_1101381534.png)
नयाँ दिल्ली । भारतले मलेरियाको उपचारका लागि प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्वाइन निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाइड्रोक्सिक्लोरोक्वाइन अमेरिकाका लागि पनि उत्पादन गरिदिन आग्रह गरेपछि भारतले उक्त औषधि निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
भारतीय वाणिज्य र आपूर्ति मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै गत महिना गरिएका निर्देशनहरु संशोधनगरेको र हाइड्रोक्सिक्लोरोक्वाइनको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ । यद्यपि हाइड्रोक्सिक्लोरोक्वाइनको निर्यातमा प्रतिबन्धको निर्णय ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुरा गरेपछि गरिएको हो वा अघि नै प्रतिबन्धको निर्णय गरिएको थियो भन्ने खुल्न सकेको छैन ।
भारतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "हाइड्रोक्सिक्लोरोक्वाइनको निर्यात र यसबाट उत्पादन गरिने अन्य औषधीहरुमा कुनै अपवादबिना प्रतिबन्ध लगाइएको छ ।"
मलेरियाका बिरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वाइन औषधि प्रयोग गरिन्छ । कोभिड-१९ विरुद्धको उपचारका लागि सम्भावित औषधि हुनसक्ने भन्दै अनुसन्धानकर्ताहरुले अनुसन्धान गरिरहेका छन् ।
यसअघि राष्ट्रपति ट्रम्पले ह्वाइटमा गरिएको ब्रिफिङका क्रममा हाइड्रोक्सिक्लोरोक्वाइनले कोभिड-१९ को उपचार गर्न सकिने उल्लेख गर्दै भनेका थिए, "भारतले ठूलो परिमाणमा हाइड्रोक्सिक्लोरोक्वाइनको उत्पादन गर्छ । वास्तवमै ठूलो परिमाणमा उत्पादन गर्छ । उनीहरुसँग मौज्दात पनि छ किनकि उनीहरुसँग १.५ बिलियन मानिसहरु छन् र उनीहरुले यो पर्याप्त उपभोग गर्छन् । र, यदि उनीहरुले हामीले माग गरेबमोजिम गम्भीरताका साथ हामीलाई उपलब्ध गराएमा म कृतज्ञ हुने बताएको छु । तर, भारतले धेरै उत्पादन गर्छ ।"
यसअघि अमेरिकी नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्चस डिजिजेजका निर्देशक डा. एन्थोनी फाउकीले अहिले कोरोना भाइरसविरुद्ध यो औषधिले काम गर्छ वा गर्दैन भन्ने विषयमा टिकाटिप्पणी गर्न पर्याप्त सूचना नभएको बताएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने हाइड्रोक्सिक्लोरोक्वाइनले कोभिड-१९ विरुद्धको उपचार गर्न सकिने बताए पनि अनुसन्धानकर्ताहरुले भने ट्रम्पले भनेको कुरामा अहिले सत्यता नभएको र उपचार गर्न सकिने कुनै प्रमाणहरु नभेटिएको बताएका थिए ।
दुई राष्ट्रपतिको फेसबुक र ट्विटर पोस्ट डिलिट !
यसअघि कोरोनाविरुद्धको औषधिका विषयमा गलत सूचना दिएको भन्दै फेसबुक र ट्विटरले विश्वका दुई राष्ट्रप्रमुखका पोस्टहरू हटाएको थियो । फेसबुकले ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले फेसबुकमा राखेको भिडियोमा हाइड्रोक्सिक्लोरोक्वाइन भाइरसको उपचारमा पूर्ण रूपमा प्रभावकारी हुने उल्लेख थियो ।
उनले पटकपटक ब्राजिलियनहरूलाई चिकित्सकले सामाजिक दूरी कायम राख्न दिएको सुझाब बेवास्ता गर्न आग्रह गर्दै हाइड्रोक्सिक्लोरोक्वाइनले कोभिड-१९ विरुद्धको उपचार गर्न सकिने बताएका थिए ।
त्यसैगरी भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले भाइरसको घरेलु उपचारबारे गरेको एक ट्विट हटाएको थियो ।
विश्व स्वास्थ्य संगठनले भाइरसको उपचारमा केही मिश्रित औषधि प्रभावकारी हुने बताए पनि अहिलेसम्म निश्चित औषधि भने प्रमाणित गरिसकेको छैन । यसमा हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइन उपचारका लागि उपयुक्त छन् कि छैनन् भनेर प्रमाणित नभएको विश्व स्वास्थ्य संगठनले बताएको थियो । सीएनएन र एजेन्सीहरुको सहयोगमा