site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसरी भएको थियो, संसद् पुन:स्थापना 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गराएको दुई महिना हुन लाग्यो । संविधानविपरीत भएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बहस जारी छ । फैसला कस्तो आउने हो ? नेकपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो कसरी र कहिले लाग्ने हो ? 

यस्तै अन्योलबीच घोषित मितिमा (वैशाख १७ र २७ गते) निर्वाचन हुन सक्छ वा सक्दैन भन्ने संशय कायमै छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको छिट्टै किनारा लागे पनि दुई महिनाको अवधिमा चुनाव गराउने काम निर्वाचन आयोगका लागि अत्यन्त चुनौतीपूर्ण हुने विज्ञहरुको ठहर छ । प्रतिनिधि सभा विघटन सदर हुने तर चुनाव हुन नसक्ने परिस्थिति बनेमा त्यसले वर्तमान व्यवस्था र संविधानमाथि नै प्रश्न उठ्नुका साथै राजनीतिक अस्थिरता पनि निम्त्याउनेछ र लोकतान्त्रिक प्रणालीमै गम्भीर असर पर्ने डर छ । 

अतः वर्तमान संविधानको रक्षा र लोकतान्त्रिक प्रक्रियालाई सही बाटामा ल्याउन विघटित प्रतिनिधि सभा पुनःस्थापनाबाहेक अर्को विकल्प देखिँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली राजनीतिमा हामीले पन्ध्र वर्षअघि पनि यस्तै स्थितिको अनुभव गरिसकेका छौँ । कुरा २०५९ सालको हो । नेपाली कांग्रेसभित्रको खिचातानी चरममा रहेका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ८ गते मध्यरातमा संसद् विघटनको सिफारिस गरिदिए । 

त्यतिबेला राजा र प्रधानमन्त्रीको सल्लाह अनि योजनामा जनताको प्रतिनिधिमूलक संस्था संसद्को हत्या भएको थियो । यस प्रसंगमा राजाका तत्कालीन सैनिक सचिव विवेककुमार शाह आफ्नो पुस्तक ‘मैले देखेको दरबार’ (पृष्ठ १०६) मा लेख्छन् – राति राजा र प्रधानमन्त्रीबीच प्रतिनिधि सभा भंग गरी कात्तिक २७ गते निर्वाचनको मिति तोक्ने सहमति भयो । देउवाले राति नै आफ्नो कार्यालयबाट दरबारमा लेटरप्याड र स्ट्याम्प मगाए । लेटरप्याड आएपछि राजाका मुख्यसचिव पशुपतिभक्त महर्जनले प्रधानमन्त्रीको भाकामा प्रतिनिधि सभा भंग गरी चुनावको मिति तोक्न राजामा सिफारिस गरेको बेहोरा टाइप गराए । पत्रमा राजाको सामु प्रधानमन्त्री देउवाले हस्ताक्षर गरे । त्यहीँ राजाले संसद् विघटन गरी चुनावको मिति तोकेको बेहोरा तयार गरी सञ्चार माध्यममा पठाइयो ।

Global Ime bank

यस घटनाबारे राजनीतिक दलका नेताहरुले भने आफू र आफ्नो दल तात्कालिक लाभहानि हेरर धारणा राखे । प्रधानमन्त्री देउवा पक्ष त भङ्ग संसद् पुनःस्थापना हुन नसक्ने पक्षमा उभिने नै भयो । प्रमुख विपक्षी नेकपा (एमाले) पनि चुनावको पक्षमा उभियोकांग्रेस फुटेकाले आफ्नो बहुमत आउने आकलनका साथ । 
सत्तारुढ दल विभाजित भयो । 

दुवै पक्ष आरोप–प्रत्यारोपमा ओर्लिए । अहिलेको नेकपाजस्तै । सभापति कोइराला भन्ने गर्थे – मुलुकको संसदीय इतिहासमा श्री ५ बाट विनापरामर्श प्रतिनिधि सभा विघटनका लागि प्रधानमन्त्रीले गरेको सिफारिस तत्काल सदर गरिनुमा षड्यन्त्रको गन्ध छ । प्रधानमन्त्री देउवा षड्यन्त्रको गोटी बनेका छन् । 

कोइरालालाई जवाफ दिँदै (जेठ १४ गते) प्रधानमन्त्री शेरबहादुर देउवाले भनिदिए–  देशमा दुईखाले आतंककारी छन् । जंगलमा माओवादी, पार्टीमा गिरिजा । माओवादीले आफूलाई समर्थन नगरे हातखुट्टा भाँच्छन् । गिरिजाप्रसादले उनलाई समर्थन नगर्नेलाई पार्टीबाट निकाल्छन् । यी दुवैमा कुनै अन्तर छैन ।

कांग्रेसभित्र सभापति गिरिजाप्रसाद कोइराला पक्षले विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्यो । मन्त्रिपरिषद्को निर्णयविनै विघटनको सिफारिस गरी प्रधानमन्त्रीले क्षेत्राधिकार नाघेको जिकिर मुद्दामा लिइएको थियो । तर, अदालतले प्रधानमन्त्रीको सिफारिस सदर गरिदियो । त्यसपछि प्रतिनिधि सभा पुनःस्थापना हुनसक्छ भन्ने सायद कसैलाई पनि लागेको थिएन । यस अवस्थामा कांग्रेस सभापति कोइरालामात्र पुनःस्थापनाको एजेन्डामा दृढ थिए ।  

यस प्रसंगमा कोइरालाले लेखकलाई भनेका छन् – मैले संसद् पुनःस्थापनाको माग अघि सार्दा कसैको समर्थन थिएन । अमेरिका, बेलायत, भारत, चीन, युरोपियन युनियन सबैले भनेका थिए – अदालतले समेत अस्वीकृत गरेको मुद्दामा किन तिमी अडिएको ? हुँदै नहुने माग तिमीले अघि सारेका छौ भन्थे । तर, मेरो ‘कन्भिक्सन’ थियो प्रजातन्त्र जोगाउने हो भने त्यही एकमात्र विकल्प बाँकी छ । त्यसैले मैले पुनःस्थापनाको मुद्दा उठाई रहेँ । 

कोइरालाले लेखकसँग भनेका थिए – अरुको त कुरै छोडाैँ, कांग्रेसकै साथीहरुसमेत जो अंग्रेजी जान्थे उनीहरु भन्थे —बूढो ‘सेनाइल’ भएछ । तराईका साथीहरु भन्थे —बूढवा सठाइ गयो । 

कोइराला संसद् पुनःस्थापनाको पक्षमा वकालत गर्दै देशभर पुगे । अर्कोतिर राजा ज्ञानेन्द्र दलहरुलाई जुधाएर प्रतिगमनलाई मलजल गर्ने मार्गचित्रमा अघि बढिरहे । नेपाल अधिराज्यको संविधान, (२०४७) को धारा १२७ मा टेकेर आफू खुसी सरकार बनाउने र विघटन गर्ने राजाको खेलमा मुलुक अल्झिरह्यो । 

संसद् विघटन नहुँदासम्म देउवा र दरबारको एउटै लाइन थियो – कोइरालालाई कमजोर बनाउने । तर सदन विघटन भएपछि राजाले २०५९ असोज १८ मा जननिर्वाचित देउवा सरकारलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिए । अनि राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र फेरि देउवालाई प्रधानमन्त्री बनाए । दलहरुलाई खेलाउँदै आफ्नो अधिकार बढाउने दरबारको रणनीति २०६१ माघ १९ गते उत्कर्षमा पुग्यो । प्रधानमन्त्री देउवालाई बर्खास्त गरी राजा आफैँ मन्त्रिपरिषद्को अध्यक्ष भए ।  

तत्कालीन देउवा सरकारका मन्त्री तथा वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल आफ्नो पुस्तक ‘माघ १९’ मा लेख्छन् – संसद् विघटनभित्रको दरबारिया षड्यन्त्रलाई हामीले देख्नै सकेनौं । त्यस प्रसंगमा हामी केबल संविधानको निर्जीव व्याख्यामात्र गर्न पुग्यौँ । त्यस बेला हामीले संसदीय निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने आशा मनमा राखेर संसद् विघटनको घटनालाई बुझ्न र प्रस्तुत गर्ने खोज्याैँ । प्रतिगमनका भ्रुणहरु (जेनसिस्) कसरी विकसित हुँदै गएका थिए भन्ने कुरालाई हामीले त्यसबेला देख्नै सकेनौ, बुझ्नै चाहेनौ । अझ हामीहरुमध्ये कतिपयले त संसद् विघटनको विषयलाई स्वागत समेत गर्न पुग्याैँ । संसद् विघटन गर्न पाउने प्रधानमन्त्रीको विशेषाधिकारको आवरणलाई प्रयोग गरेर संसद् विघटन गराएपछि घोषित मितिमा निर्वाचन हुन नदिने आफ्नो कुटिल र प्रतिगामी योजनालाई राजाले अघि बढाएका थिए । यसका लागि राजाले सबै राजनीतिक दल, समूहमात्र होइन माओवादीसमेत गोटी बनाए । 

नेपाली राजनीतिलाई छ दशकदेखि नजिकबाट बुझेका कोइरालालाई दरबारले प्रजातन्त्र समाप्त गर्न सुनियोजित खेल खेलिरहेकोमा दुबिधा थिएन । त्यसैले आफ्नो राजनीति दाउमा राखेर उनले विघटित संसद्मा प्रतिनिधित्व गर्ने दललाई साथमा लिई विद्रोही माओवादीसँग दिल्लीमा १२ बुँदे सहमति गरे ।  

त्यसैको बलमा २०६२—०६३ को जनआन्दोलन सुरु भयो । 

राजाको प्रतिगामी कदमविरुद्ध देशभर लाखौं जनता सडकमा ओर्लिए । अनि २०६३ वैशाख ८ गते राजाले शाही घोषणामार्फत आन्दोलनरत दलहरुलाई सरकार बनाउन आह्वान गरे । लगत्तै बीबीसी नेपाली सेवाले कांग्रेस नेता चक्र बास्तोलासँग प्रतिक्रिया माग्यो । उनले भनिदिए — ‘टु लिटिल, टु लेट’ । त्यसको भोलिपल्ट वैशाख ९ गते अमेरिकी राजदूत जेम्स एफ. मोरिआर्टीले कोइरालासहित आन्दोलनरत दलका नेताहरुलाई राजाको घोषणालाई निकास र मौका ठानेर अघि बढ्न सुझाव दिए । 

त्यसै दिन सात दलको बैठक स्थल कोइराला निवासमै पुगेर युरोपियन युनियनमा आबद्ध मुलुकका नेपालस्थित राजदूतहरु लाम लागेर पुगे र मोरियार्टीकै शब्दमा शाही घोषणालाई आधार मानेर सत्तामा जान दलहरुलाई सुझाव दिए । 

 

दलहरुले राजदूतहरुको सुझाव मानेनन् । बरु, जनताको चाहनाअनुरुप आन्दोलन अघि बढाउने घोषणा गरे ।  अनि २०६३ वैशाख १२ गते राजधानीको पूरै चक्रपथ मानव सागरले घेर्ने र आन्दोलनरत सातै दलका शीर्ष नेताहरुको नेतृत्वमा सातै दलका नेताले चक्रपथका प्रमुख स्थानमा सभा र भाषण गर्ने निर्णय भयो ।

राजाको शाही घोषणापछि आन्दोलन झनै चर्किएर गयो । राजधानीलगायत मुलुकभर सशक्त प्रदर्शन भयो । शाही सत्ता अप्ठेरोमा पर्‍यो । अनि निकासको बाटो खोज्न थाल्यो । संयुक्त राष्ट्रसंघका नेपाल स्थित प्रतिनिधि म्याथ्यु कहाने र भारतीय राजदूत शिवशंकर मुखर्जीमार्फत दलहरुसँग सम्पर्क गरी दरबारले शाही घोषणाको मस्यौदा बनाउने गृहकार्य शुरु गर्‍यो । कोइरालाका तर्फबाट कांग्रेस सहमहामन्त्री डा. रामशरण महतले समन्वय गरिरहेका थिए । एमाले महासचिव माधव नेपालसँग पनि दरवारले त्यसैगरी सोझै समन्वय गरिरहेको थियो । 

वैशाख १२ गते आन्दोलनरत सात संसद्वादी दलले चक्रपथ घेराउको कार्यक्रम राखेका थिए । तर, ११ गते राति नै शाही घोषणा गर्ने निष्कर्षमा दरबार पुग्यो । अनि राजाले महत्त्वपूर्ण सन्देशसहित मुख्यसचिव पशुपतिभक्त महर्जनलाई कोइराला निवास पठाए । त्यतिबेला महर्जनले कोइरालासँग भनेका थिए — सरकारबाट हुकुम भएको छ । यहाँहरुबाट जे जस्तो वक्तव्य तयार हुन्छ मौसुफ त्यसैअनुरुप अघि बढ्न तयार होइबक्सिन्छ । 

राति नै कांग्रेस र एमालेका नेताहरु राजाबाट वाचन हुने वक्तव्यको गृहकार्य गर्न थाले । अन्त्यमा कोइरालाले भने —यहाँबाट पठाइएको मस्यौदामा ‘कमा र फुलस्टप’ पनि परिवर्तन भयो भने हामीलाई स्वीकार्य हुनेछैन । महर्जनले भने—विश्वास गरिबक्सियोस् हजुर कुनै फेरबदल हुनेछैन ।  

अनि कोइरालाको निवासमा शाही घोषणाको मस्यौदालाई अन्तिमरुप दिइयो । राति नै कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले २०४६ को जनआन्दोलनपछि बनेको अन्तरिम सरकारका मन्त्री निलाम्वर आचार्यलाई कोइराला निवासबाटै फोन गरी ड्राफको मस्यौदा पढेर सुनाए । 

त्यही मस्यौदा राजाका मुख्य सचिव पशुपतिभक्त महर्जनले  दरबार लिएर गए । कोइराला निवासमा तयार भएको त्यो मस्यौदा राजाले राति ११ बजेको शाही घोषणामा जस्ताको तस्तै पढे । यसरी विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको थियो । 

कांग्रेस र एमाले नेताहरुले तयार पारेकोे वक्तव्य जस्ताको तस्तै पढ्न राजा वाध्य भएका थिए । थपिएका शब्दमा सुरुमा ‘प्यारा देशवासीहरु’ र अन्त्यमा ‘श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल’ भन्नेमात्र थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC