महासंघको चुनाव प्रविधिबाटै पनि गर्न सकिन्छ

महासंघको चुनाव प्रविधिबाटै पनि गर्न सकिन्छ

विप्लवमान सिंह, कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष हुन् । सफ्टवयेर, डिजिटल सर्टिफाइडलगायत कम्पनी सञ्चालन गर्दै आएका सिंहको व्यवसायमा तीन दशक बढीको अनुभव छ । उद्योग वाणिज्य महासंघको कार्यकारी समिति सदस्यसमेत भएर काम गरिसकेका सिंह पुनः कार्यसमिति सदस्यमा निर्वाचन लड्ने तयारीमा छन् । उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रित रहेर सिंहसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी :

महासंघको आसन्न साधारणसभा फेरि स्थगित भयो । यसलाई कसरी हेर्नुभएको छ ? 
यो निर्णय पहिले नै गर्नुपर्ने थियो । कोभिड १९ को प्रेडिक्सन गर्न नसकिने भएकाले सुरुमै बिहीबार गरेको जस्तो (सरकारले सभा, सम्मेलन गर्न दिने भनेपछि मात्रै गर्ने) निर्णय गरेको भए अहिले विवाद आउँदैन थियो । यो निर्णयभन्दा अगाडि नै सरकारले सभा, सम्मेलन गर्न दिएको एक महिनाभित्र साधारणसभा गर्ने भनिएको भए चुनाव लड्नेलाई पनि एक महिनामात्र प्रचार गरे पुग्थ्यो । 

साउन २६ र २७ गते साधारणसभा गर्ने निर्णय त महासंघले गर्‍यो तर सभा, सम्मेलन गर्न सरकारले दिन्छ वा दिँदैन भन्ने कुरा नै अन्योल थियो त्यसैले फेरि स्थगित गर्नुपर्ने अवस्था आयो । तर, कार्यसमितिले नै निर्णय गर्दा नै जब खुल्छ, त्यसको एक महिनाभित्र गर्ने भनिएको भए हुन्थ्यो । महासंघको पछिल्लो निर्णय स्वभाविक थियो । हामीले जबरजस्ती पनि त गर्नु हुँदैन । कि वेबिनार, जुममार्फत गरेको भए हुन्थ्यो । मैले सुझाव पनि दिएको थिएँ कि प्रविधिको प्रयोग गरेर साधारणसभा गरौं भनेर । तर, त्यो सुझाव सुनिएन । 

प्राविधिक रूपमा कसरी प्रविधिमार्फत चुनाव गर्न सकिन्थ्यो ? तपाईंको सुझाव के थियो ?
साधारणसभा वेबिनारमा गरेर अनलाइन भोटिङ गरेको भए हुन्थ्यो । डिजिटल सिग्नेचरको प्रयोग गरेर मात्रै अनलाइनबाट भोटिङ गर्न सकिन्छ, त्यो प्रविधिको विकास म गर्छु पनि भनेको थिएँ । यो सम्भव छ । तर, हाम्रो कुरा सुनिएन । अहिलेको अवस्थामा प्रविधिको प्रयोग गरेर उद्योग वाणिज्य महासंघको चुनाव गर्न सम्भव छ । राम र लक्ष्मणले डिजिटल मेसिन बनाएका छन् । 

मैले लक्ष्मणलाई डिजिटल सिग्नेचर राखेर अनलाइनबाट भोटिङ गर्ने व्यवस्था गर्न पनि भनेको थिएँ । हामीले निर्वाचन आयोगलाई समेत अनलाइनबाट भोटिङ गराउन सकिन्छ भनेर पनि भनेका थियौं । देशमा निर्वाचन भएका बेला देशबाहिर भएकाले पनि भोटिङ गर्न पाउनुपर्छ भन्ने कुरा आएपछि राम, लक्ष्मणसँग मिलेर यसरी सम्भव छ भनेर पनि भनेका थियौं । डिजिटल सिग्नेचर नहुने हो भने ‘अथेन्टिकेट’ गर्न नमिल्ने भयो । तर, डिजिटल सिग्नेचर राखेर मात्रै अनलाइनमा आउने व्यवस्था बनाउने हो भने अन्य व्यक्ति त्यहाँ प्रवेश नै गर्न सक्दैन । उसको ‘प्राइभेट की’ राखेर मात्रै भोट खसाल्न पाउने बनाउन सकिन्छ । त्यसका लागि डिजिटल सिग्नेचर सफ्ट कपीमा पठाइदिन्छौं । उसले आफ्नो डिजिटल सिग्नेचर सही गर्छ र भोट खसाल्न सक्छ । त्यो डिजिटल सिग्नेचर भोट खसाल्न मात्र होइन अन्य कामका लागि पनि एक वर्षसम्म प्रयोग गर्न सक्छ । 

त्यसरी महासंघको चुनाव गर्न सम्भव छ । यसरी प्रविधिको प्रयोगबाट चुनाव गर्ने हो भने जिल्लाबाट आउने साथीहरूलाई महासंघको साधारणसभाको रमाइलो किन छुटोस् भन्ने पनि भयो होला । तर, कालीकोटको मान्छे पैसा खर्च गरेर किन आउनुपर्‍यो ? जस्तो अहिले पनि सिर्टिफिकेट अफ ओरिजिनमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बरले अनलाइनमा सिग्नेचर गर्न दिएको छ । त्यो सम्भव छ भने चुनाव अनलाइनबाट गर्न किन सम्भव छैन ? छ । 

यदि अझै परिस्थिति अनुकूल बन्न नसकेको अवस्थामा महासंघले अनलाइनबाट चुनाव गर्ने निर्णय ग¥यो भने तपाईंले कति समयभित्र यो प्रणालीको विकास गर्न सक्नुुहुन्छ ?
राम, लक्ष्मणको मेसिन तयारै छ । उनीहरूले एउटा अनलाइन इन्टरफेस जोड्ने त हो । सफ्टवेयर छ, अनलाइनमा आएर भोट खसाल्न मिल्ने बनाउने हो । अनलाइनमा आउने बेलामा सिग्नेचर प्रयोग गरेर हो । जस्तो तपाईंले आइडी कार्ड देखाएर कोठाभित्र छिरेको जस्तै त हो । यो कामका लागि बढीमा एक महिना लाग्ला । अझ मैले त त्यसमा मेसिन बिग्रिएको छ भन्ने शंका लाग्यो भने प्रतिनिधिले भोट खसाल्ना साथै उसले क–कसलाई भोट खसाल्यो भनेर चिट पनि खसाल्ने बनाउन पनि सकिन्छ । त्यो भोट जहाँ मेसिन राखेको हुन्छ, त्यहाँ नै खसाल्ने पनि बनाउन सकिन्छ, यदि पछि शंका लागेको अवस्थामा त्यो चिटका आधारमा पनि गणना गर्न सकिन्छ । भेटेर भोट गरिसकेपछि मेसिनमा रेकर्ड हुने एउटा भयो भने अर्कोमा ज–जसलाई भोट हाल्यो त्यसलाई कागजमा प्रिन्ट गराएर कसैलाई पनि देखाउने गरी त्यो कागज पनि राख्न सकिन्छ । भोलि मेसिन बिग्रिएको छ भनेर कसैले विवाद ग¥यो भने त्यो कागजका आधार गणना गरे हुन्छ । 

महासंघमा तपाईंले यो प्रस्ताव लैजाँदा महासंघले के भन्यो ?
एउटा कुरा त जिल्लाका साथीहरूलाई चुनाव भनेको दसैंको मेलाजस्तै हो, रमाइलो । त्यहाँ भोट खसाल्ने एकजना हुन्छ तर उसलाई जिताउने भनेर धेरै मान्छे आउन पाउने भए । तर, अनलाइनमा गयो भने त त्यो रमाइलो नहुन सक्छ । त्योबाहेक हामीले प्रदेशीय हिसाबले पनि सोच्न सक्छौं । जिल्लाको त प्रदेश प्रदेशमा पनि चुनाव गर्न सक्छौं । सात प्रदेशमा एक सय ६ जनाको हिसाब गर्दा एउटामा करिब १५ जना त एकै ठाउँमा सहभागी हुने हो । त्यहाँ १५ जनाले भोट गर्ने हो भने त के समस्या छ र ? 

तपाईंले जिल्लाको मात्रै कुरा गर्नुभयो, एसोसिएटको त धेरै भोटर छन् नि ?
अहिले त जिल्लाको मान्छे आउन नसक्ला भन्ने पीर हो । अब त गाडी चल्न थाल्यो त्यो पनि आउन सक्छन् । एसोसिएटतर्फ हेर्दा ९ सय सदस्य छन् । तर, एसोसिएटमा प्रोक्सी ल्याउँछन् । त्यसले गर्दा ९ सय नै भोटर हुँदैनन् । बढी भयो भने ३ सय जति भोट हुन्छ । ३ सयजना एसोसिएट, १ सय ३ जना वस्तुगत, १ सय ६ जना जिल्ला नगरको भयो । यी सबैको गर्दा पाँच सय जति हुन्छन् । हाम्रो चुनावमा भोटिङको समय बिहान ८ देखि ६ बजेसम्म गरिदियो भने १० घण्टा हुन्छ । ५ सय जनाले हरेक घण्टा ५०÷५० जनाको दरले भोट गरे भाइहाल्छ । पाँचवटा ब्यालेट बक्स राख्ने हो भने १०÷१० जनाको लाइन न हुन्छ । सोच्ने हो भने गाह्रो छैन । मुख्य कुरा साधारणसभालाई हलमा गर्न दिने कि नदिने भन्ने हो । साधारणसभालाई जुम, टिम, वेबिनारमा गरे भइहाल्यो । 

प्रविधिको प्रयोग गरेर महासंघको साधारणसभा र चुनाव पनि गर्न सम्भव छ ?
सम्भव छ । जुममा गर्ने हो भने त एक साताभित्रै गर्न सकिन्छ । महासंघको साधारणसभा गर्दा प्रधानमन्त्रीबाट उद्घाटन गराउने, मन्त्रीहरूलाई ल्याएर विभिन्न सेसनमा राख्ने गर्ने गरिएको छ । ती सबै वेबिनारमार्फत पनि गर्न सकिन्छ । प्रधानमन्त्री पनि आफैं अस्वस्थ हुनुहुन्छ । उहाँले पनि बालुवाटर वा सिंहदरबरमै बसेर उद्घाटन गर्ने व्यवस्था गर्दा समस्या नै भएन । 

तपाईंको भनाइ अब महासंघको साधारणसभा, चुनाव प्रविधिमार्फत गरौं भन्ने हो ?
एउटा विकल्प त्यो पनि हो । साधारणसभालाई पछाडि–पछाडि धकेल्दै जानुको सट्टा त्यसरी गर्दा हुन्छ भन्ने हो । यसरी गर्दा साधारणसभा सार्ने कि नसार्ने भन्नेमा विवाद पनि त हुँदैनथ्यो नि । साधारणसभामा देशभरबाट १५ सय–दुई हजारजना सहभागी हुन्छन् । अहिलेको बेलामा जोखिम बढी छ । कोरोना सर्नका लागि एक जनालाई मात्रै लागेको रहेछ भने के गर्ने ? त्यसको जिम्मा कसले लिने ? नेपाल उद्योग परिसंघले यहीबीचमा आफ्नो साधारणसभा गर्‍यो । महासंघको साधारणसभा भेन्यूमै र वेबिनार सँग–सँगै पनि गर्न सकिन्छ । सञ्चारकर्मीसहित निश्चित व्यक्ति भेन्यूमै सहभागी हुने र अरू वेबिनारमार्फत पनि जोडिन सक्छन् । अर्को, ठूलो क्षेत्र भएको ठाउँमा साधारणसभा आयोजना गरेर दूरी कायमसहित गर्न सकिन्छ । वेबिनारसँगै विगतमा महासंघले गर्दै आएको गतिविधिलाई पनि निरन्तरता दिन स्टेजमा पनि गर्न सकिन्छ । त्यसरी गर्दा दूरी पनि कायम हुन्छ । 

तपाईं महासंघको कार्य–समिति सदस्यमा चुनाव लड्दै हुनुहुन्छ, तपाईंको एजेन्डा के हो ?
हामीले व्यक्तिगत रूपमा चुनाव लड्ने होइन । संस्थागत रूपमै लड्ने हो । कम्प्युटर एसोसिएसन महासंघले मलाई सदस्यमा चुनाव लड्न भनेको छ । त्यसको तयारीमा छु । हाम्रो योजना स्पष्ट छ । देशले समृद्धिको कुरा गरिरहेको छ । आर्थिक समृद्धिका लागि सूचना प्रविधिको प्रयोगलाई औजारका रूपमा कसरी प्रयोग गर्ने भन्ने छ । महासंघमा यसअघि म सदस्य भएर जानुअघि सूचना प्रविधि (आईटी) को थिएनभन्दा पनि हुन्छ । त्यो बेला सूचना प्रविधिलाई उद्योगका रूपमा अगाडि बढाउनुपर्छ भनेर महासंघलाई पनि अगाडि सारेको थिएँ, अहिले त्यही नतिजाका कारण सूचना प्रविधिको प्रयोग नगर्ने संस्था छँदै–छैनन् भन्दा पनि हुन्छ । र, अझै पनि नेपालमा बीपीओ, केपीओ, लिगल प्रोसेस आउटसोर्सिङका कुराहरू, सफ्टवेयर उद्योगको विकासका कुराहरू भएकै छैनन् । 

यसलाई उद्योगका रूपमा लैजान सकिए यसरी फाइदा हुन सक्छ भनेर भन्नुपर्नेछ । भारतमै बीपीओबाट मात्रै ४२ अर्ब डलरको काम हुन्छ । कम्तीमा हामीले ४ अर्ब डलरको काम त गर्न सक्छौं होला नि ! यसले हाम्रो अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । आईसीटीलाई उद्योगका रूपमा स्थापित गराउने । अर्को आईसीटीलाई उद्योगमा कसरी प्रयोग गर्ने ? त्यो भनेको आईसीटीको बजार बढाउने पनि त हो । यी दुई विषयलाई अगाडि बढाउनुपर्नेछ । यीबाहेक महासंघलाई पनि आईटीमा केन्द्रित गराउनुपर्नेछ ।
 
अहिले पनि महासंघमा कुरा धेरै हुने काम नहुने क्षेत्र भनेको रिसर्च एन्ड डेभलपमेन्टमा हो । महासंघमा रिसर्च एन्ड डेभलपमेन्ट बनेकै छैन । महासंघमा डाटा भनेकै छैन । डाटा माइनिङ कसरी गर्ने नै थाहा छैन । अहिलेको सूचनाकै युग हो । महासंघमा डाटा माइनिङको काम छ । त्यसमा म केन्द्रित हुनेछु । महासंघलाई प्रविधिमैत्री बनाउन, आईटीमा लगानी ल्याउन र अहिले जति पनि उद्योगहरू छन्, त्यहाँ आईटी छिराउन म महासंघमा जान लागेको हो ।

 

सबैभन्दा ठूलो संयन्त्र भएको संस्था भनेको महासंघ हो । आगामी दिनमा महासंघ कसरी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ ?
देश संघीयतामा गइसकेपछि महासंघ पनि संघीय संरचनामा गइसकेको छ । सातवटा प्रदेशमा महासंघले आफ्नो प्रादेशिक कार्यालय पनि स्थापना गरिसकेको छ । भोलिका दिनमा संघीय सरकारसँग महासंघको संयन्त्रले कुरा गर्ने हो । अहिले ८०–९० प्रतिशत काम प्रदेशमै हुन्छ । अहिलेको संरचना त्यही हो । अहिले पनि अध्यक्षमुखी नै छ, महासंघ । अब मन परे पनि मन नपरे पनि राज्यजस्तै प्रदेशलाई बलियो बनाउनुपर्छ । प्रदेश सचिवालय बलियो हुनुपर्छ । संरचनागत रूपमा मन परे पनि नपरे पनि हुनुपर्ने हो । यसो गर्न सकिए प्रदेशबीचमा पनि उद्योगलाई आकर्षित गर्ने होडबाजी हुन्छ । यस्तो प्रतिस्पर्धाको भावनाले मुलुकलाई नै फाइदा हुन्छ जस्तो लाग्छ । भारतमै त्यस्तो भएको देखिन्छ । यूपी, बिहारबाट पनि हामीले सिक्नुपर्छ । छिमेकीलाई मात्रै पनि फकाउन सक्यौं भने हामीलाई बजार पुग्छ ।

अहिले महासंघ दुई प्यालनबाट अगाडि बढिरहेको छ । दुवै प्यानललाई तपाईंको सुझाव के छ ? 
को कहाँ बसेर चुनाव लड्ने भन्ने त्यो मान्छेको कुरा भयो । कतिपय परिबन्धले गर्दा पनि यताको उता हुन्छन् । तर पनि सबै साथीहरूले स्पोर्टस् म्यानसिप देखाउनुपर्छ । अहिलेसम्म त्यही ट्रेन्ड छ, त्यसलाई कायम राख्नुपर्छ । शेखर गोल्छाको टिमलाई सफल बनाउनै म यता (किशोर प्रधान) को टिममा आएको हो । जताबाट जसरी जितेर आए पनि भोलि शेखर गोल्छाकै टिममा बस्न आउने हो । 

एउटा कुरा के–हो भने, अब महासंघलाई पूर्वअध्यक्षहरूले धेरै दुःख दिनु हुँदैन । महासंघमा ‘भूत’हरूको दबदबा छ । ‘भूत’हरूले आशीर्वाद दिनुपर्छ, सदासयता राख्नुपर्छ, सुझाव दिनुपर्छ । जस्तो हामीले क्यानमा गर्छाैं । हामीले पूर्वअध्यक्षहरू कहिले पनि उनीहरूले नबोलाएसम्म जाँदैनौं । त्यो भयो भने हरेक विषयमा उनीहरूले सोध्छन् । हस्तक्षेप गर्न थाल्यो भने ‘हेय’ को दृष्टिकोणले हेर्छ । त्यसैले महासंघमा ‘भूत’हरूको प्रभावलाई कम गराउनैपर्छ । त्यो भयो भने ‘वर्तमान’ ले सुखसँग चलाउन पाउँछ । भूतपूर्वहरू अलिकति संयम भएर बसिदिनुपर्छ, त्यसले उनीहरूको इज्जत पनि बढ्छ । होइन मैं शासन चलाउने हो, मै ‘किङ मेकर’ हो भन्यो भने समयले त्यसलाई पाखा लगाउँछ । र, यसपटक त्यो पाखा लगाउँदै छ । 
 

प्रतिकृया दिनुहोस
ad