युरोपलाई आफ्नै विकास बैंक चाहिन्छ 

एरिक बर्ग्लफ

लण्डन । युरोपलाई एक यस्तो सशक्त तथा छरितो विकास बैंक चाहिएको छ जसले चीनको ‘बेल्ट एन्ड रोड इनिसिगटिभ’सँग सम्बन्धित संस्था तथा अमेरिकाका हालै सबल बनाइएका विकास एजेन्सीसँग सहकार्य गर्न सकोस् र परेका बेला तिनलाई चुनौती पनि देओस् । यही विषयलाई ध्यानमा राखेर युरोपियन युनियन (र्ईयु)ले हालै विज्ञ व्यक्तिको समूह (वाइज पर्सन्स ग्रुप) बनाएको छ जसले युरोपियन विकास वित्तको संरचनाको समीक्षा गर्दैछ । सो समूहमा यो लेखक आफै पनि सदस्य थियो । सो समूहले तीनवटा शैलीको विकल्प प्रस्तुत गरेको छ । तर, यहाँ म चौथो विकल्पको पनि कुरा गर्न चाहन्छु जसले अहिले कार्यरत संस्थाका उत्कृष्ट गुणहरू समाहित गर्छ ।

ईयुलाई एउटा विकास बैंक चाहिएको छ, जसले गर्दा यसले विश्वव्यापी वा क्षेत्रगत विपत्तिसँग जुध्न सकोस् — खासगरी अफ्रिकाका संकट र अवसरका सन्दर्भमा काम गरोस् । भूराजनीतिक दृष्टिबाट हेर्दा युरोपले सकेसम्म चाँडो आफ्नो आर्थिक सम्प्रभुता सशक्त बनाउनु पर्दछ, तर यसका लागि बहुपक्षीय गठबन्धन बनाउने यसको महत्त्वाकांक्षामा असर पर्नु भने हुँदैन । यस कार्यका लागि विकास सहयोग जरुरी अंग हुनसक्छ । युरोपले संसारकै विकास सहयोगमा करिब दुईतिहाइ योगदान गरिरहेको अवस्थामा सही ढंगले समन्वय गर्दै काम गर्न सके यस्तो विकास बैंकले अझ सशक्त प्रभाव पार्न सक्छ । 

अहिले कार्य गरिरहेका दुई युरोपियन विकास वित्त संस्था युरोपियन पुनर्निर्माण तथा विकास बैंक तथा युरोपियन लगानी बैंकको आआफ्नै विशेषता छन् । साँच्चैको विकास बैंकका रुपमा काम गरिरहेको पुनर्निर्माण तथा विकास बैंकको कामको पहुँच व्यापक छ । यसले राष्ट्रिय सरकारसँग नीतिगत छलफलमा निकट रहेर काम गर्छ र तल्लो तहमा यसको सशक्त उपस्थिति पनि रहेको छ । इन्भस्टमेन्ट बैंक मूलतः युरोपियन युनियनमा केन्द्रित छ । यो नीति कार्यान्वयन गर्ने बैंक हो जसका धेरै कामदार बेल्जियमको राजधानी लक्जेमबर्गमा रहन्छन् । तर, विकास कार्यहरू अत्यन्त जरुरी रहेका अस्थिर सरकार भएका सबसहारा क्षेत्रका अफ्रिकी मुलुकमा दुवै संस्था कमजोर देखिन्छन् । 

छोटकरीमा भन्दा, युरोपियन विकासवित्त प्रणालीलाई पूर्णतः पुनर्संरचना (ओभरहोलिङ) गर्न जरुरी भएको छ । अहिलेको अवस्थालाई कायमै राख्नु वा विज्ञको समूहले दिएको सुझावअनुरुप अल्पकालीन सुधार गर्दा दीर्घकालीनरुपमा युरोपलाई अन्तर्राष्ट्रिय खेलाडीको रुपमा बलियो बनाउने वा बलियो बन्ने क्षमता अभिवृद्धि गर्दैन । 

विज्ञ समूहले एउटा उपाय सुझाएको छ जस अनुसार एउटा नयाँ बैंकको जगबाटै स्थापना गर्ने र यसमा युरोपियन पुनर्निर्माण बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंक तथा युरोपियन कमिसनलाई लगानी गराउने । तर, यसको लागि निकै ठूलो वित्तीय लगानीका साथै विशेषज्ञ कर्मचारी र समय पनि चाहिन्छ । हामीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य २०३० सम्म पुर्‍याउने हो भने समय महत्वपूर्ण हुन्छ । यिनै कारणले गर्दा युरोपियन अर्थ मन्त्रीहरूले यो सल्लाहलाई अस्वीकार गरिदिएका छन् ।

अब बाँकी दुई उपायमध्ये युरोपियन पुनर्निर्माण बैंक वा युरोपियन इन्भेस्टमेन्ट बैंकमध्येबाट एउटालाई नयाँ बैंकको रुपमा विकास गर्नु नै हो र त्यसमा विज्ञ समूहले पुनर्निर्माण बैंकलाई बढी संभाव्य मानेको छ । यसमा दूर्भाग्यपूर्ण के छ भने बेलायत युरोपियन युनियनबाट बाहिरिएपछि यस बैंकमा युरोपियन युनियनको ५० प्रतिशत मतमा मात्र नियन्त्रण रहन्छ परन्तु, कतिपय अवस्थामा सोभन्दा बढी प्रतिशतको बहुमत चाहिने हुन्छ । यो समस्याको समाधान गर्न युरोपले आफ्नो लगानी बढाउन सक्छ तर अरु सेयरधनीले आफ्नो मताधिकार घटाउन स्विकृती पनि दिनुपर्ने हुन्छ । 

युरोपियन इन्भेस्टमेन्ट बैंकका हकमा यसको गैरईयु सम्पत्ति (कुल सम्पत्तिको करिब १० प्रतिशत) अर्को सहायक कम्पनी बनाएर बेचिदिनु पर्ने हुन्छ, जसको स्वामित्व सबै युरोपियन संस्थामा रहोस् । यस्ता खरिदकर्ता युरोपियन संस्था कुनै आयोग तथा विकास संस्था हुनसक्छन्, जस्तो जर्मनीको केएफडब्लु अथवा फ्रान्सेली विकास संस्था । तर, इन्भेस्टमेन्ट बैंक वा यसको सहायक कम्पनीलाई विकास बैंकको रुपमा लग्न निकै गाह्रो हुन्छ । यसका लागि चाहिने आधारभूत तत्त्व जस्तै समावेशी सेयरधनी वा गहन स्थानीय उपस्थिति नभएको विषयमा ध्यान नदिँदा पनि माथि भनिएका समस्या कायमै रहन्छन् । 

राम्रो कुरा चाहिं के छ भने यस विषयमा चौथो उपाय पनि छ । यो उपायले विभिन्न निकायका फरक फरक अंगलाई जोडेर सुरुचिपूर्ण तथा राजनीतिक रुपमा स्वीकार्य बनाउँछ । साथै हरेक देशका राष्ट्रिय विकास संस्थालाई पनि साथै लैजान्छ । 

यस्ता राष्ट्रिय विकास संस्थाले निकै महत्वपूर्ण क्षेत्रजस्तो स्वाथ्य, शिक्षा आदिमा काम गरेका हुन्छन् र विश्वभर यिनको उपस्थिति हुन्छ । यिनको पहुँच भएको कतिपय स्थानमा पुनर्निर्माण बैंक तथा इन्भेस्टमेन्ट बैंकको उपस्थिति न्यून वा शून्य प्रायः रहेको छ । यस्ता राष्ट्रिय संस्थालाई खुला युरोपियन विकास वित्त प्रणालीमा आबद्ध गर्न सकिन्छ तथा यस्ता संस्था आफैँ बीच प्रतिस्पर्धात्मक रुपमा इयुका सहयोग कार्यक्रम संचालन गर्न सक्छन् । तर, सबैले युरोपियन सहयोग कार्यक्रमको छातामा रहेर संचालन गर्ने अवस्था भने बनाउनु पर्छ । 

यो उपायमा काम गर्दा युरोपियन पुनर्निर्माण बैंक तथा इन्भेस्टभेन्ट बैंकलाई अलग्याउनुपर्ने हुन्छ । यी दुई बैंक अहिले नै धेरै देशमा र धेरै क्षेत्रमा एक अर्काको काम दोहोर्‍याइरहेका छन् । यी दुवैको नयाँ विस्तार योजनाले कार्यक्रम दोहोरिने अवस्था अझ बढ्ने देखिन्छ । युरोपियन इन्भेस्टमेन्ट बैंक युरोपेली मुलुकमा केन्द्रित हुने तथा अन्य देशको कार्यक्रम युरोपियन पुनर्निर्माण तथा विकास बैंकलाई दिनुपर्छ । त्यस्तै, युरोपियन पुनर्निर्माण तथा विकास बैंकले युरोपभित्र भएको आफ्नो पुँजी इन्भेस्टमेन्ट बैंकलाई दिएर आफू छिमेकी देश तथा सबसहारा अफ्रिकामा ध्यान दिन सक्छ । यस्तो लेनदेन सहज पक्कै छैन तर यस विषयमा सन् २०१३ मा एउटा तयारी भने गरिएको थियो । 

यो उपायको तेस्रो तथा सबैभन्दा केन्द्रीय पक्ष युरोपियन पुनर्निर्माण तथा विकास बैंकलाई युरोपियन दिगो विकास बैंकको रुपमा परिवर्तित गर्नु हो । यसका लागि विश्व बैंक तथा अफ्रिकी विकास बैंकसँग समन्वय राखेर काम गर्र्नुपर्छ । 

नयाँ बन्ने बैंकको ऋण प्रवाह शक्ति बढाउन पुँजी वृद्धि गरिनु पर्छ । यस बैंकमा ईयुका सेयरधनीले मात्र मतदान गर्न पाउने हुनाले तिनको मतदान गर्ने सेयर पनि बढाइनु पर्छ । तर, गैरइयु सेयर होल्डरजस्तो अमेरिका, बेलायत तथा अझ महत्त्वपूर्ण त ऋण प्राप्त गर्ने देशहरूको सहभागिता सकिनु हुँदैन । त्यसले बहुपक्षीयताको अवस्था कायमै रहनेछ । युरोपियन इन्भेस्टमेन्ट बैंकले चाहिँ आफूलाई युरोपियन वातावरण बैंकको रुपमा परिवर्तित गर्दै राष्ट्रिय विकास वित्तीय संस्थाको स्वास्थ्य सही राख्न सहयोगीको रुपमा काम गर्न सक्नेछ । 

इयुले आफ्नो आउँदो सात वर्षको बजेट तयार गर्दै गरेको अवस्थामा विकास वित्त सम्बन्धी व्यवस्थामा पूर्ण पुनर्संरचना (ओभरहोल) गर्नु सही हुन्छ । अर्को जरुरी विषय चाहिँ युरोपियन पुनर्निर्माण तथा विकास बैंकजस्तो थप लगानी गर्ने क्षमता भएको संस्थाले केही रणनीतिक निर्णय लिनुपर्ने अवस्था आएकोले पनि हो । 

बेलायत ईयुबाट निस्कने क्रम अर्थात् ‘ब्रेक्जिट’ आउँदै गर्दा पुनर्निर्माण तथा विकास बैंकका सेयर धनीहरूले यस्तो युरोपियन संस्थाको विकास भएको देख्नेछन् जसमा स्वयं पुनर्निर्माण बैंक वा सहयोग लिने देश कसैको पनि सेयर हुनेछैन । 

यसरी युरोपियन पुनर्निर्माण बैंकलाई धराशायी र असफल बनाउनुभन्दा ईयु तथा यसका अन्तर्राष्ट्रिय सहयोगी मिलेर यस बैंकलाई युरोपीय विकास सहयोगको मुटुमा स्थापित गर्नुपर्छ । अहिलेको जस्तो अनिश्चितता, बढ्दो अन्तर्राष्ट्रिय खतरा तथा बहुपक्षीयताको विरोधमा आधारभूतरुपमै चुनौती आएको अवस्थामा सधँैको भन्दा बढी अहिले एक सशक्त संस्थाको जरुरत भएको छ । 

(युरोपियन पुनर्निर्माण बैंकका पूर्वप्रमुख अर्थविद्)
Copyright: Project Syndicate, 2019.


 

प्रतिकृया दिनुहोस
ad