site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
प्रधानमन्त्रीको विदेशमा मिर्गौला प्रत्यारोपण गरिने

गएको साता नेपालमा केही ठूला घटना हुने तयारीमा थिए, पहिलो थियो नेपालमा हुन लागेको दक्षिण एशियाली खेलकूद तथा देशभर संघ, प्रदेश तथा स्थानीय तहमा हुन लागेको उप निर्वाचन । यसबाहेक नेपालको भूमि लिम्पियाधुरा, लिपुलेकमात्र नभई कालापानीसम्म ल्याएर भारतले आफ्नो सेना राखेको विषयले पनि लगातार मिडियामा स्थान बनाइरहेका थिए । साथै, मेडिकल कलेजले विद्यार्थीसँग बढी लिएको रकम फिर्ता नगरेको विषयमा पनि समाचार निरन्तर प्रकाशित हुँदै थिए । तर, प्रधानमन्त्रीको स्वास्थ्य समस्याको समाचारले अरु समाचार करिब ओझेलमै परे ।

गएको साताको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको विषयमा एउटा सानो समाचार आयो । मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गाैलामा समस्या देखिएपछि गत महिनादेखि नियमितरुपमा डायलाइसिस गराइँदै आएको छ । यसै क्रममा मंसीर ८ गते आइतवार प्रधानमन्त्रीलाई ग्य्रान्डी अस्पतालमा डायलाइसिस गराइयो । प्रधानमन्त्रीको स्वास्थ्यको विषयलाई सबैजसो दैनिक पत्रिकाले प्रमुखताका साथ प्रकाशित गरे । सबैले गएको २६ दिनमा प्रधानमन्त्रीको चौथो डायलाइसिसको समाचार बनाए तर नयाँ पत्रिकाले तेस्रो डायलाइसिस भनेर लेख्यो । 

सोमवारका पत्रिकाले प्रधानमन्त्रीले भाग लिएका कार्यक्रमका समाचार प्रकाशित गरे । उनको स्वास्थ्य सम्बन्धमा खासै कुनै समाचार भएन । तर, सोमवार राति प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा समस्या देखियो । रातभर पेटको दुखाइले ग्रस्त ओलीलाई सोमवार मनमोहन कार्डियो थोरासिक अस्पताल लगियो । बुधवारको कान्तिपुरको शीर्षकले धेरैको मन झस्कियो । शीर्षक थियो, ‘प्रधानमन्त्री भेन्टिलेटरमा’ । प्रधानमन्त्रीलाई सोमबार एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटेको नभई त्यसको वरपर संक्रमण फैलिएको थियो, जसलाई पेरिटोनाइटिस भनिन्छ । शल्यक्रियापछि प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएको थियो । साथमा कान्तिपुरले डा. राकेशकुमार साहको अन्तर्वार्ता पनि प्रकाशित ग¥यो जसमा अंग प्रत्यारोपण गराएका व्यक्तिमा एपेन्डिसाइटिसको शल्यक्रिया जोखिमपूर्ण हुने बताइएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओली भेन्टिलेटरमा भएको समाचार सबै दैनिकले एक समानरुपमा दिन सकेनन् । सोमवारनै अनलाइन पत्रिकाहरूले यस विषयमा समाचार दिएको भए पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सो विषय गलत भएको सूचना दिएका थिए । कान्तिपुरले बाहेक राजधानीले मात्र भेन्टिलेटरमा भएको शीर्षक दियो । नयाँ पत्रिकाले समाचारको पेटबोलीमा सो समाचार दियो । तर, नागरिक, गोरखापत्र, अन्नपूर्ण पोस्ट तथा हिमालय टाइम्सले भेन्टिलेटरमा भएको समाचार प्रकाशित गरेनन् । सतसठ्ठी वर्षीय प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भएको समाचारमात्र औपचारिकरुपमा बाहिर आयो । 

बिहीवारका पत्रिकाका अनुसार भने प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सकारात्मक परिवर्तन आएको थियो । शुक्रवारका पत्रिकामा फेरि समाचार केही फरक पर्‍यो । नयाँ पत्रिकाले प्रम ओलीले दाल र कालो चिया खाएको र केही भेटघाट गरेको समाचार दियो । कान्तिपुरले प्रधानमन्त्रीलाई रक्तकोषिका अर्थात् प्लेट्लेट्स दिइएको र डायलाइसिस गर्न जरुरत भएको समाचार दियो । अन्य सबै पत्रिकाले प्रधानमन्त्री कार्यालय तथा अस्पतालको औपचारिक स्वास्थ्य प्रतिवेदनको आधारमा समाचार बनाए । 

शनिवारका दैनिक पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मविश्वासको प्रशंसा गर्दै समाचार प्रकाशित गरे । आइतवार नागरिकमा टपेन्द्र कार्कीले एउटा समाचार दिए जसअनुसार १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेको कारण प्रधानमन्त्री ओलीलाई नयाँ मिर्गौला प्रत्यारोपण गर्न विदेश लैजाने तयारी गरिदैँछ । प्रधानमन्त्रीका दुई आफन्तले मिर्गौला दिन सहमति जनाएकाले भर्खरै गरिएको अपरेशनको घाउ निको हुनेबित्तिकै उनलाई विदेश लगिने सो समाचारले जनाएको छ । 

दक्षिण एसियाली खेलकुद र खेल छाडेर हिँडेकी तुलसा

नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद अर्थात् सागको उद्घाटन आइतवार हुँदैछ । यस विषयलाई धेरै नेपाली पत्रिकाले शनिवारसम्म खासै महत्त्व दिएनन् । नयाँ पत्रिकाले ‘सागको भव्य उद्घाटनको तयारी’ शीर्षकमा उद्घाटन समारोहको विषयमा समाचार दियो । मंसिर १५ देखि २४ सम्म चल्ने यो प्रतियोगितामा २८ खेल हुनेछ जसमध्ये आठ खेल पोखरामा, कुस्ती जनकपुरमा र बाँकी खेल काठमाडौंमा हुनेछ । यस कुम्भमा खेलाडी, पदाधिकारी र प्राविधिक गरी दक्षिण एसियाली देशका ६ हजार पाँचसयभन्दा बढी सहभागी छन् । यो समाचारलाई कान्तिपुरले मुख्य समाचारसहित तयारीको फोटो प्रकाशित गर्‍यो । तर, अन्य पत्रिकाले भने एथलेटिक्समा स्वर्ण पदककी दाबेदार तुलसा खत्री क्षत्री खेल्न छाडेर कतार गएको समाचारलाई महत्त्वका साथ प्रकाशित गरे । शनिबारको अंकमा नागरिकले मुख्य बनाएको समाचारको शीर्षक रह्यो – ‘स्वर्ण दाबेदार तुलसा साग छाडेर कतारतिर’ । सो पत्रिकाका अनुसार उनले आफ्ना प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई पठाएको पत्रमा आफूले जीवन सहज गर्न कतारमा काम गर्न हिंडेको बताएकी छिन् । तुलसा खत्री क्षत्रीले आठौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेकी थिइन् ।

अन्नपूर्ण पोस्टले पनि यो समाचारलाई एन्कर समाचार बनायो । बिहीबार बन्द प्रशिक्षण क्याम्पबाट मन्दिर जान्छु भनेर हिंडेकी उनी कतार उडेकी थिइन् । यो समाचारलाई राजधानीले पनि एन्कर बनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  १०:५६
प्रतिक्रिया दिनुहोस्