site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
 प्रहरी बर्बरता निन्दनीय

ठूलो भिड देखे पन्छने तर सानो समूह भेट्नेबित्तिकै जाइलाग्ने रणनीति नेपाल प्रहरीको प्रवृत्ति नै बनिसकेकाे हिजो (साेमवार) प्रधानमन्त्री निवासतर्फ जान लागेका प्रदर्शनकारीमाथि भएको व्यवहारबाट पनि पुष्टि भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा भङ्ग गर्ने कदमविरुद्ध नागरिक तहबाट पनि विभिन्न विरोध प्रदर्शन भइरहेका छन् । यही क्रममा काठमाडाैंमा आइतवार प्रधानमन्त्री निवास घेर्न कार्यक्रमअनुरूप बालुवाटारतर्फ गएको नागरिकहरूको शान्तिपूर्ण जुलुसमाथि पानीको फाेहाेरा, लाठी प्रहार गरेर प्रहरी बढी नै ज्यादती गरेकाे देखियो । साथै पक्राउमा परेका शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने नागरिकहरूसँग पनि प्रहरीले अमानवीय व्यवहार गरेको गुनासाे सार्वजनिक भइसकेको छ । अर्थात्, प्रहरी सोमवार आन्दोलन दमन गर्ने आदेशसहित तैनाथ भएको हुनुपर्छ । किनभने, प्रतिनिधि सभा विघटनपछि अहिलेसम्मका विरोधहरूमा प्रहरी आक्रामक देखिएको थिएन । 

प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानको अक्षर र भावनाविपरीत प्रतिनिधि सभा भङ्ग गराएपछि त्यसका विरुद्ध देशभर आन्दोलन भइरहेको छ । वर्तमान संविधान र लोकतन्त्र बचाउन चाहने सबै राजनीतिक दल, बुद्धिजीवी र चेतनशील नागरिकहरू आन्दोलित भएका छन् । यहीक्रममा राजनीतिक दलहरूले पनि काठमाडाैंमा ठूला जुलुस निकाली सकेका छन् । सहरको आवागमनलगायत जनजीवन अस्तव्यस्त हुने गरी काठमाडाैंबाहिरबाट सहभागी ओसारेर प्रदर्शन गर्दा पनि प्रहरीले राजनीतिक दलको जुलुसमा हस्तक्षेप गरेको थिएन । तर, शान्तिपूर्ण रूपमा निस्केको नागरिकहरूको जुलुसमा बर्बर दमन गरेर सरकार र प्रहरीले समेत कस्ताे सन्देश दिन खोजेको हो ? ठूलो भिड देखे जे गर्न पनि दिने र सानो शान्त समूहमाथि बर्बरतापूर्वक जाइलाग्ने राणाकालीन मानसिकता अहिलेको गणतान्त्रिक प्रहरीमा पनि कायमै देखियो । यो चिन्ता र  आपत्तिको विषय हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालका राजनीतिक नेताहरू पटकपटक गैरजिम्मेवार सिद्ध भएका छन् । आफू सत्तामा हुँदा नहुँदा उनीहरूको विचार र व्यवहारमा सधैँ फरक देखिएको छ । केही दिन पहिलेमात्रै पनि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक जना अध्यक्षले आन्दोलन शान्तिपूर्ण भएकोमा असन्तुष्टि प्रकट गर्दै ‘ननभेज’ (हिंसात्मक) बनाउन कार्यकर्तालाई उक्साएको समाचार सार्वजनिक भएको थियो । यो अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति थियो । राजनीति गर्नेहरूका लागि आन्दोलन रणनीतिमात्र होला तर स्वतन्तन्त्रता चाहने नागरिकका लागि त यो आफ्नो अस्त्तित्वसँग जोडिएको विषय हो । प्रकारान्तरले सोमवार बालुवाटार जान लागेका नागरिकहरूलाई रोक्न प्रहरीले गरेको ज्यादतीले पनि जनमानसलाई उद्वेलित र आक्रोशित बनाउने काम गरेको छ । अतः यो व्यवहार पनि आपत्तिजनक र निन्दनीय छ । सत्ताले जनआकाङ्क्षा दबाउने उद्देश्यले अपनाएको दमन धेरैजसो प्रत्युत्पादक भएको छ । यसैले नेपाल प्रहरीले विवेक प्रयोग गर्नु आवश्यक र उचित दुवै देखिन्छ । संविधान र विवेकले निषेध गर्ने दमन र बल प्रयोग गर्नु कर्तव्यपरायणता होइन । अनुचित बल प्रयोग गर्ने वा आवश्यक हस्तक्षेप पनि नगर्ने प्रवृत्ति दुवै आधुनिक प्रहरीलाई सुहाउने कर्तव्य होइन ।

 


 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १२:१८
प्रतिक्रिया दिनुहोस्