site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशको नाम छिट्टै टुंग्याउछौं
Tiktok banner adTiktok banner ad

मुलुक संघीयतामा गएसँगै प्रदेश सरकारहरु गठन भएका छन् । प्रदेश सरकारले करिब आधाजति समय आफ्नो व्यवस्थापन, कानुन निर्माण र जनअपेक्षाका विकासका कार्यमा आफूलाई व्यस्त बनाउँदै गइरहेका छन् । संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका मापनसमेत हुन थालिसकेको छ । एक्कासि विश्व व्यापीरूपमा देखापरेको कोभिड १९ बाट सरकारको काममा समेत असर पुगेको छ । यही मेसोमा सरकार सञ्चालन र अहिलेको परिस्थितिको विषयमा बाह्रखरीका कुमार लुइँटेलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग कुराकानी गरेका छन् । प्रस्तुत छ मुख्यमन्त्री राईसँग गरिएको कुराकानी । 

प्रदेश १ मा कोभिड १९ को अवस्था र प्रभाव कस्तो छ ?
प्रदेश १ मा कोभिड १९ को संक्रमण बढिराखेको छ । सबैभन्दा बढी संक्रमण झापामा देखिएको छ । सँगसँगै प्रदेशको १४ वटै जिल्लामा संक्रमण देखिएको छ । संक्रमितको संख्या पाँच सय नाघिसकेको छ । मूलतः भारतबाट आएका नागरिकमा संक्रमण केन्द्रित छ । यसरी जनमानसमा र नागिरक तहमा यो संक्रमण देखापरेको छैन । जसकारण हामीलाई कोभिड रोकथाम, नियन्त्रण, परीक्षण र उपचारमा सहज भएको छ । आत्तिनुपर्ने अवस्था छैन ।

प्रदेश सरकारले क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन कसरी गरिरहेको छ ? समस्या र चुनौतीहरू के–के छन् ? 
देशमा लकडाउन हुनुअघि बाटै कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थित कार्ययोजना बनाएर हामी अगाडि बढ्यौं । आवश्यक मात्रामा क्वारेन्टिन, उपचार केन्द्र अस्पताल र आइसोलेसन वार्डहरू तयार गरिएका कारणले हामीले सहज रूपमा शंकास्पद र बाहिरबाट आएकाहरूलाई ती क्वारेन्टिनहरूमा राख्ने, जाँच गर्ने र संक्रमितहरूलाई कोभिड अस्पताल र आइसोलेसनमा राखेर उपचार गर्न सफल भएका हौं । समस्या र चुनौतीहरू नहुने कुरै भएन, डरलाग्दो महामारी, संसारलाई हावाकावा बनाइसकेको अवस्थामा हामीलाई कोभिडसँग जुध्न सजिलो छैन नै । स्वास्थ्य सामग्री अभाव, जनशक्ति अभाव, सीमित साधन स्रोतबीच कोभिडसँग लड्नुपरेको छ । तर जेहोस् हामी हाम्रो प्रदेशमा कोभिडलाई पराजित गर्न सक्षम छौं, हाम्रो पूर्वतयारी योजना राम्रो छ । हामी आत्तिएका छैनौं ।

यो संकटका बेला प्रदेश सरकारले लिएका कतिपय निर्णयले संघीय सरकारलाई नै मार्गनिर्देशन गरेको देखिन्छ । के प्रदेश सरकारले गरेका निर्णयबाट केन्द्र सरकार अझ सक्षम बनेको भन्ने हो ?
निश्चय नै कोभिड १९ सँग लड्ने मामिलामा हामी केही अगाडि छौं । जस्तो कि नेपाल सरकारले लकडाउनअगावै हाम्रो प्रदेशमा क्याबिनेटबाटै २३ बुँदे कार्ययोजना पारित गरी पूर्वतयारीमा जुटेका थियाौं । हामीले १० दिनमा कोभिड अस्पताल ५० शय्याको तयार गर्याैं । मापदण्डअनुसारको क्वारेन्टिनहरू सेनाको सहयोगमा झन्डै ६ सय शय्याबराबरको तयार गर्याैं । पछिल्लो समय भारतबाट नागरिकहरू ठूलो संख्यामा आउन सक्ने कुरालाई अनुमान एवं विश्लेषण गरेर होल्डिङ क्षेत्रको योजना हामीले नै सारेका हौं । प्रवेश विन्दुहरूलाई कडाइ गरेर अनुचित गैरबाटो भएर आउने कुरा बढी जोखिमपूर्ण हुन्छ भन्ने कुरालाई विश्लेषण गरी वैधानिक प्रवेशविन्दु तोक्ने काम हामीले नै गर्यौं । हामीले प्रत्येक क्षेत्रको डेडिकेटेड कमिटी बनाएर स्वास्थ्य, सुरक्षा र क्वारेन्टिनसँग सम्बन्धित संयुक्त कार्ययोजना बनाएर काम गरिराखेका छौं । हामीले छुट्टै कोभिड टेस्टिङ प्लान बनाएर तीव्र गतिमा परीक्षण गरिराखेका छौं । झन्डै २२ हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । हामीले आफ्नै पहलमा स्विस सरकार र चीनको स्वाशासित क्षेत्र तिब्बत सरकारबाट ठूलो मात्रामा स्वास्थ्य सामग्रीहरू सहयोग प्राप्त गरेका छौं । जे होस् प्रदेश सरकार आफ्नो तहमा पूरै सक्षम छ । कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकारले गरेको कामले त्यो कुराको पुष्टि भएको छ ।

संघीय सरकार र स्थानीय तहका सरकारबाट कोरोना नियन्त्रणमा प्रदेशसँग कसरी समन्वय भइरहेको छ ? कस्ता सहयोग आदान–प्रदान भएका छन् ?
कोभिड १९ ले तीनवटै तहका सरकारहरूलाई असाध्यै राम्ररी जोडेको छ । तीन तहबीच हुनुपर्ने सहकार्य, समन्वय र सह–अस्तित्वको सिद्वान्त व्यवहारमै लागु भएको छ । हामीले कोभिड १९ को लडाइँमा सफलता हासिल गर्नुको मूल कारण तीनै तहका सरकारहरूको नेतृत्व, निर्णय, कार्ययोजना र सफल कार्यान्वयन र आपसी समन्वय र सहकार्यले हो । स्थानीय तहहरूले धेरै ठूलो भूमिका खेलेका छन् । हामीले यस प्रदेशमा स्थानीय तहहरूलाई जिल्ला समन्वय समितिहरूलाई समेत गरेर १० करोड २० लाख रुपैयाँ पठाउने काम गर्याैं । पछिल्लो समय दक्षिण सीमासँग जोडिएका पालिकाहरूलाई क्वारेन्टिनलगायत कामका लागि थप बजेट पठाउने काम गरिराखेका छौं ।

नेपाल र भारतका नागरिक आउने जाने क्रम चलिरहेको छ तर नेपाल आउनेको परीक्षणमा कमजोरी हुनुका साथै स्थानीय तहका अव्यवस्थित क्वारेन्टिन र त्यसपछि सोझै घर पठाइँदा समुदायमा संक्रमणको जोखिम बढ्दैन र ?
अहिलेसम्मको तथ्यांक हेर्दा आउनेभन्दा जानेको संख्या बढी देखिएको छ । यस प्रदेशमा भारततर्फ जाने नागरिकको संख्या झन्डै १९ हजार छ । स्वदेश आउनेको संख्या १४ हजार ५ सयको हाराहारीमा छ । दैनिक आउने क्रम जारी छ तर चाप कम हुँदै गएको छ । हामीले अहिलेसम्म सबै प्रवेश विन्दुहरूमा सबैको अभिलेख राख्ने, सामान्य परीक्षण गर्ने, होल्डिङ एरियामा राख्ने र अन्य प्रदेशकालाई सम्बन्धित प्रदेशसँग समन्वय गरेर पठाउने र हाम्रो प्रदेशका हकमा सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर पठाउने तर अनिवार्य क्वारेन्टिनमा राख्ने र परीक्षण गर्ने काम गरिराखेका छौं । सीधै घर वा समुदायमा जाने अनुमति कसैलाई पनि छैन । यसमा हामी सचेत छौं ।

पीसीआर परीक्षण बढाउन प्रदेश १ सरकारको अबको तयारी के छ ? विपक्षी दलले कोरोना नियन्त्रण, उपचार र रोकथामको खर्च पारदर्शी नभएको भन्दै सदनमै प्रश्न उठाइरहेका छन्, यसबारे प्रदेश सरकारको धारणा के छ ?
सम्भव त पीसीआर परीक्षण दरमा हामी अगाडि छौं । अहिलेसम्म हामीले झन्डै २२ हजारको परीक्षण गरिसकेका छौं । हामीसँग तीनवाट पीसीआर ल्याब सञ्चालनमा छन । तिब्बत सरकारबाट प्राप्त भएका दुईवटा पीसीआर ल्याब सञ्चालनमा ल्याउने तयारी छ । थप दुई पीसीआर मेसिन स्विस सरकारले हामीलाई उपलब्ध गराउँदै छ । नेपाल सरकारले धनकुटामा एउटा ल्याब सञ्चालनमा ल्याउने कुरा गरेको छ जेहोस् हाम्रो टेस्टिङ प्लान राम्रो छ । हाल दैनिक पीसीआर क्षमता आठ सयदेखि ११ सयसम्म छ । जहाँसम्म प्रदेशसभाको बैठकमा माननीयहरूले, प्रमुख विपक्षी दलले उठाएको प्रश्नको कुरा छ त्यो उहाँहरूको धर्मको कुरा पनि हो, त्यो स्वाभाविक हो उठाउने थलो नै त्यही हो सबै कुरा सरकारले स्पष्ट पारिसकेको छ । खर्च पुरै पारदर्शी छ । दैनिक अपडेट सरकारको वेबसाइटमा हेर्न सकिन्छ । केही दिनपछि कोरोना विशेष मिडिया कन्फ्रेन्स गरेर हामी सबै कुरा सार्वजनिक गर्छौं ।

प्रदेश सरकारले कोभिड १९ नियन्त्रणमा गरेका प्रयास सकारात्मक देखिएको भनेको छ । तर, सरकार आफैंले स्वास्थ्य सामग्री जुटाउन र खरिद गर्न के कठिनाइ भएको हो अथवा के कारणले रोकिएको छ ?
हो, कोभिड १९ रोकथाम नियण्त्रण र उपचारमा हामीले सुरुबाट गरेका प्रयास, गरेका काम र पहलकदमीको सबैबाट प्रशंसा भइरहेको छ । हामीले राम्रै गरेका छौं । जहाँसम्म स्वास्थ्य सामग्रीहरूको कुरा छ, केही सीमित सामग्रीहरू संघबाट प्राप्त गर्याैं । डोनेसनका रूपमा मेरो आफ्नै पहलमा स्विस सरकारबाट पाँच करोड रुपैयाँबराबरको र तिब्बत सरकारबाट आठ करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री हामीले प्राप्त गर्यौं । सरकार आफैंले सामान खरिद गर्नेतिर जोड दिएको छैन । किनकि बजेटको सीमितता, खरिद प्रक्रिया झन्झटिलो हुने, सँगसँगै अन्य गलत उद्देश्यहरू पनि जोडिन सक्ने र त्यसले व्यक्ति र सरकारलाई बदनाम गर्ने कुरालाई ध्यानमा राखेर मैले त्यस्ता प्रक्रिया र चाहनालाई प्रोत्साहित गरेको छैन । केही थोरै मात्रामा सामग्रीहरू सामाजिक विकास मन्त्रालयले खरिद गरेको छ । जे होस् सामग्रीका कारण हामी समस्यामा छैनौं । सहयोगबाट हामी धानिएका छौं ।

सरकारले भर्खरै बजेट पनि ल्याएको छ । कोभिड महामारीसँग जुध्नुका साथै जनअपेक्षाअनुरूप विकासलाई सरकारले अब कसरी अगाडि बढाउने योजना बनाएको छ ? 
सरकारले भर्खर बजेट ल्याएको छ । यसपटकको बजेट कोभिड १९ केन्द्रित छ । हामीले जनताको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छौं । सँगसँगै कृषि र रोजगारी सिर्जनालाई कोभिडसँगै जोडेर हाम्रो बजेटलाई त्यस क्षेत्रमा केन्द्रित गरेका छौं । स्वभाविक रूपमा हामीले सुरु गरेका महत्त्वपूर्ण पूर्वाधारलगायत क्षेत्रका कामले प्राथमिकता र निरन्तरता पाउनेछन् ।

तपाईं नेतृत्वमा आएपछि प्रदेश १ सरकारले गरेका उपलब्धि के–के हुन् ? प्रदेश सरकारले जनताको विकासप्रतिको चाहनालाई न्याय गरेको छ भन्ने लाग्छ ?
हाम्रो कार्यकालको झन्डै आधा समय पूरा भएको छ । शून्यविन्दुबाट हिँडेको प्रदेश सरकारले यस अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । हामीले सबभन्दा पहिला कानुन निर्माण गर्नु थियो त्यसमा उल्लेख्य उपलब्धि भएको छ । अत्यावश्यक कानुन ४० को संख्यामा बनाएका छौं । थुप्रै कार्यविधि र नियमावाली बनेका छन् । जसकारण प्रदेश सरकार एउटा गतिमा हिँड्न सक्ने आधार तयार भएको छ । उभिने संरचनाहरू अस्थायी भए पनि तयार भएका छन् । हामीले विकास निर्माणका थुप्रै कामहरू सन्तुलित रूपमा सुरु गरेका छौं । सडक, पुल, खानेपानी, सिँचाइ, भवन, पर्यटन पूर्वाधार, खेलमैदान र अन्य गौरवका आयोजनाहरू तीव्र गतिमा अगाडि बढिराखेका छन् । सँगसँगै प्रदेश रूपान्तरका महत्त्वपूर्ण परियोजनाहरूको बैंक तयार भएको छ । भ्रष्टाचार नियन्त्रणमा हामी निर्मम छौं । सडक सुशासन, लागु पदार्थ दुर्व्यसन न्यूनीकरण गरी नैतिकवान् र सभ्य नागिरक तयार गर्न दुई लाख विद्यार्थी परिचालन गर्ने अभियान, ई–एजुकेसन, साक्षरता कार्यक्रम, विद्यालय नर्सिङ कार्यक्रम, ज्येष्ठ नागिरक दन्त उपहार कार्यक्रमलगायतका कार्यक्रमहरू नेपालमै नौलो र पहिलो हुने कार्यक्रमहरू सुरु गरेका छौं । जे होस् जनतामा राम्रो, बलियो आशा विश्वास र भरोसाको जग बसाल्न हामी सफल भएका छौं । यसरी जनतालाई विकासको चाहनामा न्याय गरेका छौं ।

प्रदेश सरकारका कतिपय मन्त्रालयबाट हुने गरेका कार्यसम्पादनप्रति जनता र तपाईंकै दल नेकपाभित्र पनि असन्तुष्टि छ । मन्त्रालयको काम चुस्त, दुरुस्त र अनियमिततारहित बनाउन के गर्दै हुनुहुन्छ ?
सन्तुष्टि मात्रै कहीं पनि हुँदैन । तसर्थ सरकार र मन्त्री र मन्त्रालयहरूको कामबारे सन्तुष्टि हुने कुरा भएन । तर मन्त्रीहरू अक्षम भएको, गन्हाएको र कामै गर्न नसकेको अवस्था छैन । हामी हाम्रो कार्यकालको मध्यावधि समीक्षा गर्ने तयारीमा छौं । सबै मन्त्री, मन्त्रालयहरू त्यस समीक्षाको कठघरामा उभिँदै छन् । यसरी आगामी दिनमा सरकार निर्मम समीक्षा गर्दै थप चुस्त, प्रभावकारी रूपमा अगाडि बढ्नेछ ।

सांसदको भूमिका शून्य बनाई जस्केलाबाट विकास योजना छनोट बजेटमा आउँछ भन्ने सदनमै सांसदहरूले गुनासो गर्नुहुन्छ, यसबारे तपाईंको धारणा के छ ?
यो कुरा संसदमा मेरो संसदीय दलमा उठेको छ । मैले सुरुदेखि नै एउटा सिस्टम र पद्धतिको कुरा उठाउँदै आएको छु । सत्य कुरा केहो भने मैले विकास योजनामा माननीयहरूलाई प्रत्यक्ष रूपमा जोड्ने काम सुरुको वर्षबाटै गरेको छु । जस्तो कि माननीय र माननीयहरूको निर्वाचन क्षेत्रलाई मूल आधार बनाएर माननीयहरूकै सिफारिसमा बहुवर्षीय सडक, सडक पुलहरू अगाडि बढाइएको छ । मु्ख्यमन्त्री ग्रामीण सडकलाई पनि माननीयहरूकै सिफारिसमा अगाडि बढाइएको छ । अझ माननीयहरूलाई जनतासँग प्रत्यक्ष जोड्न निर्वाचन क्षेत्रमा थप पूर्वाधार विकास र अन्यका लागि तीन करोडका दरले सबै निर्वाचन क्षेत्रमा बजेट पठाउने व्यवस्था गरिएको छ । यसमा यो वा त्यो दल आफ्नो, नजिकको वा टाढाको कुनै भेदभाव छैन । यसरी मूलतः माननीयहरूलाई विकास निर्माणका काममा जोडिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा मात्र होइन अन्य सबै मन्त्रालयमा सुरुदेखि नै माननीयहरूलाई प्रत्यक्ष जोडेर कार्यक्रम र बजेट बनाउन र पठाउन सबै मन्त्री र सचिवहरूलाई रुलिङ गर्दै आएको छु । तर कहीं न कहींबाट गडबडी हुँदै आएको छ । यसपटक मैले यस कुरालाई धेरै हदसम्म करेक्सन गरेको छु । मैले यतिसम्म भनेको छु माननीय सदस्यहरूलाई ब्याकडोरबाट प्रवेश भएका योजना तथा कार्यक्रमहरू लेखेर दिनुस् त्यस्ता योजना सबै हटाइनेछन् । सिस्टम र वैज्ञानिक पद्धतिलाई स्थापित गर्नकै लागि आवधिक योजना, मध्यमकालीन खर्च संरचना र योजना तथा बजेट तर्जुमाका लागि दीग्दर्शन तयार गरिएको हो । यसरी आगामी वर्षबाट शतप्रतिशत सबैखाले बेतिथि करेक्सन गरिनेछ ।

प्रदेशको नामकरण र स्थायी राजधानीका संरचना निर्माणमा सरकारको तयारी के छ ? कहिलेसम्ममा प्रदेशले नाम पाइसक्छ ?
प्रदेशको नाम टुंग्याउन बाँकी छ । यदि कोभिड १९ को प्रकोप नआएको भए हिउँदे सभाबाट टुंग्याउने भनेका थियौं जे होस् हामी छिटै टुंग्याउछौं । प्रदेश राजधानीसँग जोडिएका संरचनाहरू प्रदेश सरकारको निर्णयबमोजिम निर्माणको काम पनि हामी छिटै सुरु गर्नेछौं ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro