site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
युट्युबमा चलचित्र नराख्ने विकल्प खोज्दै चलचित्रकर्मी

काठमाडौं । कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँ यति बेला युट्युबको विकल्प खोजिरहेका छन् । उनले चलचित्रका लागि युट्युबको विकल्प खोजेका हुन् । करोडौं लगानी गरी निर्माण गरिएका चलचित्रको रिटर्न्स युट्युबबाट निकै कम हुने भएपछि यसको विकल्पको खोजीमा उनी लागेका हुन् । 

“हाम्रो कम्पनी युट्युबको विकल्पमा डिजिटल प्लेटफर्म निर्माण गरिरहेको छ,” रवीन्द्र भन्छन्, “सायद वैशाखसम्म एउटा प्लेटफर्म तयार हुुनेछ ।”  थोरै पैसामा विश्वभरबाट चलचित्र हेर्न सकिने डिजिटल एप बनाउने उनीहरूको तयारी हो । अहिले युट्युबमा चलचित्र हेर्ने दर्शकलाई लक्षित गर्दै एप निर्माणको तयारीमा रहेको रवीन्द्र बताउँछन् । 

“थोरै पैसा लिएर चलचित्र हेर्ने व्यवस्था मिलाउने हाम्रो लक्ष्य हो । चलचित्रकर्मीलाई पनि आर्थिक लाभ होस् र हेर्ने दर्शकलाई पनि लगानी गरेपछि हेर्दा छुट्टै मजा आउँछ,” उनले भने । अब युट्युबलाई प्रचारको साधनका रूपमा मात्रै प्रयोग गर्नुपर्ने उनी बताउँछन् । ठूलो लगानी गरी निर्माण गरिएका चलचित्रको पैसा युट्युबबाट नउठ्ने भन्दै अब युट्युबलाई प्रचारको साधनका रूपमा लिन सकिने तर चलचित्र देखाउने प्लेटफर्म मान्न सकिने अवस्था नरहेको उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

“चलचित्र हेर्न नेपालमै पनि सबै ठाउँमा हल छैन । विदेशमा बस्ने नेपालीलाई पनि चलचित्र देखाउनुपर्छ । यसका लागि पनि एप चाहिन्छ, उहाँहरूलाई नै लक्षित गरी हामी एप बनाउन लागेका हौं,” उनले स्पष्ट पारे । 

निर्देशक विनोद पौडेल पनि आफ्नो चलचित्रका लागि छुट्टै एप निर्माणको तयारीमा छन् । नयाँ एप बनाएर सोही एपमा चलचित्र राख्ने उनको तयारी छ । अहिले विनोदले आफ्नो चलचित्र ‘बुलबुल’ फोपी एपमा राखेका छन् । ५० रुपैयाँ तिरेर हेर्न सकिन्छ । 

“मेकरलाई पनि दर्शकले चलचित्र हेरबापत् पैसा आउने र दर्शकलाई पनि धेरै भार नपर्ने गरी एप बनाउँदै छौं,” विनोद भन्छन्, “युट्युबमा चलचित्र अपलोड गर्दा निर्माता मारमा परे । युट्युबमा चलचित्र धेरैले राख्दैनन्, हामी चलचित्र बेच्न जान्दैनौं भन्ने उदाहरण यो पनि एक हो ।” 

युट्युबमा चलचित्र पर्खिनेको ठूलो जमात रहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । हल रिलिजको चार महिनामै अधिकांश चलचित्र युट्युबमा आउने गरेका कारण पनि नेपाली चलचिको चार्म घटेको उनको भनाइ छ । 

“डीबीडीको जमानामा चलचित्रको ठूलो चार्म थियो । हल रिलिजको चार÷पाँच वर्षपछि मात्रै डीभीडीमा चलचित्र आउँथ्यो । हलमा चलचित्र नहेरे करिब–करिब छुट्थ्यो,” दीपेन्द्र भन्छन्, “अहिले हलबाट उत्रिएको केही महिनामै चलचित्र युट्युबमा विनापैसा हेर्न पाइने भएपछि चार सय रुपैयाँ तिरेर को हलमा जान्छ ?” 

युट्युबको विकल्प खोजेको खण्डमा हलमा चलचित्र हेर्न जानेको संख्या ठूलो बढोत्तरी हुने उनको दाबी छ । युट्युबको विकल्पका रूपमा डिजिटल एपमा चलचित्र राख्न सकिए पनि त्यस्ता एपलाई पाइरेसीमुक्त गर्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय पाइरेसी भएका भनिएका चलचित्र एपबाट बाहिरएको भन्दै पाइरेसी गर्न नमिल्ने डिजिटल प्लेटफर्म आवश्यक रहेको उनको भनाइ छ । 

पैसा तिरेर हेर्न तयार तर उचित्र प्लेटफर्म अभावमा नेपाली चलचित्रका स्वदेश तथा विदेशमा रहेका दर्शकका लागि निर्माण गर्नु सुरु गरिएको एप निर्माणको मध्येतिर आइपुगिएको निर्देशक प्रदीप भट्टराई बताउँछन् । 

विदेशमा बस्ने नेपाली आईटी इन्जिनियरहरूले एप निर्माण गरिरहेका छन् । 

प्रतिव्यक्ति केही रकम तिरेर हेर्दा पनि निर्मातालाई लगानीको केही अंश आउने निर्देशक भट्टराई बताउँछन् । “अहिले हलबाट उत्रिएपछि मेकरसँग एउटा हार्डडिस्कबाहेक केही हुँदैन । अहिलेको बौद्धिक जमानामा करोडौं लगानी गरेको बौद्धिक सम्पत्ति हलबाट उत्रिनेबित्तिकै सकिन्छ । एपमा जान सकियो भने यो मेकरसँगै रहिरहन्छ,” निर्देशक प्रदीप भन्छन्, “लगानीको केही हिस्सा डिजिटल एपबाट आउने ग्यारेन्टी भएपछि चलचित्रको लगानी बढ्छ । र लगानी बढ्नु भनेको राम्रो चलचित्र बन्नु पनि हो ।” 

नेपाली चलचित्र एपमा गएपछि विषयवस्तु र प्रस्तुतिमा पनि विविधता दिनुपर्ने अवस्था आउने उनको भनाइ छ । विविधता आएसँगै चलचित्र उद्योग थप सम्पन्न हुँदै जाने उनको बुझाइ छ । एपलक्षित चलचित्र बन्न थालेपछि नेपाली चलचित्र विदेशी बजारमा पुग्ने चलचित्रकर्मीहरू बताउँछन् । राम्रा चलचित्र एपमा राख्न सके विदेशी दशर्कसामु पुग्न उनीहरूको विश्वास छ । 

पछिल्लो समय डिजिटल एपका लागि मात्रै पनि विश्वमा थुप्रै चलचित्र बनिरहेका छन् । एप लक्षित चलचित्र निर्माणका लागि डिजिटल कम्पनीहरूले निर्देशक निर्माताहरूलाई अग्रिम बजेट उपलब्ध गराउँदै आएका छन् । अहिले विश्वमा डिजिटल प्लेटफर्म चलचित्र बेच्ने नेटफ्लिक्स सबैभन्दा लोकप्रिय एप हो ।

चलचित्रबाट निकै न्यून रकम आउने हुँदा चलचित्रकर्मीहरूले यसको विकल्प खोज्न थालेका हुन् । नेपालबाट हेरेको भ्युजका आधारमा युट्युबले पैसा नदिने गरेका कारण ठूलो लगानी गरेका चलचित्र युट्युबमा अपलोड गर्दा लगानी अनुपातमा रिटर्न्स नआउँदा चलचित्रकर्मीले विकल्प खोज्न थालेका हुन् । 

एपले प्रतिचलचित्र एकपटक हेरेको ५० रुपैयाँ मात्रै लिए पनि दुई लाख दर्शकले हेरे भने मेकरको हातमा एक करोड रुपैयाँ आउँछ । राम्रो हाइप बनाएका र हलमा पनि केही समय चलेका चलचित्र युट्युबमा करोडभन्दा पनि माथि हेरेको पाइन्छ । यदि यति नै भ्युज एपमा पनि हुने हो भने ५० रुपैयाँ मात्रै तिरेर हेर्ने सुविधा दिने मेकरको हातमा ५० करोड रुपैयाँ पुग्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro