site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भूकम्पपीडितलाई सम्झेकै हो त ?

नयाँ सरकारले भूकम्पपीडितलाई दिइने सहायताको पहिलो किस्ता ४५ दिनभित्र उपलब्ध गराउने निर्णय गरेको छ । पहिलो निर्णय नै भूकम्पपीडितप्रति लक्षित गरेर सरकारले राम्रो सन्देश दिएको छ । सरकारको नियतमा शंका गर्नु पनि हुँदैन । तर, किन १६ महिनासम्म पनि पीडितका हातमा सहायता पुगेन भन्ने बारेमा यथार्थ जानकारी नहुने हो भने फेरि पनि पीडितका हातमा पैसा पुग्दैन । 

भुइँचालो गएपछि उद्धार आकस्मिक सहायतामा देखिएको तदारुकता र उत्साह हेर्दा भूकम्पपीडितको यति धेरै बिचल्ली होला भन्ने अनुमान पनि गरिएको थिएन । त्यसमाथि भूकम्पपीडित स्वयंले पनि पटक्कै हिम्मत हारेका थिएनन् । यथार्थमा नेपालीहरू जीवटपनको संसारभर सराहना भएको थियो । तर, उद्धार आकस्मिक सहायताकै क्रममा सुरु भएको सरकारी बहुलठ्ठीले पछिल्ला दिनहरू निराशाजनक भए । त्यतिबेला कसैले पनि नेपालीहरू यति निरीह र निराश पनि होलान् भनेर कल्पना पनि गरेका थिएनन् होला ।

कारिन्दाको करामत

Prabhu Bank
Agni Group
NIC Asia

भूकम्पपीडितलाई अहिलेको बिचल्लीका लागि मूलतः शासकहरूको कारिन्दागिरी र कन्जुसी दोषी छ । हुनत, अहिलेको पुस्ताले कहिल्यै नभोगेको विपत्तिको व्यवस्थापन गर्दा त्रुटि कमजोरी हुनु अस्वाभाविक होइन । तर, त्यस्तो त्रुटि वा कमजोरी भन्दा बढी अहङ्कार र रुढीवादी शासकीय संस्कार यसका लागि बढी दोषी छ । कहिल्यै घर नछाडेका सहरका तरूणहरू झोलामा सामल लिएर गाउँगाउँमा पुग्दै गर्दा सिंहदरबारका कारिन्दा 'निर्देशिका' बनाउन र सरकारको अनुमति नलिई 'कसैले केही गर्न पाउँदैन' भन्ने उर्दी जारी गर्नमा व्यस्त थिए । सरकारले निगरानी र नियन्त्रण पनि गर्नुपर्छ तर काम गर्नै रोकेर हैन । नेपालको कर्मचारीतन्त्र राणाकालीन 'निषेध'कै संस्कारमा दीक्षित छ । भूकम्पपछि पनि त्यही निषेधको मानसिकताबाट निर्देशित हुँदा अहिलेको अवस्था उत्पन्न भएको हो । सरकारले निगरानी र नियमन गर्ने तर काम गर्नेलाई हतोत्साहित नगर्ने नीति अपनाएको भए अहिलेसम्म कम्तीमा सार्वजनिक संरचना तयार भइसक्ने थिए ।

सामन्ती कन्जुस्याइँ

Global Ime bank

यसैगरी, राज्यको ढुकुटी कर्मचारी र राजनीतिक नेताले जति लुटे पनि हुन्छ तर जनताका हकमा एक कौडी पनि खर्च गर्नु हुँदैन भन्ने शासकहरूको अर्को सामन्ती प्रवृत्ति पनि भूकम्पपीडितको पुनःस्थापनाको नीति बनाउँदा प्रकट भयो । पीडितका हातमा सकेसम्म पैसा नपरोस् भन्ने नियतै राखेजस्तो गरेर अलमल्याउने कार्यविधि तय गरियो । त्यसमाथि पैसा पनि निकै कम दिने निर्णय भयो । भूकम्प गएका गाउँहरूको भौगोलिक अवस्था हेर्ने हो भने दुई लाख रुपियाँमा एउटा परिवार बस्न मिल्ने अस्थायी छाप्रोसमेत बन्न सक्तैन । त्यसमा सरकारले तोकेकै ढाँचामा बनाउनुपर्ने अर्को घाँडो लगाइयो । यसको सोझो अर्थ त भूकम्पपीडितले पैसा लिनै नसकुन् भन्ने नै हो । कम्तीमा पनि पाँच लाख रुपियाँ पीडितलाई सहायता दिनुपर्थ्यो र अब घर बनाउँदा परिवारका लागि ठाउँ पुग्ने र भूकम्पबाट जोगिने गरी बनाउन प्रेरित गर्नुपर्थ्यो । 

उति बेला सरकारले प्रतिपरिवार पाँच लाख रुपियाँ दिने गरी निर्णय गरेको भए दाताहरूले पनि अस्वीकार गर्ने थिएनन् । दाताहरूले नदिए राज्यले ऋण लिएर पनि दिनुपर्थ्यो, दिन सकिन्थ्यो । नागरिकको बासस्थानका लागि गरिने लगानी कुनै भौतिक संरचनामा गरिनेभन्दा कम उत्पादनशील हुँदैन । तर, एक्काइसौं शताब्दीमा पनि सोह्रौं शताब्दीको सामन्ती मानसिकता ग्रस्त कन्जुस शासकहरूले पुनःनिर्माणको राम्रो मौका गुमाइदिए ।

कार्यकताको भागबन्डा

सरकारले भूकम्पपीडितलाई लक्षित गरेर गरेको दुईवटा निर्णयले नै पुनर्निर्माणलाई असफल बनाउने बीउ रोपेको थियो । कारिन्दाहरूको रकमी निर्देशिकाले काम गर्न चाहनेहरू हच्के र विशेषगरी पुनःनिर्माणका लागि ठूलो स्रोत बन्नसक्ने युवा पछि सरे । काम नगर्ने तर तामझाममा पैसा सक्ने सेताहात्तीका लागिमात्र सरकारी निर्देशिका सहायक बन्यो । अहिले पनि एउटा दुईटा विद्यालय वा स्वास्थ्य संस्था बनाउन चाहने स्वयंसेवी व्यक्ति वा संस्थालाई हतोत्साही गर्ने प्रकिया अपनाइएको छ । धेरै संस्थालाई अनुमति दिँदा निगरानी गर्न सकिँदैन भनेर त्यस्तो विधि अपनाइएको रे ! साना संस्थाले जिम्मा लिएका काम बरु समयैमा पूरा हुन्छन् । तिनमा सञ्चालन खर्च पनि धेरै हुँदैन । राष्ट्रसंघ वा अरू ठूला संस्थाले जिम्मा लिएका काममा धेरै त सञ्चालनमै खर्च हुन्छ । हाइटीको यसैको उदाहरण हो । अहिलेको शैलीले त हाइटीकै कथा दोहोरिने निश्चित छ । अस्थायी काममा धेरै खर्च भएको छ तर दिगो काम हुने लक्षण छैन । 

सुशील कोइराला सरकारले गरेको अर्को निर्णय सर्वदलीय संयन्त्र निर्माणले अहिले थेग्नै नसक्ने गरी नक्कली पीडितको उत्पादन गरायो । सरकारले इमानदार अठोट गरेको भए भूकम्पको दुई साताभित्रै सबै पीडितको पहिचान गरी यथार्थ लागत तयार हुने थियो । महानगरमा बाहेक अन्यत्रका वडाहरूमा बढीमा २ दिनमा सबै पीडितको विवरण संकलन गरेर लगत तयार गर्न सकिने थियो । वडावडामा गएर लाम लगाउन थालेको भए न नक्कली पीडित थपिने थिए न सक्कली नै छुट्थे । तर, राजनीतिक दलका सिमेभुमेलाई पीडितको पनि  भागबिलो चाहियो । त्यसैले अहिलेको समस्या उत्पन्न गरायो ।

एमालेको नियत

सरकार फेरियो तर मानसिकता फेरिएन । बरु, नेकपा (एमाले) पार्टीको चरित्रअनुसार पुनःनिर्माणलाई पनि कसरी दोहन गर्न सकिन्छ भन्ने रणनीति केपी ओली नेतृत्वको सरकारले अपनायो । सरकारले पुनःनिर्माण प्राधिकरण त बनायो तर त्यसको ध्यान पुनःनिर्माणमा हैन एमालेका कार्यकर्तालाई काम दिलाउनेमा बढी गयो । पीडितको अर्को सर्वेक्षण निरर्थक रहेछ भन्ने त अहिले पुष्टि भइसकेको छ । कारण, एउटा जिल्लाकै पीडितको पुनःस्थापना गर्न पुग्ने पैसा खर्च गरेर गरेको कथित वैज्ञानिक सर्वेक्षणमा राजनीतिक पूर्वाग्रह राखेर नाम छुटाइयो भन्नेको संख्या झन्डै पीडितहरूकै जति पुग्ने लक्षण देखिएको छ । यसैगरी पुनःनिर्माणमा बैंक छान्नेदेखि इन्जिनियर भर्ना गर्नेसम्म सबै काममा पार्टीका कार्यकर्ता पोस्ने मानसिकताले काम गरेको पनि आरोप लागेको छ । हुन पनि, गाउँमा सम्झौता गर्ने पैसा लिन बैंकमा जानुपर्ने तर वरपर तोकिएको बैंकै नहुने, राष्ट्रपति, प्रधानमन्त्रीले शिलान्यास गरेका घर पनि नबन्ने, गाउँमा पठाइएका प्राविधिकले तलब र काम दुवै नपाउनेजस्ता उदाहरणले पनि एमाले नेतृत्वको नियतमै खोट थियो कि भन्ने सन्देह हुन्छ ।

कार्यशैली र जनशक्तिमा खोट

अहिलेको प्राधिकरणको कार्यशैली र जनशक्तिका भरमा पार लाग्दैन । पुनःनिर्माण कार्य युद्धस्तरमा गर्नुपर्ने हुन्छ । त्यसका लागि सबैले पत्याउन सक्ने नेतृत्व आवश्यक हुन्छ । नियुक्ति नहुँदैदेखि विवादमा परेका अहिलेका कार्यकारी निर्देशकबाट यतिन्जेलको काम हेर्दा पुनःनिर्माण पार लाग्ने लक्षण देखिँदैन । प्रधानमन्त्रीसँग आँखा जुधाएर कुरा गर्नसक्ने वरिष्ठ वा नैतिकरूपमा दृढ व्यक्तिलाई पुनःनिर्माणको नेतृत्व दिनुपर्छ । यसैगरी, कांग्रेस वा माओवादीले एमालेले जस्तो पुनःनिर्माणबाट पनि राजनीतिक र आर्थिक नाफा खोज्नु हुँदैन । स्वच्छ नियत राखेर पुनःनिर्माणलाई अगाडि बढाउने हो भनेमात्र यो अनुष्ठान पार लाग्छ ।

अब के गर्ने ?

सबैभन्दा पहिले कन्जुसी र कारिन्दागिरीबाट सरकार उम्कनुपर्छ । जनतालाई घर बनाउन पुग्ने पैसा दिनुपर्छ । अनुदानको कम्तीमा ५ लाख हुनुपर्छ । घर बनाउन कुनै पीडितले ऋण लिन चाहेमा सरकार जमानी बसे हुन्छ । ऋणको बिमा सरकारले गरिदिने वा केही वर्षको ब्याज तिरिदिने हो भने अब बाँकी रहेका घरहरू राम्रा बन्न सक्छन् । यसै पनि  बजारमा पैसा पठाउन सके रोजगारीको अवसर बढ्छ र अर्थतन्त्र फस्टाउँछ । शासकले बुझ्नुपर्ने यस्ता विषय हुन् ।

अनुदान बढाउँदा पैसा नपुगे र दाताले दिन नमाने ऋण लिए हुन्छ । अरू फजुल खर्च कटाए हुन्छ । यसै पनि विकास खर्च गर्ने क्षमता एकाएक बढ्ने हैन । त्यसैले चालु योजनाकै पैसाले भूकम्पपीडितको पुनःस्थापनाका लागि स्रोत जुट्न सक्छ । सरकारको नियतमात्र राम्रो हुनुपर्छ । सरकारले अठोटमात्र गर्न सक्नुपर्छ । दाताहरूले के भन्लान् भनेर मुख ताक्नै पर्दैन । विश्व बैंकलाई भनिदिए हुन्छ - तिमीहरू सहयोग गर्न इच्छुक छैनौ भने केही छैन । हामी पुनःनिर्माणका लागि गाँस काटेर पनि स्रोत जुटाउन तत्पर छौं । राम्ररी इमानदारपूर्वक काम गर्न थाल्ने साना स्वयंसेवी संस्था र व्यक्तिलाई अप्ठेरो नपार्ने हो भने ठूला भनिएका दाता नथ्थिएर सहायता गर्न आउनेछन् । तिनको सर्तमा हैन हाम्रो हित हुने गरी पैसा पाइनेछ ।

'खोजेर जाने र सोधेर दिने'

अहिलेसम्म शासन मानवीय हुन सकेको छैन । सामन्ती कुरुपता र यान्त्रिकता शासनको मूल चरित्र बन्दै आएको छ । पुनःनिर्माणका क्रममा 'खोजेर जाने र सोधेर दिने' विधि र प्रक्रिया अपनाउने हो भने राज्यको चरित्र र छविमा पनि सुधार गर्न सकिनेछ । विशेषगरी गरिब, अपांगता भएका, एकल महिला, अशक्तहरूको घर बनाइदिन कुनै व्यक्ति वा संस्था तयार भए काम गर्न दिन धेरै काइते औपचारिकता अपनाउनु जरुरी छैन । सरकारले कि आफूले गरिदिनुपर्छ नभए अरूलाई काम गर्न दिनुपर्छ । अपांगता भएका व्यक्तिको परिवारले घरमा अपांगता मैत्री संरचना बनाउनै पर्ने र त्यसका लागि अतिरिक्त खर्च अनुदान दिने हो भने गाउँहरू उदाहरणीय बन्नेछन् । यस्तो अवस्थामा विधि र प्रक्रियाभन्दा कामलाई प्राथमिकता दिनुपर्छ । सार्वजनिक क्षेत्रका निर्माण विशेषगरी विद्यालय र स्वास्थ्य संस्थाहरू बनाउन गैरसरकारी संस्थालाई दिएहुन्छ । सरकारले नक्सा दिने र गुणस्तर निगरानी गरे पुग्छ । बाँकी काम संघसंस्थालाई जिम्मा दिए सजिलो र छिटो हुन्छ ।

भूकम्पपीडित १४ जिल्ला बाहिर पनि छन् तिनलाई चरम उपेक्षा गरिएको छ । तिनको पीडा पनि सम्बोधन गर्नुपर्छ । मान्छे मरेका आधारमा पीडित जिल्ला तोकिएका थिए । पुनःनिर्माण त खासगरी भत्केका घर बनाउने हो नि !

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले पनि कारिन्दा र कार्यकर्ताको चंगुलबाट पुनःनिर्माण कार्यलाई उम्काएर पार लगाउने विश्वास गर्ने आधार त छैन तर आशा नै नगर्नु त झन् बढी मूर्खता हुन्छ ।

  

   

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC