site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
टेबल नम्बर सात
Sarbottam CementSarbottam Cement

महेन्द्र उपाध्याय


टेबल नम्बर सातमा जिरोकुमारीले धेरैपल्ट आफ्नो जवानीसँगै मासुका प्लेट, रक्सीका बोतल र चियाका कप पुर्‍याएकी थिइन् ।

त्यसरी नै उनका दिदीहरु शुक्रतारा र तुलसाले ‘टेबल सर्भ’ गरेका थिए । त्यसैले त उनीहरुको घर बस्यो । उनले यो कुरा राम्रोसँग बुझेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जेठी दिदीले त्यही होटलबाट सुरू गरेकी थिइन्, आफ्नो घर बसाउन । र त श्रीमान् पाएकी थिइन्, सरकारी मास्टर । माइली दिदीले पनि त त्यसै होटलबाट सुरू गरेकी थिइन् आफ्नो घर बसाउने काम । र श्रीमान् पाएकी थिइन्, खरदार ।

अब घर बसाउने पालो थियो, जिरोकुमारीको । स्तनको आकार, नितम्बको कसिलोपन र इच्छाको उचाइ दिनदिनै बढे जस्तो लाग्थ्यो, जिरोकुमारीलाई । उनका दाजुभाउजूलाई पनि त्यस्तै लागेको थियो । र त उनलाई गाउँबाट बजार बोलाएका थिए । बसाओस्, जिरोकुमारीले पनि घर । बजारमा घर लगाउन पो गाह्रो छ, बजारबाट घर बसाल्न त गाह्रो छैन नि ! यो कुरालाई जिरोकुमारीले भाषा दिन नसके पनि उनका दाजुभाउजूले राम्रैसँग बुझेका थिए ।

Global Ime bank

टेबल नम्बर सातमा भुइँतलामा थियो । चार कुर्सी, एउटा मात्र टेबल अनि एउटा सानो खाट, जसमा जिरोकुमारी र उनकी भाउजू छाउ हुँदा सुत्ने गर्थे । एक हिसाबले सहरका घरहरुभित्र हुने छाउगोठ थियो, त्यो कोठा । उसो त बजारका हरेक होटलमा त्यस्ता छाउगोठ थिए, जो दिउँसो एलिट वर्गका गोप्य क्याबिन बन्थे भने रातमा छाउगोठ । खासमा टेबल नम्बर सात अलि सम्मानित र उच्चपदस्थ जागिर खानेहरुका लागि रक्सी खानका लागि मात्र बनेको थियो । तल्लो दर्जाका कर्मचारी, कामदार त माथिल्लो तलामै रक्सी घुटुक्क पारी हिँडिहाल्थे । माथिल्लो तलाका छ ओटा टेबल र माथिल्लो तलासम्म मात्र आइपुग्ने ग्राहकलाई थाहा नै छैन होला, तल्लो तलामा टेबल नम्बर सात छ भन्ने । जसमा आउँछन्, सरकारी मास्टर, खरदार अनि अरु सरकारी कर्मचारी, बैङ्कका कर्मचारी, भोलि बन्ने नेताहरु, आज नेता बनिसकेका र पुराना नेता आदि ।

कहिलेकाहीँ यसै टेबलमा बसेको कुनै ग्राहकले जिरोकुमारीको नितम्ब छुँदा उनलाई यस्तो पनि लाग्थ्यो, भिनाजुहरुले यसरी नै पहिलो पल्ट छोएका थिए होलान्, दिदीका नितम्ब पनि । ती दिनमा उनलाई लाग्थ्यो, नितम्ब छुने मान्छे भोलि गएर उनको पति बन्न सक्छ ।

कहिलेकाहीँ छाउ हुँदा पेट बेस्मारी दुख्थ्यो । यो कुरा भाउजूले सजिलै थाहा पाउँथिन् । जिस्काउँदै भन्थिन्, “बिहापछि त छाउ हुँदा पेट पनि दुख्दैन ।” त्यो बेला अरु नन्दहरु झैं जिरोकुमारीलाई पनि लाग्थ्यो, भाउजू उनलाई यो घरबाट धपाउन खोजिरहेकी छन् । तर जब राति एक्लै बिस्तारामा पल्टिन्थिन् अनि सम्झिन्थिन्, टेबल नम्बर सातमा बसेको साँझतिरको कुनै ग्राहक र ऊ आफ्नो पति बनेको मीठो कल्पनामा डुबेर निदाउँथिन् । साँच्चै कोही पति बनेर कल्पना आउनासाथ उनको पेटको दुखाइ कम हुन्थ्यो । सायद भाउजूले भन्न खोजेको पनि त्यही थियो । पोइ भनेको आफ्नी जोईको दुःख कम गर्ने मान्छे हुन् ।

टेबल नम्बर सातमा एक साँझ ठीक घाम ‘डुब्ने’ बेला आइपुग्यो, काँक्रोको चाना जस्तो जीउ भएको अग्लो, गोरो, चस्मा लाउने ग्राहक । जिरोकुमारीले त्यो मान्छेलाई यसअघि कहिल्यै देखेकी थिइनन् । उनलाई देख्नेबित्तिकै जिरोकुमारीलाई लाग्यो, चस्मा लगाउने मान्छे सायद मास्टर हुनुपर्छ । किनकि दिदी शुक्रताराका श्रीमान्, उनका ठूलो भिनाजु मास्टर हुन्, जो चस्मा लगाउँछन् । एकैछिनमा मनमा विचार आयो, खरदार पनि हुन सक्छन् । किनकि दिदी तुलसाका श्रीमान् माइलो भिनाजु खरदार हुन् । उनी पनि चस्मा लगाउँछन् । फेरि लाग्यो, बैङ्कको कर्मचारी पनि हुन सक्छ । किनकि टेबल नम्बर सातमा आउने धेरै बैङ्कका कर्मचारी पनि चस्मा लगाउँछन् । उनको आशावादी मन फेरि सोच्न पुग्यो, नेता पनि हुन सक्छ । 

गाउँदेखि बजारसम्मका हरेक तन्नेरी बूढा नेता सम्झिइन्– सब चस्मा लगाउँछन् । जेसुकै होस्, सानो कामदार होइन । किनकि ऊ टेबल नम्बर सातमा आएको छ । उसलाई नचिने पनि ऊसँगै आएको मान्छेलाई उनले चिनिन् । तल्ला गाउँको उपिन्द । उपिन्द बजारको खै कुन अफिसको गाडी चलाउँछ र उपिन्दले चस्मा लगाउनेलाई ‘सर सर’ भनिरहेको छ । त्यसैले ऊ सानो मान्छे चाहिँ होइन लाग्थ्यो । जिरोकुमारीले यसरी अड्कल काटेको यो पहिलो चोटि चाहिँ होइन । टेबल नम्बर सातमा यसरी कोही तन्नेरी, गोरो छाला भएको ग्राहक आयो भने अड्कल काट्न थालिहाल्थिन् । मान्छेले घाँस चरिरहेको गाई देख्यो भने त कुन जातको, कति माना दूध दिन्छ भन्ने अड्कल काट्छन् भने उनले पति बन्न सक्ने मान्छेको अड्कल काट्नु के नचहिँदो कुरा भो र ?

दिन बित्दै गएपछि चस्मा लगाउने मान्छे एक्लै टेबल नम्बर सातमा आउन थाल्यो । अबेरसम्म एक्लै रक्सी खान्थ्यो । कहिलेकाहीँ जिरोकुमारीलाई सय र पचास रूपैयाँ “यो तिमीलाई है” भन्दै दिन्थ्यो । थाहा नपाए जसरी जिरोकुमारीका नितम्बमा हात पुर्‍याउँथ्यो । मुसुक्क हाँस्थ्यो । अनि किन नलागोस्, जिरोकुमारीलाई यो मान्छे उसको पति हुन लायकको छ भनेर !

चस्मा लगाउने मान्छेले कहिलेकाहीँ यो कुर्ता कस्तो राम्रो भन्दै उसका नितम्ब, ढाड, स्तन र घाँटीसम्म हात पुर्‍याउन थालिसकेको थियो । जिरोकुमारीलाई लाग्थ्यो– पति बन्ने मान्छे यस्तैगरी त बन्छन् होला नि । जिरोकुमारीलाई अप्ठ्यारो नलागेको होइन, लागेको थियो । तर मासु, दारूबाहेक आफूलाई पनि कहिलेकाहीँ पैसा दिने मान्छे भोलि गएर आफ्नो पोइ बन्न सक्नेछ । भोलि पोइ बन्ने मान्छेले यतिको गर्नु त के ठूलो कुरा भयो र ? उसो त गाउँमा पनि त जात्रा जाँदा, कसैको बिहे, व्रतबन्ध, पूजामा यसरी नै नितम्ब, ढाड, स्तन र घाँटीमा हात अरुले पनि पु¥याएकै हुन् । अरुले पुर्‍याउनुभन्दा पोइ बन्ने मान्छेले पुर्‍याएको निको हो । ती दिनमा जिरोकुमारी बिस्तारामा पल्टिएपछि पुराना हात बिर्सिएर चस्मा लगाउने मान्छेका हात र अनुहार सम्झिन थालेकी थिइन् ।

एक साँझ जब जिरोकुमारी मासुको प्लेट र रक्सीको बोतल लगेर टेबल नम्बर सातमा पुगेकी थिइन्, उही चस्मावाला ग्राहकले उनको हात च्याप्प समातेर आफ्नो काखमा बसाल्दै अँगालोमा बेरेको थियो । र जिरोकुमारीको ओठमाथि ओठ राखिदिएको थियो । उनको बायाँ स्तनमाथि केटाको दाहिने हात थियो र कानमा केटाको तातो श्वासले एक ध्वनि उत्पन्न गराएको थियो, “म तिमीलाई मन पराउँछु ।” एकैछिनपछि केटोले जिरोकुमारीलाई छाडिदियो । तर जिरोकुमारीले केही मेसो पाउन सकिनन् । पोइ बन्ने मान्छेले के ग¥यो भनेर ?  बायाँ छाती अलिकति दुखे जस्तो भइरहेको थियो । यो काम यति छिटो भएको थियो कि, धामीलाई देउता आए जत्तिकै... ! 

त्यसबेला डराएकी जिरोकुमारी रातभर रोमाञ्चित भएर अबेरसम्म कोल्टे फेर्दै दुखिरहेको तर अनौठो आनन्द दिइरहेको बायाँ छाती सुमसुम्याउँदै पल्टिरहिन् । र कानमा उही ध्वनि गुन्जिरह्यो, जसलाई जिरोकुमारी बजार आएदेखि सुन्न चाहन्थिन्, “म तिमीलाई माया गर्छु ।” एक हिसाबले त्यो रात उनका कान हलुका भएका थिए । मानौं, पवित्र भए । व्रत बसेकी आइमाई जस्तै आशावादी हुँदै त्यस दिन उनी निदाएकी थिइन् ।

टेबल नम्बर सातछेउमा जिरोकुमारीका खुट्टा केही लामो समय अड्किन थालेको कुरा उनका दाजुभाउजूलाई पनि थाहा नभएको होइन । तर उनीहरुले थाहा नभए जस्तो गरेका थिए । यसरी नै उनका दुई बहिनीको खुट्टा अड्केका थिए र त उनीहरुको घर बसेको थियो । मन अस्थिर तर खुट्टा स्थिर हुने मान्छेको प्रगति हुन्छ भन्ने कुरा पनि त बुझेका थिए ।

एक साँझ जिरोकुमारीको सुरूवाल जमिनमा झ¥यो । अनि बल्ल जिरोकुमारीले भन्न सकिन्, “म छाउ भएकी छु ।”

केटाले उनको मनतातो सासले बिस्तारै सोधेको थियो, “कति दिन भयो ?”

जिरोकुमारीले चार मात्र भन्न सकिन् । बाँकी सास उनको घाँटीमै अड्कियो ।

“त्यसो भए केही हुन्न,” उही तातो आवाज कानमा बज्यो । अनि कुनाको खाटमा केही समय कम्पन सुरू भयो । केहीबेरमा खाटको कम्पन रोकियो । जिरोकुमारीको सास र चस्मा लगाउने ग्राहकको सास सामान्य हुन केही समय लाग्यो ।

जिरोकुमारीले आफ्नो शरीर दुखेको महसुस गरी । माथिल्लोभन्दा तल्लो शरीर बढी दुखेको थियो । खुट्टा घिसार्दै, आफूलाई पनि घिसार्दै उनी माथिल्लो तलासम्म पुगिन् ।

राति उही टेबल नम्बर सातको छेउको बेडमा पल्टिएपछि सोचिन्, पोइले शरीर पनि दुखाउँदा रहेछन् ।

केही हप्तापछि छाउ भएकै चौथा दिनहरुमा फेरि त्यस्तै भयो, फेरि त्यस्तै भयो । त्यसपछिका दिनहरुमा जिरोकुमारीको शरीर कम दुख्थ्यो । तर केही नपुगे जस्तो लाग्थ्यो । जिरोकुमारीलाई लाग्थ्यो, सायद दुखाइ पुगेन होला, शरीर अझै बढी दुखेको भए हुने !

टेबल नम्बर सातमा चस्मा लगाउने मान्छे आएको दिन जिरोकुमारी आवश्यकभन्दा बढी त्यहीँ अड्किन थालिन् भन्ने कुरा उनका दाजुलाई नलागेको होइन । लागेर पनि के गर्नु ? त्यो कोठामा ‘छुएनेरी’ बस्छन् । आफू जान भएन, स्वास्नी पठाउने हिम्मत थिएन । सब सही भइराखेको छ भन्ने विश्वास थिएन । माथिबाट चिच्याउँथ्यो, “ओ बैना, ओ बैना” भन्दै । जिरोकुमारी फुत्त कोठाबाट बाहिर निस्किन्थिन् । उनका दाजु विश्वस्त हुन्थे । केही गलत भएको छैन भन्ने कुराले ।

एकपाला छाउ भएको चौथो दिन खाट हल्लिन रोकिएपछि जिरोकुमारीले सुरूवाल माथि सार्दै भनिन्, “अब मलाई भगाउनू न । तपाईंबिना बाँच्दिनँ लाग्छ ।”

त्यस दिनपछि टेबल नम्बर सातमा काँक्राको चाना जस्तो जीउ भएको, अग्लो, गोरो, चस्मा लगाउने मान्छे कहिल्यै देखिएन । ऊ नदेखिए पनि जिरोकुमारी हरेक साँझ टेबल नम्बर सातमा एकपल्ट पुग्थिन् । रक्सीको बोतल, मासुका प्लेट लगेर होस् या खाली हात उनलाई इन्तजार उही एक मान्छेको थियो, जो उनको यथार्थमा आधा र कल्पनामा पूरा पति बनिसकेको थियो ।

त्यो कुरा उनका दाजुभाउजूलाई थाहा नभएको होइन । भएर पनि के गर्न सकिन्थ्यो र ? जबर्जस्ती आफ्नी बहिनी अर्काको हिल्ला लगाउने कुरा भएन । टेबल नम्बर सातमा अरु नयाँ ग्राहक त आउँथे । तर जिरोकुमारीलाई अरु आउनु र नआउनु उस्तैउस्तै लाग्थ्यो ।

दिदीहरु त्यहाँ आउँदा जिरोकुमारीले घुमाउरो पाराले सोधेकी पनि हुन्, कसरी घर बस्छ भन्ने कुरा । दिदीहरुले पनि घुमाउरै उत्तर दिए । उनलाई बुझेबुझे जस्तो पनि लाग्यो । नबुझे जस्तो पनि लाग्यो । दिदीहरुका कुराको तात्पर्य चाहिँ कसैलाई पोइ बनाउनु छ भने आफू जोई बन्न हतारिनु हुँदैन भन्ने थियो । तर जिरोकुमारीलाई लाग्थ्यो– यो कुरा कत्तिको साँचो हो ?

अचेल टेबल नम्बर सातका कुनै ग्राहकले कुनै अङ्गमा जानीजानी नजाने जसरी छुन खोज्दा जिरोकुमारी उनीहरुको हात समातेर झड्कार्दै भन्थिन्, “दाजुलाई भन्दिऊँ ।” सायद जिरोकुमारीलाई पनि थाहा भयो क्यारे, जोई बन्न हतार गर्नुहुन्न भन्ने कुरा । अनि अचेल टेबल नम्बर सात त्यो कोठामा छैन, त्यो मात्र छाउगोठ हो । पहिले जसरी त्यो कोठामा उनकी भाउजू र उनी मात्र जान्छन् । केवल महिनाको पाँच दिन ।

उनलाई यति चाहिँ थाहा भयो, पोइ बन्नेहरु पोइ बन्न हतार गर्दैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement