काठमाडौं । कोभिड-१९ का कारण फिचर फिल्म ठप्प भएका बेला चलचित्रका धेरै नायक/नायिका म्युजिक भिडियोमा अभिनय गर्न पुगे । लोकदोहोरीका भिडियोमा पनि थुप्रै नायक-नायिका देखिए । त्यसमध्येका एक हुन्, राजेश हमाल । पछिल्ला केही वर्ष यता चलचित्रबाट विश्राम लिएका नायक हमाल पछिल्लो समय म्युजिक भिडियोमा बाक्लै अभिनय गरिरहेका छन् ।
केही दिनअगाडि मात्रै कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वरमा ‘बरको छायाले’ बोलको लोकदोहोरी गीत सार्वजनिक भयो । उक्त गीत अहिले युट्युब ट्रेन्डिङमा पनि छ । गीतसँगै भिडियो पनि सार्वजनिक भयो । १४ मिनेटको भिडियोमा राजेश हमालले कम्मर मर्काएका छन् । यो त उनको पछिल्लो एउटा गीत हो । यसभन्दा अगाडि उनका थुप्रै गीत छन्, जहाँ राजेशले अभिनय गरेका छन् ।
कुनै समय चलचित्रको सुटिङ सेटमा भ्याइनभ्याई हुने राजेश अहिले म्युजिक भिडियोमा रमाइरहेका छन् । त्यसो त उनी चलचित्र नपाएर म्युजिक भिडियोमा भने आएका होइनन् । ‘सकुन्तला’ पछि उनले कुनै चलचित्रमा अभिनय गरेका छैनन् । यद्यपि केही दिन अगाडि मात्रै उनले चलचित्र ‘सत्यम्’ साइन गरेका छन् ।
केही वर्ष अगाडिसम्म लोकदोहोरी भनेर नाक खुम्च्याउने कलाकारहरू नै अहिले अहिले खुलेर लोकदोहोरीमा अभिनय गर्न थालेका छन् । म्युजिक भिडियोमै अभिनय गर्ने नायक/नायिकाहरू पनि लोकदोहोरीको भिडियो भनेपछि तर्किन्थे । तर, अहिले समय बदलियो । सायद सोच पनि परिवर्तन भयो । ठूलो पर्दाका अधिकांश कलाकार दोहोरीको भिडियोमा फिचर्ड हुन थालेका छन् । यसलाई आफूहरूले सकारात्मक रुपमा लिएको लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा बताउँछन् ।
“कुनै समय थियो, लोकदोहोरीको भिडियोमा त ननाच्ने भन्ने कलाकारहरू अहिले खुलेर आउन थाल्नुभएको छ । यो सकारात्मक पक्ष हो,” कुलेन्द्र भन्छन्, “वास्तवमा अहिले सायद सोच बदलिएको छ । अधिकांश कलाकार लोकदोहोरीमा आभिनय गर्न थाल्नुभएको छ ।” राजेश हमालले लोकदोहोरीको भिडियोमा अभिनय गर्नु अझ सकारात्मक भएको उनी बताउँछन् । “लोकदोहोरी समग्र गीतहरूको जननी हो । त्यसैले पनि यसलाई हेय होइन झन् प्राथमिकता दिनुपर्छ,” कुलेन्द्र भन्छन्, “राजेश दाइले लोकदोहोरी गीतमा अभिनय गर्दा उहाँको झन् इज्जत बढेको छ । उहाँका दर्शक थपिएका छन् । मलाई लाग्छ उहाँप्रतिको रेस्पेक्ट झन उँचो भएको छ । हामी यही क्षेत्रमा काम गरिरहेकाहरूका लागि पनि यो गौरवको विषय हो ।” लोकदोहोरीप्रति रहेको धारणा परिवर्तनका लागि पनि उनको आगमनले सहयोग गर्ने उनको विश्वास छ ।
पछिल्लो दशक चलचित्रको कथा भन्ने शैली फेरिएसँगै हमालको तत्कालीन लोभलाग्दो क्रेज ओरालो लागे पनि आमजनतामा उनको लोकप्रियता गुमेको छैन । केही समयअगाडि दीपाश्री निरौलाले महानायक र उनको दायित्त्वका विषयमा बोल्दा उनले राजेशका समर्थक तथा शुभचिन्तकको चर्को आलोचना सहनुपरेको थियो ।
किन आकर्षित भए चलचित्रका कलाकार लोकदोहोरीमा ? धेरैको भनाइ छ- आकर्षक पारिश्रमिक ।
राजेश हमाल एउटा लोकदोहोरीको भिडियोमा अभिनय गरेको कति पारिश्रमिक लिन्छन् ? निर्देशक शिव विकका अनुसार डेढ लाख रुपैयाँ लिँदै आएका छन् ।
“उहाँलाई ५० हजार लिनुस् भन्न पनि आफैंलाई गाह्रो । राजेश दाइजस्तो लिजेन्ड कलाकारलाई यतिमा गरिदिनुस् न भनेर बार्गेनिङ गर्ने कुरा पनि भएन,” शिव भन्छन्, “त्यसैले हामी आफैं डेढ लाख दिँदै आएका छौं । पल शाहले पनि सबैभन्दा धेरै डेढ लाख लिँदै आउनुभएको छ । राजेश दाइलाई पनि हामी त्यति नै दिने गरेका छौं ।”
चलचित्रमा पनि पारिश्रमिकमा बार्गेनिङ नगर्ने भएकाले उनलाई आफैं जानेर पारिश्रमिक दिने गरेको उनको भनाइ छ । प्रायः एक दिनमा एउटा गीतको भिडियो सुट सकिन्छ । त्यसैले एक दिनको लाख रुपैयाँ आकर्षक पारिश्रमिक हो । यो पनि चलचित्रका कलाकार लोकदोहोरीको भिडियोमा आकर्षित हुनुको एउटा कारण भएको दोहोरी भिडियो निर्देशकहरू बताउँछन् ।
“चलचित्रमा वा अन्य गीतमा कसरी काम हुन्छ, त्यो मलाई थाहा भएन र चासोको कुरा पनि भएन । तर, लोकदोहोरीमा सिस्टमेटिक ढंगले काम हुन्छ । हाम्रोमा उधारो चल्दैन,” कुलेन्द्र भन्छन्, “बैंक खातामा पैसा जम्मा भएपछि काम गर्छु भन्नेलाई त्यो सुविधा पनि लोकदोहोरीमा छ ।” राजेशलाई लोकदोहोरीको भिडियोमा सबैभन्दा पहिला करिब ९ वर्ष अगाडि अभिनय गराउने निर्देशक शिव विक हुन् । ‘कस्तो अचम्म’ बोलको गीतको भिडियोमा ९ वर्षअगाडि राजेशलाई शिवले अभिनय गराएका थिए । राजु परियार र विष्णु माझीले उक्त दोहोरी गाएका छन् ।
भुवन केसीलाई ‘पानमा पराग छ’मा, धिरेन शाक्यलाई ‘सररर पानी घट्टमा’, शिव श्रेष्ठलाई ‘के हुन्छ कुन्नी’ बोलको गीतमा शिवले अभिनय गराएका थिए । “आजभन्दा पाँच वर्षअगाडि पनि लोकदोहोरीभन्दा चलचित्रका कलाकार नाक खुम्च्याउँथे । त्यसैले यो प्रवृत्ति नहोस् भनेर मैले चलचित्रका स्टार कलाकारलाई लोकदोहोरीमा अभिनय गराउँदै आएको छु,” शिव भन्छन्, “लोकगीत आफैंमा पनि राम्रो हो, हाम्रो संस्कृति हो । अहिलेको युवा पुस्ताले पनि हेरुन् भनेर मैले राम्रा कलाकार राख्ने खोजेको हो ।”
लोकदोहोरीलाई युवा र सहरिया पुस्ताले हेर्ने दृष्टिकोणमा परिवर्तन आवस भनेर पप, आधुनिक र चलचित्रका कलाकार समेट्न खोजेको शिवको भनाइ छ ।
“सालको पात टपरी...मा पनि मैले धेरै नायिकालाई रिक्वेस्ट गरेको थिएँ । तर, धेरै नायिकाहरूले दोहोरीको भिडियो खेल्दिन भनेपछि मैले मरिष्का पोखरेललाई लिएको थिएँ,” विक भन्छन्, “सालको पात टपरी... गीतले स्तर बढायो । अहिले दोहोरीमा चलचित्रका धेरै कलाकार खेल्न थाल्नुभएको छ । अहिले प्राय: सबै कलाकार आग्रह गरेपछि नाईं भन्नुहुन्न ।”
अहिले लोकगीत तथा लोकदोहोरी साँच्चै राम्रो रहेछ भन्ने बुझाइ आमसंगीतप्रेमीमा हुन थालेको र माहोल नै लोकदोहोरी गीतमा रहेको शिव बताउँछन् ।