ओलीको वचनबाण 

कोभिड–१९ को व्यवस्थापन हेर्दा मुलुक अहिले ‘टकासेर भाजी, टकासेर खाजा’ वाला ‘अन्धेर नगरी’ जस्तै देखिन्छ

प्रधानमन्त्री केपी शर्मा ओली वाक्पटु छन् । उनको हाजिरजबाफीको जोडा लाग्ने राजनीतिक नेता नेपालमा बिरलै होलान् । बोलीचालीमा उखानटुक्काको प्रयोग गर्ने त उनको विशेष गुण नै मानिन्छ । प्रधानमन्त्री ओलीले आफ्नो वाक्पटुताको प्रयोग भने प्रायः अरूको चित्त दुखाउन गर्ने गरेका छन् । धेरै व्यक्ति र समुदाय उनको वचनबाणबाट आहत भएका छन् । यसपटक प्रधानमन्त्री ओलीले विदेशमा अलपत्र परेका नेपाली नागरिकप्रति लक्षित गरेर वचनबाण प्रहार गरेका छन् । संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलको उत्तर दिने क्रममा उनले प्रहार गरेको वचनबाण थियो – ‘‘ह्वारह्वारी ल्याउने, कोरोनामात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौ ।’’ क्वारेन्टिनका नाममा संक्रमित र स्वस्थ व्यक्तिलाई एकै ठाउँमा छ्यासमिस गरेर राख्ने सरकारका प्रमुखले विदेशबाट नागरिक आउँदा मुलुकै ‘सोत्तर’ हुन्छ भन्न पटक्कै सुहाउँदैन ।

वैदेशिक रोजगारी र शिक्षालगायत अन्य प्रयोजनमा विदेश गएका नेपालीहरूमध्ये धेरैलाई उनीहरू बसिरहेको कतिपय देशले छिटो फर्कन ताकेता गरिरहेको समाचार सार्वजनिक भएको छ । यसै पनि विश्वमहामारीका कारण धेरै जना आआफ्नै घर फर्कन चाहन्छन् । नेपालबाटै धेरै मुलुकले आआफ्ना नागरिक फिर्ता लगेका छन् । नेपालले नै पनि चीनको वुहानमा बन्दाबन्दीमा परेका नागरिकको उद्धार गरेकै हो । यस्तो परिस्थितिमा देशको प्रधानमन्त्री जस्तो व्यक्तिले विदेशमा रहेका नागरिकलाई कोरोनाभाइरसको पोकाका रूपमा अथ्र्याउनु दुखलाग्दो र दुर्भाग्यपूण हो । प्रधानमन्त्री ओलीले थाहा पाएका छैनन् कि थाहा पाएर पनि बुझ पचाएका हुन् उनको सरकारको कुव्यवस्थापनले बरु मुलुकलाई ‘सोत्तर’ हुने जोखिमतर्फ धकेलेको छ । नागरिकको स्वदेश फर्कने अधिकार त संविधानले नै सुनिश्चित गरेको छ । कुनै पनि बहानामा नेपाली नागरिकलाई देशमा आउनबाट रोक्न पाइँदैन ।

कोभिड–१९ को व्यवस्थापन हेर्दा मुलुक अहिले ‘टकासेर भाजी, टकासेर खाजा’ वाला ‘अन्धेर नगरी’ जस्तै देखिन्छ । यसका शासकहरूको चरित्र र प्रवृत्ति पनि ‘चौपट राजा’को भन्दा खासै फरक देखिँदैन । देशभित्रका आप्रवासी मजदुर र भारतमा का मगर्न गएका नेपालीलाई पनि घर फर्कन खोज्दा प्रधानमन्त्री ओलीलगायतका सरकारी पदाधिकारीले यस्तै कटुवचन सुनाएका थिए । तिनलाई व्यवस्थितरूपमा फर्कन सघाएको भए सम्भवतः कोभिड–१९ को संक्रमण रोकथाम गर्न आवश्यक सूचना हासिल हुन्थ्यो । भारतबाट घर फर्केकाहरूको व्यवस्थामात्र राम्ररी मिलाएको भए बन्दाबन्दीको दुई महिनापछि संक्रमण यस्तो गतिमा बढ्ने थिएन । विदेशमा अलपत्र परेर घर फर्कन चाहने नेपालीलाई केही दिन अलमल्याउन सक्ला तर सरकारले सधैँका लागि रोक्न सक्तैन । बरु तिनलाई फर्काएर निशिचत स्थानमा व्यवस्थित क्वारेन्टिनमा राख्ने र घर फर्काएर समुदायमा पुनःस्थापना गर्ने योजना सरकारले तत्काल बनाउनु बुद्धिमानी हुनेछ । क्वारेन्टिनका लागि अहिले बन्द रहेका होटलहरू प्रयोग गर्ने हो भने अर्थतन्त्र पनि गतिमान् हुनेछ । यसैगरी तिनको व्यवस्थापन गर्न मानवीय सहायतामा संलग्न स्वयंसेवी सामाजिक संस्थाहरूको सहयोग लिए हुन्छ । महामारी व्यवस्थापनमा सबैको सहयोग लिन हिचकिचाउनु पर्दैन । तर, विपत्तिमा परेका नागरिकलाई मुटु नै छियाछिया हुने गरी यसरी वचनबाण प्रहार गर्नु सरकार प्रमुखको मर्यादाअनरूप भएन ।  

प्रतिकृया दिनुहोस
ad