site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मायाको माइन्युट !

काठमाडौं । माइन्युटको पहिलो पेजको सिरानमा लेखिएको छ–हप्तामा एउटा राम्रो कुरा सिक्ने महिनामा एउटा गल्ती सुधार्ने ।

यो कुनै पार्टी, समूह, संस्थाको माइन्युट होइन । यो केवल एउटा परिवारको माइन्युट हो । जुन परिवारले १७ वर्षदेखि परिवारका सदस्यले गर्ने काम, गरेका गल्ती, सुधार्ने प्रतिबद्धतासहितको माइन्युट गर्ने गरेको छ ।

सुन्दा अचम्म लाग्न सक्छ । सुन्दा अचम्मै लाग्ने काम गरेका छन् नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा परिवारले ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शर्मा कांग्रेसका प्रवक्ता हुन् । तर उनै शर्मा ‘परिवार सञ्चालन समिति’को त सदस्य मात्रै ।

सञ्चालक समितिको सभापति श्रीमति कविता शर्मा, सचिव छोरी स्वीकृति शर्मा छन् भने सदस्यमा विश्वप्रकाश शर्मा । भर्खर पाँच वर्ष पुगेकाले छोराले पनि समितिको सदस्यता प्राप्त गरिसकेका छन् ।

पहिलो भेट

झापाकी कविता शर्मा स्वास्थ्य क्षेत्रको प्रारम्भिक यात्रामा थिइन् । धुलाबारी हेल्थ सेन्टरमा उनको तालिम (इन्टर्न) चलिरहेको थियो । नेपाल विद्यार्थी संघको नेता र जिल्लाको चल्तापुर्जा उदीयमान नेताका रुपमा रहेका विश्वप्रकाश शर्मा विभिन्न क्षेत्रबाट आएका बिरामी भेट्न धुलाबारी हेल्थ सेन्टरमा गइरहन्थे ।

एकजना राजनीतिज्ञको यो नियमित काम अन्तर्गत नै पर्छ । 

त्यही क्रममा कवितासँग देखादेख भयो कुराकानी भएन ।

लगातार जाने आउने क्रम चलिरहेपछि उनीहरूबीच भेटघाट र कुराकानी हुन थाल्यो ।

“मचाहिँ बिरामी हेर्न जाने सन्दर्भमा त्यहाँ पुगेँ,” नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका शर्माले बुधबार दिउँसो ललितपुरमा बाह्रखरीसँगको कुराकानीका क्रममा स्मरण गर्दै भने, “त्यो समयमा यसो झलक्क देखेँ । पछि थाहापाउँदा मेची क्याम्पस पढ्ने अनेरास्ववियुका सक्रिय नेता केदार पोखरेलजीको बहिनी हुनुहुन्छ भन्ने कुरा थाहा भयो । दाइसँग राम्रो सम्बन्ध थियो तर पार्टी फरक ।”

शर्मा त्यतिमै रोकिएनन्, “त्यसबेला नै मैले मनमनै केदारजीलाई के भन्थेँ भने, अहिले दाइ भनेको छु पछि तिमीले मलाई ज्वाइँ भन्नुपर्नेछ ।”

कविताले पनि पहिलो भेटमा शर्मासँगै विवाह हुन्छ भन्ने सोचेकी थिइनन् । 

“सुरुमा त यही मान्छेसँग विवाह गर्छु भन्ने लागेको थिएन, तर बोल्दै जाँदा उहाँको बोलीचाली निकै राम्रो लाग्यो,” कविता भन्छिन्, “त्यसपछि हामी नजिक हुन थाल्यौँ ।”

पहिलो प्रस्ताव 

अहिलेजस्तो मोबाइल, फेसबुकको जमाना थिएन । तर पनि विश्वप्रकाश र कविता प्रेममा परिसकेका थिए ।

म्यासेन्जर, म्यासेज र मोबाइलमा कुरा नभए पनि उनीहरूबीच बेला–बेला भेटघाट र कुराकानी भइरहन्थ्यो । तर झापामा हुँदा निकै कम ।

“वर्षमा एक–दुईपल्ट मात्रै भयो होला,” शर्मा भन्छन्, “पछि काठमाडौं आइसकेपछि बाक्लो भेटघाट हुन थाल्यो ।”

तत्कालीन माओवादी द्वन्द्वको समय, नेपाल विद्यार्थी संघको सभापति शर्मा देश दौडाहामा निस्किन परिरहन्थ्यो । त्यहाँमाथि तत्कालीन माओवादीले कांग्रेस कार्यकर्तालाई खोजी–खोजी सिध्याउने अभियानै चलाएको थियो ।

कैयौँको जीवन गुमिरहेको बेला । शर्मालाई लाग्थ्यो जुनबेला पनि आफ्नो ज्यान गुम्न पनि सक्छ !

त्यो कुरा उनले आफ्नी प्रेमिका कवितालाई भन्थे । 

जस्तोसुकै गम्भीर विषयलाई पनि सरल रुपमा प्रस्तुत गर्न सक्ने क्षमताका शर्माले त्यसबेला पनि कवितालाई भन्थे–विश्वप्रकाशसँगको सम्बन्ध भनेको कुनै पनि दिन (भविष्य) मा सत्तामा पुगेको पनि देख्न सकिन्छ त कुनै पनि दिन सत्तामा पुगेको होइन सहादत प्राप्त गरेको अवस्थामा पनि हुन सक्छ ।”

तर पनि कविता कत्ति विचलित भइनन् ।

“मैले पहिलेदेखि नै भविष्यको विश्लेषण गरेर पूर्वाभ्यास गराउथेँ,” शर्मा भन्छन् ।

त्यसबेलासम्म मायाको बन्धनमा बाँधिइसकेका विश्वप्रकाश र कविता ‘आई लभ यू’ भन्ने अवस्थामा पुगिसकेका थिएनन् ।

“आई लभ यू भन्ने खालको भाषामा जानेभन्दा अब घरजमै गरौं मलाई तिमी मन पर्‍यो भन्ने कुरा भयो,” शर्मा भन्छन् ।

बिहे भइसकेको प्रसंग...

दुवैबीच विवाहबारे बेला–बेला कुरा नभएको होइन । 

पुस १६ गते मेलमिलाप दिवस कांग्रेसले भव्य रुपमा मनाउँदै थियो ।

राष्ट्रिय सभागृहमा कांग्रेस नेता किसुनजीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

विश्वप्रकाश त्यही कार्यक्रममा पुगेका थिए । कवितासँग केही महिनादेखि भेटघाट भएको थिएन ।

भेट्ने बहाना र स्थान खोजेका विश्वप्रकाशले कवितालाई पनि त्यही कार्यक्रममा बोलाए ।

कवितालाई लाग्यो–आज मलाई बिहेको कुरा गर्न बोलाउनुभएको हुन सक्छ !

कार्यक्रम सकियो, भेटघाट भयो । खाजा खान एउटा रेस्टुरेन्ट छिरे । खाजा खाँदै गर्दा विश्वप्रकाशलाई कविताले सोधिन्– काठमाडौंमा अहिले परिवारका कोको बस्नुहुन्छ ?

विश्वप्रकाश शर्मा केहीबेर बोलेनन् । केहीबेरपछि जवाफ दिए–म र मेरी श्रीमती ।

विश्वप्रकाश त्यति भनेर रोकिए कविता अक्क न बक्क भइन् ।

किनकि जसले विवाहका लागि कुरा गर्न बोलाएको होला भनेर सोचेर पुगेकी कवितालाई विश्वप्रकाशको जवाफले नतमस्तक बनायो ।

नबनाओस् पनि कसरी !

जसलाई जीवनभर साथ दिन्छु भन्ने कसम खाएकी थिइन्, उनैको जवाफ थियो–म र श्रीमती सँगै बस्छौं ।

त्यसपछि शर्माले पनि गम्भीर बन्दै थप प्रस्टीकरण दिए–घरमा आमा बिरामी हुनुहुन्थ्यो । आमाको जोडले पनि हतारमा बिहे गर्नुपर्ने अवस्था आयो । अचानक बिहे गरेँ । तपाईँलाई भन्न पनि पाइनँ सरी है !

मनमा गाँठो पारेरै भए पनि कविताले विश्वप्रकाशलाई भनिन्–बधाई छ ।

कविताले बाह्रखरीसँग त्यसबेला भएको क्षणको स्मरण गर्दै भनिन्, “उहाँको जवाफले मलाई भावुक नबनाउने कुरै भएन । तर पनि मैले थप केही जान्ने प्रयास गरेँ ।”

कविताले विश्वप्रकाशलाई प्रश्न गरिन्– कहाँबाट कसलाई बिहे गर्नुभयो ?

शर्माले दिएको उत्तरले उनी झनै अचम्मित भइन् ।

‘अञ्जना सुवेदी । घर तपाईँकै क्षेत्र’ विश्वप्रकाशले यत्ति मात्रै जवाफ दिए ।

केहीबेरको मौनतापछि फेरि विश्वप्रकाशले भने– तर उहाँसँग मेरो घरजम राम्रो हुन सकेन । अहिले पनि राम्रो छैन । हामी चाँडै नै छुट्टिँदै छौं ।”

बिहे भएको एक महिना भएको छैन, विश्वप्रकाशले छुट्टिने कुरा गरेपछि कविताको मनमा थप कौतुहलता जाग्यो ।

किन ? 

उनले विश्वप्रकाशलाई प्रश्न गरिन् ।

‘उनको र मेरो नेचर मिलेन । म एउटा राजनीतिकर्मी, म दिनभरका कार्यक्रम सकेर थाकेर आएको हुन्छु । उनी –अञ्जना) ढोका खोल्दा रिसाएर खोल्छिन् । मेरो वास्ता नै गर्दिनन् । मेरो घरमा भीडभाड हुन्छ, त्यो भीडभाड पनि उनी मनपराउँदिनन् । मेरो वृद्ध आमा हुनुहुन्छ उहाँलाई स्याहार्ने कुरामा पनि उनलाई रुचि छैन । एउटा राजनीतिकर्मी, घर परिवार, वृद्ध आमा हुनुहुन्छ । यस्तो अवस्थाको मलाई श्रीमतीबाट सहयोग हुन सकेन । यसले मेरो राजनीतिक उचाइ पनि दिन सक्दैन । त्यसैले हामी छुट्टिने निर्णयमा पुगिसकेका छौं ।”

कविताले मुटुमा गाँठो पारेर विश्वप्रकाशलाई सम्झाउन खोजिन्–छुट्टिनुभन्दा मिलेरै बस्नुस् ।

तर विश्वप्रकाश मान्नेवाला थिएनन् ।

उनले कवितासँग आग्रह गरे–बरु तपाईँ एकपल्ट सम्झाइदिन सक्नुहुन्छ भने सम्झाइदिनोस् न !

कविता राजी भइन् ।

उनी विश्वप्रकाशको कोठामा गएर अञ्जनालाई सम्झाउने निष्कर्षमा पुगिन् । 

विश्वप्रकाशको प्रस्ताव थियो–अहिले नै जाऔँ ।

कवितालाई लिएर विश्वप्रकाश चाबहिलस्थित कोठामा गए ।

जहाँ उनी एउटा कोठा भाडामा लिएर बसेका थिए ।

अघिअघि भेटेका जस्ता थिएनन् विश्वप्रकाश ।

“कुरा गर्दै गयौं,” कविताले स्मरण गर्दै भन्छिन्, “घरको मूलढोकाबाट भित्र पस्दै गर्दा विश्वप्रकाशजीले अञ्जना ! अञ्जना !! भनेर बोलाउँदै भ¥याङ चढ्नुभयो । तर हामी कोठामा पुग्दा बाहिरबाट ठूलो ताला झुन्ड्याइएको थियो ।”

त्यसपछि विश्वप्रकाशले आफूले अघि अञ्जनामाथि लगाएका आरोप थप पुष्टि गर्न थाले– म आउने समय थाहा पाएपछि अञ्जना यहाँबाट अघि नै बाहिरिइसकेको हुनुपर्छ । म आउँदा दुई–चारजना साथीसँग आउँछु भन्ने उनलाई थाहा छ । कोठाबाट बाहिर निस्केपछि साथीहरूका लागि चिया पनि बनाउनुपरेन । त्यसैले उनी बाहिरिएको हुनुपर्छ ।”

विश्वप्रकाशले कवितालाई भन्दै गए– देख्नुभयो त यस्ती श्रीमती भएपछि कसरी घर चल्छ ? अनि बेग्लाबेग्लै बस्नुपरेन त !

त्यसपछि विश्वप्रकाशले कवितालाई होस्टेलसम्म पुर्‍याउन जाने चाहना व्यक्त गरे ।

त्यो समयमा कविताका मनमा हजार कुरा नखेलेका होइनन् ।

उनी ‘यहाँ के भइरहेछ’ भन्ने पत्तै पाएकी छैनन् ।

होस्टेलको गेटमा पुगेपछि विश्वप्रकाशले कुरा खोले–कविताजी ! अघि अञ्जना सुवेदीको ठाउँमा तपाईँ बसेर हेर्ने हो कि ?

कविता केही बोल्नै सकिनन् । 

त्यो विश्वप्रकाश शर्माको प्रस्ताव गर्ने तरिका मात्रै रहेछ ।

अञ्जना त अस्तित्वमै रहिनछन् !

“अञ्जना अस्तित्वमा भएको भए पो मैले भेट्न पाउथेँ,” कविताले बाह्रखरीसँगको कुराकानीमा भनिन्, “उहाँले मलाई पछि यस्तो पनि हुन सक्छ । यस्तो बेलामा के गर्नुपर्छ भनेर भन्न र सिकाउन खोज्नुभएको रहेछ । त्यो कुरा मैले पछि बुझेँ ।”

त्यो बेला त मलाई किन यस्तो गरेको होला भन्ने कवितालाई नलागेको होइन । पछि मात्रै उनले थाहा पाइन्, भन्छिन्, “एउटा राजनीतिकर्मीको श्रीमतीलाई घरमा भएको भीडभाड मन परेन भने ? घरमा वृद्ध अवस्थामा रहेकी आमालाई हेला गर्ने अवस्था आयो भने ? त्यो घर घर रहँदैन । त्यसैले उहाँले मलाई पहिले नै सजग बनाउनुभएको भएको रहेछ ।”

...

माइन्युटका कुरा

२०५८ फागुन २३ मा कविता र विश्वप्रकाश शर्मा वैवाहिक जीवनमा प्रवेश गरे ।

वैवाहिक सम्बन्धमा कहिलेकाहीँ उतारचढाव आउने गर्छन् ।

तर जस्तोसुकै भूकम्प आए पनि हल्लाउन नसक्ने सम्बन्ध कायम राख्न चाहन्थे शर्मा परिवार ।

विवाहको एक वर्ष पूरा हुन लागेका बेला विश्वप्रकाशले श्रीमती कवितासँग एउटा प्रस्ताव राखे–हामी बेलाबेलामा परिवारभित्रका सानातिना विषयमा पनि छलफल गरौं । एक–अर्कालाई चित्त नबुझेका र राम्रो लागेका कुराहरू बैठक बसेर छलफल गरौं । र, समाधान पनि ।”

विश्वप्रकाशको यो प्रस्तावमा कविता तयार भइन् । 

दुई सदस्यीय पारिवारिक बैठक विवाहको एक वर्ष पूरा नहुँदै सुरु भयो ।

“हामी त्यहीबेलादेखि आजसम्म सबै बैठकका माइन्युट तयार गरेर राख्छौं । एक–अर्काका गल्ती कमजोरी त्यो बैठकमा आफ्नो पालोमा नम्र शैलीमा राख्छौं र समाधान गर्ने निष्कर्ष निकाल्छौं,” कविता भन्छिन् ।

बैठकको परिणाम ?

“परिणाम साँच्चै राम्रो आयो । कुनै पनि कुराको तुरुन्तै प्रतिक्रिया दिँदाको परिणामभन्दा धैर्य गरेर, छलफलपछिको परिणाम राम्रो आएको छ,” विश्वप्रकाश भन्छन्, “हामी दुई–तीन महिनामा एकपल्ट बैठक बस्छौं । अहिले परिवार सञ्चालक समितिको अध्यक्षमा कविताजी हुनुहुन्छ । स्वीकृति शर्मा (छोरी) सचिव र म विश्वप्रकाश शर्मा सदस्य छौं । हाम्रो छोरा पाँच वर्ष पूरा भएको छैन । त्यसैले अहिले सदस्यता प्राप्त गरिसकेको छैन । बैठकमा छोरालाई सहभागी गराउँदैनौं ।”

बैठकले दुई–तीन महिनाको बीचमा एक–अर्काले गरेका कमजोरी, गल्तीबारे शर्मा परिवारबीच खुलेरै कुरा हुन्छ । जुन कुरा प्रायः परिवारमा हुँदैन । कुरा भित्रभित्रै गुम्सिन्छ । त्यो एकदिन अचानक विस्फोटको रुप लिन्छ । विस्फोटको रुप लिँदा त्यसले पार्ने क्षति ठूलो हुन्छ ।

“राजनीतिक होस् या अरू कुनै पनि क्षेत्रसँग सम्बन्धित व्यक्ति, उसले आत्मबल पाउने र उसको लागि सबैभन्दा ठूलो खुसीको कुरा भनेको उसको परिवारै हो । संसारमा अहिले हजारौं प्रकारका संस्था छन् । तर संसारको सबैभन्दा पुरानो संस्था भनेको परिवार नै हो,” विश्वप्रकाश भन्छन्, “तपाईँले आफनो पारिवारिक माहोललाई व्यवस्थित, हार्दिक, नियमपूर्ण बनाउनुभयो र सधैँ भ्यालेन्टाइन डे जस्तो बनाउनुभयो भने त्यसले अरू सबै कुरा सहज बनाउँछ ।”

लगातारको बैठकपछि रिसाउने बानीमा पूरै परिवर्तन आएको शर्मा दम्पतीको दाबी छ ।

“हामीमा रिसाउने बानीमा पूरै सुधार आएको छ । कवितामा पूरै सुधार आएको छ बरु अलिअलि संक्रमितचाहिँ मलाई बनाएको छ,” विश्वप्रकाश भन्छन्, “म अलि अव्यवस्थित मान्छे थिएँ, चाहे त्यो खानेकुरामा होस् या पहिरनको कुरामा । त्यो अव्यवस्थित मान्छे (म) लाई उनले हरेकपटकको बैठकमा कुरा उठाउँदै गइन् । त्यसलाई व्यवस्थित गर्ने सन्दर्भमा निर्णय नै गरेर माइन्युट गर्‍यौँ, त्यसको सकारात्मक परिवर्तन देखियो । यो कुराको प्रभाव छोरीमा पनि देखियो ।”

“अहिले श्रीमती, छोरी र म मात्रै यस बैठकमा छौं । छोरा अहिले आमन्त्रित सदस्य मात्रै छन् । छोरा ५ वर्ष पूरा भइसकेपछि सक्रिय सदस्यका रुपमा राख्ने भन्ने कुरा हामीले माइन्युटमा लिखित रुपमै राखेका छौं,” शर्मा भन्छन् ।

बैठकको मिति कसरी निर्धारण हुन्छ त ?

बैठक ठ्याक्कै महिनाको यति गते भन्ने शर्मा परिवारले माइन्युट गरेका छैनन् ।

तीन सदस्यमध्ये एक जो कोहीले पनि बैठकको माग गर्न सक्छ । त्यसलगत्तै परिवारको बैठक बस्छ ।

त्यो समयमा कुनै विशेष दिन छ भने प्रायः त्यसको अघिल्लो दिनमा बैठक बस्छ ।

“बैठक बस्ने भनेपछि हामी टीभी, मोबाइल सबै साइडमा राख्छौं । त्यसपछि हामी सबैजना पलेँटी मारेर तीनपटक लामो सास तानेर ॐ... तीनपटक उच्चारण गर्छौँ । उच्चारण गरिसकेपछि हामी केहीबेरसम्म पूरै ध्यानमा बस्छौं । अहिले बाबु पनि ध्यानमा बस्न खोज्छ तर चकचक गर्छ । त्यसले यी नियम पूर्ण पालना गर्नुपर्दैन । त्यसपछि हामी विषयवस्तुमा प्रवेश गर्छौं,” विश्वप्रकाश भन्छन् ।

राजनीतिक दलको जस्तो एजेन्डा पहिले नै सेट हुँदैन ।

बैठकको सुरुमा छोरीलाई बोल्ने समय दिइन्छ । अघिल्लो बैठकले गरेका निर्णय कति कार्यान्वयनमा आए, कति पूरा भनेर छोरीले प्रगति विवरण बैठकमा पेस गर्छिन् ।

आमाले त्यो बीचमा गरेका गल्ती र कमजोरी, बाबाले गरेका गल्ती र कमजोरी, निर्णयको कार्यान्वयन भए नभएकोबारे छोरीले प्रस्ट पार्छिन् ।

“हामीले छुटाएका कुरा छोरी आफैंले पनि मेरो यो यो कमजोरी थियो भनेर भन्छिन्,” विश्वप्रकाश दम्पती भन्छन्, “त्यसपछि आमाको पालो आयो, त्यसमा बाबा । यो–यो काम राम्रो र यो–यो कमजोरी भयो भन्छौं र टिप्छौं ।”

घरमा विश्वप्रकाशको बोल्ने पालो अन्तिममा आउँछ पार्टीमा जस्तै ।

पार्टीमा पनि प्रवक्ताको जिम्मेवारी भएकाले सदस्यहरूको कुरा सुनिसकेपछि अन्त्य अन्त्यतिर आफ्ना धारणा राख्ने विश्वप्रकाशले घरमा पनि पहिले कुरा राख्दैनन् ।

के कुरा उठ्छन् त ?

“छोरीले बाबाले आएर कोट सिटिङ रुममै खोल्नुभयो, यो उहाँको कमजोरी भयो । किन ठीक ठाउँमा राख्न सक्नुभएन ? बिहान किन चाँडो उठ्नुहुन्न ? पहिले पहिले व्यायाम गर्नुहुन्थ्यो अहिले किन छाड्नुभयो ? यस्तै–यस्तै कुराबाटै हुने हो,” विश्वप्रकाश भन्छन् ।

कुराकानीकै क्रममा शर्मालाई हामीले सोध्यौं– राजनीतिक व्यक्तित्व तपाईँ । कहिलेकाहीँ पार्टीमा जस्तै नबोल्नोस् ! तपाईँको पालो पछि आउँछ भन्नुपर्छ कि पर्दैन ?

लामो हासोसहित शर्माको जवाफ थियो– त्यस्तो हुँदैन । त्यो हाम्रो पालो हुन्छ, बैठकमा पनि पहिलो बोल्ने पालो छोरीलाई दिन्छौं । उनलाई चित्त बुझेका कुरा, नबुझेका कुरा, रमाइला कुरा हामी गर्छौं ।”

छोरी अहिले कक्षा ९ मा अध्ययन गर्छिन् । गीत पनि गाउँछिन् । बिहीबार शर्माले छोरीले गाएको कभर सङ ट्विट पनि गरेका छन् ।

उनै छोरीले करिब पाँच वर्षअगाडि बैठकमा एउटा प्रस्ताव राखिन् ।

बाहिर कतै सुनेको हुनुपर्छ सचिवभन्दा ठूलो अध्यक्ष हो । 

त्यसैले उनले बैठकमा अचानक भनिन्– अब अध्यक्ष म हुन्छु !

शर्मा दम्पती अचम्ममा परे ।

अनि माइन्युटमै लेखे– सचिव स्वीकृति शर्माले आफैं अध्यक्ष हुने भन्ने दाबी गरेको हुँदा आवश्यक छलफलपछि अर्को बैठकबाट निर्णय गरिनेछ ।”

तर उनीहरूले अहिलेसम्म छोरीलाई अध्यक्ष बनाएका छैनन् ।

“हामीले छोरीले एसईई दिइसकेपछि, उमेर पनि अलि परिपक्व भइसकेपछि अध्यक्ष दिने भन्ने विषयमा छलफल गरेका छौं,” कविताले सुनाइन् ।

 

के छन् त माइन्युटमा ?

शर्मा परिवारको माइन्युटबाट हामीले केही निर्णय लिएका छौं । अहिलेसम्म शर्मा परिवारले कम्तिमा तीनवटा रजिस्ट्रर बैठकका माइन्युटले भरिइसकेको छ ।

एउटा बैठकको माइन्युट यसरी गरिएको छ । 

बैठकको प्रारम्भमा संक्षिप्त ध्यानपछि तीनपटक ‘ओम’ शब्द उच्चारण गरियो । 

स्वीकृति शर्माले बाबाका राम्रा पक्षका बारेमा बैठकमा जानकारी गराउँछिन् ।

राम्रा पक्ष

१) बाहिरबाट आएपछि अचेल बाबा लुगा ठीक ठाउँमा राख्न थाल्नुभएको छ ।

२) पहिलेजस्तो अहिले जताततै फोहोर गर्नुहुन्न 

३) बाइक ठीक ठाउँमा राख्ने गर्नुभएको छ ।

–    आमाका राम्रा पक्षहरूबारे छोरी स्वीकृतिले भनेकी छन्–

१) अचेल घाममा त्यति धेरै हिँड्नुहुन्न ।

२) केही दिनअघि घरमै पानीपुरी बनाएर खायौँ 

३) रेनु दिदीलाई बाहिरबाट आएपछि (स्कुल–बजार) थाकेकी छौ, रेस्ट गर भन्नुभएको छ ।

रेनु दिदीका राम्रा पक्षबारे पनि उनले भनेकी छन् 

१) स्कुल जाँदा टिफिनमा मीठो जुस हालिदिनुभयो

२) काँक्रा, आलुको अचार आमाले जस्तै मीठो बनाउनुभएको छ । 

३) बजार जाँदा मलाई साइकलमा लैजाने गर्नुभएको छ । 

उनले बाबा विश्वप्रकाशका नराम्रा पक्षहरू पनि बैठकको एजेन्डाका रुपमा प्रस्तुत गरेकी छन् 

१) अझै पनि कार्यक्रममा बोल्दा औंला चाट्नुहुन्छ । 

३) मलाई माया गर्दा जुँगाले घोचिदिनुभयो । 

४) ‘बाबा कपाल पाल्नु नि’ भनेर कति भनेँ तर मान्नुभएन 

उनले आमाका बारेमा भनेकी छन्–

१) मिटिङ भइरहेको बेला अरू बोलिरहेका बेला प्याच्चसँग बीचमै बोल्नुहुन्छ । 

२) कोही–कोही बेला विस्तारै सम्झाउँदा पनि हुनेमा झर्केर मलाई गाली गर्नुभयो ।

४) पानीपुरीमा अस्ति नै अमिलो र नुन कम हालेको । 

–    दिदीका बारेमा पनि उनले भनेकी छन् 

१) दिदी कहिले कहिले मसँग मिल्नु हुन्न । 

२) दिदी भनेर बोलाउँदा कोही कोही बेला बोल्नु हुन्न । 

३) अरू कोहीसँग रिस उठेको छ भने त्यो रिस ममाथि खन्याउनुहुन्छ । 

अन्तिममा लेखिएको छ– आजको बैठक निद्रा लागेका कारण यही समाप्त भयो । 
...
शर्मा परिवारको अर्को बैठक २०७० असार ३ गते बसेको पाइयो ।

उक्त बैठकबारे प्रवक्ता शर्माका दिवंगत पिताजी पर्शुराम शर्माको जन्मदिन पारेर बसेको थियो । बैठकले तीन महिनामा अनिवार्य एकपटक पारिवारिक बैठक बस्नैपर्ने र आवश्यकताअनुसार महिनामा एकपटक पनि बस्न सकिने निर्णय सर्वसम्मतिले पारित गरेको छ । 

सोही बैठकले मंसिर १३ गते २०६९ मा सुनसरीको धरानमा रहेको घोपा अस्पतालमा जन्मिएका एकलब्य (शर्मापुत्र) लाई पाँच वर्षको उमेर पुगेपछि बैठकको सक्रिय सदस्य बनाउने गरी हालका लागि आमन्त्रित सदस्य बनाउने पनि निर्णय गरेको छ ।

शर्मा परिवारको २०७४ फागुन २० मा बसेको पारिवारिक बैठकले ‘आगामी बैठकबाट कमजोरी पहिचान गरिसक्दा सो बुँदालगत्तै समाधान पनि लेख्ने । आफ्नो कमजोरी स्वीकार र निदान आफ्नै अक्षरमा लेख्ने’ निर्णय गरेका छन् ।

२०७५ पुस १८ मा बसेको बैठकको माइन्युटमा यस्तो थियो । 

अध्यक्ष : कविता शर्मा

सचिव: स्वीकृति शर्मा 

सदस्य: विश्वप्रकाश शर्मा 

सदस्य: अनिशा शर्मा 

सदस्य: शीर्षकप्रकाश शर्मा 

बैठकमा परिवारका सबै सदस्यहरूका राम्रा र नराम्रा पक्षबारे समीक्षा गरिएको छ । बैठकले निर्णय पुस्तिकामा ‘परिमार्जन गर्नुपर्ने कुरा’ शीर्षक राखेर लेखिएको छ–

–बाबु (शीर्षकप्रकाश) ले आफूले गरेका गल्ती सुधार्ने ।

–सानु (स्वीकृति) ले आफूले गरेको गल्ती सुधार्ने । 

–अनिषाले आफूले गरेको गल्ती सुधार्ने । 

–कविताले आफूले गरेको गल्ती सुधार्ने ।

–बाबा (विश्वप्रकाश) ले आफूले गरेको गल्ती सुधार्ने । 

एउटा परिवारभित्रै पनि किन यस्तो बैठक र निर्णयको आवश्यकता पर्‍यो त ?

शर्मा परिवारको जवाफ–एकपल्ट गरेर त हेर्नु । यसले कति आत्मीयता बढ्दो रहेछ ।

“राजनीतिमा चाहिँ आलोचनाको मनोविज्ञानबाट विषयहरू सुरु हुन्छ, इगोहरूको कुरा हुन्छ । तर परिवारमा आत्मालोचनाबाट ती कुराहरू सुरु हुन्छ । आत्मालोचना र आलोचना सुन्दा उस्ताउस्तै लाग्छ तर त्यसमा धेरै फरक हुन्छ । जस्तै उनले (श्रीमती) ले अन्तर्वार्तामा भनेको एउटा प्रसंग म सम्झिन्छु–जस्तो तपाईँ दिनभरि कामबाट थाकेर घर पुग्नुहुन्छ । घर पुग्नेबित्तिकै गाउँमा फलानोको मृत्यु भयो नि भनेर ढोकामै तपाईँलाई सुनाइदिनु कतिको जरुरी छ ?”

“हामीमा कतिबेला कस्ता कुरा सुनाउन हुन्छ कतिबेला हुँदैन भन्नेमा धेरै सचेत छौं,” शर्मा दम्पती भन्छन्, “नराम्रा कुराहरू तत्कालै नसुनाए पनि हुन्छ ।”

एउटा परिवारभित्रै पनि यति साना कुरामा माइन्युटको के जरुरी छ ?

शर्मा परिवार भन्छन्– खुसी सानो कुरामा पनि हुन सकिन्छ । 

विश्वप्रकाश शर्माले खुसी कसरी हुन सकिन्छ भनेर यसरी बेलिबिस्तार लगाए–

अहिले पनि हामी काठमाडौंमा भाडामा बस्छौं । डेरा राम्रो बनाएर बसेका छौं भन्ने कुरामा नै हामीलाई खुसी मिल्छ, किनभने घरबेटीको नाममा घर छ, घरबेटीलाई महिना–महिनामा भाडा तिरिन्छ । भन्दा एउटा फ्ल्याटमा बसे पनि एउटा सिंगै घरै हाम्रो हो भन्ने लाग्छ ।

जब २०५९ फागुन २३ गते झापामा बिहे गर्‍यौँ अनि चैतको १, २ गते काठमाडौंमा आयौँ । आइसकेपछि गएर बसेको डेरा पलङ, एक टेबल र दुई कुर्सी अट्ने थियो । 

जुन–जुन कोठामै बसेर म नेविसंघको महामन्त्री र अध्यक्ष भएको थिएँ । एउटा सानो कोठामा बसेरै निर्वाह गरेको थिएँ । 

जबकि म एउटा मध्यम वर्गीय परिवारकै मान्छे थिएँ । काठमाडौंमा एउटा राम्रो घर बनाएर बस्न सक्ने मान्छे थिएँ । तर एउटा कोठामा बस्थेँ । किनभने म विद्यार्थी राजनीतिमा थिएँ र मेरो जत्तिको अवस्था नभएका कैयौं साथी सबै समान ढंगले बस्नुपर्छ भन्ने लागेर बसेको हुँ । तर अहिलेको समाजमा त्यस्तो नहोला । तर त्यो खालको

मेरो मनोविज्ञान थियो । ट्वाइलेटका लागि अलि पर कोठाभन्दा डेढ सय मिटर जति जानुपर्थ्यो । हामीले कहिलेकाहीँ ठट्टा गरेर भन्थ्यौं– ट्वाइलेट त काँकडभिट्टातिर जानुपर्छ है ! नुहाउनलाई ढुंगेधारा नै जान्थ्यौं । त्यसपछि हामीलाई खुसी कतिखेर भयो भने जब त्यसको ३ महिनापछि एउटा कोठाबाट एउटा कोठा र एउटा भान्सामा सरेपछि । 

हामीलाई के महसुस भयो भने हाम्रो पनि आफ्नै अलग्गै भान्सा छ । त्यसको एक वर्षपछि साथीसँग सेयर गरेर दुईवटा कोठा र एउटा किचनमा बस्यौं ।

मेरा लागि टीभी किन्न खासै समस्याको विषय थिएन । जीवनमा हामीसँग विभिन्न आकांक्षा हुन्छन् । जुन एकैचोटि पूरा गर्नतर्फ लाग्यौँ भने हामी दुःखी हुन्छौं । जीवनमा भौतिक कुरा किस्ता–किस्तामा भोग्नुपर्छ भनेर टीभी पनि किनेनौं । विवाह गरेको एक वर्षसम्म त उनले ‘कसौंटी जिन्दगी कि’, ‘कहानी घरघर कि’ जस्ता सिरियल घरबेटीकहाँ गएर हेरिन् ।

घरबेटीकहाँ बच्चाले स्वाट्ट कार्टुन लाइदिँदा उनलाई कति पीडा भएको होला । तर पनि उनी पर्खेर बस्थिन् र म पनि कतिचोटि उनीसँगै बसेर हेर्थेँ । जब एउटा कोठाबाट, एउटा कोठा र एउटा भान्सामा, एक वर्षपछि एउटा भान्सा र दुईवटा कोठामा र विवाह गरेको साढे एक वर्षपछि बल्ल घरमा टीभी आयो ।

आफ्नै हातले रिमोट दबाएर चाहेको च्यानल खोज्दै गर्दा हाम्रो अनुहारमा जुन खुसी थियो त्यो टीभीले मात्रै पनि दिएको खुसी थियो । अहिले काठमाडौंमा हामी जुन डेरामा बस्छौं ।

काठमाडौं आएको हामी एक वर्ष भयो । १० वर्षदेखि हामी झापामै बस्थ्यौँ । पार्टीको प्रवक्ता भएपछि काठमाडौं धेरै बस्नुपर्‍यो । अहिले हामी सबै परिवार यतै बसेका छौं । हाम्रो कोठामा अहिलेसम्म फ्रिज छैन । किनेका छैनौं ।

नयाँ वर्ष आउँदै गर्दा चैत, वैशाखको गर्मीमा किन्यौं भने हामीलाई त्यसले अलग्गै खुसी दिन्छ । हामीलाई मात्रै होइन संसारमा कसैलाई पनि संसारमा भएजतिको सुख भोग गर्ने सपनाहरू हुन्छन् त्यसले मान्छेलाई दुःखी बनाउँछ । आफूलाई आवश्यक पर्ने सबै कुराहरू जुटाउनुपर्छ । तर ती जुटाउने कुरा पनि क्रमशः जुटाउँदै गयौं भने हामी खुसी हुँदै अघि बढ्न सक्छौं ।” 

त्यसो भए प्रेम के रहेछ त ? शर्मा दम्पतीलाई हामीले सोध्यौं ।

“प्रेम भनेको जीवन हो र जीवन भनेको प्रेम हो । यदी प्रेम दुनियामा थिएन भने पृथ्वी उत्पत्ति भएको केही समयमै पतन हुन्थ्यो । भौतिक रुपमा भन्दा गुरुत्वाकर्षणले पृथ्वी चलेको छ । तर संसारको रुपमा यसकारण मानिसहरु बाँचेका छन र खुसी छन् र दुःखी पनि । यी सबैको केन्द्रबिन्दु भनेको प्रेम हो । त्यसकारण प्रेमलाई कुन रुपमा आत्मसात गर्नुहुन्छ त्यो तपाइँमा निर्भर हुन्छ । हाम्रो लागि प्रेम भनेको एउटा परिवार नाम गरेको संस्थालाई सुव्यवस्थित तरिकाले धैर्यपूर्वक परिपक्वतापूर्वक अगाडि बढाउने र इच्छा शक्तिलाई अझै बलवान बनाउने कुराको माध्यम हो प्रेम,” विश्वप्रकाशले प्रेमका बारेमा प्रष्ट्याउँदै भने ।

तर झनै सटिक तरिकाले कविताले भनिन्, “यो मागेर, किनेर, खोसेर, केही गरेरै पनि नपाइने, तर जति दिन सक्यो त्यो भन्दा बढी पाइने वस्तु नै प्रेम हो ।”

बाह्रखरीकर्मी बलराम पाण्डे, रमेश गौतम, केशव सावद र वर्षा महर्जनसँग करिब पौनेघण्टा प्रेम र परिवारको बैठक सम्बन्धी गफगाफमा बिताएका शर्मा दम्पतीले १४ फेब्रुअरीलाई मात्रै नभइ ३६५ दिन नै सबै परिवारमा भ्यालेन्टाइन डे बन्न सकोस् भन्ने शुभकामना दिँदै बिदा भए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १२:०७
प्रतिक्रिया दिनुहोस्