‘ए, यिनीहरुलाई बाहिर निकाल्...!’ 

 ‘ए, यिनीहरुलाई बाहिर निकाल्...!’ 

भुपेस उपाध्याय


‘ए, यिनीहरुलाई बाहिर निकाल् ।’ यो वाक्य कसैका निम्ति पनि कर्णप्रिय हुन सक्दैन । अझ यही वाक्य भोग्नेलाई यसको पीडा बेग्लै हुन्छ । समय– दिउँसो तीन बज्नै लागेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ढोकाबाट प्रवेश गर्न हामी पत्रकार तयार थियौं । गेटमा बसेका कर्मचारीले ‘तपार्इंहरु को हो ?’ भने । ‘हामी पत्रकार हौं’ भन्दै कार्ड देखायौं । उनले ‘भित्र जानुस्’ भने । 

अरु समय सुनसान देखिने राखेप परिसर ‘झिलिमिली’ सजिएको थियो । वरपरको वातावरणले साग (दक्षिण एसियाली खेलकुद प्रतियोगिता)को अनुभूति दिलाइरहेको थियो । विगत लामो समयदेखि अलपत्र परिरहेका राखेपका भौतिक पूर्वाधारहरु धमाधम बनिरहेका थिए । समान्य अर्थमा भन्नुपर्दा राखेपको माहोल ‘नयाँ ज्वाइँ आउन लागेको ससुरालीजस्तै’ हुन पुगेको थियो । 

हामी पनि चिटिक्क परेर गएका थियौं, जन्तीजस्तै । दिनभरिको कामको थकान हुँदाहुँदै पनि घरेलु मैदानमा हुन लागेको १३औं सागमा सहभागी खेलाडीहरुको नामावली लिने उद्देश्यका साथ हामी राखेप पसेका थियौं । राखेपको प्रचारप्रसार शाखा छिर्दा सागमा खटिएको कर्मचारीको व्यस्तता छर्लङ्ग देख्न सकिन्थ्यो । 

वरपर हल्ला थियो– टकटक... कम्प्युटरको आवाज पनि निरन्तर आइरहेको थियो । हामीले प्रचारप्रसार शाखाका लोकेन्द्र बस्नेतलाई खेलाडीको नामावली दिन आग्रह ग¥यौं । उनले राष्ट्रिय टोली तयारी समितिमा जान सल्लाह दिए । हाम्रो उद्देश्य नामावली लिनु मात्रै थियो । 

राखेपको माथिल्लो कुनाको दाहिनेतिर थियो– राष्ट्रिय टिम तयारी समितिको कार्यालय । हामी समिति संयोजक रिमबहादुर रानाभाटसँग भेटेर नामावली लिन भित्रपट्टि गयौं । तर उनी त्यहाँ थिएनन् । आँगनमै आइसकेको साग– केही कर्मचारी व्यस्त थिए भने, कोही कुर्सीमा आनन्दले बसिरहेका । धेरैले दैनिक गर्ने जस्तै कार्य गरिरहेका थिए । धेरै पटक राखेप गइसकेका हामी, त्यहाँ बेग्लै तथा दु्रत गतिमा काम भएको थिएन । 

तयारी समितिका कर्मचारी त्यहाँ एकजना पनि थिएनन् । गेटबाट छिर्दा सीधै अघिल्तिर ‘राष्ट्रिय टिम तयारी समिति’ लेखेको ठूलो बोर्ड तल बसिरहेका भेटिए– राखेप कर्मचारी प्रकाश राई । आफ्नो बिट भएका कारण राखेप हाम्रा लागि नयाँ निकाय होइन । त्यसैले राई नौलो अनुहार पनि थिएनन् । उनका लागि पनि हामी कुनै नयाँ पात्र थिएनौं । हुन सक्छ, हाम्रो औपचारिक परिचयचाहिँ थिएन । 

सर नमस्कार ! हामीले ससम्मान उनीसामु भन्यौं । ‘नमस्ते, केको लागि आउनुभएको तपाईंहरु ?’ राईको प्रश्न थियो । हामी बाह्रखरी अनलाइनबाट आएको हौं सर । हामीलाई नेपाली खेलाडीहरुको नामावली उपलब्ध गराइदिनुस् न ! ‘ए, बाह्रखरी, यो त थापाथलीमा छ हैन ?’ राईको प्रश्न थियो । राखेपका कर्मचारी उनको अघिल्तिर प्रशासकीय अधिकृत, राष्ट्रिय टिम तयारी समिति लेखेको कार्ड थियो । 

मलाई लाग्यो । ए, उहाँ त हामीलाई चिन्नुहुँदो रहेछ । मनमा यो कुरा राम्रोसँग बस्न नपाउँदै उनले भने, ‘‘प्रचार प्रसार शाखाबाट लिनुस् न है ।’’ जवाफमा मैले भनेँ– सर उताबाट त हामीलाई यता गएर लिनुस भन्नुभएको छ त ।’ 

राईको देब्रेतिर समितिको कम्प्युटर अपरेटर, नारायणी निरौला बसेकी थिइन् । राईले ‘नारायणी मिस तपाइँसँग टाइम छ भने उहाँहरुको काम गरिदिनुस् नत्र ठीकै छ’ भने । उनको यो कुरामा विमति रहने ठाउँ छैन । मसँगै गएकी सहकर्मी रेखा शाहीले ‘सर सबैलाई एउटै समय अनुकूल हुँदैन नि मिल्छ भने आजै दिनुस् न’ भनेपछि थप्दै मैले भनेँ, ‘‘सर तपाईंहरु यसै कामको लागि बस्नुभएको होइन् र ?’’ यतिबेलासम्म सबै ठीकै थियो । 

तर अचानक राईको पारो तात्न थाल्यो । ‘‘दिनभरि धेरै काम हुन्छ । हामी तपाईंको कामको लागि मात्र बसेका होइनौं भोलि आउनुस्,’’ राईले भने । यतिसम्म पनि ठीकै मान्न सकिएला ! तत्कालै उनले कुरा फेर्दै ‘सबै खेलाडीको नाम आएको छैन । जुन दिन आउँछ हामी त्यही दिन दिउँला’ भने । राईको जवाफमा आक्रोश मिसिएको बुझ्न गाह्रो थिएन । मनमनै सोचेँ– ‘म त जिम्मेवार व्यक्तिसँग कुरा गरिरहेको रहेनछु ।’ 

उनको जवाफले जोकोहीलाई झोँक चल्थ्यो । मैले उनलाई भनेँ, ‘‘सर विस्तारै भन्दा पनि हामी बुझिहाल्छौं नि, यसरी नरिसाउनुस् न ।’’ त्यसपछि वातावरण झनै तात्यो । वरपर बसेका कर्मचारीहरु राईलाई रोक्नभन्दा हामीलाई नबोल्न आग्रह गरिरहेका थिए । कर्मचारीले उनको साइड लिएपछि राईमा झनै उत्तेजना थपियो । ‘‘तपाईंहरु मुख बजार्न आउनुभएको ? मिडियाको मान्छे भयो भन्दैमा हामीले काम गरिदिनुपर्छ भन्ने के छ ?’’ राईले यति भनेपछि हाम्रो पनि दुई शब्द थपियो । ‘सर जिम्मेवार व्यक्ति भएर यसरी कुरा गर्न सुहाउँछ ? जिम्मेवार व्यक्ति भएपछि जिम्मेवार ढङ्गमै कुरा गर्नुस् न !’ 

‘तपाईंहरु धेरै नबोल्नुुस् ।’ राईले आक्रोशित पारामा भने र अगाडि गेटमा भएकी गार्ड दिदीलाई आदेश दिँदै भने, ‘‘ए, यिनीहरुलाई बाहिर निकाल्... मुख बजार्न आएको । तिमीहरु पढेको कलेजमा मैले पढाउँछु । मसँग ठूलो कुरो गर्ने ?’’ त्यसपछि मैले हातमा रहेको मोबाइल निकाल्दै भिडियो खिचेँ । मलाई पनि रिस उठेको थियो । तर त्यसलाई बाहिर निकाल्न चाहिनँ, कारण मैले बाह्रखरीको कार्ड भिरेको थिए । कर्मचारी गैरजिम्मेवार भए भन्दैमा मैले उनीजस्तै व्यवहार गर्नुहुँदैन भन्ने राम्ररी बुझेको थिएँ । 

भिडियो खिच्न थालेपछि राईले कम्प्युटर अप्रेटरलाई ‘दिनुस् उनीहरुलाई जतिजना खेलाडीको नाम आएको छ’ भने । त्यस अघिसम्म उनी आक्रोशित नै थिए । त्यतिखेर राखेपका अन्य कर्मचारी आएर उनलाई सम्झाउन पनि थालेका थिए । भर्खरै पत्रकारिता सुरु गरेको मेरा निम्ति यस्तोखाले घटना पहिलो पटक भोग्नुपरेको थियो । एक मन त लागिरहेको थियो– ‘आखिर म किन खेलकुद पत्रकार भएँ ?’ प्रश्नले केहीबेर मेरो मथिङ्गलमा हस्तक्षेप गरिरह्यो । 

हामी खेलाडीको नामावली लिएर फर्किने क्रममा लाग्यौं । त्यसबखत मैले नेपाल खेलकुद पत्रकार मञ्चलाई सम्झिएँ । मञ्चका प्रवक्ता हिमविक्रम केसीलाई फोन गर्दै घटनाको जानकारी गराएँ । त्यसपछि मञ्चका सबैको सक्रियता देखियो । रिस अझै मरेको थिएन । मानसिकता सन्तु्लित भइसकेको थिएन, अनुहार मलिन थियो । हामीलाई दुव्र्यवहार गर्दा राईको अनुहार निकै रातो हुन पुगेको थियो । 

त्यतिबेलासम्म साढ तीन बजिसकेको थियो । सबै खेलकुद पत्रकारहरुले हामीलाई हौसला दिँदै राखेप लिएर गए । मञ्चको टोलीले राखेप सदस्यसचिवसँग कुराकानी गर्‍यो । सुरुआतमा देब्रे फर्किएर ‘मेरो कर्मचारीले त्यस्तो गर्न सक्दैन’ भनेका सदस्यसचिवले मोबाइलमा कैद भएको भिडियो हेरेपछि अनुहार दाहिने मोडे । सबै कुरा बेलिबिस्तार लगाउँदा प्रकाश राईलाई विभागीय कारबाही हुने आस्वाशन दिन उनी बाध्य भए । राष्ट्रिय टोली तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले आफूहरुबाट गल्ती भएको स्वीकार्दै माफी पनि मागे । यति भैसेकेपछि मेरो मनमा केही सान्त्वना मिल्यो । 

विडम्बना घटना भएको २४ घण्टा बितिसक्दा पनि राखेपले प्रकाश राईलाई कुन किसिमको कारबाही गर्‍यो ? थाहा पाइएको छैन । खेलकुद पत्रकार मञ्च पनि यसबारे बेखबर नै छ । 

सुनिँदैछ, प्रकाश राईले उल्टै सम्मान पाउने अवस्था छ । कारण, उनी राखेपकै बलिया कर्मचारी हुन् रे ! उनीसँगै काम गर्ने एक कर्मचारीले त त्यतिखेरै यसो भन्दै थिए ! 

मुलुकको इज्जत जोडिएको प्रतियोगिता हो– साग । त्यसमाथि आयोजक राष्ट्र नेपाल ! तयारीको जिम्मा पाएको निकाय र जिम्मेवार कर्मचारीको मानसिकता देख्दा जोकोही छक्क पर्ने अवस्था छ । केही दिनमा साग सुरु हुँदैछ, तर तयारी समितिसँग खेलाडीको पूरा विवरण पनि चुस्त छैन ! 
यो अवस्थाको जिम्मेवार को ? प्रश्नको उत्तर भेट्न एउटा निकायमात्र चहारेर पुग्दैन । जब तयारी नै यति फितलो छ भने, उल्लेखनीय उपलब्धि खोज्न कसरी सकिएला ! 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad