अब ल्यान्डलाइन राखौं कि काटौं ?

अब ल्यान्डलाइन राखौं कि काटौं ?

टेलिकमको फोरजी उद्घाटन भइरहँदा मलाई भने मेरो ल्यान्डलाइन टेलिफोनको डायलटोन र त्यसबाटै मैले चलाउँदै आएको एडीएसएल इन्टरनेट सेवाको सम्झना भयो । विगत दुई महिनादेखि टेलिफोन कार्यालय धाइरहेको छु । तर, बिग्रिएको फोन मर्मत गरिदिएका छैनन् । बारम्बार अनुरोध र आग्रह गर्दासमेत चासो लिएका छैनन् ।

समस्या आएलगत्तै विराटनगर कार्यालयमा गुनासो गरेको थिएँ । बिहीबार दोस्रो पटक १९८ डायल गरेर फेरि गुनासो दर्ता गराएँ । यसअघि पनि ‘भैहाल्छ’ भन्ने जबाफ आएको थियो । सोमबार आफैँ कार्यालय गएँ । ‘‘तपाइँको फोन अझै बनेको छैन ?’’ भन्दै त्यहीं रहेका एकजना प्राविधिकले उल्टै मलाई नै प्रश्न तेर्स्याए । खासमा डायलटोन आउने बनाउन पोल चढेर उनैले तार जडान गरिदिएका थिए । पन्ध्र दिनअघि तार जडान गर्दै उनले ‘‘भोलिसम्ममा टेलिफोन चल्छ’’ भन्ने आश्वासन दिएका थिए । ‘‘तपाईंले पोल चढेर तार त जोडिदिनु भयो तर फोन आउने र जाने नै भएन’’ मैले जवाफ दिएँ । मैले गरेको गुनासोपछि मेरो फोनको समस्या बुझ्न र पोल चढ्ने गरी आउन उनैलाई एक महिना लागेको थियो । 

मर्मत शाखाका प्रमुखलाई भेटें । उनले ल्याण्डलाइन नम्बर डायरीमा नोट गरे । कुनै प्राविधिकलाई फोन लगाए जस्तो गरे । उताबाट के जवाफ आयो सुनिएन । नजिकै घुम्ने कुर्सीमा बसेका थिए । टेलिकमकै विवरणहरु क्प्युटर स्क्रिनमा हेर्दै थिए । उनले ‘‘अब भरेसम्ममा फोन चल्ने हुन्छ जानुहोस्’’ भने । म निस्किएँ । त्यस्तै समस्या लिएर बीमा संस्थान विराटनगरका प्रमुख पनि पुगेका रहेछन् । उनी पनि दिक्दारी मान्दै सिंढीबाट झरिरहेका थिए । हात मिलाएर छुट्टियौं ।

ल्यान्डललाइनको चक्करमा कर्मचारीबाट म झुलेको ठ्याक्कै दुई महिना भयो । बुधबार पनि पहिले १९८ डायल गरेर फेरि प्राप्त निर्देशनअनुसार ‘कम्प्लेन’ दर्ता गराएँ । त्यसपछि टेलिकम विराटनगरका प्रमुख घनश्याम महासेठलाई"Sir, I am Journalist of baahrakhari.com. I have complained for maintenance of my landline telephone but not any progress. I consulted more than 10 times to complain depart of NTC".  भनेर म्यासेज पठाएँ । त्यसको केहीबेरपछि फेरि फोन लगाएँ । यो पटक फोन उठ्यो ।

दुई दिनदेखि मेरो फोनको उनले ‘रेस्पोन्स’ नै गरिरहेका थिएनन् । रिङ जान्थ्यो तर उठ्दैनथ्यो । पत्रकारको परिचय खुलाएर ‘म्यासेज’ पठाएपछि किन हो कुन्नि उठाए ! मैले मेरो गुनासो र समस्या सुनाए । पत्रकार हुँ भने र मैले काम गर्ने संस्थाको परिचय पनि दिएँ । त्यसपछि उनले लोकसेन सोधे । भनिदिएँ । ‘‘भरेसम्ममा काम हुन्छ चिन्ता नगर्नुहोस्’’ भन्दै महासेठले फोन राखे । हाकिमले नै भनेपछि म आश्वस्त भएँ ।

म दिनभरिको काम सकाएर साँझमा घर फर्किएँ । मोबाइलबाट आफ्नो ०२१५२२०६७ मा फोन लगाएँ । तर, डायल नभई कट्यो । सन् २००४ मा ब्रोडसिट दैनिक पत्रिकाको सम्वाददाता भएर झापा खटिएदेखि नै म टेलिकमको ग्राहक छु । अहिले पोस्डपेड मोबाइल चलाउँछु । दस वर्षअघि तीनघन्टा लाइनमा बसेर लिएको प्रिपेड नम्बर पनि अझै चालु छ । फोन र इन्टरनेटकै बलमा मेरो जागिर चल्छ । यी दुवै नहुने हो भने पत्रकारको त्यसमा पनि अनलाइनमा कामै हुँदैन । मोबाइलमा मासिक रु. २ हजार जति खर्च हुन्छ । एडीएसलमा रु. ८ सय तिर्छु । अनलाइनमा आएपछि घरमा हुँदा इन्टरनेट नभए त झन् अन्धकार नै हुन्छ । केही समाचार छुट्ला भन्ने पिर भइरहन्छ । तर, टेलिकमले मजस्ता ग्राहकलाई त ध्यान दिँदैन भने ‘‘महासेठ जस्ता हाकिमसँग पुग्न नसक्ने ग्राहकको हविगत के होला ?’’ भन्ने मनमा भाव आयो । 

नेपाल पत्रकार महासंघको सिफारिस भए एक निजी इन्टरनेट सेवा प्रदायकले हामी पत्रकारलाई वार्षिक शुल्कमा भारी छुट दिएको छ । तर, म भने दशकदेखि ‘‘राष्ट्रको संचार’’कै सेवा रुँघेर बसेको छु । टेलिकम र उसका कर्मचारीको कृत्यले मलाई बुधबार साँझदेखि भृकुटी कागज उद्योग, हेटौंडा कपडा, विराटनगर जुटमिल्स, गोरखकाली टायर जस्ता कम्पनीको झझल्को आईरहेको छ । 

4G .....जी नबनोस् ! 

दुई दिनअघि प्रदेश योजना आयोगको आवधिक योजना सार्वजनिक गर्ने कार्यक्रम थियो । कान्तिपुर टिभीका प्रदेश १ संयोजक महाप्रसाद खतिवडा भन्दैथिए ‘‘टेलिकमको फोरजी एक्टिभ गर्दा २०० एमबी डाटा फ्री भन्ने सन्देश आयो । तर, पछि त मेन ब्यालेन्सबाटै पो पैसा काटेछ !’’ खतिवडाले यही विवरण राखेर टेलिकम र अरु पत्रकार साथीहरुलाई मेन्सन गर्दै ट्विट गरिरहेका थिए । मलाई पनि रिट्विट गर्न आग्रह गरे ।

उनको जस्तै गुनासो नागरिक दैनिकका चुमन बस्नेतको पनि थियो । मेलै पनि मेरो थ्रीजी सीमलाई फोरजी बनाउन टेलिकमको सन्देश निर्देशनअनुसार गरे । सिम फोरजीमा रुपान्तरण बनेको सन्देश आयो । २०० एमबी डाटा पनि आयो तर, त्यसलाई चलाउने हिम्मत भएन । साथीहरुले ब्यालेन्स कटेको जो सुनाएका थिए । धुमधामसाथ सुरु गरिएको टेलिकमको थ्रीजीबारे सर्वसाधारण र पत्रकार वृत्तमा हिजोआज पनि एउटा हास्यब्यंग हुने गर्छ । ‘‘थ्रीजी भनेर सेवा लिएको अर्कै जी जस्तो पो परेछ, पैसा कट्छ तर चल्दैन ।’’

जिएसएम फोरजीको सेवा शुरु भएको वर्तमान अवस्थामा केही वर्ष अघिसम्म विराटनगरमा २० हजारको संख्या तर हिजोआज घटेर ६ हजारमा पुगेका म जस्ता ग्राहकहरु पनि ल्यान्डलाइन रुँघेर बसेका छन् । ‘‘यस्तै सेवा लिन अब ल्यान्डलाइन राखौं कि काटौँ ?’’ 

 

कुमार लुइँटेल

प्रतिकृया दिनुहोस
ad