क्रेम्लिनको भाग्य जागेको छ । राष्ट्रपति भ्लादिमीर पुटिनको नेतृत्वमा रुसले अमेरिकालाई सिरियामा प्रतिस्थापन गरिसकेको छ भने पूर्वी युक्रेनमा पनि लगातार हस्तक्षेप गरिरहेको छ र हालै सोचीमा अफ्रिकी शिखर बैठक आयोजना गरेको छ । बाहिर देखिने स्वरुप धोका पनि हुनसक्छ है । सत्य हो, रुससँग अमेरिकासँग जत्तिकै मात्रामा परमाणु अस्त्र छ र २००८ मा जर्जिया र २०१४ मा युक्रेनविरुद्ध यसले प्रभावकारी रुपमा शक्ति प्रयोग पनि गरेको थियो, सिरियामा बसर अल असदको शासन जोगाउन सैन्य सहयोग पनि गरेको थियो भने अमेरिकालगायत अन्य देशहरुको चुनावमा अवरोध गर्न साइबर हतियारको प्रयोग पनि गरेको छ । तर, रुस अन्तर्राष्ट्रिय खलपात्र मात्र हुनसक्छ । यस्ता दुस्साहसहरुका पछाडि यो ओरालो लागेको मुलुक हो ।
सन् १९५९ मा तत्कालीन सोभियत नेता निकिता खु्रुश्चेवले अमेरिकालाई १९७० वा १९८० सम्ममा सोभियत संघले उछिन्ने चर्चित दाबी गरेका थिए । उल्टै १९९१ मा सोभियत संघको पतन भयो जसको परिणाम स्वरुप नराम्ररी खस्किएको रुससँग पहिलेको तीन चौथाइ भूभाग, आधा जनसङ्ख्या, आधा अर्थतन्त्र र एक तिहाइ सेनामात्र बाँकी रह्यो । अमेरिकाको २१ ट्रिलियन डलरको तुलनामा रुसको कुल घरेलु उत्पादन १.७ ट्रिलियन डलरमात्र छ । सन् १९८९ मा सोभियत अर्थतन्त्र चीनको भन्दा दुई गुणा ठूलोे थियो तर आज रुसको कुल घरेलु उत्पादन चीनको सात भागको एक भाग छ । त्यसैगरी निर्यातमा पनि यो ऊर्जामै अधिक निर्भर छ जसमा केबल ११ प्रतिशत मात्र उच्च प्राविधिक उपकरणहरु पर्छन् अमेरिकाको १९ प्रतिशतको तुलनामा ।
भाषा, इतिहास र श्रम आप्रवासले रुसलाई निकट सीमावर्ती क्षेत्रमा नरम शक्ति दिलाए पनि रुसी चलचित्र विदेशमा एकदम कम मात्र हेरिन्छन् भने रुसका कुनैपनि विश्वविद्यालय विश्वका शीर्ष १०० मा पर्दैनन् । त्यस्तै प्रभावकारी बजार अर्थतन्त्रका निम्ति त्यहाँ राजनीतिक संस्थाहरुको ठूलो अभाव छ र प्राकृति साधनको दोहन र सत्ताको दुरुपयोग गर्ने रोबर ब्यारोन प्रवृत्तिको राज्य पुँजीवादमा विश्वास सिर्जना गर्न आवश्यक प्रभावकारी नियमनको पनि कमी छ । सार्वजनिक स्वास्थ्य प्रणाली पनि उत्तिकै कमजोर छ भने यता औसत आयु पनि महिला र पुरुष दुवैका लागि केबल ७२ मात्र रहेको छ जुन युरोपको भन्दा पाँच वर्ष कम हो । यसरी संयुक्त राष्ट्रका जनसंख्याविद्हरुले रुसको जनसङ्ख्या आजको १४ करोड ५० लाखबाट शताब्दीको मध्यतिर १२ करोड १० लाखमा झर्ने अनुमान गरेका छन् ।
भविष्य विभिन्न हुनसक्ने भएपनि वर्तमानको हकमा रुस एक ‘एक बालीमा निर्भर अर्थतन्त्र’ (तेलको निर्यातमा मात्र सीमित) भएको भ्रष्ट संस्था र गम्भीर जनसङ्यात्मक अनि स्वास्थ्य समस्यायुक्त मुलुक बनेको छ । पूर्वराष्ट्रपति डिमिट्री मेडवेडेवले ती चुनौतीलाई सामना गर्ने योजना ल्याए पनि एकदम थोरैमात्र कार्यन्वयन हुनसक्यो भने व्यापक भ्रष्टाचारले आधुनिकीकरण कठिन बनाइदिएको छ । विश्व मञ्चमा रुसको उपस्थिति पुनःस्थापित गराउन पुटिनको नीति सफल रहे पनि देशका दीर्घकालीन समस्याको समाधान गर्ने विषयमा उनी कुशल रणनीतिकार बन्न सकेनन् ।
पुटिनका रणनीतिक अभ्यासहरुमध्ये चीनसँगको गठबन्धनमा सफल हुन पुगेको छ । युक्रेनमाथिको हमलापछि पश्चिमी प्रतिबन्धको सामना गरिरहँदा पुटिनले चीनलाई रुसको ‘सबैभन्दा प्रमुख रणनीतिक साझेदार’ घोषित गरेका थिए । यसको जवाफमा राष्ट्रपति सी जिनपिङले पनि पुटिनलाई ‘आफ्नो सबैभन्दा मिल्ने साथी एवम् सहकर्मी’ घोषणा गरे ।
यसरी परम्परागत शक्ति–सन्तुलनको राजनीतिले अमेरिकी शक्तिप्रति यस्तै प्रतिक्रियाको अनुमान हुन्छ । सन् १९५० मा पनि चीन र सोभियत संघ अमेरिकाविरुद्ध यसरी नै ऐक्यबद्ध भएका थिए । सन् १९७२ मा निक्सनले चीनसँगको ढोका खोलेपछि अमेरिका र चीनले सोभियत शक्तिलाई सीमित गर्न सहकार्य गरेका थिए ।
सोभियतको पतनसँगै सो गठबन्धनको अन्त्य हुन पुग्यो । यसपश्चात् १९९२ मा रुस र चीनले आफूहरुबीचको सम्बन्धलाई ‘सिर्जनात्मक साझेदारी’ घोषित गरे । सन् १९९६ मा त्यो ‘रणनीतिक साझेदारी’ मा परिणत भयो भने जुलाई २००१ मा उनीहरुले ‘मैत्री तथा सहयोग’ सन्धिमा हस्ताक्षर गरे । उनीहरु संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा निकट सहकार्य गरिरहेका छन् भने इन्टरनेटको अन्तर्राष्ट्रिय नियन्त्रणमा समान धारणा राख्छन् । यसका साथै उनीहरुले सहकार्यका लागि बीआरआइसीएस (ब्रिक्स) समूह, ‘सांघाइ कोर्पोरेसन अर्गनाइजेसन’ लगायत विभिन्न कूटनीतिक ढाँचाको समेत उपयोग गरिरहेका छन् । हाल उनीहरु गैरआणविक सैन्य प्रविधि आदानप्रदान गर्छन् र संयुक्त सैन्य अभ्यासहरु सञ्चालन गर्दै आएका छन् ।
तापनि रणनीतिक सहयोगभन्दा अगाडि बढेर चीने–रुस गठबन्धन कायम राख्न गम्भीर बाधाहरुको सामना गर्नुपर्ने हुन्छ । परम्परागत अविश्वास बाँकी नै छ । उन्नाइसौं शताब्दीमा चीनको सबैभन्दा बढी भूभाग लिने मुलुक अरु कुनै नभएर रुस नै थियो । तर, वर्तमानमा सुदुरपूर्वको जनसङ्ख्यात्मक अवस्था हेर्दा त्यहाँ रुसीहरुको सङ्ख्या ६० लाख छ भने चिनियाँ सिमानातर्फको जनसङ्ख्या १२ करोड छ, जुन मस्कोका लागि चिन्ताको कारक हो ।
त्यसैगरी रुसको आर्थिक गिरावटले पनि चीनको उदयप्रति उसको चिन्ता बढाइदिएको छ । व्यापार बढे पनि रुसमा लगानीको कमी छ भने चीनको निर्यात बजारमा रुस दसौं स्थानमा मात्र पर्छ । ‘इकोनोमिस्ट’ले हालै जनाएअनुसार रुसलाई आफू चीनको ‘सानो साझेदार’ मात्र बनिरहेकामा अर्थात चीन आफूमा भन्दा आफू चीनमा बढी निर्भर भएकोमा धेरै चिन्ता छ । फुडान युनिभर्सिटीका फेङ युजुनका अनुसार, “चीनका लागि अमेरिकासँगको सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण छ । हामी माओ र स्टालिनका गल्ती पुनः दोहोर्याउन चाहँदैनौ ।”
तैपनि अमेरिकाले रुसको खस्कँदो अवस्थालाई सहज रुपमा लिई यसलाई दोस्रो दर्जाको शक्तिजस्तो व्यवहार गर्नु हुँदैन । किनभने गिर्दै गएका शक्ति जोखिम लिन बढी हिचकिचाउँ छ भन्ने १९१४ मा अस्ट्रिया–हंगेरीको मामिलामा सत्य साबित भइसकेको छ । उनीहरुसँग उदयमान शक्तिको तुलनामा गुमाउनुपर्ने थोरै हुन्छ । यस्तोमा अमेरिकालाई ध्वस्त पार्न पर्याप्त मिसाइल र आणविक हतियार भएको देश भएकाले पनि रुस अझै अमेरिकाका लागि सम्भावित खतरा बनिरहन्छ । र रुसको सापेक्ष गिरावटले यसलाई आफ्नो परमाणु हैसियत त्याग्न अझ बढी अनिच्छुक बनाइदिएको छ ।
यसरी ओरालो लागेकै भए पनि रुससँग ठूलो स्तरमा शिक्षित जनसङ्ख्या, दक्ष वैज्ञानिक र इन्जिनियर अनि विशाल प्राकृतिक श्रोतसाधन छन् । हुनत, दोस्रो विश्वयुद्धपछिका चार दशकसम्म अमेरिकी शक्तिलाई सन्तुलनमा राखे जसरी राख्न पुग्ने स्रोतसाधन रुसले फेरि पाउने सम्भावना अहिले एकदम कम देखिन्छ । तैपनि, यसको अवशिष्ट परमाणु शक्ति, तेल, ग्यास, साइबर प्रविधिमा यसको दक्षता, युरोपसँगको निकटता र चीन गठबन्धनको सम्भावनाले रुससँग अमेरिकाका लागि समस्या खडा गर्ने क्षमता हुन्छ र यसमा पुटिनको ‘लोकप्रियतावादी राष्ट्रवादप्रतिको मोहले पनि उक्साउँछ । यसरी खस्कदै गएका शक्तिहरु पनि उदयमानले जति नै कूटनीतिक ध्यान पाउन योग्य हुन्छन् । त्यसैले कुनै दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय छाडेपछि अमेरिकाले रुससम्बन्धी गम्भीर रणनीति निर्माण गर्नुपर्ने हुन्छ जसको अहिले अभाव छ ।
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)
(हार्वर्डका प्रोफेसर)
Copyright: Project Syndicate, 2019.