आत्महत्या पछिको आत्मसन्तुष्टि

डा. पुण्यसागर मरहट्टा

 आत्महत्या पछिको आत्मसन्तुष्टि

अलिक अघि नेपाली वाङ्मयका एक अग्ला, बहुआयामिक विद्वानसँग साक्षात्कार गर्ने मौका मिल्यो यहाँ टोरोन्टोमा । नाम, थर अनि प्रा. डा.को फुर्काभित्र खाँदेर नखाँदिने लिम्बुवानतिरका बाहुन — तेर्थुमे सुवेदी ज्यू, हामीले भन्ने गरेका अभि सर । नेपाली साहित्य समाज, क्यानाडाले  उहाँ  अभि सरसँग साक्षात्कार गराइदिने जोहो गरेको थियो । पुलकित हामी आयोजकहरु अलिक अघि पुग्यौँ । गुरु पनि अघि नै आइपुग्नु भयो । मैले त उहाँलाई नचिन्ने कुरो थिएन । उहाँले पनि मेरो एकाध लेख पढ्नु भएको बुझियो । खुसी लाग्यो । मान्छे जति टाढा पुगोस्, जति अग्लोमा पुगोस्, जति विशाल फैलियोस्, उसको बोलीमा माटोको बासना आउँछ भन्ने मेरो जब्बर विश्वासमा अभि सरको बोलीवचनले उकेरा हालिदियो । अभि सरको बोलीमा लिम्बुवानको तीखो सुवास छ । अझ कलाकार चेत भएको हुँदा उहाँ अवाश्यकतानुरूप ‘मिमिक्री’समेत गर्नुहुन्छ भन्ने थाहा थियो । त्यसभन्दा बेसी  बोलीको आधार पैल्याएर को कुन भूगोलको हो भन्नेसम्म अनुमान गर्न सक्नुहुँदो रहेछ । 

म उसो त कोपुण्डोलमा जन्मेहुर्केको हुँ । जरा भने गोरखाबजार हुँदै दरौंदीपारि दारिमचौरसम्म नै पुग्छ । मलाई सोध्नु भो — अनि घर कता नि, पश्चिम?  कि गोरखा नै पो हो कि ? मैले पनि ठट्यौलो पाराले नाममात्रको गोर्खाली रहेँ सर, गोर झिकियो, खाली बाँकी रह्यो भने । हाँसियो । अनि उहाँले उतै पूर्वको बोली निकालेर भन्नु भो — यस्तै छो हाउ जिन्तोकी !

अभि सरले ‘जिन्तोकी’ शब्दको प्रयोग यसरी गरिदिनुभयो कि त्यसले मेरो एउटा लेख तयार गर्ने जग खनिदियो । र, सम्झनाले घिसारेर मलाई धरान लगेर बजारिदियो । नेपालमा रहँदा म मेरो पेसागत उचाइको शिखरमा पुगेको सहर हो धरान । त्यहाँको बोली लवज त्यस्तै हुने गथ्र्यो जस्तो अभि सरले बोलिदिनुभयो । एक अत्यन्तै आदरणीय चौकीदार थिए मैले हाँकेको त्रिविको आङ्गिक इञ्जिनियरिङ्ग क्याम्पसमा — लालवीर लिम्बु । लालबिर हेड चौकीदार त थिए नै, नेपाली प्रजातान्त्रिक आन्दोलनका स्वतन्त्रता सेनानी पनि थिए र सोझै गिरिजाबाबुसँग फोन लगाउन सक्छन् भन्थे क्याम्पसमा । मेरालागि एक वृद्ध स्वतन्त्रता सेनानी भएका कारणले र तत्कालीन अवस्थामा त्रिवि कर्मचारी संघको निवार्चित सभापति भएका कारणले आदरणीय थिए ।

म पदीय हैसियतले सबैभन्दा माथि, लालबिर दाइ करिबकरिब पिँधमा । तथापि उनको उमेर र संघर्षका कथाका कारण उनी मेरा लागि सदैव आदरणीय रहे । सदैव औपचारिकरुपमा नै लालवीर दाइ रहे । मैले सम्बोधनमा समेत लालवीर, लालवीर जी वा हेडचौकीदार भनिन उनलाई । लालवीर दाइ नै भने । लालवीर दाइले पनि हामी दुई जनामात्र रहँदा ’हेरो चिफ सर, तिमीले जान्दौन’ भनेका छन् धेरैपटक । यो उनको म उपरको एउटा अनुपमेय स्नेह थियो । म ३१ को उमेरको हाकिम, उनी मेरो उमेरमा उतिनै थप्दा पनि थोरै हुनेजस्ता । एकबाजी यस्तै कुरै कुरामा लालवीर दाइले भने — हाओ, जिन्तोकी तो सकिपोसकेछ नि चिफ सर ! प्रसंग उनको बिग्रिएको परिवार, अल्मलिएको राजनीतिक बाटो, अनि पत्तै नपाउँदै आँखामा मोतिविन्दुसँगै जोतिएर आएको बुढ्यौलीसँगको आत्मसमर्पण थियो ।

अहिले म आफैँलाई हेर्छु, गम्छु र भन्छु — आधिभन्दा बेसी जिन्तोकी त सकिपोसकेछ त हाउ !

सन् २००० को दशक सम्भवतः नेपाली युवा पुस्ताको श्रमशक्ति निकासका कारणले  सबैभन्दा चलायमान र देशकालागि सबैभन्दा घातक रह्यो । नमान्न त पाइयो नै तर राजतन्त्रको उन्मूलन र माओवादीको मूलप्रवाहीकरणले समेत कुनै  तात्त्विक  परिवर्तन ल्याएको देखिएन न त कुनै सकारात्मक ऊर्जा उत्सर्जित भयो । राजनीतिक परिवर्तन तिनलाई मात्र फदायी भयो जो राजनीतिको नाममा बौद्धिकभन्दा शारीरिक कुस्ती लड्न सक्थे । एउटा नजिर त माओवादी ध्वंशले बसाइदिएकै थियो — कि  पैसा देऊ नत्र प्रताडित हुन तयार होऊ ! 

धरानकै एउटा प्रसंग सम्झिन्छु — मेरो क्वाटरमै आएर केही भाइहरुले ५२ दिनको तलब बराबरको रकम मागे, दिन्न भन्दा धम्की पनि दिए । मैले तर्कले जितेँ — मलाई मार्ने गोलि किन्न मै किन सहयोग गरौँ ? तर, धम्कीका अगाडि लामो तगिएन । धेरै सम्झना छैन, पाँच हजारमा राफसाफ गरियोजस्तो लाग्छ । यसरी ज्यानलाई सकस, दिमागलाई बोझ र कार्यक्षमताभन्दा राजनीतिक आस्थालाई त्वं शरणं भनी स्वीकार नगर्ने दिमाग अनि पाखुरीहरुले मौका पाउनासाथ एक मौन विद्रोह गरे । वास्तवमा मेरो नजरमा त्यो आत्महत्या थियो — सामूहिक आत्महत्या । 

पेसागत उचाइ त्यहाँसम्म पुगेर पनि आत्महत्या गर्ने एउटा हुतिहारा प्रतिनिधि पात्र म पनि हुँ । मैले परिस्थिति सँग जुध्न नसकेकै हो । मैले हिम्मत हारेकै हो । मैले आत्मघात गरेकै हो । र, सामूहिक आत्महत्यामा सहभागी भएकै हो । 

उखान त्यसै बन्दैनन् । ’अरुको लाख, आमाको काख’ यो त झन् त्यस्तो उखान हो जसले घरी आमालाई र घरी हामीजस्ता आत्मघातीलाई रुवाउँछ । पुरानो एउटा लोकगीत जस्तै — ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा ।’ गोरखपुरको रेलमा रुने भन्दा कमसेकम हाम्रो परिस्थिति फरक छ । तिनको आत्महत्या थिएन बलिदान थियो । हाम्रो बलिदान होइन आत्मघात हो । आमा  रुवाउने दुष्कर्म हो । उति बेलै अर्को गीत  प्रचलनमा थियो — ‘नजाऊ छोडी यो देश, आमालाई रुवाएर ।’ जब आमालाई नै रुवाएर हिँडेको छ भने त्यसले के शान्ति पाउँछ ? पाउँदैन । विदेशमा बसेर यो लेख पढ्ने मजस्ता हरेकले छातीमा हात राखेर भनुन् — म खुसी छु, सन्तुष्ट छु र आफ्नो निर्णयप्रति गौरवान्वित छु ।

म जस्ता यस अर्थमा कि आफ्नो आमाको काख छोडी अरुको लाखमा बिक्न हिँडेका नेपालमैं पेसागत उचाइ हासिल गरिसकेका र राष्ट्रले उतिबेला नै पत्याइसकेका आफूलाई विशिष्ट ठान्ने आत्मघातीहरु । सक्दैनौ । किनभने खुसी हुनु र सुखी हुनुमा आकाश जमिनको फरक छ । हामी सुखी हौँला, खुसी छैनौ । त्यसैले सामाजिक संजालमा भँडास पोखिरहेछौँ । खुसी हुन्थ्यौँ भने त नेपाली राजनीतिक, सामाजिक, आर्थिक दैनिकीप्रति निस्पृह रहन्थ्यौँ । खुसी किन पनि छैनौ भने अवचेतन अवस्थामा हरपल आमाको आँसुले पोलिरहेछ । मरेको सन्तान देखेर त विदीर्ण  हुने आमा, जानाजान आत्महत्या गर्ने सन्तान देखेर नरुदीँ हुन् र? हामी मरेका लासले देख्लान् र रोलान् भनेर बलात् आँसु रोकिरहेकिछिन् ।

अलि अगाडि मेरा शिष्य एक जना इन्जिनियर नेताले भने — गुरु, फर्किए तिमीलाई हामी राष्ट्रिय योजना आयोगको माननीय सदस्य बनाउछौँ । म हासेँ मनमनै । समस्या त त्यही पो रहेछ भनेर । ती बिचरा मेरा शिष्य आफैँ उपत्यकाका उपलब्ध हरेक इञ्जिनियरिङ क्याम्पसमा फेरी लगाएर जीवन गुजारा गर्छन् । उब्रेको समय नेताजीको द्वारे हुन पुग्छन् । तिनले मलाई ठाउँमा पुर्याइदिनेछन् भन्ने पत्याएर कुन आँटले फर्किनु मैले? हिजो नेपालमा हुँदै त्यो बाटो मेरो लागि रहेनछ भन्ने बोध भइसकेको अवस्थामा अब मैले गर्नु पर्ने प्रतिस्पर्धी को हुन् भन्ने नबुझ्नु? मिल्दा उनी आफैंँ बन्दा हुन् मलाई बनाइदिने माननीय ! 

भर्खरै जसो मेरो एक पुरानो साथी, नेपाल सरकारको इन्जिनियरले भन्यो — तँ गएको चित्त बुझेको छैन । तँ नेपालमै हुन्थिस् भने यो, त्यो के के गर्न सक्थिस्, के के बनिसक्थिस् । मैले हाँसेर टारेँं । आजभन्दा एक दशकअघि नै हिम्मत हारेर आत्महत्या गरेको मैले अब कुन आँट बटुलेर भन्नु — ठीक भनिस् साथी, म भएको भए यसो गर्थेँ, उसो गर्न सक्थेँ भनेर ! गधा पच्चिसी छुँदै गर्दा खान सुरु गरेको जागिर चालिसे बन्दै गर्दा भर्सेला परोस् भनेर आत्मघात गर्दै कुम्ले भएको म त प्रतिनिधि पात्रमात्र हुँ । 

मजस्ता हजारौं छौँ अहिले नेपाल बाहिर । फलामे ढोका बल्ल बल्ल उघारेर आआफ्नो पेसागत क्षेत्रमा टाउको घुसार्न सफल  एउटा सिसाको सिलिङ्ग मुनि आत्मरतिमा रमाएका । सिसको सिलिङ एक विम्ब हो । अधिकांश अधबैंसे पेसागत आप्रवासीहरु या त फलामे ढोका उघारेरभित्र छिर्ने ल्याकत राख्दैनन् जसले राख्छन ती पनि एकाध प्रयत्नपछि हलाक हुन्छन् र नौनाडी गलाएर छोडिदिन्छन् ।

सयकडा बीस त्यो फलामे ढोका पार गरेरभित्र त पुग्छन्, सिसाको सिलिङका कारण माथि के भइरहेछ देख्छन्, त्यहाँ पुग्ने क्षमता राख्दाराख्दै पनि विविध कारणले त्यहाँ उक्लिन असमर्थ हुन्छन् । पक्कै पनि यता आएर छोराछोरीले राम्रो शिक्षा पाए ।  धारो खोल्दा चिसो पानी, तातो पानी, स्विच पिटिक्क थिच्दा बिजुली, ग्यास, न पेट्रोलको लाइन,  प्रदूषणरहित वातावरण, भौतिक एवं सामाजिक सुरक्षा — गन्दै जाँदा सुखका सूची लामो नै बन्ला तर खुसी नि ? छैनौ । किन होला ? मलाइ त लाग्छ, मनले आफैँलाई सम्झाउन सकिरहेको छैन आत्महत्या सही थियो भनेर । किनभने अवचेतन मनले त बताइरहेछ — तँ कायर होस्, आफ्नै माटोमा फैलिने मौका हुँदाहुँदै पराया माटोमा सर्न जाने !  

खुसी खुद्रे छन् हाम्रा । पढाइअनुरुपको काम पाइयो, सस्तो दर रेटमा घरको ऋण पाइयो, ‘लेटेस्ट मोडेल’को गाडी चढ्न पाइएको छ आदि । यी खुद्रे खुसी हुन् । सन् २००७ को कुनै चाड हुनुपर्छ, अहिले ठ्याक्कै सम्झनामा आएन, हामी रोट्टरड्यामको विनाप्याड होस्टेलमा थियौँ । एक नेपाली कामकाजी आदरणीय चेली गङ्गा चौलागाईं जीले भनेको सम्झन्छु — यो विदेशको चाड, खुवाइ सबै केटाकेटीमा भाँडाकुटी खेलेझैं हो सर, एकछिनको रमझम ।

अहिले देख्दैछु गङ्गा जी सही थिइन् । हाम्रा प्रत्येक सांस्कृतिक पर्वहरु र मनाइने गरेका ढाँचाहरु भाँडाकुटीका खेलमात्र हुन् । किन त्यस खेलमा हामी उत्साहित हुँदारहेछौँ त भनी खोजी पसेँ । त्यही त मौका हो आफ्नो पूर्वजन्म सम्झने । त्यसैले आल्हादित हुने रहेछाैँ । त्यो आल्हाद खद्रे हो । अलि सालअघि एक भुटानी आमाबासँग प्रसंगवश कुरो गर्दा आँखाभरी आँसु बनाएर भन्नु हुन्थ्यो — यहाँको विकासले उँभो हाम्रो पहाडलाई जितोइन नानी ! उहाँहरुलाई पनि दसैँ, तिहार आउँछ, मानिदिएजस्तो, मनाइदिएजस्तो, एकछिनको रामछाया । उहाँहरु त अझ आत्महत्यापछिको जीवनभन्दा पनि कठिन सामूहिक चिहानभित्र पसेर निस्केजस्तो । तिनै भुटानी बा भन्नुहुन्थ्यो — खोइ र गोठ? खोइ र हाउ कोरली ?   

यदाकदा हामीबीच कुरा हुन्छन् । म त फर्किन्थेँ परिवार मान्दैन । निश्चय नै हो, केटाकेटी मान्दैनन् । किनभने उनीहरुलाई जतिबेला हामीले ल्यायौँ, ती अबोध थिए — कलिला बेर्नाजस्ता । तिनलाई हामी छिप्पिएका रुखलाई झैं यहाँको माटोमा सर्न समय लागेन । ती आफ्नो जरा बलियो गरी हाल्दैछन् । महिला पनि मान्दैनन् भन्ने कुरो आयो । मैले यसो बुझिहेरेँ — त्यहाँसमेत हाम्रो बुझाइ फरक छ ।

निश्चय नै घरमा बिजुली, पानी, ग्यासजस्ता आधारभूत खुसी होलान् तैपनि आफ्ना बाबाआमा, माइती, दाजुभाइ सबै छोडी आएका छन् । के आधारमा खुसी होलान् र उनीहरु पनि ? मैले अहिलेसम्म क्यानाडाको चार सहर चहारेंँ । हाम्रो साँस्कृतिक कार्यक्रमहरुमा एउटा कालजयी गीतमा ससाना छोरीहरु नाचेको पाएँ । चलचित्र माइतिघरको ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर, माइतीघर, माइतीघर’ भन्ने गीत । अधिकांश ती नानीहरुको नाचको कोरियोग्राफर हुन्छन् तिनैका मामुहरु । यो गीतपछि लाखौँ गीत आएका छन् बजारमा । किन माला सिन्हादेखि उनकै पनातिनी उमेर सम्मकाले यही गीतमा नाचिरहेछन् ? 

मलाई लाग्छ — ती नानीका मामुहरुको अवचेतनमा माइतीघर वा भनौँ आमाको देश छुटेको तोड छ र त्यही अभिव्यक्त भइरहेछ । सर्सर्ती हेर्दा न घुम्टो हाल्नु पर्ने बाधा, न सामाजिकरुपमा थोपारिएको बुहार्तन, न पेसागत उचाइ हासिल गर्न कुनै रोकतोक । लाग्छ, जिन्सका कट्टु, ढ्याब्रे चस्मा, सेताराता वाइन, चम्किला गाडीका स्टेरिङ, रातबिरातका ‘गेट टुगेदर पार्टी’, मस्त छन् महिला ।

तर, त्यो सत्य होइन । सत्य त्यो भन्दा पृथक र निर्मम छ । त्यसैले मौका पाउनासाथ घन्की हाल्छ माइतीघरको गीत । अधिकांश त आफ्ना पतिले गरेको आत्महत्यामा सती भएर यता आएका छन् । केही पतिलाई आत्महत्याका लागि उक्साउने पनि होलान् । जे जसो भएपनि बँधुवा मजदुरजस्तो भएर ‘मारे पाप, पाले पुण्य’ भनेर बाआमाले थमाइदिएको हातसँगै लागेर आत्महत्यापछिको खुसी खोज्न पसेका अधिकांश दिदीबहिनीलाई हेर्छु — तिनका गहिरा आँखामा अव्यक्त पीडा देख्छु । मूल्यांकनको कसीमा उनका खुद्रे खुसी त्यतिखेर मात्र देख्छु जतिखेर रंगीचंगी साडी लगाएर, भएभरका गहना लगाएर ती छमछम नाच्न पाउँछन् बेपर्वाह । लाग्छ, त्यो क्षण ती आफ्नै आमाको काखमा लुटुपुटु गरिरहेका छन् ।

एउटा लिम्बुवान तिरको ’ जिन्तोकी त सकिपोसकेछ नि हाउ ! ’ वाक्यांशले यति लेख्न उचाल्यो । त्यस्का  लागि अभि सरसँगको भेट माध्यम भएर आयो । पटकपटक सामाजिक संजालमा सबैले देख्ने गरी भगौडा, पलायनवादी भन्दै हकार्ने तर प्राइभेटमा ’’लौ न यार, तँ त गइस् ,हामीलाई पनि झिका न’’ अथवा ‘‘तेरो पो मोज छ’’ वा अझ ‘‘छोराछोरी उतै छन्, हामी पनि आउँदा के होला ?’’ भन्ने साथीहरुका लागि मेरो यही सुझाव छ — आत्महत्या गर्न सक्छौ ? सक्छौ भने गर । आधी जिन्तोकी उतै बिताएर बाँकी जिन्तोकी यता बिताउन सहज त छैन, तर असम्भव पनि होइन । आमा (यहाँ विम्ब स्वरुप प्रयोग भएकी साक्षात देवी) को आसुसँग छेलिएर खुद्रे खुसीका लागि आउन तयार छौ? आऊ ! आइसकेपछि जे भेटिन्छ, त्यसमा सन्तुष्ट हुन सिक, गुनासो नगर । आत्महत्या पनि तिम्रो निर्णय हो, त्यसपछि खोज्ने आत्मसन्तुष्टि पनि । होइन भने तिमीहरुले पाएका सामाजिक, आर्थिक प्रतिष्ठा उपर हामीले यताबाट पनि डाहा त गरिरहेकै छौँ त ! 


 

प्रतिकृया दिनुहोस
ad