, अनुसन्धानकर्तालगायतका लागि यो पुस्तक उपयोगी हुने मानिएको छ ।