बालबालिका खुसीका अनन्य स्रोत

प्रेमनारायण भुसाल 

बाल्यकाल मानव जीवनको प्रारम्भिक अवस्था हो । बाबु र आमाबाट वंशाणुगत जैविक गुणहरु लिएर जन्मेको बच्चा सामाजिक अन्तरक्रियाबाट आफ्नो सोच, चिन्तन र जीवन दर्शन निर्माण गर्छ । बाल्यकालमा सांसारिक जालझेल र कपटबाट मुक्त तथा निर्दोष र अकलुषित हुने भएकाले बालबालिकालाई देवताको रुपसमेत मान्ने गरिन्छ । फरक रक्त समूहका आमाबाबुबीच भावनात्मक सम्बन्धको सेतु बनी आत्मीयता र प्रेमलाई प्रगाढरुपमा विकास गर्न सहयोग पुर्‍याउने भएकाले पारिवारिक संस्थाको जीवन्तता र स्थायित्वको सूत्रसमेत बालबच्चालाई मानिन्छ । जीवनप्रति सकारात्मक सोच निर्माण गर्ने काम बालबालिकाले गर्ने भएकाले फरक संस्कृति फरक रक्तसमूहका आमाबाबुलाई एकताको बलियो डोरीमा बाँध्ने तन्तुका रुपमा समेत बालबालिकालाई लिइन्छ । आमाबाबुको संयुक्त सिर्जना भएकाले बालबालिका त्यस परिवारकै सिर्जना र जिजीविषाका आधारसमेत बनेका हुन्छन् । 

बालबालिकाको जन्मपछि घरपरिवारमा अतिरिक्त दायित्व थपिनेमात्र नभई अभिभावकमा परिपक्वतासमेत आउँछ । दम्पत्तीलाई पूर्ण परिपक्व तथा जिम्मेवार बनाउने कामसमेत परिवारमा बालबच्चाको आगमनपछि हुने भएकाले मानसिक तुष्टि, जीवनप्रतिको सन्तुष्टि र सामाजिक, सांस्कृतिक परिपक्वताको द्योतक बालबालिका हुनेगर्छन् । बालबालिकाको जन्मसँगै स्याहारसम्भार र हुर्काउने जिम्मेवारी थपिँदा आमाबाबुलाई काम थपिएजस्तो देखिए पनि वास्तविकरुपमा बालबालिकासँग गरिने दैनिक क्रियाकलाप र अन्तरक्रियाले अभिभावकमा आफ्नो जीवनको सार्थकता र जैविक अस्तित्व रक्षा हुन सकेकामा आत्मसम्मानसमेत प्राप्त भइरहेको हुन्छ ।

बालबालिकाको जन्म भइसकेपछि अभिभावकहरू बालबच्चासँग खेल्ने र उनीहरुलाई व्यस्त राख्ने काममा संलग्न हुँदा सकारात्मक ऊर्जाका कारणले उनीहरूको मानसिक सन्तुलन कायम गर्ने क्षमतामा झन् निखार आउँछ । यसैले त बालबालिकालाई सिर्जनशीलताको प्रतीकसमेत मानिने गर्छ ।

खाना, निद्रा, भय र मैथुनप्रतिको चाहना हरेक प्राणीलाई जन्मजातरुपमा प्राप्त भएको हुन्छ । मानिस अन्य प्राणीभन्दा श्रेष्ठ भएकाले अन्य प्राणीका यी साझा गुणभन्दा माथि उठेर परिवार, समाज र राष्ट्रकै लागि योगदान गर्न तयार हुनुपर्छ । अनि मात्र चेतनशील मानवका रुपमा जन्मनुको सार हुन्छ । बालबच्चालाई हुर्काउने सन्दर्भमा चराचुरुङ्गी र जीव जनावरमा समेत समानता देखिन्छ । चराचुरुङ्गीले आपसी प्रेम बढाएर भालेपोथी पालैपालो बच्चाको स्याहार सम्भार र रक्षा गर्ने गर्छन् भने अपवादका रुपमा हिंस्रक जनावरहरु आफ्नै जातका बच्चामाथि आक्रमण पनि गर्छन् । यस्ता केही जनावरहरुमा पोथीले आफूलाई कम महत्त्व दिई बच्चालाई बढी माया गरेकोमा ईष्र्या र इगोका कारण भालेले बच्चालाई आक्रमण गरी हत्या गर्ने प्रयास गर्छ तर पोथीले प्राणै दिएर बच्चालाई सुरक्षा गर्छ । प्रकृतिले दिएको विशेष गुणका कारणले गर्दा अन्य जीवजनावरले पनि आफ्नो जैविक अस्तित्व सुरक्षा गर्नका लागि बालबच्चाको संरक्षण गर्छन् । 

मानव जीवनको सुनौलो बिहानी अर्थात् बाल्यकाल जीवनपर्यन्त सिकाइको पनि सुरुवाती चरण हो । यसैले बाल्यकाललाई भाँडाको आकार दिनका लागि तयार गरिएको काँचो माटोसँग पनि तुलना गरिन्छ । शरीर र मनको संरचना निर्माण हुने समय भएकाले यतिखेरका अनुभव र अनुभूतिले बालबालिकाको समग्र जीवनको व्यक्तित्व तय गर्छन् । मनोवैज्ञानिक फ्रायडले बाल्यकाललाई विभिन्न चरणमा बाँडेर त्यतिखेर उसले प्राप्त गरेको वातावरणका आधारमा उसको समग्र जीवनको पूर्वानुमान गर्न सकिने तथ्यलाई अगाडि सार्दै व्यक्तित्व निर्माण यसै समयमा सम्पन्न हुने तथ्य प्रस्तुत गरेका छन् । अन्य सामाजिक तथा संरचनात्मक मनोवैज्ञानिकहरुले समेत बाल्यकालमा सिकेका कुराले व्यक्तिलाई जीवनभर निर्देश गरिरहने भएकाले यस समयलाई निकै महत्त्वपूर्ण मानेका छन् । जसरी कुनै पनि संरचनाको जग वा आधार कमजोर भयो भने पूरै संरचना कमजोर हुन्छ त्यसैगरी बाल्यकालमा शारीरिक र मानसिक विकासका लागि आवश्यक पर्ने तत्त्वहरु पर्याप्तरुपमा प्राप्त हुन नसकेमा वा कमसल चिज प्राप्त भएमा बालबालिकाको जीवन संरचना कमजोर बन्छ । कमजोर जगमा निर्माण भएको बालबालिकाको व्यक्तित्व जीवनकालमा दुर्घटनामा पर्ने तथा असामाजिक र असामान्य गतिविधिमा अल्मलिने सम्भावना रहन्छ । यसैले पूर्वीय सनातन परिपाटीमा पनि बालबालिकालाई देवताकै रुप मानेर निःस्वार्थ रुपमा उनीहरूको संरक्षण गर्नुपर्ने कुरालाई जोड दिइएको छ ।

समग्र राष्ट्रका भविष्यका आधारका रूपमा रहेका बालबालिकाले बाल्यकालमा स्वस्थकर खानेकुरा, राम्रो वातावरण तथा असल संस्कार प्राप्त गर्न सकेनन् भने उनीहरु जीवनभर कुहिराको काग बन्ने सम्भावना रहन्छ । यसैले जीवनको जरो बाल्यकालमा राम्रो मलजल प्रदान गर्न सकेमात्र भावी वृक्ष बलियो र उन्नत बन्ने अपेक्षा गर्न सकिन्छ । बालबालिकाका सन्दर्भमा यस प्रकारको मल भन्नाले असल संस्कार, आचरण तथा आनीबानी हुन् । नानीदेखि लागेको बानी कहिले नजाने भन्ने नेपाली लोकभनाइले पनि बाल्यकालमा सिकेका कुराहरु जीवनसँग अन्योन्याश्रित भई संस्कारका रुपमा रहने भएकाले हटाउन गाह्रो हुने सत्यलाई सङ्केत गर्छ । जीवनको पछिल्लो समयमा बाल्यकालीन प्रवृत्तिभन्दा नितान्त फरकरुपमा परिवर्तन हुने व्यक्तिहरु निकै कम छन् । समयसमयमा रत्नाकर वाल्मीकि बनेको प्रसङ्गलाई धेरैले चर्चा गर्ने गर्छन् । यसरी वाल्मीकिको प्रसङ्गलाई मात्र चर्चा गर्नुको कारण यसरी व्यक्तित्व परिवर्तन हुने सम्भावना बिरलै हुने भएकाले पनि हो । 

शारीरिक स्वास्थ्यका दृष्टिले पनि बाल्यकालमा कुपोषणको सिकार भएको व्यक्तिको शरीरको संरचना, आङ्गिक विकास तथा मानसिक परिपक्वता र विकास सहीरुपमा हुनसक्दैन । युवावस्था र जीवनको पछिल्लो अवस्थामा धेरै सुखसुविधा र पौष्टिक तत्त्व प्राप्त गरे पनि बाल्यकालमा पूर्वाधार राम्रोसँग निर्माण भएको छैन भने त्यसले उसकोे व्यक्तित्व र वास्तविक स्वास्थ्यलाई सुदृढ पार्न सक्दैन । बिहानीले दिउँसोको सङ्केत गर्छ भनेजस्तै बाल्यकालले समग्र जीवनलाई प्रतिविम्बित गर्ने भएकाले सभ्य र सुसंस्कृत नागरिकको निर्माणका लागि बाल्यकालमा असल वातावरण, स्वस्थकर खाना र असल संस्कारले बालबालिकालाई सुसंस्कृत गर्नुपर्छ । जुन परिवारमा बालबालिका राम्रो संस्कार प्राप्त गर्छन् उनीहरुले दुःखकष्ट झेल्दै अघि बढ्नु परे पनि जीवनमा सफलता प्राप्त गरी असल मानिस बनेर समाज र राष्ट्रलाई योगदान गर्न सक्छन् । तर असल संस्कार प्राप्त गर्न नसकेका बालबालिकाले जतिसुकै सुविधा प्राप्त गरे पनि भविष्यमा उनीहरूले न आफ्नो उन्नति गर्न सक्छन् न त समाजलाई नै केही योगदान गर्न सक्छन् । बाल्यकाल निकै संवेदनशील अवस्था हो ।  बालबालिकाको कलिलो मस्तिष्कमा परेको छाप अमिट हुने भएकाले हरेक अभिभावक आफ्ना बालबालिकालाई  असल संस्कार र शिक्षा दिनेमा सचेत हुनुपर्छ ।

बालबालिकाको वृद्धि र विकाससँगै अभिभावकको खुशी र सन्तोषको मात्रामा समेत वृद्धि हुँदै जान्छ । शिष्ट, सभ्य र शान्त वातावरणमा बालबालिकालाई हुर्काउन सकेमा घरको सुन्दरता र सकारात्मक ऊर्जा बढ्दै जान्छ । अज्ञानवश धेरै सुखसुविधा दिने मनसायले र बालबालिकालाई दुःख, अभाव र नमीठोपनको महसुस नै गर्न नदिने चाहनाका कारण केही अभिभावकहरु सन्तानलाई जीवनका वास्तविक घटनाहरुको अनुभव गर्नबाट वञ्चित गर्छन् । बालबालिकाका लागि उनीहरूको उमेरअनुसार जोखिमरहित सामाजिक र दैनिक जीवनका वास्तविक घटनाहरुसँग भने साक्षात्कार हुने अवसर दिनुपर्छ । समाजबाट अलग्याएर विशेष किसिमको वातावरण दिन्छु भन्ने मनसाय राखियो भने बालबालिकाले केही पाउनुको सट्टा धेरै कुरा गुमाउँछन् र उनीहरु मानसिकरुपमा अस्वस्थ बनी समायोजनगत समस्यामा पर्छन् । समाजमा असल खराब सबै किसिमका मानिसहरु हुन्नु शाश्वत सत्य हो । समाजका मानिसका आनिबानी र दैनिक गतिविधि पनि फरकफरक किसिमका हुने गर्छन् । संस्कार, संस्कृति, भाषा, धर्म, पेसा व्यवसाय एवम् जीवनदर्शन समेत अलगअलग हुनु आधुनिक समाजको विशेषता पनि हो । यस्तो परिस्थितिमा केही अभिभावकले अतिसंवेदनशील बनी अन्य संस्कृति, परम्परा र रहसहन भएका मानिसहरुको सङ्गतमा जानबाट आफ्ना बालबालिकालाई पूर्णरुपमा बन्देज गरेका हुन्छन् । ‘बोइलर कुखुरा’लाई जस्तै अतिनियन्त्रित वातावरणमा थुनेर बालबालिकालाई आफूले चाहेअनुसार बनाउने अपेक्षा राख्नु आफ्ना तिनलाई कमजोर र असहिष्णु बनाउनु हो । विविधता नै प्रकृतिको नियम भएकाले यसलाई जीवनबाटै पन्छ्याउने प्रयास गर्नुभन्दा विविधताभित्रको सुन्दरतालाई ग्रहण गर्न सक्ने बनाउनु असल अभिभावकको खुबी हो । 

विषालु सर्प र मीठो महको सञ्चय गर्ने मौरी समान वातावारणमा पाइन्छन् । सर्प त्यही वातावरणमा रहेको विषालु पदार्थ सङ्कलन गर्दै हिँड्छ भने मौरी वातावारणमा पाइने फूलहरूको मधुर रस सङ्कलन गर्न उद्यत हुन्छ । मौरीलाई विषको संसर्गमा जानबाट रोक्ने वा सर्पलाई फूलको रस खान निषेध गर्ने कुनै संयन्त्र नहुँदा पनि उनीहरु आआफ्ना गुणअनुसारका काममा मात्र तल्लीन हुन्छन् । यसैगरी अभिभावकले आफ्ना बालबालिकालाई खराब ठाउँमा जान र खराब मानिसहरुसँग सङ्गत गर्नबाट रोक्नुभन्दा खराब चिज सङ्कलन नगरी असल कुरामात्र सङ्कलन गर्न सक्ने क्षमताको विकास गर्न प्रशिक्षित गर्नुपर्छ । बालबालिकामा असल दृष्टिकोणको अंकुरण गराउन सकियो भने उनीहरु ठूलो हुँदा नराम्रो वातावरण र खराब सङ्गतमा पुग्दा पनि राम्रा कुराहरु नै सिक्न र सिकाउन सक्छन् । यसैले बालबालिकाको भविष्यप्रति साह्रै चिन्तित भएर निराश हुँदै उसलाई जोगाउन अनेक किसिमका तानाबाना बुन्नुभन्दा असल कुरा ग्रहण गर्नसक्ने क्षमता विकास गराउन असल संस्कारले सम्पन्न पार्नु बुद्धिमानी हुन्छ ।

बालबालिकालाई ज्यादै कलिलो अवस्थामा पढाइ लेखाइमा आकर्षित गर्नुभन्दा उनीहरुलाई खुसी रहन सिकाउनुले जीवनमा महत्त्वपूर्ण अर्थ राख्छ । घरपरिवारबाट बालबालिकाले खुसी हुने कला सिक्न सके भने उनीहरूको जीवन सिर्जनशील बन्न सक्छ । प्रतिशोध, ईष्र्या र प्रतिस्पर्धाको भावनाभन्दा सहयोगी भावना विकास गरी उनीहरुलाई हुर्काउन सकियो भने जीवनमा वास्तविक शान्ति प्राप्त गर्न सक्छन् । यसैले बालबालिकामा सद्विचार र सत्कर्मलाई सिञ्चित गर्न अभिभावकहरुले सतर्कतासाथ आफू खुसी भई बालबालिकालाई खुसी राख्ने एवम् उनीहरुलाई सकारात्मक काममा अभिप्रेरित गर्ने कुरामा ध्यान दिनुपर्छ । बालबालिकालाई डर देखाएर सुधार्ने नाउँमा वा अन्य कुनै कारणले आक्रोश र भय प्रदर्शन गर्ने तथा शारीरिक दण्ड दिने गर्दा उनीहरु दिग्भ्रमित बनी घरपरिवारमै अविश्वासको वातावरणमा अल्मलिन सक्छन् । बालबालिका हुर्काउने कुरामा तालमेल नमिल्दा युवावस्थामा उनीहरुको जीवनप्रतिको दृष्टिकोण, आफ्नो पहिचान र जीवनको सार्थकताका विषयमा संशय पैदा भई व्यक्तित्व विघटन हुने तथा मनोसामाजिक समस्याले ग्रस्त हुने सम्भावना रहने भएकाले बाल्यकालमै उनीहरुलाई असल संस्कार र जीवनप्रतिको सकारात्मक सोच विकास गराउने क्रियाकलापसहितका आदत विकास गर्न सबै अग्रसर हुनुपर्छ ।

अभिभावकले आफ्नो ऐना बच्चामा हेर्ने भएकाले सन्तानको बाल्यकालमा मात्र नभएर आफ्नो वृद्ध अवस्थामा समेत जीवनको सार्थकता आफ्ना सन्तानले उन्नति प्रगति गरेको देख्दा र सुन्दा हुने गर्छ । सन्तानको सफलताबाट आफ्नो उपलब्धि मापन हुने र वृद्धावस्थाको सहारासमेत कुनै न कुनैरुपमा अहिलेका बालबालिका हुने भएकाले पनि उनीहरुलाई असल संस्कार, कर्तव्यपरायणता र कामको सम्मान गर्ने भावनाको विकास गर्न अभिभावकले घरको वातावरण राम्रो बनाउँदै जानुपर्छ । वास्तवमा बालबालिका भावी दिनका उज्याला नक्षत्र भएकाले जीवनको बीउरुपी बाल्यकालमा असल कुराहरु हस्तान्तरण गर्ने विषयमा हरेक अभिभावक चनाखो हुनुपर्छ । यसरी बच्चालाई खुसी राख्न अभिभावक तत्पर हुने हो भने सकारात्मक ऊर्जाका कारण स्वाभाविकरुपमा अभिभावकका मस्तिष्कमा खुसी बढाउने तत्त्व सेराटोनिन र डोपामाइनको मात्रा बढ्न गई शान्ति र खुसीमा झनै वृद्धि हुन्छ । मानिसहरु खुुसी र सम्पन्नताको खोजमा भौँतारिइरहेको वर्तमान अवस्थामा बालबालिकालाई असल र स्वस्थ बनाउन प्रयासरत अभिभावकहरु नै भित्रैदेखि सुखी र खुसी हुन सक्ने कुरा अध्ययनहरुले पनि देखाएका छन् । यसैले त बालबालिकालाई खुसीका अनन्य स्रोत मान्ने गरिएको हो ।
 

प्रतिकृया दिनुहोस
ad