site stats
बाह्रखरी :: Baahrakhari
देश
 पीपीई लगाएका बेला फोन उठाउन पाइन कारबाही भइसकेछ 

काठमाडौं । कोरोनासम्बन्धी जनचेतना जगाउने एकजना डाक्टरलाई सरकारले कारवाहीस्वरुपम मन्त्रालयमा तानेको छ ।

टेकु अस्पतालमा १८ वर्षदेखि करारमा रहेका डा. शेरबहादुर पुनलाई कोरोनासम्बन्धी जानकारी मन्त्रालयले भन्दा पहिला सञ्चारमाध्यमलाई भनेको भन्दै कारवाही गरिएको हो ।

उनलाई मन्त्रालयबाट गरिएको फोन नउठाएको अर्को आरोप लगाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाह्रखरीसँगको कुराकानीमा डा. पुनले कारवाहीबारे यसो भने–

बिहीबार मलाइ मौखिकरुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बोलाएका रहेछन् । त्यो कुरा अस्पतालका निर्देशक डा. साबले मलाई मन्त्रालयमा पठाइदिनू भन्नुभएको छ जानू भनेर भन्नुभयो । त्यो समयमा म अस्पतालमा पीपीई लगाएर बिरामी चेक गर्दै थिएँ । पीपीई लगाएको समयमा घरिघरी लगाउने फुकाल्न मिल्दैन । तर म त्यो दिन जान सकिन । आइतबार जाने तयारी गरेको थिएँ । 

उता शुक्रबार बेलुका नै पत्र आएछ । आफुले बोलाउँदा नआएको भन्दै स्वास्थ्य तथा जनसंखया मन्त्रालयले स्पष्टीकरणसहितको पत्र काटेको रहेछ । जनतालाई रोगका बारेमा जानकारी दिँदा स्पष्टीकरण नै दिनुपर्ने रहेछ । 
मैले पत्र भने अहिलेसम्म पढ्न पाएको छैन । पत्रमा के छ भनेर मलाइ आधिकारिक जानकारी छैन । तर, मैले अनौपचारिक रुपमा आएको जानकारीअनुसार मैले मिडियामा गरेका कुराकानीसँग सम्बन्धित विषय पत्रमा उल्लेख गरेको बुझेको छु । कोरोना महामारीमा सुरुदेखि नै खटिइरहेको छु ।
अहिलेको महामारीको समयमा सबै मिलेर महामारीसँग लड्ने समयमा पत्र काटेर स्पष्टीकरणको लागि बोलाएको छ । मैले अस्पतालको बारेमा कहिलै यस्तो भयो उस्तो भएको छ भनेर भनेको छैन । 

मैले आफ्नो विशेषज्ञताको हिसाबले पनि जनतालाई जनचेतना दिने हो त । मैलै मिडिया पनि कुनै सरुवा रोगका बारेमा यसका यस्ता लक्षण देखियो भने हामीले यो रोगका बारेमा यसरी जोगिनुपर्छ भन्ने तर गरेको छु तर अहिले मलाई मिडियामा यस्ता बोलेको भनेर स्पष्टीकरणको पत्र पठाएको छ । मैलै रोगका बारेमा बोलेरै जनचेतना जगाएर कुनै नराम्रो त गरेको जस्तो लाग्दैन ।

मिडियाका साथीहरुले क्लिनिकल उपचारका साथै रोगको अनुसन्धान पनि गरिरहेको भएकाले रोगका बारेमा प्राविधिक कुरा सोध्नुहुन्छ, मैले त्यही बताउने हो ।  अहिले कोरोना रोग आयो त्यसबाट कसरी बच्ने भनेर पो मिडियामा बोेलेको छु । गतवर्ष डेँगुका बारेमा जनचेतना फैलाउँदै उपचारमा खटिएको थिएँ ।

अहिले देशैभर कोरोना परीक्षण र्‍यापिड टेष्ट किटबाट भइरहेको छ । मैले आरडीटी र पीसीआर दुवैको फाइदाका बारेमा जानकारी गराएको मात्रै हुँ । जुन यहाँहरुको मिडियामा पनि भनेको छु । मैले जापानमा राम्रो अवसर पाएको थिएँ । त्यो अवसर छोडेर आफ्नै देशमा केही गरौँ भनेर आएको थिएँ । क्लिनिकल उपचारका साथै रोगको अनुसन्धान पनि गरिरहेको हुन्छु । 

रोगका बारेमा आफुले गरेको अध्ययन र अनुसन्धानका साथै अन्य देशका अनुसन्धान हेर्ने पढ्ने गर्छु ।  तर आफुले जानेका जानकारीहरु अरुलाई  दिँदा केही कुरा गलत गरेँजस्तो मलाई लाग्दैन । मैले जहिल्यै जनचेतना दिनका लागि लेख्ने  र बोल्ने गरेको छु । केहि पाउँला भन्ने आशले त मैले कहिल्यै सोचेको छैन । 
(मिडियामा अभिव्यक्ति दिएको भन्दै शुक्रबार मन्त्रालयले पत्र लेख्दै उनीसँग स्पष्टीकरण सोधिएपछि बाह्रखरीले यसै सन्दर्भमा डा. पुनसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  ०९:५७
प्रतिक्रिया दिनुहोस्