site stats
बाह्रखरी :: Baahrakhari
देश
घर लुटपाट गर्ने योजना बनाउँदै गर्दा पक्राउ...

काठमाडौं (रासस) । काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्धको एक घरमा ठूलोमात्रामा नगद तथा गरगहना रहेको सूचनाका आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार साँझ आठ जनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।
      
पक्राउपर्नेमा गोरखा अजिरकोटका कुशल अधिकारी, नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ, नुवाकोट विदुरका धर्मराज तामाङ र पिटर तामाङ गुल्मी इस्माका युवराज भण्डारी, रसुवा छोदिङ्मोका योर्साङ घले, धादिङ खनिबादका विजय तामाङ र नुवाकोट तारकेश्वरका राजन तामाङ पक्राउ परेका छन् । 

पक्राउ परेकासँग प्रहरीले दुई थान चाइनिज पेस्तोल, सोको म्यागजिन दुई थान, सोको गाली चार राउण्ड, नक्कली सुन एक किलोग्राम, फलाम काट्ने औजार एक थान, लुटिएको पर्स, एटिएम कार्ड र मोबाइल दुई थान, मोटरसाइकल चार थान र पक्राउ परेकाले बोक्ने मोबाइल नौ थान बरामद गरेको छ । परिसरले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिका–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्सबारमा लुटपाटको योजना बुन्दाबुन्दै पक्राउ गरिएको जानकारी दिएको हो ।
 
पत्रकार सम्मेलनमा परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले भदौ १९ गते नवलपरासी बर्दघाटका सुन व्यापारी योगेश विश्वकर्मालाई गोंगबुस्थित मुस्ताङ गेष्ट हाउसको ४०४ नम्बरको कोठामा लुटपाट गर्ने समूह रहेको बताए । “सुन व्यापारी विकले दिएको निवेदनका आधारमा प्रहरीको टोलीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएका हौँ”, उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विकको दुई लाखभन्दा बढी लुटिएको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । सिसी क्यामरा र निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा आठ जनालाई पक्राउ गरेको परिषरले जनाएको छ ।

प्रहरीले शुरुमा युवराज भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा बाँकी व्यक्तिलाई पक्राउ गर्न सफल भएको सिंहले बताए । पक्राउ परेका पाँच जनालाई रेष्टुरेन्ट एण्ड डान्सबारका सञ्चालक भएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका अधिकारी भगौडा सेना हुन् । उनी यसअघि पनि नक्कली नोट र नक्कली सुन कारोवारमा पक्राउ परेका थिए । यस्तै भण्डारी सशस्त्र प्रहरी बलका बहालवाला सिपाही हुन् । 

परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले नक्कली सुनलाई सक्कली भनेर किन्न बोलाउने र उनीहरुसँग भएको नगद तथा गरगहना लुट्ने गरेको बताए । पक्राउ परेकाले बोक्ने पेस्तोल चालू अवस्थामा रहेको छ । “विशिष्ट खालको पेस्तोल र गोली बोकेका छन्, पेस्तोल कसरी पाए भन्नेबारे अनुसन्धान जारी छ”, बोगटीले भने । 

नेपाल प्रहरीले पनि उही खालको पेस्तोल बोक्ने गरेकामा पेस्तोल कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ । 


 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  ०७:३१
प्रतिक्रिया दिनुहोस्