site stats
बाह्रखरी :: Baahrakhari
विशेष
बलात्कारबाट बचाउन भगवान् पनि आउँदैनन् हो ?

डा.अच्युतशाली घिमिरे


दिनहुँ समाचारमा
आइरहने हेडलाइनहरूबाट
एउटा शब्द टपक्क
झिकेर
मेरी सानी छोरी सोध्छे
‘’बाबा, बलात्कार भनेको के हो ?’

सधैँ मोबाइलमा कार्टुन हेरेर
भाइसँग भाँडाकुटी खेलेर
होमवर्क गर्नमै व्यस्त हुने
मेरी सानी छोरी
आजकल
किन हो कुन्नी ?
मसँगै बसेर
टीभीमा समाचार हेर्न 
थालेकी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुरा छल्न खोज्दा–खोज्दै
छोरी फेरि सोध्छे
‘बाबा ! निर्मला दिदीले न्याय पाउनुभयो ?’
‘बाबा ! भागरथी दिदीलाई कसले मारेको ?’

म अवाक् हुन्छु
म कसरी सम्झाउँ ?
सानी छोरीलाई
कि–
तपस्वीको भेषमा बसेर
यहाँ बाबाहरू नै
कलिला कोपिलाहरू निमोठ्छन् भनेर,
म कसरी बुझाउँ ?
सानी छोरीलाई कि–
जो अबला छ
उसैमाथि
यौन हिँसा गर्छन् भनेर,
म कसरी भनौं ?
सानी छोरीलाई कि–
हजुरबुबा उमेरकाहरूले पनि
सानी नातिनी जत्रीलाई यहाँ जबरजस्ती गर्छन् भनेर !

कसरी भनौँ ?
सानी छोरीलाई कि–
तिम्ले फिल्ममा ‘हिरो’ मानेका
समाजका नायकहरू पनि 
तिमी कतै बाटोमा
सिकार पर्दा गुपचुप बसिदिन्छन् भनेर !
कुन शब्द सापटी मागेर भनौँ ? कि–
तिमी सानो हुँदा
आफ्नै परिवार–छरछिमेकबाटै 
यौन शोषणमा पर्न सक्छ्यौ भनेर,
कुन निराशा भविष्यवाणी गरेर भनौँ ? कि–
म सधँै सशङ्कित भइराख्नेछु
ठुली भएपछि पनि 
तिमी घर नआइन्जेल
कतै गल्ली चोकहरूमा
गिद्देहरूले तिमीलाई
निर्वस्त्र पारे कि भनेर !

मुटु नै सिरिङ्ग हुन्छ
चिसो सिर्का छुट्छ
जब छोरी फेरि प्रश्न गर्छे–
‘बाबा, बलात्कार गर्नेहरू 
भूतभन्दा पनि डरलाग्दा हुन्छन् हो ?
अँध्यारोदेखि पटक्कै नडराउने
मेरी छोरीलाई म के जवाफ दिउँ, सरकार ?

खै ! के अर्ती उपदेश दिउँ 
म मेरी छोरीलाई ?
तिमी अहिलेदेखि नै
छोटाछोटा स्कर्ट र
टिमिक्क पर्ने टिसर्ट नलगाउ भनौँ कि ?,
मेकअप नगर, ऐना नहेर
गाजल टिकी नलगाउ भनौँ कि ?, 
केटाहरूको संगत नै नगर
अझ केटाहरू देख्नेबित्तिक्कै
पर–पर भाग भनौँ ? कि,
पापीहरूले मौका छोप्छन्
भन्दै
डिस्को र डान्सबारमा
नजाउ भनौँ ? कि
जङ्गलको बाटो हिँड्दै
नहिँड भनौँ ? कि
सधैँ कोठामा घेरिएर
डराएर बस भनौँ ? कि
अझ घरमा आउने इष्टमित्रको
छेउछाउ नै नपर भनौँ ?

छोरी फेरि प्रश्न गर्छे
‘बाबा, हामीलाई बलात्कारबाट बचाउन भगवान पनि आउँदैनन् हो ?’
निर्मलाको 
एक्लो रोदन र
‘भागरथी’को चिच्याहट कल्पना गर्दछु !
अनि आँसुलाई
आँखा भित्र लुकाउँदै
बिलौना मात्र गर्छु !
बोल्नै सक्दिनँ
अझ भनौँ
शब्द निस्किँदैनन् ।

खै ! कतिन्जेल
यो दृश्य हेरेर बाँचौँ म
एउटा जन्म दिने बाबु भएर
सृष्टिको अनुपम उपहार
छोरीलाई जन्माउनु त
अभिशाप हो भन्ठानेर !
फूलजस्तै हुर्किएकी
मेरी छोरीलाई हाँस्न
कसरी बन्देज लगाउँ म ?
हाँस्दैमा बोल्दैमा र रमाउँदैमा
बलात्कारीले
पूर्व सूचना पाउँछ भनेर !

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  ०९:२७
प्रतिक्रिया दिनुहोस्