site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली साहित्यमा वंशवाद
Sarbottam CementSarbottam Cement

नगेन्द्रराज रेग्मी


हिटलरले आफ्नो सुप्रसिद्ध आत्मजीवनी (मेनक्याम्फ) मा भनेका छन्– ‘मैले विवाह नगर्नुका केही कारण छन् । विवाह गरेपछि सन्तान हुन्छन् । राजनीतिमा लागेका अधिकांश ठूला मानिसका सन्तान नालायक हुन्छन् र तिनीहरू पिताको उत्तराधिकारी बन्न सक्छन् । त्यसैले नालायक सन्तान हुनुभन्दा हुँदै नभएको राम्रो ।’

आफूले काम गरेको क्षेत्रमा आफ्ना नालायक उत्तराधिकारीहरूको प्रवेश नहोस् भन्ने विषयमा हिटलरजस्ता कुख्यात् तानाशाहसमेत सजग रहेछन् ! 

Prabhu Bank
Agni Group
NIC Asia

नभन्दै अहिले विश्व राजनीतिमा वंशवाद राम्ररी नै झाङ्गिरहेको प्रतीत हुन्छ । यसका राम्रा–नराम्रा पक्षको बहस विवादहरू आ–आफ्ना ठाउँमा होलान् तर प्रस्तुत लेख साहित्यमा देखिने पारिवारिक विरासत अर्थात् वंशवादको विषयमा केन्द्रित छ । 

राजनीतिको वंशवादजस्तो साहित्यको वंशवादलाई नकारात्मक रूपमा प्रस्तुत गरिन नहुने तर्क आफ्नो ठाउँमा सान्दर्भिक नै होला पनि, तर के यो निर्विवाद बन्न सक्ला त ? यस क्षेत्रको परिवारवादलाई कस्तो मान्ने र के भन्ने ?

Global Ime bank

नेपाली साहित्यका क्षेत्रमा एकै परिवारभित्रका सदस्यहरू अनवरत रूपमा लागेर ख्याति कमाउन सफल भएका उदाहरणहरू अनेक प्रस्तुत गर्न सकिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका पिताजी तिलमाधव देवकोटा (१९९०) संस्कृत र नेपालीमा राम्रो दखल राख्ने एक रसिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका चन्द्रचन्द्रिका र कविता संग्रहका कृतिहरू छन् । पिताजीको प्रभाव र छाप हाम्रा महाकविमा नपर्ने कुरै भएन । 

त्यस्तै महाकविकी दिदी लोकप्रियादेवी जोशी, लोकप्रियाकी छोरी शशि रिमाल अथवा महाकविकै छोरी सावित्री रेग्मीले पनि साहित्यिक क्षेत्रमा लागेर कलम चलाइरहेको देखिन्छ । 

कवि शिरोमणि लेखनाथ पौड्याल पनि यसमा अपवाद देखिनु हुन्न । शिरोमणिका छोरीहरू कुन्तादेवी भट्टराई हुन् या पुण्यप्रभादेवी ढुंगाना कवि तथा लेखिकाका रूपमा प्रसिद्धि कमाइसक्नु भएका सर्जकहरू हो । 

अलि अगाडि नै जाने हो भने शक्तिबल्लभ अज्र्यालका कान्छा भाइ राधाबल्लभ अज्र्याल तथा शक्तिबल्लभकै भतिजा उदयानन्द अज्र्याल साहित्यमा जमेकै प्रतिभाहरू थिए । कवि दैवज्ञकेशरीका छोरा विद्यारण्यकेशरी, मोतिराम भट्टका मामा नरदेव पाण्डे, भानुभक्तका पुत्र रामनाथ आचार्य आदि थुप्रै उदाहरणहरू प्रस्तुत गर्न सकिन्छ । 

‘मेरो प्रेरणाको स्रोत नै मेरो पिताजी हो’, मञ्जु काँचुली आफ्ना पिता भीमनिधि तिवारीको प्रसङ्ग जोड्दै भन्नुहुन्छ,– “मैले आफ्नो जिन्दगीमा आँखा उघारेर पहिलोचोटि देखेको पहिलो साहित्यकार नै उहाँ हुनुहुन्थ्यो ।”

यसरी छोरीले बाबुलाई मात्र सम्झेको होइन, स्वयं भिमनिधि तिवारी पनि आफ्ना छोरीहरू बेञ्जु र मञ्जुप्रति कति गहिरो आशा र भरोसा राख्नु हुँदो रहेछ भन्ने कुरा यस संवादबाट पनि थाहा पाउन सकिन्छ । तिवारी भन्नुहुन्छ– “आजकाल भने म लेख्दिनँ, लेखाउँछु यी छोरीहरूलाई” भन्दै उहाँले हासी–हासी भन्न थाल्नुभयो– “त्यसैले यी बेञ्जु, मञ्जु तपाईंले लेख्नुभएको हैन, यो त हामीले लेखेको भन्छन् ।”

“आफैले लेख्न के भयो र ?” भन्ने उत्तम कुँवरको प्रश्नमा (स्रष्टा र साहित्य पृ. १२५) उहाँ भन्नुहुन्छ– ‘‘स्वास्थ्य खराब भएकाले आफूले कुनै ठोस् काम गर्न सकेको छैन । आजकाल कहिलेकाहीँ फाटफुट कविताले मन भरिन्छ । अनि छोरीलाई डाक्छु र लेखाउँछु । ओहो, मेरा चारैजना छोराछोरीहरूको साहित्यप्रतिको चाख दिन परदिन बढ्दो छ । छोरीहरू सब कविता लेख्छन् र म बाहिर कविता सम्मेलनमा कविता सुनाउन जान लागेँ भने यिनीहरूलाई देखाएर र यिनीहरूको राय लिएर मात्र जान पाउँछु, चर्का भइसके ।” 

भीमनिधि तिवारीको यो भनाइबाट पारिवारिक सदस्यहरू सबै साहित्यमा लाग्दाको एउटा सकारात्मक र रमाइलो पक्ष यो घरमा रहेको देखिन्छ । 

तिवारीको घर मात्र होइन, यहाँ ऋध्दिबहादुर मल्लको घर पनि उत्तिकै प्रफुल्लित छ । “उनीहरूप्रति म पूर्ण सन्तुष्ट छु । त्यस्ता दुई छोरा नेपाली साहित्यलाई दिन सकेकामा आफूलाई गौरवान्वित पनि सम्झन्छु ।” साहित्यकार पिता ऋध्दिबहादुर मल्ल आफ्ना दुई छोरा गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्लप्रति यसरी गर्व गर्नुहुन्छ । हुन पनि नेपाली साहित्यिक बगैँचामा यी दुई नाम सुवासित रूपमा मगमगाइरहेको देख्दा सर्वसाधारण पाठक त मन्त्रमुग्ध हुन्छन् भने स्वयं पिताजीलाई गौरव लाग्नु अस्वभाविक होइन पनि । 

नाट्य सम्राटका रूपमा कहलिएका बालकृष्ण समको घराना नै कलातर्फ लागेकाले उहाँ पनि बालककालदेखि नै कला, साहित्यतर्फ अभिप्रेरित हुन पुग्नुभयो । उहाँकै भाइ पुष्करशमशेर सुपरिचित कथाकार हुनुहुन्थ्यो भने छोरा जनार्दन सम साङ्गीतिक क्षेत्रमा संलग्न भई आफ्नो समयको राम्रो गायकमा नाम दर्ता गराइसक्नु भएको सर्जक हुनुहुन्थ्यो ।

त्यसो त युगकवि सिद्धिचरण श्रेष्ठका पिताजी विष्णुचरण श्रेष्ठ आफैं उपन्यास लेख्नुहुन्थ्यो । उहाँका दुईवटा उपन्यास प्रकाशित छन् । आफ्नी आमाको रामायण र महाभारत पाठको प्रभावबाट सिद्धिचरणमा ठूलो छाप परेको कुरा थाहा हुन्छ भने छोरा रविचरण श्रेष्ठ पनि साहित्यिक क्षेत्रमै रमिरहनुभएको छ ।

पत्रपत्रिकामा दाइ हृदयचन्द्रसिंह प्रधानको नाम छापिएको देखेर भाइलाई पनि आफ्नो नाम छपाउने रहर जागेर आयो । यही लयमा कृष्णचन्द्रसिंह प्रधानले कविता लेख्न थाल्नुभयो । 

मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र तारिणीप्रसाद कोइरालाहरू एउटै परिवारभित्रका दाजुभाइले पनि नेपाली साहित्यमा राम्रो प्रसिद्धि कमाइसक्नुभएको छ । 

धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम, जगदीशचन्द्र रेग्मी र दिनेशचन्द्र रेग्मी, गोविन्द वियोगी र वासुशशि, मोहन कोइराला र शंकर कोइराला, महेशराज र दिनेशराज पन्त, तारानाथ शर्मा र लक्ष्मीनाथ वा दुर्गानाथ शर्मा, परशु प्रधान र शैलेन्द्र शाकार, नगेन्द्रराज शर्मा र जगदीश घिमिरे, तुलसी भट्टराई र गोविन्दराज भट्टराई, विष्णुविभु घिमिरे र रमण घिमिरे, दुबसु क्षेत्री र कृसु तथा भरत भारद्वाजहरू नै किन नहुन्, यस्ता थुप्रै दाजुभाइले नेपाली साहित्यको सेवामा योगदान दिइरहेको इतिहास हामीसँग सुरक्षित छ । 

शैलेन्द्र साकारलाई धेरैले सोध्छन्– “एकाघरका दाजुभाइ कसरी साहित्यकार हुन पुगे ?” “हजुरबुबा नै लेख्नुहुन्थ्यो । उहाँका दर्जनौं कविता रहेछन्, ती बटुलेर सानो पुस्तक निकालेका छौं ।” 

उमेरमा साढे तीन वर्षको फरक रहेका परशु प्रधान र शैलेन्द्र साकार यी दुई दाजुभाइबीच समालोचकीय सम्बन्ध पनि कायम छ । दाइले केही लेख्दा भाइले पढेर सुझाव दिन्छन् । भाइको कवितामाथि दाइ टिप्पणी गर्छन् । “अमेरिका बस्दा पनि फोनमा कविता सुनाउँथेँ, लेखनसँग ठट्टा गरेको परशु दाइ मन पराउनु हुन्न,” निर्भीकजंग रायमाझीसँग (२०७७ साउन १७ गते, अनलाइनखबरमा) शैलेन्द्र साकार आफ्नो दाइभाइका रमाइला कुराकानी प्रस्तुत गर्छन्् ।

दाजुभाइको मात्र के कुरा, बाबुछोरा पनि साहित्यिक क्षेत्रमा मनग्गे देखिन्छन् हामीकहाँ । भाषासेवी राममणि आदीका पुत्र केदारमणि, केशवमणि, जगन्नाथ सेढाईंका पुत्र वैजनाथ सेढाईं, महानन्द सापकोटाका पुत्र जगदीश नेपाली, भीमनिधि तिवारीका दुई छोरीहरू बेञ्जु शर्मा र मञ्जु काँचुली मात्र होइन गोमा शर्मा र डा. गार्गी शर्मा, केशवराज पिँडालीकी पुत्री कुन्दना शर्मा, रमेश विकल र विजय चालिसे, डा. डिल्लीरमण रेग्मी र मदन रेग्मी, परशु प्रधान र प्रतीक प्रधान, मोहनराज शर्मा र मनिक्रमराज शर्मा, गोपाल पाँडे असीम र रमा शर्मा, जगन्नाथ त्रिपाठी र सुधा त्रिपाठी, वासुदेव लुइँटेल र सुष्मा आचार्य, मदनमणि दीक्षित र विनोद दीक्षित, भूपि शेरचन र कविता शेरचन, खगेन्द्र प्रधानाड्ग र अशेष, मुकेश मल्ल, नन्दनहरि उपाध्याय र ध्रुवहरि तथा दिनेश अधिकारी, कुलचन्द्र कोइराला र जीवनचन्द्र कोइराला आदिआदि । 

त्यसैगरी श्रीमान् र श्रीमतीहरूपनि यस क्षेत्रमा लाग्नेहरूको कमी छैन । गणेश भण्डारी र सुशीला कोइराला भण्डारी, परशु प्रधान र कल्पना प्रधान, दमननाथ ढुंगाना र भुवन ढुंगाना, नरहरि आचार्य र शारदा शर्मा, खगेन्द्र लुइँटेल र लीला लुइँटेल, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई, मोदनाथ प्रश्रित र कविता पौडेल, विनोद मञ्जन र गायत्री विष्ट आदि–आदि । यी त केही प्रतिनिधि पात्र मात्र हुन् । सबैको विवरण दिने हो भने यो विवरण निकै लामो हुन सक्छ । 

एक–एकवटा पेसा, व्यवसाय अँगालेर काम गर्ने हाम्रो नेपाली समाजको सामाजिक परम्परा रही आएको छ । यो हाम्रो वंशानुगत स्वभाव नै हो । अझ पूर्वीय सामाजिक संरचना त झन् यस्तो छ कि आफ्नो घर–परिवार र गृहस्थी अति सुमधुर र समृद्ध भएर चलाउन र चलेको हेर्न परिवारका सदस्यहरू उत्सुक रहन्छन् । त्यसमा पनि परिवारका मूली अर्थात् अभिभावकहरू आफ्नै जीवनकालमा आफ्ना छोराछोरीको भविष्य निश्चित र सुरक्षित भएको देख्न चाहन्छन् । सायद त्यसैले पनि होला आफ्ना सन्तानलाई आफूले नगरेको, नबुझेको भिन्नै क्षेत्र, पेसा र व्यवसायमा उनीहरूलाई जाने हौसला सितिमिति दिँदैनन् पनि ।

व्यापारीले आफ्नो छोराछोरीले व्यापारै गरोस् भन्ने चाहना राख्छन् भने कर्मचारीले जागिर खाइदियोस् भन्ने चाहन्छन् । बाबु राजनीतिमा संलग्न भए छोराछोरी पनि बाबुआमाका साथीभाइ, नेता, कार्यकर्ता र सरसंगतको प्रतिफलका कारणले पनि हुनसक्छ त्यही क्षेत्रमा रम्न पुग्छन् । 

हुन पनि सानैदेखि घरायसी वातावरणको घुलमिलका कारण र पेसागत अभ्यस्तताले गर्दा पनि यस्ता काम, व्यवसायमा उनीहरूको इच्छासमेत जागृत हुन्छ । त्यसका सकारात्मक र नकारात्मक पक्षबारे सानैदेखि उनीहरू परिचित हुन्छन् र धेरै हदसम्म सुगमता पनि मिल्न पुग्छ । नाचगान, वाद्यवादन, कलाजस्ता सिर्जनात्मक क्षेत्रमा समर्पित मातापिताका कतिपय छोराछोरीहरू पनि बाबुआमाको यही बिँडो थाम्न आइपुगेको देखिन्छ । साहित्यिक क्षेत्र पनि यसमा पृथक देखिँदैन ।

कहिलेकाहीँ आफूले गम्भीर रचना सिर्जना गरे पनि आफूभन्दा उँचो व्यक्तित्व त्यो परिवारमा भएको खण्डमा त्यो नाम र त्यसको रचना फिका पनि नदेखिने होइन । अझ कतिपय सन्दर्भमा त उसैले सन्तानको रचनासमेत लेखिदिने गरेको आरोप पनि लगाउने गरिन्छ । यस प्रसङ्गमा एउटा चोटिलो उदाहरण वरिष्ठ गीतकार नगेन्द्र थापाले बताउनुभएको छ– यस पङ्क्तिकारसँगको भेटमा । 

उहाँ प्रधानमन्त्री सूर्यबहादुर थापाको भाइ मात्र होइन, राम्रो गीतकार र कवि पनि हुनुहन्छ । “दाइको व्यक्तित्वको अगाडि भाइको व्यक्तित्व भाइ नै हुँदो रहेछ । दाइ प्रधानमन्त्री हुनेबित्तिकै भाइ लो–प्रोफाइलमा गइहाल्छ, हामीमा त्यो कुरा लागु भएको थियो । ठूलो रूखको छहारीमुनि बस्दा सेप लाग्छ भन्थे, हो रहेछ,” उहाँ भन्नुहुन्छ । 

यसमै अर्काे सन्दर्भ पनि जोडिन आउँछ । परशु प्रधानको अन्तर्वार्ता सङ्ग्रह ‘केही क्षण केही अनुहार’मा ध्रुव सापकोटाले मञ्जु काँचुलीलाई ‘...तपाईं नेपाली साहित्यिकजगतमा सशक्त रूपमा प्रेमा शाह वा पारिजातजस्तो किन प्रतिष्ठापित हुन सक्नुभएन ?’ भन्ने प्रश्नमा उहाँको उत्तर थियो– ‘‘...कैयाैं वर्ष त मेरा पिता साहित्यकार भीमनिधि तिवारीको ओजस्वी साहित्यिक व्यक्तित्वको छायामुनि विलिन भएर हराएँ । मेरो छुट्टै साहित्यिक अस्तित्वको पहिचान भएन । मेरो सम्पूर्ण साहित्यिक व्यक्तित्व तिवारीजीकी छोरीका रूपमा सीमित भयो (पृ.२१७) ।’’ 

यसरी आफ्नो जतिसुकै क्षमता, योग्यता हुँदाहुँदै पनि त्योभन्दा उँचो र महत्त्वपूर्ण व्यक्तित्वका कारण कहिलेकाही यस्ता घटनाहरू पनि आउने गर्छन् । यस प्रसड्गले यही कुराको संंकेत गर्छ ।

माता, पिता वा पतिको फेर समातेर राजनीतिमा आउन जति सजिलो छ, साहित्यमा यो प्रयोग सफल देखिँदैन । राजनीतिमा माता, पिता वा पतिको निधन हुँदा सन्तानहरूलाई एक किसिमको आघात त पर्छ नै, सँगसँगै राजनीतिक पद प्राप्तिका हिसाबले यदाकदा ठूलै चिट्ठा पनि पर्न जान्छ, (कृपया माफ गरिदिनुहोला सामान्य मानवीय संवेदनालाई समेत ख्याल गर्न नसकेकामा, के गर्ने स्थिति नै यस्तै छ) । यस अवस्थामा उनीहरूका सन्तानले बिनाकुनै लगानी र योगदान सहानुभूति स्वरूप पद प्राप्त गर्छन् । यसरी सत्तामा आसिन हुन पुगेका थुप्रै उदाहरण हामी कहाँ छन् । 

तर साहित्यमा गहन रचना सिर्जना नगरी सहानुभूतिले मात्र काम चल्दैन । सिर्जनामा विषयवस्तु र कला पक्ष सबल र सुन्दर पार्नैपर्छ, अथवा हुनैपर्छ । लेखकीय इमानदारीलाई राम्ररी परिपालना नगरी यसमा बसिरहन सकिँदैन । यी सब एकछिनका लागि अरू कसैको मद्दतले भए नै पनि सधैंभरी कसैले कसैको वैशाखी भइरहन सक्ने कुरा पनि होइन । त्यसमाथि राजनीतिमा जस्तो एकपटक पदमा ल्याइदिएपछि स्वतः कार्यकर्ताहरू बढ्ने कुरा पनि यसमा सन्निहित हुँदैन । 

त्यसैले साहित्यमा कमजोर सिर्जनाशक्ति भएका व्यक्तिहरूलाई पाठकले सजिलै गलहत्याउँछन् र टिकिरहन गाह्रो पर्छ । नत्र जवानीमा प्रायः हरेकले कविता लेखेकै हुन्छ तर के तिनीहरू सबै साहित्यकार हुन सकेका छन् ? त्यसैले साहित्यिक क्षेत्रमा लाग्दा आफ्नो कलमको सिर्जनाशक्ति र सीप नभएसम्म प्रवेश गर्न त सकिएला तर टिकिरहन गाह्रो हुन्छ । 

पाठकको मनमस्तिष्कमा लेखक बस्नसक्नुको मुख्य कारण नै उसको लेखनी हो । लेखनीबाटै लेखकलाई पहिचान र प्रसिद्धि मिल्छ । साहित्यकारको खुबी, विशेषता र सबल पक्ष भनेको नै यही हो । वंशवादको फेर समातेर मात्र यस क्षेत्रमा काम चल्न सक्दैन, यो कुरा निर्विवाद छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC