site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दसैंका लागि निर्माताको छिनाझपटी, तर छैनन् दसैंकै चलचित्र

काठमाडौं । कथानक चलचित्र निर्माणका विषय के–के हुन सक्छन् ? अहिलेसम्म विश्वमा कुनै पनि त्यस्तो मापदण्ड छैन, जसले चलचित्रको विषय छुट्टयाओस् । यति मात्रै हो मुद्रा, सुरक्षा र परराष्ट्र नीतिमा असर गर्नु भएन । बाँकी चलचित्रकर्मी स्वतन्त्र छन् विषयको छनोट र प्रस्तुतिमा ।

त्यसो भए नेपालमा वार्षिक सयभन्दा धेरै चलचित्र निर्माण तथा प्रदर्शन हुँदा कस्ता र कति विषय समेटिए ? करिब तीन हजार चलचित्रको भीडमा तोकेरै यी चलचित्रले यी विषय उठान गरे भन्न त सहज छैन । तर चलचित्रकर्मीहरु नै भन्छन्, हिन्दूहरुको मुख्य चाड दसैंलाई नै चलचित्रले आजसम्म समेटेका छैनन् । 

“अरु कुनै विषय र प्रसंगसँग जोडिएर चलचित्रमा दसैं र यसका पक्ष तथा विशेषताहरु आए होला तर दसैंलाई मुख्य कथानक बनाएर आजसम्म कसैले पनि चलचित्र बनाएको छैन,” निर्देशक तथा लेखक विनोद पौडेल भन्छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

व्यापारसँग जोडेर हेर्ने गरेका कारण पनि दसैंलाई मुख्य विषय बनाएर चलचित्र नबनाएको हुनसक्ने उनी बताउँछन् । ठूलो लगानी लाग्ने भएकाले लगानीकर्ताले बजार पनि हेर्ने भएकाले पनि दसैंको विषय ओझेलमा परेको हुनसक्ने उनी बताउँछन् । “इन्टरनेशनल फिल्म फेष्टिवललाई लक्षित गरेर चलचित्र बनाउने मेकरको संख्या धेरै भएको भए सायद यस्ता विषयमा पनि चलचित्र बन्थे होला,” विनोद भन्छन् । 

नेपाल र नेपालीको संस्कार र संस्कृतिसँगै पहिचान बनेको दसैंलाई चलचित्रकर्मीले चलचित्रका लागि मुख्य विषय बनाउन भने योग्य सम्झिएका छैनन् । तर त्यही दसैंमा चलचित्र लगाउन भने चलचित्रकर्मीको सधैँ लडाईं झगडा भइरहन्छ । 

निर्देशक तथा चलचित्र लेखक दीपेन्द्र के खनाल दसैं चलचित्र निर्माणका लागि राम्रो विषय भएको बताउँछन् । “जुनसुकै जानराको चलचित्र बनाउन पनि सकिन्छ । दसैंको विषयमा तर यसमा त्यती धेरैको ध्यान नै गएको छैन,” दीपेन्द्र भन्छन्, “मैले पनि यो विषयमा सोचेकै रहेनछु । तर घटस्थापनादेखि टीकाको दिनसम्मको सेलिब्रेसनलाई लिएर राम्रो चलचित्र बनाउन सकिन्छ ।” 

संस्कार र संस्कृति बनिसकेको दसैं मनाउनै पर्ने सामाजिक वाध्यता छ । यही वाध्यताका कारण कतिका लागि दसैं दसा बनेर आउँछ । दुईचार दिनको रमाइलोले ऋण वर्षभरिका लागि ऋण बोकाएर जान्छ । विदेशमा बस्ने आफन्तको अनुपस्थितीमा खल्लो प्रतीत हुने दसैं साँच्चै चलचित्रका लागि गहन कथा हुने र अन्तर्राष्ट्रिय बजारमा देखाउन मौलिक विषय हुने उनी बताउँछन् । 

दसैं, तिहार, छट जस्ता चाडलाई विदा सेलिव्रेसनको रुपमा मात्रै प्रयोग गर्ने गरिएको निर्देशक साम्तेन भुटिया बताउँछन् । अगाडि बन्दै आएका सामान्य विषयमा नै अहिले पनि नेपाली चलचित्र रुमल्लिरहेका कारण नयाँ विषय र प्रस्तुती भित्रिन नसकेको उनी बताउँछन् । लभ स्टोरी, सामान्य एक्सन र कमेडी मै नेपाली चलचित्र अल्झिरहेको छ । 

“दसैं चलचित्रका लागि राम्रो विषय हो । यसका विविध पाटालाई उठाउन सकिन्छ । कुन रुपमा यसलाई उठान गर्ने भन्ने हो,” साम्तेन भन्छन्, “इमोस्नल हिसाबले पनि उठाउन सकिन्छ । ऐतिहासिक संस्कृतिसँग पनि जोडेर चलचित्र बनाउन सकिन्छ ।”

अनुसन्धान गर्ने चलन नहुनु नै दसैं जस्तो महत्वपूर्ण विषयमा चलचित्र नबन्नुको मुख्य कारण भएको उनको भनाइ छ । शोधको अभावका कारण दसैंका लगायत थुप्रै मौलिक विषयलाई चलचित्रमा उठान गर्न नसकिएको साम्तेन बताउँछन् । दसैं नेपाल र नेपाली संस्कार र संस्कृति भएकाले यसलाई चलचित्रमा उतार्न सके विदेशी बजार खोज्न पनि सहज हुने उनको भनाइ छ । 

स्क्रिप्ट राइटर प्रदीप भारद्वाज चलचित्र मेकरहरु दसैं नै टाइटल राखेर दसैंमा केन्द्रित स्क्रिप्ट खोज्न नआउने बताउँछन् । अन्य कथामा दसैं कहिँ कतै जोडिए पनि दसैंलाई नै केन्द्रमा राखेर चलचित्र बन्न नसकेको उनको भनाइ छ । “निर्माताले यस्तो चलचित्रको कथा चाहियो भनेर मागेको अवस्थामा लेख्न सकिन्छ,” प्रदीप भन्छन्, “ब्याच नम्बर १६ निर्माणको क्रममा दसैं फेष्टिवललाई नै मुख्य विषय बनाउने र दसैंमा रिलिज गर्ने भन्ने कुरा भएको थियो तर त्यो प्रोजेक्ट पछि त्यतिकै ड्रप भयो ।” 

तीन दशक लामो नेपाली चलचित्रको इतिहासमा नेपाली सांस्कृतिक पहिचान बोकेको दसैंलाई नेपाली चलचित्रले वेवास्ता गरेपनि आगामी दिनमा मेकरको ध्यान यसतर्फ जानेमा चलचित्रकर्मीहरुको विश्वास छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  ०८:३०
प्रतिक्रिया दिनुहोस्