बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार बीपी, जीपी र कम्युनिस्ट  जगत नेपाल 
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, पुस १९, २०७७
Laxmi Bank
Laxmi Bank

यो साता राजनीतिमा चासो राख्ने धेरै नेपालीले बीपी कोइरालाको स्मरण गरे । सम्झने प्रसंग हो – राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । 

पार्टीको आन्तरिक कलहका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको करिब दुई तिहाइ बहुमत भएको संसद् भंग गरेर देशलाई संवैधानिक संकटतर्फ धकेलेकाले पनि यसपटक बीपीको विचार झनै सान्दर्भिक बन्न पुगेको हो । आजभन्दा ४४ वर्षअघि (२०३३ साल पुष १६ ) मुलुकको अस्तित्व संकटमा परेको विश्लेषण गर्दै आठ वर्ष लामो भारत निर्वासनबाट बीपी स्वदेश फर्किए । 

प्रजातन्त्रविरुद्ध ‘कु’ गरी (२०१७ साल पुष १ मा) आफूलाई (संसद्मा दुई तिहाई बहुमत प्राप्त पहिलो जननिर्वाचित प्रधानमन्त्री) जेल हाल्ने राजा (महेन्द्रका छोरा वीरेन्द्र) का उत्तराधिकारीसँग आफ्नो घाँटी जोडिएको अभिव्यक्ति उनले दिएका थिए । बीपीमाथि राजकाजसम्बन्धी आठ गम्भीर मुद्दा चलाइएको थियो । हरेक मुद्दामा मृत्युदण्ड हुनसक्थ्यो । 

sarbottam cement

त्यति बेला सिंगो दक्षिण एसियामा राजनीतिक अस्थिरता फैलिएको थियो । पाकिस्तानबाट छुट्टिएर स्वतन्त्र बंगलादेश बनेको थियो । सिक्किमलाई भारतमा विलय गराइएको थियो । दक्षिण एसियाली क्षेत्रमा तीव्र गतिमा विकसित राजनीतिक घटनाक्रमले नेपालको अस्तित्व समाप्त हुन सक्ने बीपीको विश्लेषण थियो । राष्ट्रियताको अघि प्रजातन्त्रको सबाल गौण हो, देश रहे राजनीति गरौँला । देशै नभए केका लागि राजनीति उनले भनेका थिए ।  

तत्कालीन परिस्थितिको विश्लेषण गरेर बीपीले राजासँग मेलमिलापको हात अघि बढाए । त्यत्रो जोखिम उठाउने बीपीले किन कम्युनिस्टलाई विश्वास गरेनन् त ? जीवनभर उनले कम्युनिस्टसँग सहकार्य गर्न किन मानेनन् ? 

Global bank

Agani Group

कारण थियो – कम्युनिस्टहरुको अविश्वसनीय चरित्र ।  

त्यसो त कुनै समय बीपी आफैँ पनि माक्र्सवादी थिए । त्यो भारतमा अंग्रेज शासन हुँदाको कुरा थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले देश निकाला गरेका कारण कोइराला परिवार पनि भारतमा निर्वासित थियो । बीपी बनारसमा पढ्दै थिए । 

तिनै ताका एकपटक पिता कृष्णप्रसादसँग रेलमा बम्बैसम्मको यात्रा गर्ने क्रममा बीपीले भारतीय कम्युनिस्ट पार्टीका महासचिव श्रीपद अमृत डाँगेसँग भेट्ने अवसर पाए । त्यही छोटो यात्राको प्रभावले उनी माक्र्सवादी बने । तर, कुरा मीठो गर्ने, सिद्धान्तविपरीत व्यवहार गर्ने, व्यक्तिगत लाभका लागि जस्तोसुकै कदम चाल्न नहिचकिचाउने कम्युनिस्ट नेताहरुको चरित्र देखेपछि उनले तिनको विचार र संगत त्यागे । 

भारतीय स्वतन्त्रता संग्राममा महात्मा गान्धी, जवाहलाल नेहरुलगायत राष्ट्रिय कांग्रेसका नेताहरुसँगै उनी पनि जेल परे । 

एकातिर कांग्रेस पार्टीका नेताहरु अंग्रेजविरुद्ध आन्दोलन गरेका कारण धमाधम जेल पर्दै थिए । अर्कोतिर स्वतन्त्रताको चर्को नारा लगाउने कम्युनिस्टहरु भने गोरासँगै मिलेर सुखसुविधा भोग गर्दै थिए । 

तिनताका कम्युनिस्टहरुले स्वतन्त्रता संग्राममा संलग्न नेताको विरोध त गरेनै महासचिव डा“गे आफू अंग्रेजहरुसँग मिलेर ठाँटसित बम्बैमा बसेका थिए । त्यस घटनाले बीपीको कम्युनिस्टप्रतिको मोह भंग भयो । कम्युनिस्ट विचारधारा छोडेपछि उनले जीवनपर्यन्त कम्युनिस्टसँग सहकार्य गर्न मानेनन् । 

बीपी भन्ने गर्थे – कम्युनिस्टहरुमाथि विश्वास गर्न सकिँदैन । उनीहरु कुरा एउटा गर्छन् भने काम अर्कै । कम्युनिस्टहरुबाट प्रजातन्त्रको रक्षा भएको इतिहास दुनियाँमा छैन । 

भारत अंग्रेजको उपनिवेशबाट मुक्त हुने वातावरण बन्दै गर्दा गान्धी, नेहरु, जयप्रकाश नारायण, डा. राममनोहर लोहियाजस्ता नेताहरुसँग संगत गर्न पाएका बीपी नेपाललाई राणाहरुको पञ्जाबाट मुक्त गर्ने विषयमा सोच्न थाले । 

नेपाली कांग्रेस पार्टीको स्थापना भयो । उनले २००७ को क्रान्तिको नेतृत्व गरे । त्यस बेला पनि कम्युनिस्टहरुले राणालाई सहयोग पुग्ने भूमिका खेलेको बुझाइ बीपीको थियो । 

एक सय चारवर्ष लामो राणा शाहीको अन्त्य भएपछि पनि कम्युनिस्टहरुको भूमिका प्रजातन्त्रको स्थायित्वका पक्षमा देखिएन ।  

व्यक्तिगतरुपमा भने बीपी कम्युनिस्टसहित सबै विपक्षीको उच्च सम्मान गर्थे । कतिसम्म भने २०१५ मा सम्पन्न देशकै पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो । बीपी मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । 

एक सय नौ सदस्यीय संसद्मा ७३ स्थानमा जितेर प्रधानमन्त्री भएका थिए उनी । त्यो संसद्मा कम्युनिस्टहरुले चार स्थानमा मात्र जितेका थिए । पहिलो संसद्मा निर्वाचित कम्युनिस्ट सांसद कमलराज रेग्मीले लेखकलाई सुनाएका छन् – ‘सार्वजनिक भाषणमा बीपी कम्युनिस्टहरुको चर्को आलोचना गर्नुहन्थ्यो । सैद्धान्तिकरुपमा घोर कम्युनिस्ट विरोधी भए पनि व्यक्तिगतरुपमा भने हामीलाई निक्कै सम्मान दिनुहुन्थ्यो । त्यति बेला हिजोआजजस्तो मोटरको जमाना थिएन । न त सार्वजनिक यातायातको सुविधा नै थियो । हामी हिँडेरै संसद् पुग्थ्यौँ । सडकमा हिँडेको देखेपछि प्रधानमन्त्री मोटर रोकेर हामीलाई लिफ्ट दिनुहुन्थ्यो । म कैंयौ पटक उहा“को मोटरमा सिंहदरबार गएको छु । बीपीको त्यो व्यवहार देखेर हामी छक्क पर्थ्याैँ ।’

तिनै ताकाको कुरा हो बीपीले कम्युनिस्ट पार्टीको सदस्य रहेका मदनमणि दीक्षितलाई पत्रिका चलाउन मासिक छ सय रुपैयाँ सहयोग दिने गरेका थिए । यस सन्दर्भमा दीक्षितले लेखकसँग भनेका छन् – ‘बीपीको सहयोग नभएको भए समीक्षा पत्रिकाको जन्म हुने थिएन । उहाँलाई थाहा थियो म कांग्रेसको समर्थक थिइन ।’

कांग्रेसको नेता भए पनि सबैलाई सम्मानका दृष्टिले हेर्थे र आफ्ना आलोचकलाई बढी सम्मान दिन्थे भन्ने यसै घटनाले पनि पुष्टि गर्छ । 

यस्तै एउटा प्रसंग पत्रकार भैरव रिसालले सुनाएका छन् – २०१५ सालको चुनावअघिको कुरा हो । बीपी कार्यक्रमको सिलसिलामा भक्तपुर पुगेका थिए । 

रिसाल त्यहीँ कम्युनिस्ट पार्टीको कार्यकर्ताका रुपमा सक्रिय थिए । बीपी आउने थाहा पाएपछि उनी पनि कार्यक्रम स्थलमा पुगे । 

रिसालले सम्झिए – ‘बीपी कटुञ्जे जानु भएको थाहा पाएर म पनि गए । भुइँमा चकला ओछ्याएर बस्नुभएको थियो । उहाँ प्रजातान्त्रिक समाजवादको बारेका छलफल गर्दै हुनुहुन्थ्यो । मैले एकपछि अर्को प्रश्न गरेँ । रिसाउनु होला कि भन्ने लागेको थियो । तर, उल्टै मलाई नजिकै बोलाउनु भयो । त्यो बेला प्रश्न गरेका कारण मलाई चिन्न थाल्नुभयो र जहाँ भेट्दा पनि बोलाउनु हुन्थ्यो । आफ्नो आलोचना सुन्न रुचाउनुहुन्थ्यो ।’

सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका कान्छा भाइ विजयलाल श्रेष्ठले पनि बीपीसँगको एउटा रोचक प्रसंग लेखकलाई सुनाएका छन् – ‘बीपी प्रधानमन्त्री थिए । गणेशमान मन्त्री । दाइ गंगालालसँग प्रजापरिषद्मा सँगै राजनीति गरेको नाताले मेरो भाउजुले (सहिद गंगालाल पत्नी हसिना) गणेशमानजीलाई पटक पटक भेट्न बोलाउनु भयो । छोरालाई छात्रवृत्ति मिलाई दिनु हुन्छ कि भन्ने भाउजुको आशा थियो । गणशमानजीले ‘आउँछु आउँछु’ भने पनि साथीको भाइ पुष्पलाल मलाई छोडेर कम्युनिस्ट भयो भनेर भेट्न आउनु भएन । आजित भएर भाउजु बीपी कहाँ जानुभयो । काम पनि भयो । बीपी त्यति उदार हुनुहुन्थ्यो ।’ 

व्यक्तिगत सम्बन्ध जति राम्रो राखे पनि मूलधारका कम्युनिस्ट प्रजातन्त्रका हकमा इमानदार हुँदैनन् भन्ने बीपीको बुझाइ कायमै थियो । 

विसं २०१७ साल पुस १ गते राजाले जननिर्वाचित सरकार र संसद् भंग गरी मुलुकमा तानाशाही शासन सुरु गर्दा कम्युनिस्ट नेताहरूले आफ्ना समर्थकलाई दिपावली गर्न लगाए । त्यसपछिका दिनमा बीपीलाई विनापुर्जी आठ वर्ष जेल राखियो । छुटेपछि उनी आठ वर्ष भारत निर्वासनमा रहे । त्यो बेला कम्युनिस्टहरुले राजालाई नै साथ सहयोग दिए । 

त्यसैले पनि हुनसक्छ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किँदा समेत उनले कम्युनिस्टमाथि विश्वास गरेनन् । बरु, प्रजातन्त्र समाप्त गरी आफूलाई जेल हाल्ने राजाका उत्तराधिकारीसँग सहयोगको हात अघि बढाए । राजासँग आफ्नो घाँटी जोडिएको अभिव्यक्ति दिए । त्यो बेला कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले पञ्चायतविरुद्व मिलेर मिलेर आन्दोलन गर्न राखेको प्रस्ताव स्वीकार गरेनन् । उनी भन्ने गर्थे – तपाईँहरु आफ्नो हिसाबले आन्दोलन गर्नुस्, हामी आफ्नै बलमा गर्छौँ । बरु एक अर्कालाई सहयोग गरौँ । तर, तपाईँहरुसँग एउटै ब्यानरमा आन्दोलनमा जान म असमर्थ छु ।

नेपाली राजनीतिका कम्युनिस्टहरु कति फुटे र जुटे । उही नामका धेरै कम्युनिस्ट पार्टी, तिनका फरकफरक नेता कसलाई विश्वास गर्ने कसलाई नगर्ने भन्ने धारणा थियो बीपीको ।  त्यसैले एक अर्कालाई सहयोग गरे पनि कम्युनिस्टसँग सहकार्य नगर्ने अडानमा उनी कायमै रहे । बीपीको जीवनकालमा कम्युनिस्टहरुले प्रजातन्त्र बलियो बनाउने भूमिका खेलेनन् । 

विसं २०३७ सालमा भएको जनमत संग्रहमा पनि धेरै कम्युनिस्टहरुले बहुदल (निलो) विरुद्ध निलो सुधारिएको पञ्चायतका पक्षमा (पहेँलोमा) मत हाले । त्यसको तीन वर्ष पछि २०३९ साल साउन छ गते बीपीको निधन भइहाल्यो ।  दाजुको निधनपछि उनका कान्छा भाइ गिरिजाप्रसाद कोइराला कम्युनिस्टको घोर विरोधीका रुपमा नेपालको राजनीतिमा देखिए । नेपालका कम्युनिस्टहरु राजाको छत्रछायामा बसेर सत्ता कब्जा गर्ने दाउमा रहेको उनको ठम्याइ थियो । 

विसं २०४२ जेठ १८ गते विमर्श साप्ताहिकमा सत्याग्रहका सम्बन्धमा एउटा कार्टुन छापिएको थियो । 

त्यस कार्टुनमा एकातिर सत्याग्रहमा हामी पनि भाग लिन पाऊँ भनी कम्युनिस्ट नेताहरु मनमोहन अधिकारी, साहना प्रधानलगायतले अनुरोध गरेको अर्कोतिर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला बसेको चित्रण गरिएको थियो । मनमोहनहरुलाई संकेत गर्दै कोइरालाले भन्दैछन् — ए नजिक नआओ छोइन्छ । कोइराला भन्ने गर्थे – सामम्यवादी व्यवस्था भनिने विचारधारा पनि तानाशाही भएको हुनाले म यसको कट्टर विरोधी हुँ । 

विसं २०४६ सालको जनआन्दोलनमा सर्वोच्च नेता गणेशमान सिंहले कम्युनिस्टहरुसँग सहकार्य गरे । संयुक्त जनआन्दोलनको बलमा तीस वर्षे पञ्चायती व्यवस्था अन्त्य भयो ।  विसं २०४७ जेठ २६ गते दोलखा सदरमुकाम चरिकोटमा आयोजित कांग्रेसको आमसभामा गिरिजाप्रसाद कोइरालाले माले, मशाले, मण्डले सबै सबै प्रतिक्रियावादी एकै भएको धारणा राखे । 

त्यही साल असार १० गते सिन्धुलीमा आयोजित सभामा उनले सभ्य मानिस कम्युनिस्ट हुँदैन भन्ने अभिव्यक्ति दिए । 

कट्टर कम्युनिस्ट विरोधी भएकै कारण देशका हरेक कुनामा पुग्दा कम्युनिस्ट र मण्डलेद्वारा उनको विरोध हुन्थ्यो । देशमा जहाँ पुग्यो त्यहीँ गिरिजाको विरोध हुन्थ्यो । कालो झन्डा, कालो फेटा र तुल देखाइन्थ्यो । 

कम्युनिस्ट विरोधीका रुपमा चिनिएकै कारण २०४८ सालको संसदीय निर्वाचनपछि कोइरालाको नेतृत्वमा बहुमतको सरकार गठन भएको २९ दिनमै निर्वाचित सरकारलाई सडक अन्दोलनबाट ढाल्ने खेल सुरु भयो । तत्कालीन प्रमुख विपक्षी दल नेकपा (एमाले)का नेताहरूकै प्रत्यक्ष संलग्नतामा कर्मचारी आन्दोलन चर्काइयो । प्रमुख प्रतिपक्षी दल एमालेले राजधानीका टेलिफोन बुथ जलाउने, रेलिङ भाँच्नेजस्ता काम गयो । 

लेखकसँगको अन्तवार्तामा कोइरालाले भनेका छन् – ‘नेपालको राजनीतिमा मलाईसबैभन्दा बढी कालो झन्डा देखाइएको छ र यस्तो विरोधको शैली प्रयोग गर्नेमा कम्युनिस्ट नै बढी रहेका छन् । जीवनमा कति पटक कालो झन्डा देखाइयो देखाइयो ! मविरुद्ध मुर्दावादको नारा लाग्यो । त्यसले मलाई खासै असर पार्दैन । कालो झन्डा देखाउने अधिकार पनि प्रजातन्त्रले नै दिएको हो । आफैँलाई कालो झन्डा देखाउँदा पनि हामीले गरेको संघर्षबाटै प्राप्त अधिकारको जनताले उपभोग गरेका हुन् भन्नेजस्तो लाग्छ । तर, अर्काको कार्यक्रममा ढुंगामुढा गरेको भने मलाई पटक्कै मन पर्दैन ।’

कट्टर कम्युनिष्ट विरोधी छविका गिरिजाप्रसाद कोइरालाले दस वर्ष लामो सशस्त्र विद्रोहमा लागेका माओवादी (कम्युनिस्ट) लाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराए । यस प्रसंगका कोइरालाले लेखकसँग भनेका थिए – ‘बीपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई आधार मानेर मैले माओवादीसँग वार्ताको हात अघि बढाएँ । प्रजातन्त्रवादीले गैरप्रजातन्त्रवादीलाई लोकतन्त्रको बाटोमा हिँडाउन उनीहरुको मन परिवर्तन गराउने रणनीतिमा जानुपर्छ भनेर आफ्नो छ दशक लामो राजनीतिक जीवनलाई दाउमा राखेर नै त्यो कदम चालेको हु ।’ कोइरालाको नेतृत्वमा पहिलो पटक संविधान सभा निर्वाचनमात्र भएन २३८ वर्ष लामो राजसंस्थाको अन्त्य गरी मुलुकले गणतन्त्रतर्फको यात्रा सुरु गर्‍यो । तर, उनलाई माओवादी कम्युनिस्टले पूर्वसहमतिअनुसार राष्ट्रपति हुन भने दिएनन् ।  

संयोगले यति बेला फेरि एकातिर कम्युनिस्टका कारण संविधान र लोकतान्त्रिक व्यवस्था संकटमा छ अर्कोतिर कांग्रेस नेतृत्व  अलमलमा । 

बीपीले आफ्ना उत्तराधिकारी नेताहरूलाई भनेका थिए – मेरो अनुपस्थितिमा कुनै निर्णय लिन अप्ठेरो भयो भने एक मुठी माटो हातमा लिएर देश र जनतालाई सम्झिनु र निर्णय लिनु । समयक्रमले बीपीका अनुयायीहरुमा फेरि मुलुकको राजनीतिक रंगमञ्चमा निर्णायक भूमिका निर्वाह गर्ने दायित्व आइपरेको छ । यति बेला कांग्रेस नेतृत्वले लिने बाटाले नै मुलुक र लोकतन्त्रको मार्गचित्र निर्धारण गर्नेछ । कांग्रेस नेतृत्वलाई चेतना भया !  
 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
आईतबार, पुस १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्