site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
प्रतिष्ठानमा आइसकेपछि दलीय गन्ध आउनु हुँदैन
Sarbottam CementSarbottam Cement

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव तथा सर्जक प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ सिर्जनाका विविध विधामा कलम चलाउँछन् । प्रतिष्ठानको दर्शनशास्त्र विभागको जिम्मेवारीसमेत सम्हालेका उपाध्यायका दर्जन बढी पुस्तक प्रकाशित छन् । पछिल्लो समय प्रतिष्ठानको गौरवपूर्ण प्राज्ञिक कार्य नेपाल दर्पणको कामलाई गति दिँदै अगाडि बढिरहेका उपाध्याय प्रतिष्ठानबाट प्रकाशित पुराना तर महत्त्वपूर्ण कृतिहरूको पुनःप्रकाशनका काममा पनि सक्रिय छन् । केही दिनअघि सदस्य–सचिव उपाध्यायसँग प्रतिष्ठानका विषयलाई लिएर लामो कुराकानी भएको थियो । प्रस्तुत छ बाह्रखरीका राजेश खनालले सदस्य–सचिव उपाध्यायसँग गरेको कुराकानी ः

पछिल्लो समय नेपाल दर्पणको काममै व्यस्त हुनुभएको छ । किन ? 
हामी प्रज्ञा प्रतिष्ठानमा आइसकेपछि के महसुस गरियो भने, नेपाल अहिले गणतन्त्रमा छ । संघीय स्वरूपमा छ । राज्यमा तीन तहको सरकार सञ्चालनरत् छ । तर यो अवस्थामा नेपाल चिनाउने, नेपालको पूर्ण परिचय दिने खालको ग्रन्थको अभाव छ । जस्तै, पञ्चायतकालमै पनि ‘मेचीदेखि महाकाली’ नामको ग्रन्थ थियो । जसले तत्कालीन नेपालको परिचय दिएको थियो । त्यो पनि महत्त्वपूर्ण कार्य थियो भन्ने मलाई लाग्छ । मुलुकमा गणतन्त्र आइसके पछि त्यस्तो प्राज्ञिक सामग्रीको अभाव महसुस भएरै हामीले नेपाल दर्पणको काम सुरु गर्‍यौँ । 

नेपालको सातै प्रदेशलाई आधार बनाएर सातवटै प्रदेशको भूगोल, कला, संस्कृति, त्यहाँको सभ्यता, शिक्षा, दर्शन, भौतिक पूर्वाधार, प्रशासनसहित दश विभिन्न विषयमा अनुसन्धान गर्दै अलगअलग ढङ्गबाट फरकफरक विद्वानहरूले अध्ययन अनुसन्धान गर्दै तयार पार्ने गरी नेपाल दर्पणको काम अगाडि बढाउने खाका कोर्‍यौं । 

Prabhu Bank
Agni Group
NIC Asia

यसलाई प्राज्ञिक गौरवको आयोजना भन्नुभएको छ ?
अहिलेसम्म राष्ट्रिय गौरवका आयोजना भनेर पुल–पुलेसा, सडक, विद्युत् आदि विकास कार्यलाई मात्रै लिने गरेको देखिएको छ । हामीले अगाडि नै प्रधानमन्त्रीज्यूलाई भेटेर ‘राष्ट्रिय गौरव भनेको भौतिक निर्माण मात्र हुँदैन, प्राज्ञिक कार्य पनि राष्ट्रिय गौरवभित्र पर्छ । त्यसैले प्राज्ञिक कार्यलाई पनि राष्ट्रिय गौरवका कार्यमा राखौँ,’ भनेर अनुरोध गर्‍यौं । यी प्राज्ञिक परियोजना हजाराैं वर्षसम्म जीवित रहन्छन् । यसमा त्यति धेरै बजेट पनि लाग्दैन, तर यो महत्त्वपूर्ण कार्य हो । यो विषयमा काम गर्न हामी प्रस्ताव गर्छौंं तपाईंहरूले स्वीकृत गरिदिनुपर्छ भन्यौँ । यस विषयमा प्रधानमन्त्रीज्यूसँगै राष्ट्रिय योजना आयोग र संस्कृतिमन्त्री कहाँ पनि कुरा पुर्‍यायौँ । हामीलाई प्रधानमन्त्रीज्यूले सहयोग मिल्छ भन्नुभयो ।

त्यसपछि नै हामीले ‘नेपाल दर्पण’ ग्रन्थको अध्ययन अनुसन्धान तथा लेखनका लागि प्रस्ताव अगाडि बढायौँ । हामीले प्रारम्भमा प्रतिष्ठानको आन्तरिक बजेटबाटै २ नम्बर प्रदेशमा नेपाल दर्पणका लागि अध्ययन अनुसन्धानको काम आरम्भ गर्‍यौं । किनभने २ नम्बर प्रदेश काम गर्नका लागि सजिलो थियो । तर कोरोना भाइरसको संक्रमणका कारण सिर्जित असहज परिस्थितिले यस कामले गति लिन सकेन । यद्यपि हामी लक्ष्यका साथ लागिपरेका छौँ । कोभिड –१९ को गति साम्य भएपछि यसको काम पनि तीव्रता साथ अगाडि बढ्नेछ । 

Global Ime bank

नेपाल दर्पणको प्रदेश ग्रन्थसँगै मूल ग्रन्थको काम अगाडि बढाउँदै जानेछौँ हामीले । विज्ञहरूको प्रदेश स्तरीय प्रतिवेदन प्राप्त भइसकेपछि तत्तत् प्रदेशका स्थानीय विज्ञ र विदुषिहरूको उपस्थितिमा बृहत् कार्याशाला गोष्ठी गरेर त्यहाँ उठेका विषयलाईसमेत आधार बनाएर हामीले प्रादेशिक ग्रन्थ तयार गर्नेछौँ । 

त्यसपछि मात्रै नेपाल दर्पण मूल ग्रन्थ प्रकाशनमा आउने छ । जसलाई अंग्रेजी भाषामा पनि अनुवाद गरिनेछ । र त्यसलाई विश्वभर पुर्‍याइनेछ । 

एउटा प्रसंग जोड्न चाहन्छु, हाम्रो छिमेकी मुलुक चीनमै पनि बुद्ध भारतमा जन्मेको कुरा पढाइँदो रहेछ ! हामी भ्रमणका क्रममा चीन जाँदा हाम्रो गाइडले नै त्यही बताइन् । हामी छक्क पर्‍यौँ । कस्तो भ्रम ! हाम्रो छिमेकमै पनि नेपालका विषयमा भ्रमपूर्ण जानकारी दिइँदो रहेछ ! त्यसपछि हामीले त्यहाँका तत्कालीन राजदूत लीलामणि पौडेललाई चीन सरकारको सरोकारवालासँग भेटेर यो भ्रम चिर्न पहल गर्नुस् भन्यौँ । सायद गर्नुभयो होला ।

त्यसैले पनि यो ग्रन्थ अति महत्त्वपूर्ण हुनेछ । जुन ग्रन्थले हरेक मुलुकलाई नेपालबारे पूर्ण जानकारी गराउनेछ । 

२०४७ पछि राजनीतिक दलहरूसँग आबद्ध सर्जकहरू नयाँ सोच र दृष्टिकोणसाथ एकेडेमीमा प्राज्ञ भएर आउनुभएको छ । गणतन्त्रपछि पनि नयाँनयाँ विचारका साथ प्रज्ञा छिर्नुभएको छ, स्रष्टाहरू । तर पनि प्रतिष्ठानले केही गर्नसकेको देखिँदैन । किन ?

मलाई के लाग्छ भने राज्यले प्राज्ञिक कामहरूलाई पनि प्राथमिकतामा राखिदिनुपर्छ । फेरि, प्राथमिकतामा राखेका छैन भनाँै भने एकेडेमीहरू स्थापना भएका छन् । तिनलाई बजेट पनि दिइएको छ । काम पनि हुँदै आएका छन् । सञ्चालन पनि भइरहेको छ । तर तलब मात्रै खुवाएर प्रज्ञा प्रतिष्ठान चल्दैन । त्यहाँ काम हुनु आवश्यक छ । बेरोजगारलाई रोजगारी दिने ठाउँ त हैन नि, प्रतिष्ठान ! हामीले नेपालको राष्ट्रिय आवश्यकताअनुरूपको हाम्रो सांस्कृतिक अन्वेषण, हाम्रो प्राज्ञिक अन्वेषण, तथा प्राज्ञिक अध्ययन अनुसन्धान गर्नका निमित्त खट्नुपर्छ । र यही अनुसन्धानका माध्यमबाट नेपालको गौरवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दीर्घकालसम्म स्थापित गर्ने, सुरक्षित राख्ने, संवद्र्धन गर्दै विश्वसामु पुर्‍याउनुपर्छ । प्रतिष्ठान यिनै उद्देश्यसाथ स्थापना गरिएको हो । साथै उद्देश्यअनुरूप राज्यको तहबाट स्रोतको व्यवस्थापन पनि गरिनुपर्छ । राज्यले स्रोतको व्यवस्थापन गर्दागर्दै पनि जिम्मेवारी पाएको नेतृत्वले काम गर्न सकेन भने राज्यले अनुगमन पनि गर्नुपर्छ । किनभने राज्य अनुगमनकारी निकाय पनि त हो । 
साथै संस्था सञ्चालनका लागि व्यवस्थापकीय जिम्मेवारी पाएका व्यक्तिमा प्राज्ञिक क्षमताका साथै व्यवस्थापकीय ज्ञान र प्रशासनिक क्षमता पनि हुनुपर्छ भन्ने लाग्छ मलाई । त्यसैले यी सबै दायित्वबोध नेतृत्व वर्गमा हुनुपर्छ । अनि मात्र नेतृत्वले काम गर्न सक्छ । 

यस्तै अप्ठ्याराहरूले गर्दा पनि प्रतिष्ठानले काम गर्न नसकेको चर्चा यदाकदा चलेको हुनसक्छ । 

पहिलेको मात्रै होइन, अहिलेको नेतृत्वले पनि काम गरेको छैन भन्ने चर्चा यथावत् छ नि !
यस्ता चर्चा परिचर्चा दुईवटा कारणले भएको हो भन्ने मलाई लाग्छ । प्रज्ञा प्रतिष्ठानजस्ता संस्थामा जतिखेर पदहरू रिक्त हुन्छन्, पद प्राप्तिको अपेक्षा पनि धेरैले राखेका हुन्छन् । यो स्वाभाविक पनि हो । किनभने योग्यता पुगेका मानिसले अपेक्षा राख्नुलाई अस्वाभाविक भन्न मिल्दैन । तर त्यहाँ जाने अवसर सबैले पाउनु हुन्न । प्राज्ञ परिषद्को निश्चित संख्या हुने भएकाले त्यति संख्याका केही व्यक्तिहरू मात्र पदीय जिम्मेवारी लिएर भित्रिनु हुन्छ । त्यसो हुँदै बाहिर र भित्रमा विभेद भएजस्तो देखिन जान्छ । दुई बेग्लाबेग्लै वर्ग बनेजस्तो देखिन जान्छ । बाहिर रहनु हुनेले भित्र आएकालाई फरक वर्ग ठान्ने र भित्र आएकाले बाहिर रहेकालाई फरक वर्ग ठान्ने, प्रतिपक्षीजस्तो ठान्ने देखिन्छ । त्यसैले यो दृष्टिकोणको समस्या हो भन्ने मलाई लाग्छ । 

खासमा भित्र बस्नेले के सोच्नुपर्छ भने हामीलाई राज्यले देशभरिका लेखनमा लागेका, प्राज्ञिक कार्यमा सक्रिय, सिर्जनात्मक लेखन, अनुसन्धनात्मक लेखनमा लागेका सबै विद्वान्हरूलाई समेटेर यो सबैको साझा संस्था हो है भन्ने सन्देश प्रवाह गर्दै काम गर्न पठाएको हो । म मात्रै प्राज्ञ हुँ भन्यो भने त्यो त्रुटिपूर्ण कुरा भयो । त्यो भ्रमबाट हामी सबैले मुक्त हुनुपर्छ । 

अर्को कुरो बाहिर रहेका प्राज्ञिक एवम् साहित्यिक व्यक्तिहरूले पनि यो भित्र बस्नेहरूको मात्रै संस्था हो, हाम्रो होइन भनेर सोचिदिनु हुँदैन । त्यसरी हेरियो भने त्यो पनि त्रुटिपूर्ण नै ठहर्छ । वास्तवमा यो संयोजनकारी संस्था हो । हामीलाई त प्राज्ञिक सेवा गर्न व्यवस्थापकीय जिम्मेवारी दिएर पठाइएको हो नि । प्रज्ञा प्रतिष्ठान सबैको हो भन्ने सोचेर बुझेर नै हामीले काम गर्नुपर्छ । 

रह्यो कामको कुरो, विगतमा काम केही भएन भन्ने होइन । राम्राराम्रा काम भएका छन् । धेरै राम्रा कृति प्रकाशित भएका छन् । विश्व साहित्यमा प्रभाव पुर्‍याउने कृतिहरू प्रकाशित भएका छन् । पञ्चायतकालमा बालचन्द्र शर्मा, लैनसिंह वाङ्देल, सूर्यविक्रम ज्ञवाली, केदारमान व्यथित सबैको समयमा काम भएका छन् । त्यस्तै ईश्वर बराल, मदनमणि दीक्षित, मोहन कोइराला, वैरागी काइँलाहरूको समयमा पनि काम भएका छन् । तर हाम्रो अपेक्षा धेरै भएकाले काम भएन कि भन्ने हामीलाई लाग्ने हो । 

त्यसो भए बाहिर रहेका प्राज्ञिक वर्ग र भित्र रहेका प्राज्ञिक वर्गबीच देखिएको यो मिहिन चिरा किन भर्न नसकिएको होला ?
संयोजनकारी भूमिकाको प्रभावले नै हो भन्ने मलाई लाग्छ । वास्तवमा त्यो चिरा देखिनु हुँदैन । भित्र बस्ने र बाहिर रहने सबैको साझा संस्था भएको सन्देश हामी पदीय जिम्मेवारी बोकेकाहरूले दिनैपर्छ । हामीभित्र नेतृत्वमा बसेका प्राज्ञले आफूलाई व्यक्ति होइन, संंयोजनकारी भूमिका निर्वाह गरिरहेको संंस्था हो भन्ने बुझ्नुपर्छ र संकीर्णताबाट बाहिर निस्किएर सबैका लागि फलदायी हुने कार्य गर्नुपर्छ । हामीले देख्ने क्षितिजभन्दा पर पनि अर्को क्षितिज छ भनेर यहाँ बस्नेले व्यापक दृष्टिकोण राख्नुपर्छ । अनि बाहिर बस्नेले पनि यो हाम्रै हो भनेर विश्वास गर्नुपर्छ । उहाँहरू सधैँ नकारात्मक सोच राखिदिनु भएन । 
पछिल्लो समयमा हामीले बाहिरका प्रादेशिक संस्थाहरूसँग मिलेर विभिन्न कार्यक्रमहरू गरिरहेका छौं । यसरी काम गरेर यो तपाईंहरूको पनि संस्था हो भनेर उहाँहरूलाई विश्वास दिलाउँदै काम गरिरहेका छौं । अर्थात् हामी यो संस्था तपाईंहरूको पनि हो भन्ने सन्देश दिन चाहन्छौं ।
 
लकडाउनको असहज परिस्थितिमा एकेडेमीले उमेर पुगेका लेखक, कवि, साहित्यकारहरूलाई हेरेन, ध्यान दिएन, वास्ता गरेन भन्ने चर्चा पनि छ ?
हामीले आर्थिक दृष्टिले सहयोग गर्नसक्ने अवस्था पनि थिएन लकडाउनको असहज परिस्थितिमा । त्यसो त हामीले प्रतिष्ठानअन्तर्गत प्रतिभा उपचार कोषको व्यवस्था गरेका छौं । त्यसबाट हामीले बिरामी साहित्यकारहरूलाई टोकन मनी उपलब्ध गराउँदै आएका हौँ । हामीले २४ जनालाई उपचारकोषबाट सहयोग गरिसकेका छौँ । यसरी सेवामा पनि हामीले केही न केही खर्च गरिरहेका छौँ । त्यसैले हामीले केही गरेनौं भन्न मिल्दैन । तर अहिले यो लकडाउनको अवस्थामा स्रस्टाहरूलाई सहयोग गर्न सकेनौँ । नसकेको नै हो । यद्यपि साहित्यकारहरूमा प्रतिष्ठानप्रति रहेको भ्रम चिर्ने प्रयासमा हामी लागिरहेका छौँ । आजका दिनमा उहाँहरूको धेरै गुनासो छ जस्तो मलाई लाग्दैन । अलिअलि होला । तर उहाँहरूमा प्रतिष्ठानप्रति अपनत्वबोध भएको मैले महसुस गरेको छु ।

प्रतिष्ठानमा विज्ञ व्यक्ति आउनुभन्दा राजनीतिक छवि बोकेका व्यक्ति आए भन्ने चर्चा सधैं चल्छ नि ?
२०१४ असार ९ गते प्रतिष्ठानको स्थापना हुँदै यसको कुलपति तत्कालीन राजा महेन्द्र थिए । अब त्यतिबेला नै यसरी स्थापना भएको प्रतिष्ठानलाई राजनीतिबाट निरपेक्ष कसरी राख्न सकिएला ? २०४६ सालपछि प्रजातान्त्रीक दलीय व्यवस्था र २०६३ सालमा गणतन्त्रका लागि हामी सबै लाग्यौँ । सोहीअनुरूप हामी आफैंले प्रतिष्ठनको क्रियाशीलता खोज्यौँ । यो परिस्थितिमा राजनीतिक आस्था राख्ने मानिस प्रतिष्ठानमा आयो भनेर सोचिदिँदा त्यो गलत हुन्छ कि भन्ने मलाई लाग्छ । राजनीतिक संलग्नताभन्दा पनि त्यो व्यक्तिमा प्राज्ञिक क्षमता छ कि छैन, उसले गरेको काम कतिको राम्रो छ, सही रूपमा संस्था हाँक्न सक्छ कि सक्दैन वा सबैलाई समेटेर लान सक्छ कि सक्दैन ? त्यो हेरिनुपर्छ । त्यसको मूल्यांकन हुनुपर्छ । मानिसको कामले, कार्यक्षमता र प्राज्ञिक क्षमता हेर्ने हो भने उसको राजनीतिक आस्था स्वतः गौण भएर जान्छ । 

अर्को कुरा, राजनीतिक पहुँचले प्रतिष्ठानलाई उकास्न सधैँ मद्दत गर्दै आएको स्थापनादेखि अहिलेसम्मको कार्यहरूले देखाएको छ । राजनीति निरपेक्ष मानिस एकडेमीमा आएको खै देखिन्छ र ? तथापि, जटिलता नभएको होइन । पञ्चायतकालमा राम्रै–राम्रो वा खराबै–खराब, बहुदलमा राम्रै–राम्रो वा खराबै–खराब, अनि गणतन्त्रमा राम्रै–राम्रो वा खराबै–खराब भन्ने होइन । सापेक्षतामा सबै हेरिनुपर्छ ।

प्रतिष्ठानका लागि राज्यले खोज्नुपर्ने मानिस धाउँदै जाने हो भने त त्यसलाई नकारात्मक रूपमा त लिन्छन् नै !
निश्चय पनि प्राज्ञ हुने मानिस आफैं धाउने होइन । उसलाई राज्यले नै खोजेर ल्याउनुपर्छ । म यसलाई आंशिक रूपमा सत्य मान्छु । राज्यले, धाएको मान्छेभन्दा खोजेको मानिस बढी महत्त्वपूर्ण हुन्छ । किनभने उसले अझ बढी दायित्वबोध गर्छ । एउटा कुरो पक्कै के हो भने क्षमता भएको मानिस धाउँदैन । त्यस्तामा दम्भ पनि हुन्छ होला । तर, पनि मसँग राज्यले खोजेको क्षमता छ है भनेर देखाउन त पाउँछ नि उसले । ऊ सधैं लुकेर बस्ने त होइन नि । राजनीति पनि बुझेको तर प्रतिष्ठान हाँक्न सक्ने प्राज्ञिक मानिस आए कि आएनन्, त्यो हेरिनुपर्छ । प्राज्ञले राजनीति पनि बुझ्नुपर्‍यो, प्रशासन पनि हाक्न सक्नुपर्‍यो, व्यवस्था पनि मिलाउन सक्नुपर्छ । यसका साथै उसमा प्राज्ञिक ज्ञान पनि प्रचुर मात्रामा हुनुपर्छ ।

संस्था हाँक्न त गाह्रो छ नि ! नेपाल प्रज्ञा प्रतिष्ठान स्वायत्त संस्था हो । यसले आफैं नेतृत्व गर्नुपर्छ । योजना बनाउनुपर्छ । नीति निर्माण गर्नुपर्छ । प्रशासन चलाउनुपर्छ । प्राज्ञिक कामलाई गति दिन पनि प्रशासनिक चुस्तता आवश्यक पर्छ ।

तर पनि प्राज्ञ राजनीतिक दृष्टिकोणबाट मुक्त हुनुपर्छ, भनिन्छ । 
मुक्त त हुनुपर्छ नै । र अहिलेको प्राज्ञ परिषद् त्यो दृष्टिकोणबाट मुक्त छ भन्ने मलाई लाग्छ । जहाँसम्म राजनीतिक दृष्टिकोणको कुरा छ, हरेक व्यक्ति कतै न कतै भोट हाल्ने नै छन् । राजनीतिक विचार सबैमा हुन्छ नै । तर प्रतिष्ठानमा आइसकेपछि दलीय गन्ध आउनु हुँदैन । दलीय सोचबाट टाढा रहेर काम गर्नुपर्छ । अहिलेको प्राज्ञ परिषद् त्यसबाट मुक्त छ । प्रतिष्ठान, पार्टीगत विचारभन्दा माथि छ । अहिलेको नेतृत्वले राजनीति बुझ्छ तर राजनीति गर्दैन । प्राज्ञिक कार्य गर्छ । गरिरहेको छ ।
 
प्रतिष्ठानले कविता महोत्सव किन स्थगन गर्यो ?
हामीले पाँच दशक अघिदेखि कविता महोत्सव गर्दै आएका हाैँ । यस वर्ष पनि गर्ने भएका थियौँ । तर कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थितिका कारणले गरेनौं । कारण, पहिले–पहिले कविता वाचनका लागि अंक राखिएको थिएन । गत वर्षदेखि हामीले वाचनका लागि अंक दिने परम्परा थाल्यौं । वाचनकलाका लागि नम्बर दिने भएकाले वाचन आवश्यक हुन्थ्यो । त्यसैले पनि हामीले कार्यक्रम गर्न सकेनौँ । तर, प्राप्त कविताहरू सिलबन्दी गरेर राखिएका छन् । परिस्थिति सहज भएपछि मूल्याङ्कनकर्तालाई बुझाउनेछौं । र, महोत्सव सम्पन्न गर्नेछौँ । 

पछिल्लो समय निजी क्षेत्रबाट कथा प्रतियोगिता हुन थालेको छ । एकेडेमी कथाको क्षेत्रमा किन खुम्चिएको ?
निबन्ध र कथामा एकेडेमी प्रवेश गरेको अवस्था छैन । बाह्रखरी बुक्सले जुन सुरुवात गरेको छ, त्यसको प्रशंसा गर्छु म । र धन्यवाद पनि दिन्छु प्रतिष्ठान र मेरो व्यक्तिगत तर्फबाट । तपाईंले कथाको कुरा उठाउनुभयो । हामीले यस विषयमा अवश्य पनि छलफल गर्नेछौं ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC