site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
केपी ओलीबाट संविधान सुरक्षित हुन सक्दैन, कांग्रेस टुलुटुलु हेरेर बस्ने ? 
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेल पछिल्लो समयमा सरकारविरुद्ध खरोेरुपमा उत्रिएका नेता हुन् । केन्द्रीय समितिको बैठकमा पनि उनी प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका थिए  । तर नेतृत्व मौन बसिदिएका हुनाले यस विषयमा निर्णय हुन सकेन । 

कांग्रेसले अहिले प्रधानमन्त्रीको राजीनामा माग्नुको कारण के हो त ? आफू नै कमजोर अवस्थामा रहेका बेला प्रधानमन्त्रीले राजीनामा दिँदैमा कांग्रेसलाई के फाइदा हुन्छ ? लगायतका विषयमा बाह्रखरीका केशव सावदले नेता पौडेलसँग गरेको कुराकानीः

अहिले नेपाली कांग्रेसले के गरिरहेको छ ? 

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड १९ को समयमा अहिले त हामी प्रतिपक्ष, सत्तापक्ष कोभिड १९ को विरुद्धको लडाइँमा संगठित भएर लड्न आवश्यक छ । यो बेला सत्ता पक्ष, प्रतिपक्ष भनेर कित्ताबन्दी गर्नुपर्ने आवश्यकता छैन ।  नेपाली कांग्रेसको नेपालभरी संगठनको आफ्नो संरचना छ । 

नेपालका सबै वडाहरुमा कांग्रेसको समिति छ । कांग्रेसले आफ्नो संरचनागत परिचालनलाई कोभिड १९ का विरुद्ध जसरी सशक्त बनाउनुपर्ने हो, त्यसरी सशक्त बनाउन कतिपय सन्दर्भमा चुकेको छ । 

Global Ime bank

हामीले कोभिड १९ विरुद्ध कांग्रेसको अभियानलाई सशक्त बनाउन जरुरी छ । सरकारलाई सहयोग गर्ने सन्दर्भमा पनि हामीले स–भक्तिपूर्वक सहयोग गर्ने होइन । सहयोग गर्ने सन्दर्भमा सरकारले ल्याएका कार्यक्रमहरु गर्ने कुरै हुँदैन, सहयोग गर्छौं । तर सँगसँगै कांग्रेसले आफ्नो संगठनलाई पनि यसकाविरुद्ध परिचालन गर्नुपर्छ । 

यतिबेला सरकारको प्राथमिकता कोभिड १९ विरुद्ध लड्नेमात्रै नभएर अरु राजनीतिक विषयहरु पनि भएको जस्तो देखिन्छ । अरु गलत कामहरु पनि सरकारले गरेको देखिन्छ । त्यसका विरुद्ध कांग्रेसले जति सशक्त ढंगले प्रहार गर्नुपर्ने हो, त्यो प्रहार नगरिएको आम रुपमा महसुस गरिएको स्थिति छ । 

त्यसैले राजनीतिक रुपमा नेपाली कांग्रेसले सरकारले गरेको ज्यादती, कमी–कमजोरीका विरुद्ध सशक्त प्रहार गर्न आवश्यक छ । त्यो कुरा हामीले आन्तरिक रुपमा उठाइरहेका छौं । त्यसको प्रभावकारी रुपमा परिणाम आउने गरी कांग्रेसको सशक्तता देखिएको छैन । देखाउनका निम्ति हाम्रो प्रयास जारी छ । 

कोरोनाभाइरसको संक्रमण फैलिसकेपछि कांग्रेसमा यसअघि देखिने विवादहरु साम्य भएका छन् । केही आन्तरिक सहमति भएको हो यहाँहरुका बीचमा ? 

आन्तरिक सहमति, असहमति केही पनि भएको छैन । कोभिड १९ सँग डराएर गतिविधिहरु कम भइरहेको छ । एकदमै सुरक्षित ढंगबाट हामीले आफ्ना गतिविधिहरुलाई अगाडि लिएर जान जरुरी छ, एउटा विषय । 

दोस्रो कुरा, नेपाली कांग्रेसले हटाउन चाहेर सरकार हट्ने होइन । यो नेकपाले गर्ने कुरा हो यसकारण हामीले सरकारका बारेमा किन बोल्ने भन्ने जस्तो पनि देखिन्छ । यस्तो मनोविज्ञान देखिन्छ । नेपाली कांग्रेस अहिले विपक्षमा छ । विपक्षमा भएको पार्टीले सरकारका गल्ती कमजोरीलाई सशक्त ढंगले औंल्याउन सकेन भने सरकार सच्चिने त धेरै परको कुरा हो, नेपालको संवैधानिक व्यवस्थामै आँच आउने स्थिति बन्न सक्छ । त्यसैले सरकारका विरुद्ध प्रतिपक्षको हैसियतमा नेपाली कांग्रेसले आफूलाई सशक्त ढंगले प्रस्तुत गर्ने सन्दर्भमा चुकेको छ । त्यो कमजोरीलाई तत्काल सच्याउन आवश्यक छ । 

१४ औं महाधिवेशनको मिति तय भएपछि कांग्रेसमा महाधिवेशन लक्षित जोड–घटाउ सुरु भइसकेको थियो । पछिल्लो समयमा त्यो जोड–घटाउ बाहिर त देखिएको छैन । के आन्तरिक रुपमा अहिले पनि जोड घटाउ भइरहेको छ ? 

कोभिड अगाडि जति पनि कामहरु अघि बढेका थिए, ति सबै अहिले रोकिएको छ । अहिले महाधिवेशनको चर्चा हाम्रो पार्टीमा भएको स्थिति छैन । बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा एक–दुई जना सदस्यले मात्रै त्यो विषयमा कुरा उठाउनुभयो । यसैले महाधिवेशनको विषय त पूर्णरुपमा रोकिएको अवस्थामा छ । आन्तरिक विषयहरु पनि अहिले पूर्णरुपमा रोकिएका छन् । 

तर, अहिले पनि नेपाली कांग्रेसभित्र हामीहरुले उठाइरहेको विषय के हो भने कोभिड १९ का विरुद्धमा लड्ने सन्दर्भमा आफ्नो सांगठनिक संरचनालाई परिचालन गर्ने मामिला पनि कमजोरी जस्तो देखिएको छ । मैले अघिनै भने स–भक्तिपूर्वक सहयोग गर्ने भनेको केही नगरेर चुप लागेर बसेर सरकारले जे जे भन्छ त्यसलाई मानेको जस्तो देखिएको छ । 

अर्को, सरकारले कोभिड १९ को विपद्लाई उसको स्वार्थपूर्तिको अवसरका निमित प्रयोग गरिरहेको छ । यही बेलामा यत्रो धेरै क्रप्सन (भ्रष्टाचार) को कुरो आएको छ । यही बेलामा यत्रो धेरै अख्तियारी दुरुपयोग गरेका कुराहरु आएका छन् । यतिबेला अध्यादेश ल्याएर पार्टी फुटाउने काम प्रधनमन्त्री आफैँले गर्नुभएको छ ।

प्रधानमन्त्रीले अराजकताको संरक्षण गरेको जस्तो देखिएको छ, भ्रष्टाचारको संरक्षण गरेको जस्तो देखिएको छ, नैतिकताको पूर्णरुपमा खडेरी परेको स्थिति छ । नेपालको संविधानका सबै व्यवस्थामाथि प्रहार लगातार भइरहेको छ । 

अभिव्यक्ति स्वतन्त्रताबाट कुण्ठित गर्ने कोसिस सरकारले गरे जस्तो देखिन्छ ।सरकारले एकदमै ठूलो अपराध गर्नेलाई केही पनि गर्दैन तर सामाजिक सञ्जालमा लेख्नेलाई थुन्छ । 

यस्तो विषयमा पनि हामीले टुलुटुलु हेरेर बसेको देखिएको छ । त्यसैले अहिले हामीले आन्तरिक विषय उठाउने एउटा सन्दर्भ हुन सक्छ । त्यो कुरा जायज नहुन सक्छ । तर सरकारले गरेका गलत कामहरुलाई हामीले आफ्नो ठाउँबाट अहिलेको परिस्थितिमा मिल्ने गरी उठाउन आवश्यक छ । कोभिड १९ का विरुद्ध र सरकारले गरेका ज्यादतिका विरुद्ध हामीसँगसँगै लड्न आवश्यक छ । त्यसमा कमजोरी भएको छ, त्यसमा सशक्तता देखिएको छैन । हामीले यही विषय पार्टीभित्र उठाइरहेका छौं । 

पछिल्लो समयमा कांग्रेसले चालिरहेको कदमलाई तपाईंकै पार्टीपंक्तिभित्र राम्रो भनेको पनि सुनिन्छ । तर, यहाँले भन्नुभयो– सरकारलाई स–भक्तिपूर्वक कांग्रेसले सघाइरहेको छ । भने पछि पार्टीको भूमिकाप्रति तपाईं असन्तुष्ट देखिनुहुन्छ, कांग्रेसले यो बेला गर्नुपथ्र्यो के ? 

कांग्रेसले गर्नुपर्ने कामहरु तलका इकाईहरुले आफैँ गरिरहेको स्थिति छ । केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुले पनि केही कुरामा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । तर पूर्णरुपमा टिकाटिप्पणी नहुने गरी नेपाली कांग्रेस प्रतिपक्षमा सशक्त भएको छ भन्ने महसुस गरिने गरी हामीले हाम्रो संगठनको पूर्ण परिचालन गर्न सकेका छैनौं । 

जस्तो कोभिड १९ का विरुद्ध नेपाली कांग्रेसले एउटा सचेतना अभियान सञ्चालन गर्ने गरी सुरु गर्न आवश्यक थियो । 

त्यो नेपाली कांग्रेसका तर्फबाट जित्नुभएको चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षले गर्नुभएको छ । उहाँले यात्रुलाई गाडीमा हालेर पठाइदिनुभयो । गाडीमा चढ्नुभन्दा अगाडि कोरोनाबाट जोगिन यसो यसो गर्नुपर्छ भनेर प्रशिक्षण पनि दिनुभयो । त्यसैले तलका इकाईहरुले आफ्नै ढंगले काम गरिहरेको पनि स्थिति छ । 
तर सम्पूर्ण रुपमा हाम्रो संगठन परिचालन गर्ने सनदर्भमा हामीले जसरी प्रभावकारिता देखाउन सक्नुपर्ने थियो त्यसो हुन सकेन । त्यो भन्दा पनि महत्वपूर्ण विषय भनेको अहिले सरकारले लकडाउन लागु गरेको छ । 

यो लकडाउन सरकारका कारणले मात्रै पालना भएको होइन, जनताका कारणले पनि पालना भएको हो । 

लकडाउन लगाउने बाहेक सरकारले यो बीचमा एउटा पनि अस्पताल खोलेको छैन । 

कुनै पनि अस्पतालमा भेन्टिलेटर थपिएको छैन । शय्याहरु थपिएको छैन । औषधी खरिदका लागि कुनै कम्पनीलाई ठेक्का दियो, ठेकेदारले अनियमितता गर्यो भनेर सरकार आफैले भन्यो, त्यस पछि औषधीहरु, इक्विपमेन्टहरु आएको नआएको कुरा हामी कसैलाई थाहा छैन । सरकराले आवश्यकताअनुसार सामग्रीहरु ल्याउन सकेको छैन । 

कृषी उत्पादन नष्ट भएर गएको छ । त्यो कृषी उत्पादनलाई बजारमा ल्याउने काम सरकारले गर्नुपर्थ्यो । किसानलाई नष्ट भएको उत्पादनको क्षतिपूर्ति दिने काम सरकारले गर्नुपथ्र्यो । त्यो पनि केही भएन । 

राहत वितरणको सन्दर्भमा पनि सरकारले सबैले राहत पाएको भनेर प्रचार गरेको छ । तर राहत पाउनुपर्ने २० प्रतिशतले पनि राहत पाएको स्थिति छैन । राहत पाउनुपर्ने सबैले राहत पाउँथे भने चार दिन लगाएर हिँडेर कोही घर जान्थे ? सयौं किलोमिटर टाढा घर भएका मानिसहरु त्यसरी हिँडेर घर जान तयार हुन्थे ? यसकारणले सरकारले राहत दिने व्यवस्था पनि गर्न सकेको छैन । 

संसार भरी नेपालीको कति ठूलो बिजोग भएको छ । खाडी देशहरुमा धेरै नेपालीहरु मरिसकेका छन् । 

त्यहाँको जे अवस्था हो त्यो बाहिर आएको छैन । महाकाली पारी रहेका नेपालीहरु एउटा खोला (नदी) तरेर वारी आउन चाहन्छन्, खोला तरेर वारि आउन चाहने नेपालीलाई क्वारेन्टाइनमा राखेर सरकारले सुरक्षित गर्न सक्दैन । 

त्यसैले सरकारले जनताप्रति जुन भूमिका निर्वाह गर्नुपर्ने हो त्यो भूमिका प्रदान गर्न सकेको छैन । यहाँ सबैलाई खाद्य सामग्री अभाव भएको स्थिति छ । 

कोरोनाबाट संक्रमितबाहेक अरु पनि बिरामीहरु छन्, उनीहरु अस्पताल जान सकेको स्थिति छैन । मुटुका रोगीहरु, मिर्गौलाका रोगीहरु, मधुमेहका रोगीहरु, क्यान्सरका रोगीहरुले औषधि प्राप्त गर्न सक्ने स्थिति छैन । 

यो सबै कुरा हामीले सशक्त ढंगबाट उठाउनुपर्ने एउटा स्थिति सँगसँगै सरकारले यो बेला जनतालाई डेलिभर गर्न सकेन, अभिभावकत्व निर्वाह गर्न सकेन । तर सरकारको प्रमुखले आप्mनो गुट बलियो बनाउनका निमित्त अर्को पार्टी फुटाउन लाग्नुभएको छ ? यो राज्यको अहिलेको प्राथमिकता हुनै सक्दैन । 

त्यसमा उहाँले राष्ट्रपति जस्तो संस्थालाई पनि विवादमा ल्याउनुभएको छ । प्रधानमन्त्रीको कार्यालयबाटै कुनै व्यक्तिलाई जवरजस्ती ल्याउने योजना बनाइयो । प्रधानमन्त्री आफै कसैलाई जवरजस्ती उठाउन तयार भइसकेपछि अब यो मुलुकमा कानुनी राज्य छ भन्न मिल्छ ? यस्तो अवस्थामा पनि हामीले यि कुराहरुलाई जोडदार ढंगले उठाउन सकेनौं । 

प्रधानमन्त्री नैतिकता नभएको, प्रधानमन्त्रीले संविधानका सबै विषयमाथि प्रहार गरेको, प्रधानमन्त्रीले अराजकता र आपराधिकतालाई संरक्षण गरेको, प्रधानमन्त्रीले वैयक्तिक स्वतन्त्रता खोसेको, प्रधानमन्त्रीले नेपालमा कानुनी राज्य स्थापित गर्न नसकेको । अब यति कुरा गर्ने व्यक्ति अझै प्रधानमन्त्री रहिरहनुपर्छ त ? 

अब प्रधानमन्त्रीको विकल्प कांग्रेसबाट हुँदैन भनेर नखोज्न मिल्छ ? उहाँले त प्रधानमन्त्री हुने योग्यता नै गुमाई सक्नुभयो । यस्तो व्यक्ति प्रधानमन्त्री हुँदा नेपालको संविधान पनि कार्यान्वयन हुन सक्दैन, संविधान पनि सुरक्षित हुन सक्दैन, नेपालमा अमन चयन कायम हुन सक्दैन, नेपालमा केही पनि सुरक्षित रहन सक्दैन, नेपालमा

भ्रष्टाचारको अन्त्य हुन सक्दैन, नेपालमा कुनै पनि पार्टी सुरक्षित हुन सक्दैन, संवैधानिक व्यवस्थामाथि निरन्तर प्रहार भइरहन्छ, अब त्यस्तो मानिसलाई प्रधानमन्त्रीको कुर्सीमा राखिरहनुपर्छ अथवा कुर्सीबाट हटाउन पर्दैन भन्न मिल्छ ?  त्यसैले आजको दिनमा नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ । वैकल्पिक प्रधानमन्त्री आएर उसको कार्यक्षमता देखाइसकेपछि यस्तै भयो भने फेरि राजीनामा मागौंला । तर अहिलेको प्रधानमन्त्रीको विकल्प खोज्न जरुरी छ । 

केही दिनअघि अर्काको पार्टी फुटाउनलाई अध्यादेश ल्याइएको हो भनेर प्रधानमन्त्री स्वयम् आफैले पनि भन्नुभएको थियो, यहाँले पनि भन्नुभयो । र, सामाजिक सञ्जालमा नेपाली कांग्रेसलाई फुटाउनलाई अध्यादेश ल्याएको हो भन्ने कुराहरु पनि उठेका थिए । यो कतिको साँचो हो ? 

उहाँले एउटा बाँण हान्नुभयो । त्यो बाँणले धेरैलाई लाग्न सक्छ । उहाँ आफैलाई पनि लाग्न सक्छ । नेपालको राजनीतिलाई केपी ओलीले ०५३–०५४ सालतिर फर्काउनुभयो । जतिबेला शक्तिको, पैसाको मात्रै राजनीति हुन्थ्यो । अंक गणितको मात्रै राजनीति हुन्थ्यो । त्यो अंक गणितको राजनीतिले त्यो व्यवस्थालाई अत्यन्तै अलोकप्रिय बनायो । केपी ओलीको कारणले नेपालको राजनीति त्यतातिरै फर्किँदैछ । 

पैसा भएपछि, मसल भएपछि जे पनि गर्न सकिन्छ भन्ने कुरा केपी ओलीले स्थापिन गर्न खोज्दै हुनुहुन्छ । उहाँले अध्यादेश ल्याउनुभन्दा अगाडि कुन पार्टी फुटाउने, त्यो उहाँहरुले बनाएको योजनाभित्र समाजवादी र त्यसपछिको टारगेट राजपा हुनसक्थ्यो । र, त्यहाँभित्रका को को मान्छे ल्याउने भन्नेबारे उहाँहरुको पहिल्यै हिसाब किताब तय थियो । 

उहाँहरुले को को मान्छे त्यो पार्टीबाट फुटाउने तिनीहरुलाई भेटिसक्नुभएको थियो । तिनीहरुलाई आश्वासन दिने कुरा गरिसक्नुभएको थियो । एक दुई जनासँग हिसाब मिलेको थिएन । 

नमिलेको कारणले अध्यादेशमा गरिएको व्यवस्था अनुसार पार्टी फुटाउने संख्या पुगेन । 

नपुगेपछि उहाँहरु सुरेन्द्र यादवजीलाई जबरजस्ती लिन जानुभयो । सुरेन्द्र यादवजीलाई ल्याउने कुरा जबरजस्ती हो भनेर पुष्टि गर्नुपर्ने त कुनै आवश्यकतै छैन । किनकि सुरेन्द्र यादवजी आफैँ काठमाडौं आउनुसक्नुहुन्थ्यो । उहाँलाई यहाँका मान्छे लिन त्यहाँ जानुभएको छ । त्यसैले यो पार्टी फुटाउने भनेर तय गरेपछि त्यो अध्यादेश ल्याइएको हो । पार्टी फुट्ने नदेखिएपछि अध्यादेश फिर्ता लिन बाध्य हुनुभयो ।

तपाईं केपी ओलीले राजीनामा दिनुपर्छ भनेर सामाजिक सञ्जालमा लेख्दै आउनुभएको छ । बुधबारमात्रै तपाईंको पार्टीले प्रधानमन्त्रीसँग कुर्सीमा बस्ने नैतिक र राजनीतिक हैसियत रहेन भनेर निर्णय गर्‍यो । प्रधानमन्त्रीले राजीनामा दिएपछिको निकास के हो ? के कांग्रेस सरकारमा जान खोजेको हो ? 

कांग्रेस पाँचवर्ष सरकारमा जानु हुँदैन । कांग्रेसले सरकारमा जाने म्यान्डेड प्राप्तै गरेको छैन । त्यसैले सरकार बनाउने, बदल्ने सबै काम नेकपाले गर्ने हो । आजको दिनमा असफल भएको केपी ओलीमात्रै होइन, नेकपा पनि हो । यो हर्कत गर्ने व्यक्तिलाई प्रधानमन्त्रीमा राखिरहने ? 

मसँग मेरो पार्टीसँग प्रधानमन्त्री बदल्ने अंक गणित छैन, बदल्ने नेकपालेमात्रै सक्छ, कांग्रेसले बदल्न सक्दैन । तर, कुरासँगसँगै काम कले गर्न सक्छ भने भीम रावलजीहरुले गर्न सक्नुहुन्छ । उहाँहरुले टेलिभिजनको पर्दामा आएरमात्रै त्यो कुरा भन्ने मात्रै हो कि, गणित बदलेर नेपालको संविधानमाथि प्रहार गर्ने व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने हो ? 

नेपाली कांग्रेस केपी ओलीको विकल्प दिन सक्ने स्थितिमा छैन । कांग्रेसबिना नै दुईतिहाइ पुग्ने अवस्था छ । त्यसैले अंक गणितको सन्दर्भमा नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउने, बदल्ने हैसियतै राख्दैन ।  हामी राजनीतिमा अंक गणितमात्रै होइन, नैतिकता पनि हुन्छ भन्दै आएका छौं । राजनीतिमा अरु विषयहरु पनि हुन्छ । अंक गणितको आधारमा मात्रै व्यक्ति शक्तिमा रहने कुराले राजनीति संग्लिन सक्दैन । 
अंक गणित केपी ओलीसँग होला, संवैधानिक पक्षबाट उहाँ प्रधानमन्त्री रहिरहनसक्नु होला तर मेरो मनबाट उहाँ प्रधानमन्त्रीका रुपमा स्वीकारिने व्यक्ति होइन । म भनेको एउटा प्रतिनिधि पात्र हो, आमजनताको मनले आज केपी ओलीलाई प्रधानमन्त्री स्वीकारी रहेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाका लागि अब के गर्नुपर्ला छ ? 

कांग्रेसले राजीनामा माग्नुपर्छ । लोकतन्त्रमाथिको प्रहार टुलुटुलु हेरेर कांग्रेस बस्न सक्दैन ।  कांग्रेसले हिजोको इतिहासमा लोकतन्त्रका लागि आफूलाई आहुति दिएको हो । कांग्रेसका धेरै सपुतहरु पञ्चायतको बेलामा लोकतन्त्रका लागि गोली खान तयार भएका मान्छे हुन् । पञ्चहरुले रोजाउँथे, राष्ट्रिय पञ्चायतको सदस्यता लिने कि जेल जाने भनेर । कांग्रेसहरु जेल जान तयार हुन्थे । 

त्यसैले लोकतन्त्रको निम्ति नेपाली कांग्रेस जस्तोसुकै जोखिम मोल्न पनि तयार हुनुपर्छ । लोकतान्त्रिक मूल्य र मान्यता रक्षा गर्ने सन्दर्भमा केपी ओली अब प्रधानमन्त्रीको कुर्सीमा रहिरहन सक्ने स्थिति छैन । त्यो कुरा कांग्रेसले प्रष्ट भन्नुपर्‍यो ।  ओली हटेर कांग्रेसको मान्छे प्रधानमन्त्री हुने होइन । पाँचवर्ष सरकारमा जाने म्यान्डेड कांग्रेसलाई छँदैछैन । त्यसैले हामी सरकारमा जाँदैनौं । 

यहाँ भागबण्डा लिन कांग्रेसले यसो भन्यो भनिन्छ । कांग्रेसले कहाँ भागबण्डा माग्यो ? कांग्रेसले संस्थागत रुपमा भागबण्डा मागेको त छैन ।  संस्थागत रुपमा नमागेको भागबण्डा कसैले व्यक्तिगत रुपमा मागेको छ भने जो सँग मागिएको छ उसले भन्दिन पर्‍यो मसँग मागियो भनेर । त्यस्तो खालको चरित्रलाई हामी उदांगो गर्छौं । 
कांग्रेसलाई कुनै भागबण्डा चाहिएको छैन । देश निष्पक्ष रुपमा चल्नुपर्‍यो । 

संवैधानिक निकायहरु निष्पक्ष हुनुपर्‍यो । प्रधानमन्त्रीले प्रतिपक्षी दलको नेतालाई संवैधनिक परिषद्मा किन राख्न चाहनु भएन भने उहाँ अख्तियारमा आफ्नो छाया उभ्याउन चाहनुहुन्छ । संवैधानिक निकायहरुमा आफ्नो छाया उभ्याउन चाहनुहुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement