site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 जामाचोबाट काठमाडौं चियाउँदा
Sarbottam CementSarbottam Cement

राजेन्द्र डंगोल


“काठमाडौंको आँगनमै छ– नागार्जुन डाँडा । तर मेरा लागि भने यहाँ आउन औँसी–पूर्णे जुर्नुपर्यो ।” 

फूलबारी गेटबाट हाइकिङको पाइला उठान गरेपछि मैले भनेँ । 

Prabhu Bank
Agni Group
NIC Asia

अट्टहासपूर्ण हाँसो हाँसे जयनाथ । 

अर्का सहयात्री थिए– अमेरिकी नागरिक माइकल लेच । उनी नेपाली भाषा राम्ररी बुझ्छन् र बोल्छन् पनि । धन्न सुनेनन् उनले । नत्र के भन्ठान्थे होलान् ! 

Global Ime bank

पहिलोपटक आउँदा आधा शताब्दीको थियो माइकलको उमेर । छैंसठ्ठीऔँ वसन्तमा सयर गरिरहेका छन् उनी अहिले । तैपनि पुरानै जोश, जाँगर र ऊर्जा देखिन्छ उनमा । 

उनी ट्रिनिटी कलेज, हार्टफोर्ड कनेक्टिकटका प्रोफेसर । सन् १९९९ मा उनी परिचयात्मक भ्रमणका लागि नेपाल आएका थिए । त्यसपश्चात् आफ्ना कलेजका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिन नेपाल ल्याउन थाले । नेपालका थुप्रै गन्तव्य चहारिसकेका छन् उनले । योपटक अठार विद्यार्थीलाई लाङटाङ क्षेत्रमा पदयात्रा गराई त्यहाँको जनजीवन, संस्कृति र इतिहासका बारेमा प्रत्यक्ष अनुभव अध्ययन गराउने ध्येयले आएका थिए । दशदिने पदयात्रा गर्नुपर्ने भएकाले विद्यार्थीहरू काठमाडौं आइपुग्नुअगावै ‘वार्मअप हाइकिङ’ गर्न चाहन्थे उनी । 

जामाचो हाइकिङ गर्ने सल्लाह दिएका थिए जयनाथ भण्डारीले । काठमाडौंको उकुसमुकुस वातावरणलाई छोडेर प्रकृतिमा सयर गर्ने लालसाले उनीहरूको पछि लागेको थिएँ म ।

 

०००

शिशिर ऋतुको पुछारको दिन ।

घामले भर्खरै मात्र पूर्वी आकाशगङ्गामा डुबुल्की मारेको थियो । शीतले लछप्पै भिजेका पातहरू लेसिएका थिए ढुङ्गेनी खुड्किलामा । घामको आभा परेका शीतका थोपाले टल्किन्थे मेरा आँखा । गुँड छाडेर उज्यालो क्षितिज हेर्न निस्केका चकचके चराहरूले खसाल्दै थिए रूखबाट शीतकै थोपाहरू । बाटोभरि छरिँदै थियो हिजोदेखि नै मेरा आँखामा बसेको खुसी । वासन्ती बहारमा प्रवेश गर्दा नागार्जुनको चिसो र हरियो उज्यालोले चङ्गिएथ्यो मेरो शरीर । 

मज्जा आउँछ– उकालो हिँड्नुमा पनि । धर्ती नछाडीकनै उचाइ लिनुको मज्जा त छँदै छ; फेरि प्रकृतिसँग संवाद गर्दै हिँड्नुको आनन्द झन् बेग्लै । 

नाङ्गा पैतालाले तुषारो टेक्दै सेराबेसीबाट दिनहुँ नुवाकोट उकाली–ओराली गरेको याद आयो मलाई । खाली खुट्टाले हिँड्दा बाक्लिएको मेरो पैतालालाई सितिमिति कहाँ छुन्थ्यो र ठिहीले ! जानमात्र लाग्थ्यो एक घण्टा । नहिँडेको त कहाँ हो र मैले ! उहिले बाध्यताले हिँड्नुपर्थ्यो, अहिले रहर लाग्छ हिँड्न । बालवयकोे स्मृतिसँग मोहित भएथेँ म । 

 

 

नागार्जुन उकालिँदै गर्दा होचिँदै छ ऐतिहासिक विरासतको धङधङी ओढेर सुतिरहेको सहर । बालाजुतिर हुइँकिरहेका छन् मोटरगाडी र तुवाँलो बनेर उठिरहेका छन् धुवाँ–धुलोका मुस्ला । त्यहीँ छ तुवाँलोमा रगमगिएको मान्छेका गतिशील जीवन । पातलो कुहिरो लेसारिएको थियो बालाजुमाथिको आकासमा । पछाडि फर्केर त्यही दृश्य र परिवेशलाई मोबाइलमा कैद गर्दै उकालिँदा पत्तै भएन समय बितेको । 

कमिलाको ताँतीझैँ लाइन लागेर उकालिइरहेका थिए तलबाट षोड्शीहरूको एक हुल । तन्नेरीहरू माथिल्लो डिलमा पुगेर पर्खिरहेका छन् तिनैलाई । हठात् याद आयो मलाई स्व. हरिबहादुर रञ्जितको कालजयी गीत–
‘बालाजुमाथि हो नि नारान साइँली र माइलीका ताँती

एउटी आउँछु भन्थी रेशमी चुल्ठो बाटी...’

गीत गुन्गुनाउँदा बिहान–बिहानै मेरो मनमा सल्बलाएथ्योे बाफिलो तरङ्ग ।

प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको दिनलाई वज्रयान बौद्ध परम्परामा ‘हुतिपुन्ही’ मान्ने गरिन्छ । यो दिन बिहानै उठेर बालाजु र बाईसधारामा स्नान गरेर यहाँ आई पूजा, पाठ र एक सय आठ दीप प्रज्वलन गर्ने परम्परा छ । मेला भर्ने साइँँली र माइलीको ताँती लाग्थ्यो होला यो बाटोमा । र, त साइँला र माइलाहरूले यस्तो गीत गाउँथे होलान् । अड्कल लगाएँ मैले ।

नागार्जुनको सेरोफेरोमै छ– तीनवटा महाङ्काल । नागार्जुनको सेरोफेरोमै छ– पचलीभैरव, श्वेतभैरव र आकाशभैरव । नागार्जुनभित्र छन्– नागार्जुन साधकले साधना गरेको वसुबन्धु गुफालगायत चारवटा गुफा । हाल वसन्तपुरमा भएको कालभैरव पनि बालाजुबाटै लगिएको रे । न्युरोडको महाङ्काल र टेकुको पचलीभैरव पनि सायद यतै कतैबाट लगिएको हुन सक्छ । पुरानो गुह्येश्वरीलगायत प्राचीन स्तूपहरू हुनुले पनि काठमाडौंको बस्ती नागार्जुनकै सेरोफेरोबाट विस्तार हुँदै गएको बुझ्न कठिन हुँदैन ।

पर्खालले घेरिएको छ– नागार्जुन जङ्गल । 

 

 

चन्द्रशमशेर बेलायत जाँदा बगैंचाको विषयमा कुरा चलेछ । ‘हाम्रो पनि अठार कोसको बगैंचा छ,’ भनेर फुर्ती लगाएका रहेछन् । नेपाल फर्केपछि नागार्जुन संरक्षण गर्न पर्खाल लगाएका थिए । त्यसो त जङ्गबहादुरकै पालामा विसं १९२३ मै ‘डिमार्केसन’ भइसकेको थियो नागार्जुन क्षेत्रको । विसं १९२६ मा तत्कालीन राजा सुरेन्द्रले वनजङ्गल र वन्यजन्तु संरक्षणका लागि लागु गरेको ऐनको लेखोट छ नागार्जुनको पश्चिमपट्टिको ऐनडाँडामा । ऐन कानुनको दस्ताबेज भएको कारण डाँडाको नाम ऐनडाँडा रह्यो । यसले देखाउँछ, वनजङ्गल एवम् वन्यजन्तु संरक्षणप्रति गम्भीर थिए पूर्वजहरू । 

बेलायतबाट फर्केपछि त्रिचन्द्र कलेज पनि बनाए उनले । कम्तीमा आफ्नै इज्जतका लागि भए पनि केही त गर्थे जहानियाँहरूले ! अहिलेकाहरू स्वैरकल्पनाका उडान त भर्छन् तर माखो मार्न सक्दैनन् । केही गरिहाले पनि अर्कैका हितमा गर्छन् । देश र जनताको हितमा काम गर्ने राजनेता जन्मेला कि भन्ने आशाको टुसा उमार्न यो जीवनमा कहिल्यै सकिएन । सोच्दै थिएँ म । 

बाह्र थुम्की छन्– नागार्जुन पर्वतमालामा । जङ्गलको एउटा छेउमा जङ्गबहादुरले बनाएको छहरे दरबारको अवशेष छ । अर्को छेउमा जुद्धशमशेरले बनाएको नागार्जुन दरबार छ । तत्कालीन मल्ल राजा प्रताप मल्लकी पत्नी अनन्तप्रियाले हालको हलचोक र ल्हुतिकोटको पश्चिमतर्फको भागमा सुन्दर उद्यान बनाउन लगाएकी थिइन् । त्यसैले रानीवन भनिन थालियो नागार्जुन जङ्गललाई ।

चाखलाग्दा कथनहरू छन्– नागार्जुनको नामकरणका सम्बन्धमा । 

सत्ययुगमा हालको ठूलोखोला, कोल्पुखोला, छत्रेदेउराली र कुमरीलगायत क्षेत्रमा नाग र भैरवहरूको सभा बसेछ । सभाको निर्णयानुसार सबैको शक्तिपुञ्ज एउटै विश्वरूप बनेर नागदह जान राति नै हिँडेछन् । तर मनमैँजु पुग्दा उज्यालो भएछ । त्यसपछि विश्वरूप खुम्चिएर पछि हटेछन् । त्यही विश्वरूपको स्वरूपमा अवस्थित पर्वत नै नागार्जुन हो भन्ने जनश्रुति पाइन्छ । 

महाभारत प्रसङ्गअनुसार पाण्डवहरू वनबास रहेका बेला यही जङ्गलमा थिए । दुर्योधन पक्षले पाण्डवलाई मार्नका निमित्त नागलाई पठाएका थिए । यो कुरा अर्जुनले थाहा पाएछन् । पछाडि फर्केर हेर्दा फँणा उठाएर आफूलाई डस्न लागेको देखेपछि तत्कालै नागको शिर छेदन गरिदिएछन् । यसरी नाग र अर्जुनको कथा जोडिएकाले यस पहाडको नाम नागार्जुन रहन गएको कथन छ । 

महायानी दार्शनिक आचार्य नागार्जुनले यही पर्वतमा रहेको गुफामा साधना गरी सिद्धि प्राप्त गरेका थिए । त्यसैले यस स्थानलाई नागार्जुन पर्वत भन्ने गरिएको पाइन्छ । 

यही कुरा हबर्ट डेक्लिर, बेल्जियन दार्शनिकले पनि पुष्टि गरेका छन् । 

उकालिँदै गर्दा यसैसम्बन्धी चर्चा गर्यौँ हामीले । 

०००

“लेट्स टेक अ सर्ट ब्रेक !” 

थलीमा पुगेपछि माइकल लेच बोले ।

करिब सवा घण्टा हिँडिसकेका थियौँ हामी । स्वच्छ हावा पिएर पुनर्ताजगी जो भर्नु थियो, उकालोले थकाएको ज्यानमा । थलीमा लागेको पारिलो घाममा ढाड सेकाएथ्यौँ हामीले ।

०००

काठमाडौंको पश्चिममा सदाबहार हरियाली फिँजाएर लमतन्निएको छ– नागार्जुन पर्वत । थलीबाटै देखिन्छ २,१२८ मिटरको उचाइबाट बौद्ध तोरणहरूले आमन्त्रित गरिरहेको । दक्षिणतर्फ देखिन्छ सघन सहर । सहरको एकछेउमा तैरिरहेको देखिन्छ– स्वयम्भूको ढिस्को । ढिस्कोमा देखिन्छ– अद्वितीय आँखासहितको स्वयम्भूनाथ महाचैत्य । स्वयम्भू जति सुन्दर देखिन्छ, यसको उत्पत्ति र विकाससम्बन्धी मिथकले भयङ्कर रहस्यमय बनाइदिएको छ । भविष्यमा मिहिन अध्ययन हुँदै जाला– स्वयम्भूको वास्तुकला, मूर्तिकला, मन्दिर, मूर्ति, चैत्य र त्यहाँ विकसित दर्शनको । 

तलाउको पानी विस्थापित गरी मञ्जुश्रीले काठमाडौंको स्थापना गर्नुअगावै विपश्वी बुद्धले नागार्जुनको टुप्पोमा बसेर तपस्या गरेका थिए रे । उनले कार्तिक महिनामा दक्षिण फर्केर मन्त्र गरी कमलको बिउ दहमा रोपे रे । अर्को वर्षको बैशाख पूर्णिमाको दिन (६ महिनापछि) कमलको फूल उम्रेको र पञ्च रश्मिसहित स्वयम्भू महाचैत्यको उत्पति भएको रे । स्वयम्भूको अर्थ स्वयम् उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ । स्वयम्भूसित जोडिएको कथा छ नागार्जुन डाँडासँग । 

 

 

काठमाडौंको उत्पति र नेपालको एकीकरणबारे कुरा उप्काए माइकलले । मानव विशेषज्ञ हुन् उनी । अन्तर्राष्ट्रिय इतिहास पनि हो उनको विषय । विशेषगरी दक्षिण एसियाको इतिहासको राम्रो ज्ञान छ उनलाई । 

०००

भर्खरै नौ बजेको छ । अझै डेढ घण्टाको बाटो बाँकी थियो जामाचो पुग्न । 

हिन्दु तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था हो– जामाचो । तिब्बत, भुटान र भारतसम्मका तीर्थालुलाई तान्छ विपश्वी बुद्धले । धार्मिक सहिष्णुताको दृष्टिले उदाहरणीय छ– यो टाकुरो । फुल्चोकीकोे कान्छी बहिनीको रूपमा चिनिन्छ– जामाचोलाई । १,३५० मिटर उचाइको उपत्यकामा टेकेर शिरलाई हिमालको हैसियतमा पुर्‍याएको छ– जामाचोले । उपत्यकाको शोभा र पर्यावरणीय जीवनरेखा हो– जामाचो । 

कुहिरोलाई छलेर आकास हेर्नुपर्छ शिशिरभरि । तर आज कुहिरोलाई नै छलेर मुखाकृति देखाइरहेको छ आकासले । मज्जाले डुल्न पाएको थियो बतासले, र त भागाभाग भएको थियो, बिहान सबेरै नागार्जुनको शिरमा उठेका भुईंकुहिरोलाई । तुवाँलोको पनि सातो लान्छ बतासले चलखेल गर्न पाएपछि । नत्र यस्तो मौसम कहाँ जुर्छ र यात्रामा ! 

“विल द वेदर फेवर अस डुरिङ आवर लाङटाङ ट्रेक ?” 

थली छाडेर जामाचोतर्फ लाग्दै गर्दा आकाशतिर हेर्दै माइकलले सोधे जयसँग । 

मौसम बिग्रेर विद्यार्थीले हिमालहरूको दर्शन नपाउने हो कि भन्नेमा चिन्तित थिए उनी ।

“इभन स्प्रिङ स्टार्ट्स फ्रम टुमरो, विन्टर विल स्टिल इक्जिस्ट टिल द एन्ड अफ जनवरी इन द हाइ एलिभेसन । हाउएभर, आई होप भिजिबिलिटी विल बी पर्फेक्ट ।” आश्वस्त पार्न खोजे जयले । 

०००

हाम्रो बाटोमा अवरोध पुर्‍याएनन् जङ्गलका शेरहरूले । मानवगन्धको बानी परिसकेका जङ्गली जन्तुहरूलाई ख्याल रहेछ आफ्नो र अर्काको बाटो । कहिलेकाहीँ कालोपत्रे सडकतिर ओर्लने मृगहरूको पनि नामोनिशान भेटिएन । 

यसै पनि हामी जङ्गलकै बीचमा थियौँ । थलीबाट तेर्पे उकालो सुरु भएपछि फेरि छिर्यौं घना जङ्गलभित्र । 

वसन्त पल्लवित छहारीभित्र बसेर झ्याउँकिरीले निरन्तर बजाइरहेछ बाँसुरी । बुलबुल गाइरहेछ बुलन्द भाकामा । वसन्तागमनको सु–समाचार फैलाइरहेछ कोइली– ‘कुक्कु....’ ‘कुक्कु....’ गर्दै । झिसमिसेदेखि नै काफल पाक्यो भन्दै रनवन डुल्ने काफलपाक्यो चरी चिच्याउँदै छ ‘काफल पाक्या’ ‘काफल पाक्या’ भनेर । लामोलामो श्वास तान्दै छ कण्ठे सुगाका जोडी । पिँजडामा परेका भए ‘गोपीकृष्ण क.....’ रट्ने ती सुगा रनवनमा स्वतन्त्र हुँदा बेसुरा गीत पो गाइरहेछन् ! चारोको खोजीमा जमिन खोस्रिरहेका छन्– पतिव्रता/पत्नीव्रताको धर्म पालना गर्ने कालिजका जोडी । मुखै बैरी मानिने तित्रा गरिरहेछ ‘तीनतारे तित्रिक्क’ । लोग्नेबाट प्रताडित भएर माइती आएकी चेली रोएजस्तै लाग्छ– न्याउलीको ‘न्याउ...’ ‘न्याउ...’ सुन्दा । आ–आफ्नै तालगाँठीमा छन्– तमाम पन्छीहरू । 

न्याउलीको आवाज सुनेर माइकल भन्छन्– “स्वीटेस्ट सङ्स आर दोज द्याट टेल अफ स्याडेस्ट थट ।”

वसन्तको छनक दिइरहेका छन्, लालीगुराँसका मुकुलहरूले । हाँसिरहेका छन् रूखका टोड्का–टोड्कामा सुनाखरी र चाँदीगाभा । पृथक शोभा दिएका छन्, चाँपका फूलहरूले । यतिबेला शिशिरले छर्केकोे रङले लछप्पै भिजेको छु म । 

आँखाले हेरिरहेका छौँ रनवनका दृश्य । कानले सुनिरहेका छौँ पन्छीहरूका कलरव । नाकले सुँघिरहेका छौँ जडीबुटीहरूको सुवास । स्पर्श गरिरहेका छौँ नागार्जुन पर्वतलाई । 

 

मेरो मनले भनिरहेको छ– ‘पर्यटनको नाममा कतै हामी निकुञ्जको अस्मिता लुटिरहेका त छैनौँ ? यहाँसम्म सवारीको साधन ल्याउँदा पुतलीको हालत के होला ? जन्तुहरू कति त्राहिमाम हुनुपर्ला ?’

जतिजति उकालियो त्यतित्यति नै ठन्डा महसुस हुँदै छ । जवानी बोकेका घामका किरणहरू छिरेका छन् रूखका अन्तरकुन्तरबाट । न्यानो महसुस गर्छौं हामी यतिबेला भने ।  अन्तिम खुड्किला उक्लेपछि आइपुग्यो जामाचो । चुम्यौँ नागार्जुनको उचाइ । हामी पुग्दा केही भिक्षुहरू माने घुमाउँदै थिए । फोटो खिच्दै र खिचाउँदै थिए हामीजस्तै पर्यटकहरू । 

सिर्सिरे हावामा फर्फराइरहेका छन्– जामाचोभरि टाँगिएका चतुष्कोणीय ध्वजाहरू । जाँदाजाँदै दाहिनेपट्टि छ– रातो पाटी । देब्रेपट्टि छ– सेतो स्तूप । स्तूपमुनि छन्– लक्ष्मी र गणेशलगायत मूर्तिहरू र चन्द्रसूर्य अङ्कित शिलालेख । त्यसको समीपमा छ– नागाकारको प्रस्तर । सीधा अगाडि छ– फराकिलो चउर । चउरकै एकछेउमा छ– बौद्ध गुम्बा । गुम्बाभित्र छ– बुद्धको मूर्ति । 

स्तूपसँगै छ भ्यु टावर । टावरबाट दक्षिणतर्फ देखिन्छ उपत्यकाका तीनै सहर । उपत्यकाको किनारतिर आँखा डुलाउँदै जाँदा देखिन्छन्– काठमाडौंलाई पहरा दिने शिवपुरी, फूल्चोकी र चम्पादेवी । उत्तरतर्फ पश्चिममा देखिन्छन् ककनी डाँडालगायत नुवाकोटका बस्तीहरू र मनासलुदेखि पूर्वमा गौरीशङ्कर हिमालसम्मका धर्सा । हिमालको सौन्दर्य र भक्तजनका आस्थाले सिँगारिएको छ जामाचो ।

 

 

केही विदेशी र तिनका गाइडहरू पनि थिए जामाचोमा । चउरमा छुन्मुनाउँदै थिए केहीबेरअघि भेटिएका युवायुवतीहरू । कोही घामको न्यानोमा जवानी अख्य्राउँदै त कोही स्वच्छ वायुलाई प्रदूषित पार्दैँ र कोही तनलाई भूतलमै छाडेर मनलाई हावासँगै आकासमा उडाउँदै । समय बिताउने विशिष्ट कायदा ! 

“विपश्वी बुद्ध आएर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए रे । विपस्वी बुद्धले ध्यान बसेको कारण यस पर्वतलाई ‘जातमात्रोच्व’ नामकरण भएको भन्ने भनाइ छ । अपभ्रंश भएर जामाचो भन्न थालियो ।” 

मन्दिर हेरचाह गर्ने दाइले बताए हामीलाई । 

शान्त छ चारैतिर जङ्गलले घेरिएको जामाचो । स्वच्छ हावामा श्वासप्रश्वास गरेर सहरमा पिएको धुलो र धुवाँलाई फोक्सोबाट विस्थापित गरेँ मैले । गुम्बाअगाडिको पाटीमा बसेर ध्यानमग्न पञ्चरश्मिको आभास भएथ्यो मलाई । बसिरहुँजस्तो, प्रकृतिको सौन्दर्यमा हराइरहुँजस्तो, चरासँगै गाइरहुँजस्तो, लुङ्दरसँगै नाचिरहुँजस्तो । निकैबेर टहलिँयौँ हामी । बतासले कानमा तानपुरा बजाउन थालेपछि झरेका थियौँ उही धुले तलाउमा ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC