site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
 नगरकोटको बाटो तीन महिनाभित्र कालोपत्रे गर्छु
Sarbottam CementSarbottam Cement

उपनिर्वाचन आउने दिन चारदिनमा खुम्चिएको छ । सत्तारूढ पार्टी नेकपाका भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यका उमेदवार देवीप्रसाद ढकाललाई भ्याइनभ्याइ छ । सुरूमा उनलाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन हम्मे पर्‍यो । त्यसपछि जनताको घरदैलोमा पुग्न भ्याइनभ्याइ भयो ।

सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सत्तासीन दल भएकाले अन्य उमेदवारको तुलनामा प्रश्नहरूको सामना पनि उत्तिकै गर्नुपर्‍यो । तथापि उनले आफू निर्वाचित भएलगत्तै निर्वाचन क्षेत्रको एकीकृत विकासका निम्ति लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यही प्रतिवद्धताका आधारमा आफूलाई निर्वाचित गराउने प्रयत्नमा छन् ।

घरदैलो, भेला र बैठकको दोडधूपकैबीच बाह्रखरीकर्मी अक्षर काका केशव सावदले उमेदवार ढकालसँग गरेको कुराकानीः–

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन सङ्घारमा आइसक्यो, तयारी के–कस्तो छ ?

सोमबार बिहानबाट घरदैलो समाप्त भएको छ । निर्वाचन क्षेत्रका दसैवटा वडामा पुग्न भ्यायौं । अहिले हामी मतदाता शिक्षामा केन्द्रित भएका छौं । ११ गते निर्वाचन बृहत् जनसभा राखेका छौं । जनसभामार्फत हामी मतदातालाई आफ्ना कुरा थप प्रष्ट पार्नेछौं ।

Global Ime bank

तपाईं अघिल्लो पटकको निर्वाचनमा पनि उमेदवार हुनुहुन्थ्यो । उमेदवारी फिर्ता लिने समयसीमा पछि तपाईंले एमाले उमेदवारलाई सघाउने भनेर घोषणा गर्नुभयो । यद्यपि तपाईंको चुनाव चिह्नमा पनि मत खस्यो । त्यतिबेलाको जनताको आकाङ्क्षा अहिले बदलिएछन् कि उस्तै पाउनुभयो ?

अघिल्लो पटक हाम्रो गठबन्धन (तत्कालीन एमाले, माओवादी केन्द्र, राजमोको गठबन्धन)ले हरिशरण गुरु (हरिशरण लामिछाने)लाई नै सघाउने अन्तिममा निर्णय गरेपछि मैले छाडेँ । मतदाताको दुई–तीनवटा कुरा छ । पहिलो भौतिक पूर्वाधारको कुरा छ । यसमा मुख्यतः बाटोको स्तरोन्नति गर्नुपर्ने, कालोपत्रे गर्नुपर्ने, ढल निकास र खानेपानीको प्रवन्ध हुनुपर्‍यो भन्ने नै ।

अर्को, धार्मिक आस्था, महत्त्वसँग जोडिएका कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुपर्ने कुरा छन् ।

त्यस्तै उत्तरपूर्वी भक्तपुर पर्यटकीय केन्द्र हो । यसले आफ्नो परिचय पर्यटकीय केन्द्रकै रूपमा बनाएको छ । नगरकोट, चाँगुनारायण, ठूलीब्रह्मायणी, ब्रह्मायणी, जालपादेवीलगायत पर्यटकीय र धार्मिक पर्यटकीय क्षेत्रहरू छन् । यी क्षेत्रको एकीकृत विकास खोजेका छन् यहाँका मतदाताले ।

अर्को, यहाँको प्रदेशसभाको निर्वाचन क्षेत्रको अधिकांश भूभाग ग्रामिण, काँठ क्षेत्र छ । मानिसहरू उत्पादन योग्य जग्गाजमिन बेचेर गुजारा चलाउन बाध्य छन् । अधिकांश जनता ऋणमा छन् । रोजगारी छैन । रोजगारीको सिर्जना र अभिवृद्धि कसरी गर्ने भन्ने नै यहाँको मूल प्रश्न हो ।

हामीले चुनावी प्रतिवद्धता र घोषणापत्रमा पनि यिनै कुरालाई मुख्य विषय बनाएका छौं ।  हामी निर्वाचित भएपछि प्राथमिकताको क्षेत्र, अल्पकालीन, मध्यकालीन, दीर्घकालीन लक्ष्य बनाएर प्रस्तुत हुन्छौं ।

यसका साथै केही रणनीतिक महत्त्वका योजना पनि हामीसँग छन् । नगरकोटको बाटो ६ वर्षदेखि अलपत्र छ । मैले प्रतिवद्धता जनाइसकेको छु– तीन महिनाभित्र कालोपत्रे गराइसक्नेछु । 

अहिले देख्न सक्नुहुनेछ, काम द्रूत गतिमा भइरहेको छ ।

वीर अस्पतालको जग्गा अस्पतालको नाममा गइसकेको छ । तर अस्पताल बन्ने परियोजनामा कसले लगानी गर्ने ? कति लगानी गर्ने ? कहिलेसम्म बनाइसक्ने भनेर जनताले प्रश्न गरेका छन् । त्यस म मेरो कार्यकालभरिमा पूरा गर्नेगरी योजना बनाउँछु ।

म यहाँका मतदातालाई आश्वस्त पार्न चाहन्छु– वीर अस्पताल भक्तपुरमै आउँछ । भक्तपुरमै बन्छ । त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि हामी सक्षम छौं ।

चाँगुनारायण नेपाल इन्जिनियरिङ कलेजको समस्या विद्यमान छ । त्यसलाई त्यहाँबाट स्थानान्तरण हुन दिँदैनौं । त्यहाँको समस्या अविलम्ब समाधान गर्छौं । नेपाल इन्जिनियरिङ कलेजबाट त्यहाँका जनताले पाइरहेको लाभ खोसिन दिँदैनौं ।

यी कुरामा जनता कन्भिन्स छन् ।

एउटा प्रसङ्ग बताउँ । यहाँका जनता भनिरहेका छन्, हामीले प्रतिनिधिसभामा ४० वर्षदेखि विरोध गर्ने सांसदमात्रै पठायौं । प्रदेशमा हरि गुरु निर्वाचित हुनुभएको थियो । एउटा बजेट बनाउन नपाइ दुःखद् निधन भयो । अतः यसपल्ट विरोध होइन विकास गर्ने सांसदको आवश्यकता छ भन्ने दृष्टिकोण पाएको छु ।

अघिल्लोपटक निर्वाचित उमेदवारको दायित्व पनि होलान् । उहाँलाई जनताले बोकाएको विश्वासको भारि तपाईंले थाम्न सक्नुहोला त ?

हाम्रो अहिलेको प्रतिवद्धतापत्र हरि गुरुले जनतालाई आश्वस्त पार्नुभएकै कुरामा टेकर बनाएका छौं । मूल घोषणा हाम्रो हिजोकै हो । उहाँको अनुपस्थितिमा पनि सङ्घ, प्रदेश र नगरपालिकाबाट गर्न सक्ने काम गरिरहेकै थियौं । अपेक्षा र आकाङ्क्षा थपिएकाले केही नयाँ योजना पर्ने नै भए ।

यो उपनिर्वाचन सरकारको मध्यावधि समीक्षा हो । तीनै तहमा तपाईंहरूको सरकार छ तर जनताको आकाङ्क्षाको न्यूनतम पनि सम्बोधन भएको छैन भन्ने गुनासो छ, किन होला ?

आकाङ्क्षाको कुनै सीमा हुँदैन । अमेरिकामा पनि जनताको आकाङ्क्षा पूर्ति भएको छैन । बेलायतमा पनि पूरा भएको छैन । तर आधारभूत आवश्यकता पूरा गर्न दुई वर्षको अवधि पर्याप्त होइन । यहाँ त ३० औं वर्षदेखि समस्या थुप्रो लागेर बसेको थियो । त्यसलाई एक–एक गरेर पन्छाउन त समय लाग्ने नै भयो ।

हामीले हिजो पाँचवर्षका लागि योजना तर्जुमा गरेका थियौं । मध्यावधिक लक्ष्य भेट्टाएका छौं । विकासको रफ्तार छिटो होस् । सुविधा चाँडो पाइयोस् भन्ने जनताको जुन पवित्र भावना छ । त्यसले हामीलाई अझ गतिशील, क्रियाशील बनाउन मद्दत पुर्‍याउँछ ।

हामीले भनेका छौं । मूलभूत सडकहरू कालोपत्रे भइसक्ने छन् । सबै घरमा खानेपानी प्रवन्ध गरिसक्ने छौं ।

भत्केकोपाटी–नगरकोट जोड्ने सडक ६ वर्ष भएछ योजना सुरू भएको । ठेक्का सम्झौता सकिएकै चार वर्ष हुन लागिसक्यो । ६ वर्षमा नभएको काम तीन महिनामा सकिएला त ? 

यसमा हामी विगतदेखि लागि परेका छौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जो नेकपाका अध्यक्ष पनि हुनुहुन्छ उहाँकै पालामा भारतको एक्जिम बैंकबाट ऋण लिएर सुरू गरेका हौं । यो बाटो नगरकोट लगेर छाड्ने भनेर हालेको पनि होइन । नगरकोटसम्मको १५.६६ किलोमिटर पहिलो चरण, त्यसपछि सीपाघाटसम्म ३६ किलोमिटर अर्कोचरण र इन्द्रावतीमा पुल बनेपछि चौतारा र गणेश हिमालको फेदीसम्म पुर्‍याउने रणनीतिक महत्त्वको परियोजना हो ।

यस्ता परियोजनमा जुन देशबाट ऋण लिएको हो, मुख्य ठेकेदार त्यही देशको हुन्छ । नेपाली ठेकेदार सहायक ठेकेदार हो । जसको हिस्सा, साझेदारी ५१ प्रतिशतभन्दा कम हुन्छ । रकम निकासाको समस्या देखिएपछि पार्टीका केन्द्रीय सदस्यद्वय महेश बस्नेत जो क्षेत्र नम्बर दुईका सांसद पनि हुनुहुन्छ । चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, मलगायत भक्तपुरको नेकपाको सिङ्गो पार्टीपंक्ति लागेर समस्याको हल भयो ।

हामीले नेपाली तर्फको ठेकेदारलाई काम छिटो सक्न ताकेता पनि गरिरहेका छौं । काम लगभग सकिएकै छ । लगभग भनेको नालाको काम सकिएको छ । त्यसपछि पिचको काम सुरू हुन्छ । ओसपाल भइदिएको भए छिटो हुन्थ्यो । यो ओसपालको परियोजना होइन । निर्माण व्यवसायीको प्रतिवद्धताको आधारमा तीनमहिनाभित्र सक्ने भनेका हौं ।

तपाईंलाई टिकट दिने केन्द्रको निर्णयपछि पार्टीमा केही अन्तरविरोधजस्तो पनि देखिएको थियो । कायम छ कि, समाधान भयो ?

अन्तरविरोध होइन व्यक्तिको आकाङ्क्षाचाहिँ थियो । राजनीतिक गर्ने व्यक्तिहरूको म उमेदवार बन्न पाए हुन्थ्यो भन्ने आकाङ्क्षा हुनु स्वाभाविकै हो ।

आकाङ्क्षा साथी मध्ये एकजना प्रस्तावक हुनुहुन्छ । अर्को एकजना समर्थक हुनुहुन्छ । अर्को आकाङ्क्षी साथी घोषणपत्र बनाउने कमिटीमा हुनुहुन्छ । अर्को साथी निर्वाचन परिचालन कमिटी अन्तर्गत कार्यक्रम व्यवस्थापन उप–कमिटीको संयोजक हुनुहुन्छ । अर्को आकाङ्क्षी साथी प्रचार–प्रसार कमिटीको संयोजक हुनुहुन्छ । भनेपछि कहाँ रह्यो त अन्तरविरोध ?

असन्तुष्टहरूले पार्टी कार्यालयमा ताला लगाएको होइन र ?  

होइन होइन । मिडियामा खै कसरी आयो ? तालाबन्दी भएको भए खोल्न वार्ता, सहमति हुनुपर्ने त्यस्तो भएको त सुन्नुभएन । कार्यालय निर्वाध चलिरहेको छ ।

भक्तपुरको नेकपा एकमतका साथ चुनावमा जुटेको छ । पाँच वर्षका लागि यस क्षेत्रमा नेकपा निर्वाचित भएको हो । जनताले हाम्रा प्रतिवद्धता अनुमोदन गरेका हुन् । बीचमै भवितव्य परेर चुनाव गर्नुपर्‍यो । अतः नेकपाको उत्तराधिकारी नेकपा नै हो । हरि गुरुको उत्तराधिकारी नेकपा नै हो । हरि गुरुकै पार्टीको मान्छे निर्वाचित हुनुपर्छ भन्नेमा आम कार्यकर्ता एकमत छन् । 

भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको पनि राम्रो प्रभाव छ । कांग्रेस पनि जनअसन्तुष्टिलाई क्यास गर्न उद्दत देखिन्छ, चुनौती त होला नि !

दुई वर्षअघिको भक्तपुरको दुई नम्बर निर्वाचन क्षेत्रको अवस्था र अहिले त्यहाँको अवस्था देखेर भक्तपुरका जनताले आफैँ कन्भिन्स हुनुहुन्छ । नेपाल मजदुर किसान पार्टी संसद्मा जाने भनेको विरोध गर्न नै हो । नेमकिपाको विजयले सरकारको अङ्क गणितमा खासै असर गर्दैन । तर यहाँको विकासको अङ्क गणित बिग्रन्छ ।

भक्तपुर १ को प्रदेशसभामा हामी विकासको मूल प्रवाह हौं । यो निर्वाचनबाट बाहिरिनेबित्तिकै यसको असर विकास–निर्माणमा पर्छ । यसमा यहाँको जनसमुदाय कन्भिन्स छन् । चुनावको दौरानमा विपक्षी पार्टीले भ्रमको खेती गर्न खोजेको पनि सुनेको छु । त्यो त्यति फस्टाउनेवाला छैन ।

कस्तो भ्रम ? 

नेकपाका नेतृत्वको सरकारले रेलका कुरा गरे । तेलका कुरा गरे । दुईवर्षमा केही काम भएनन् भनेर जनताको बीचमा जानुभएको छ । तर उहाँहरूले के भुल्नु भएन भने तेलको काम भएकै छ । अमलेखगञ्जसम्म पाइपमा तेल आउन थालिसक्यो । हिजोकोजस्तो नाकाबन्दी भएमा पनि सङ्कट हुँदैन । चीनका  राष्ट्रपति सी जिनपिङ आउँदा डीपीआर बनाउने समझदारी भइसकेको छ ।

हाम्रो दाबी के छ भने भक्तपुर जहाँ अहिले प्रदेशसभाको निर्वाचन हुन लागेको छ, त्यहाँ नेकपा बाहेक अरू कुनै पार्टीले एक करोडको परियोजना सुरू गरेको देखाओस् । हिजो विपक्षी साथीको गढ भनिएका ठाउँमा पनि बाटो पिच गर्न, खानेपानी खुवाउन, अरू भौतिक पूर्वाधारको विकास गर्न नेकपा निर्वाचित हुनुपरेको जनताले भुल्न सक्छन् र ?

चुनाव हुन लागेको प्रदेशसभाको निर्वाचन क्षेत्रमा पर्यटकीय महत्त्वको ठाउँ नगरकोट पनि पर्छ  । तर बाटाको कारण नगरकोट सुकिसकेको अवस्था छ । त्यसको एकीकृत विकासको ठोस योजना त देखिएन नि !

नगरकोटको एकीकृत विकासका लागि हामीसँग मूर्त योजना छन् । अघि नै बाटाको प्रसङ्ग आइहाल्यो । त्यसलाई चौतारा र गणेश हिमालको फेदिसम्म पुर्‍याउँछौैं । नगरकोटसम्म आएका पर्यटकलाई गणेश हिमालसम्म पुर्‍याउने हाम्रो लक्ष्य हो । काठमाडौं छिर्ने अर्को द्रूत मार्ग पनि हुनसक्छ यो ।

अर्को नगरकोटमा भव्य भ्यू टावर निर्माण गर्छौं । चार अर्बको परियोजनाको डीपीआर तयार भइसकेको छ, चाँगुनारायण नगरपालिकाको पहलमा । अहिले त्यसलाई निजी क्षेत्रका बीचमा सेल गरिराखेका छौं । व्यावसायिक पनि होस् । नेपालमा बनेकामध्ये सबैभन्दा अत्याधुनिक होस् भनेर प्रवद्र्धन गरिरहेका छौं ।

नगरकोट आएका पर्यटकले नेपाली कला, संस्कृति, जीवनशैली, रहनसहन देख्न पाउन भनेर होम स्टेको अवधारणा अघि बढाएका छौं । नगरकोटको जङ्गल क्षेत्रमा रहेका सल्लाका रूखहरू हटाएर जडिबुटी लगाउने र जडिबुटी हबका रूपमा विकास गराउने लक्ष्य छ । नगरकोटको जङ्गल क्षेत्रमा पाँच लाख जटिबुटी लगाउने योजना अघि बढाएका छौं ।

सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरकोट क्षेत्रमै अत्याधुनिक पर्यटन बसपार्क बन्दै छ । त्यसमा व्यावसायिक प्रतिष्ठान पनि थपिने छ ।

केही समयअघि सार्वजनिक जग्गामा घरबास नभएकाहरू बस्नु भएको थियो । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व अन्तर्गत रहेर भत्कायो । हामी पुनः उनीहरूलाई निश्चित ठाउँ दिएर व्यवस्थित ढङ्गले राख्छौं । बनाउने योजना अघि सारिएका त्यस्तो व्यावसायिक प्रतिष्ठान मल्टिकम्लेक्समा व्यापार व्यवयाय गर्ने अग्राधिकार पुनःस्थापितलाई दिइने छ । गुरु योजना बनिसकेको छ । नगरकोट जानुभयो भने, परियोजनामा यहाँको आँखा परिहाल्छ ।

नगरकोट जोड्ने सहायक मार्ग, हरि गुरुमार्गको कालोपत्रे सकिएको छ । यता ताथलीबाट नगरकोट जोड्ने बाटो पनि बनिसकेको छ । देशकै प्राचीन मन्दिर, पुराना शिलालेख भएको मन्दिर चाँगुनारायणसमेतलाई जोडेर नगरकोट– चाँगु, जालपादेवी र सुडालतिर आइपुग्दा ठूली बह्यायणीसम्म जोडेर धार्मिक पर्यटीक मार्ग बनाउने योजना पनि छ ।

चाँगुनारायाण क्षेत्रलाई स्मार्ट सिटीभित्र पार्दैछौं । पहिलो चरणमा एक लाख रोपनी जमिन स्मार्ट सिटीभित्र आउँछ । यो सहरीकरणकै प्रकृया हो । यस प्रदेशको विकासको अवधारणा अघि गर्दा ६० प्रतिशत भक्तपुरको विकास हुन्छ ।

अतः यो लिच्छवी कालदेखि बस्ती विकास भएको ठाउँको मौलिकता, ऐतिहासिकता, पुरातात्विक, धार्मिक कुराहरू ननासी, नमासी विकासको मूल प्रवाहमा जोड्ने ल्याकत नेकपासँग मात्रै रहकाले निर्वाचन जित्नेमा ढुक्क छु । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC