काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याले पूरै देश आन्दोलित भयो । मन्त्रीका आफन्तदेखि स्थानीयसम्मलाई आरोप लाग्यो । अनुसन्धान कहिले कोतिर कहिले कोतिर सोझियो । तर हत्यारा पत्ता लागेन । छोरीको हत्याले आमालाई परेको चोट पूरै नेपालले महसुस गर्यो । त्यो पीडा नेपालभरका सडकमा जनताको उपस्थितिले देखायो । तर सत्ताको बागडोर सम्हालेकाको हृदय पग्लिएन ।
सत्ताको यो कठोर हृदय देखेर संगीतकार हरि लम्सालको हृदय छियाछिया भयो । उनलाई लाग्यो मेरो दायित्व दर्शक स्रोतालाई मनोरञ्जन दिने मात्रै हो ? दर्शक स्रोतालाई जानकारी दिने, सचेत गराउने मेरो जिम्मेवारी छैन ? जवाफ हरि आफैंसँग थियो । छ । त्यसो भए यसबारे गीत बनाउनु मेरो जिम्मेवारी हैन ? हो ।
मेलोडीमा खेल्दै गर्दा स्थायी तयार भयो । चाहियो अन्तरा । आफैं लेख्ने कि गीतकारलाई लेखाउने । शब्द चयन आफूले भन्दा गीतकारले राम्रो गर्न सक्लान् भन्ने उनलाई लाग्यो । लकडाउन थियो । आमनेसामने भेटघाटको सम्भावना थिएन । हरिले फोन गरे राजुबाबु श्रेष्ठलाई । सुनाए हरिले आफ्नो कन्सेप्ट । सोधे यसमा गीत लेख्न सकिन्छ ?
‘‘किन नसक्नु, सकिहालिन्छ नि,’’ उत्साही हुँदै राजुबाबु श्रेष्ठले भने, ‘‘मेलोडी मलाई पठाउनू, म लेख्छु ।’’ हरिले मेलोडी पठाए । राजुबाबुले ४५ मिनेटमा गीत तयार पारे । उनले सत्ता निर्मम भएको देखेका थिए । न्याय मरेको देखेका थिए । न्याय बिकेपछि गरिबले न्याय नपाएको आँखैअगाडि देखेका थिए । पूरै देशलले थाहा पाएको घटना राजुबाबुलाई थाहा नहुने कुरै भएन । त्यसमा पनि पूर्वएसपी । भर्खर एसपीबाट रिटायर्ड भएका । उनलाई थाहा नहुने कुरै थिएन । तथ्यभित्र बसेर गीत लेखे ।
हरिले भनेका थिए, ‘तपाईं त पूर्वएसपी केही गाह्रो त हुने होइन ?’ “निर्मलाको हत्यारा खुलेआम छाती फुलाएर गाउँमै हिँडिरहेको सबैलाई थाहा छ । सत्ता बिक्री भइरहेको आजको दिनसम्म सबैले अनुभूत गरेको छ । प्रहरी नै आफ्नो बाटोबाट भड्किरहेको छ । यसले त अरु निर्मलाहरु पनि सुरक्षित छैनन् भन्ने देखाइरहेको छ । आक्षेप लगाउनु भएन । तर सत्य लेख्न डराउनु हुँदैन भनेर लेखेँ ।”
त्यसपछि तयार भयो- ‘माफ गर निर्मला... ।’ मेलोडी पठाएको साँझै उनले गीत हरिलाई पठाए । मेलोडीको फ्लोमा नबग्ने केही शब्दमा पुनर्विचार गर्न उनले सुझाए । गाली जस्तो सुनिने शब्दहरु सल्लाह गरेरै फेरे । कारण सर्जकहरुले धारे हात लगाउने होइन । सालिन ढङ्गले सुझाव दिने वा सम्झाउने हो ।
“कलाकार भएर राजनीति गरेजस्तो पनि नदेखियोस् । तर कलाकार जिम्मेवार नागरिक भने हो भन्ने तहबाट काम गर्नुपर्छ भन्नेमा सुरुमै सचेत थिएँ,” हरि भन्छन्, “त्यहीअनुसार शब्द पनि आयो ।”
चुनौतीपूर्ण विषय तर व्यावसायिक थिएन । नारीप्रति संवेदनहीन राज्यको मानसिकतालाई झक्झक्याउँ भन्ने उद्देश्य मात्रै थियो । कसलाई गाउन लगाउने ? भोलि यो गीतले गायकलाई राम्रो पनि हुन सक्ला तर समस्या पनि सिर्जना हुनसक्छ भन्ने हरिलाई लाग्यो । अर्कोतर्फ लकडाउन थियो । रेकर्डिङको सहजता पनि थिएन । कसलाई स्टुडियो बोलाएर रेकर्ड गराउने जोखिमको समयमा ।
“जोखिम उठाउनुभन्दा आफैं गाउँछु भन्ने लाग्यो । र घरमै आफैं रेकर्ड, एरेन्ज र मिक्सिङ गरेँ,” हरि भन्छन्, “एरेन्जमेन्ट पनि आफैं गरे । लाइभ बाजा राख्न केही समय कुर्नुपर्थ्यो । तर मैले कम्प्युटरमा उपलब्ध धुनहरु खोजेँ । संगीत भनेको राम्रो साउन्ड डिजाइन पनि त हो ।”
प्रहरीकै केही समकालीन तथा बहालवालाहरुले फोन गरे राजुबाबुलाई भनेँ, “भएकै कुरा हो, राम्रो गीत आएछ ।” “अहिलेको समयमा मैले गीतमा जे लेखेँ निष्कर्ष नै त्यही हो । भोलि के हुन्छ थाहा छैन । तर आज तपाईंसँग कुरा गरिरहँदाको अवस्थासम्म निर्मलाको हत्यारा पत्ता लाग्ने छेकछन्द देखिँदैन,” राजुबाबु सुनाउँछन्, “तर आजको अवस्था निर्मलाले शान्ति नपाएको हो । जे हो यसमा मैले भोलि कसले के भन्ला भन्ने दिमागमा डर बोकेर कलम चलाइनँ ।”
राजु सधैं कल्पनाको गगनमा घुमेर माया पिरतीका प्रेमिल शब्दहरु मात्रै कोर्दैनन् । कहिले-काहीं तथ्य र सत्यभित्र बसेर हलीदाइ... जस्ता गीत पनि जन्माउँछन् ।