हजुरआमाको मोबाइल

हजुरआमाको मोबाइल

मेरो छिमेकमा एकजना ८४ वर्षीया हजुरआमा बस्नुहुन्छ । उहाँका नातीनातिना आधा दर्जनभन्दा बढी छन् । त्यति नै सङ्ख्यामा पनाती पुस्तासमेत उहाँले देखिसक्नुभएको छ । झट्ट हेर्दा कत्ति सुखद छ उहाँको जीवन ! शताब्दी पुग्नै लागेको उमेर, वरिपरि छोराछोरी र नातिनातिना । तर बाहिरबाट देखिएजस्तो सुखद छैन उहाँको दैनिकी । उहाँलाई गफ गर्ने मानिसको अभाव छ । उहाँका कुरा सुन्न परिवारका कुनै सदस्यलाई फुर्सद र चासो छैन । उहाँले सँगालेर राखेका बहुमूल्य अनुभव त्यत्तिकै खेर गइरहेको छ । 

झण्डै पाँच वर्षअघि श्रीमान् गुमाएपछि उहाँ एक्लो हुनुभएको छ । र, उहाँलाई एक्लो पार्नमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ– मोबाइल र त्यसमा उपलब्ध विभिन्न सुविधाहरुले । उहाँलाई लाग्छ– आफ्नो सबैभन्दा ठूलो दुश्मन त्यही मोबाइल र त्यसमा उपलब्ध सञ्जाल हो ।

मोबाइल त हजुरआमा पनि बोक्नुहुन्छ । तर हजार पर्ने नोकिया ब्रान्डको । जसमा दुईतर्फी कुरा गर्ने सुविधाबाहेक अर्थोक छैन, भए पनि हजुरआमालाई चासो छैन । मोबाइलमा घण्टी बज्दा उहाँ ‘हेलो’ भन्नुहुन्छ । र, केही आफन्तका मोबाइल नम्बर त्यसमा क्रमशः सुरक्षित गरिएका छन्, जसलाई थिचेर उहाँ आफ्ना नातागोतासँग कहिलेकाहीँ कुरा गर्नुहुन्छ । 

उहाँलाई सबैभन्दा बढी नातीको माया लाग्छ । नाती कलेज पढ्छ, स्नातक तहमा । तर उसलाई हजुरआमाका कुनै पनि जिज्ञासाका उत्तर दिन मन लाग्दैन । ऊ कलेजबाट घर आएपछि आफ्नै कोठामा पस्छ र मोबाइलमा इन्टरनेट अन गर्दै व्यस्त हुन थाल्छ । 

‘‘कत्ति मुन्टो घुसारेर बसिराख्या मोबाइल हेरेर, गर्धन दुख्छ,’’ एकदिन हजुरआमाले भन्नुभयो । नातिलाई झोँक चल्यो, किनकि त्यतिखेर उसको इन्टरनेट निकै स्लो भइरहेको थियो । उसलाई हजुरआमाको सुझाव किन मन पथ्र्यो र ! त्यसकारण पनि उसको झोँक थपियो, उसले मोबाइल हुर्राएर कोठाको भित्तातिर फालिदियो । मोबाइल फुट्यो, काम नलाग्ने भयो । 

भोलिपल्टै उसको हातमा नयाँ मोबाइल आयो, स्मार्टफोन । मोबाइल फुटेको र आफूलाई नयाँ स्मार्टफोन तत्कालै चाहिने घुर्की जो उसले आफ्नी मातासँग लगाएको थियो ! मातालाई लागेको थियो– पुत्र मोबाइलहीन बस्नु उसको सुख खोस्नु हो ।   

माया गर्ने छोरा पनि छ हजुरआमाको अनि बुहारी पनि असल छिन् । हेरचाह गर्छिन्, खानपानको व्यवस्था समयमै गरिदिन्छिन् सासुका निम्ति । बिहान–बेलुकीको खाना, दिउँसोको खाजा सबै एकाबिहानै तयार पारेर उनी अफिस जान्छिन् । समयको किफायत गर्न उनी सिपालु छिन् । अफिसबाट घर पस्नासाथ कपडा फेरेर उनी मोबाइलमा बसिहाल्छिन् । खानेकुरा त बिहानै तयार छँदैथियो, अब त्यसलाई यस्सो तताउनमात्रै बाँकी थियो ।

आँगनमा थुप्रै गमला छन्, गमलामा फूलका बोटहरु पनि छन् । तर ती पानी नपाएर खङ्ग्रङ्ङ भएका छन् । तिनलाई पानी हाल्ने समय पनि मोबाइलले खाइदिएको छ । केही अघिसम्म त हजुरआमाले हाल्नुहुन्थ्यो फूलका बोटमा पानी । अहिले उहाँलाई पनि गाह्रो लाग्न थालेको छ, दिनहुँ पानी हाल्न । उमेरले पनि धेरै काम गर्न दिँदैन । झ्यालबाट उहाँ फूलका बोटतिर हेर्नुहुन्छ र फूल ओइलाएको देखेर दुःखी बन्नुहुन्छ ।  

छोरा अफिसबाट घर फर्किएपछि मुश्किलले दुई वाक्य बोल्छ आमासँग । औषधि खानुभयो ? खानेकुरा खानुभयो ? र, घोप्टिन थाल्छ मोबाइलको फेसबुकमा । बुहारीको हालत पनि उस्तै छ । नाती, छोरा, बुहारी पनि एकआपसमा गफ गरेको विरलै सुनिन्छ । ती गफ गर्छन्, मोबाइलसँग । हाँस्छन् मोबाइलसँग र रिसाउँछन् पनि मोबाइलसँगै । कतिपय घरायसी कुरा नै पनि तिनले फेसबुक मेसेन्जरबाट आदानप्रदान गर्छन् । 
तिनलाई रिसचाहिँ कतिखेर उठ्छ भने, जतिखेर इन्टरनेट सुस्त हुन्छ । कोही मन परेका पात्रसँग मस्त गफ गरिरहेका बखत इन्टरनेट स्लो हुनु तिनका निम्ति पहाड खस्नुजत्तिकै हुन पुग्छ । 

मोबाइल सञ्चारका नयाँनयाँ साधनले दुनियाँभरिको संस्कृतिलाई एउटा अलग आकार र बाटो दिइरहेको छ । तर यसले नेपालजस्तो तेस्रो विश्व भनिने देशका बूढाबूढीलाई नितान्त एक्लो पार्दै लगेको छ । सञ्चारको अनियन्त्रित उपयोगले मानिसलाई कुन बाटोमा डोर्याउने हो ! परिवारमा प्रेम होइन, तीक्तता भरिदिएको छ यसले । एकआपसमा विश्वास होइन, शङ्का हालिदिएको छ । तिनको अनुहारको आँसु र हाँसो खोसेको छ ।

आवेग, आक्रोश, कुण्ठा, घमण्डजस्ता सारा मानवीय स्वभाव खोसिदिएको छ त्यसले । तिनले मनभरि रुन पनि पाएका छैनन् । छोरासँग गुनासो गर्न पाएका छैनन्, छोरीसँग दुःख साट्न पाएका छैनन् । हजुरआमाले नातीको कपाल मुसार्न पाउनुभएको छैन । स्नेहले आफ्नो छातीमा नातीलाई टाँस्न नपाएको धेरै वर्ष भइसकेको छ ।  

अब मानिस आफूलाई डिजिटल दुनियाँबाट पृथक राख्न नसक्ने अवस्थामा पुगेको छ । तीव्र गतिको इन्टरनेट, ई–सर्भिस, नयाँनयाँ मोडलका मोबाइल तथा क्यासलेस भुक्तानी विश्व अर्थव्यवस्थाको आधार बन्न थालिसकेको छ । खाँचो परेका सामान किन्न बजार धाइरहनु पर्दैन अब ।

पुस्तकदेखि खानेकुरा र लत्ताकपडासमेत एक एसएमएसले घरभित्रै ल्याइपुर्याउन थालेको छ । ई–मतदान, ई–स्वास्थ्य र ई–बैङ्किङ सेवा त अब पुरानो हुने क्रममा पुगिसकेका छन् । केही मुलुकले त इन्टरनेटमा पहुँचलाई मानव अधिकारका रुपमा हेर्न थालिसकेका छन् । हजुरआमाले आफ्ना छोराछोरी र नातिनातिनीसँग कुरा गर्न पाउनुचाहिँ मानव अधिकारभित्र पर्छ कि पर्दैन होला कुन्नि !

मान्छे कत्ति सुविधाभोगी भएका !

पुराना पुस्ताका मानिसले सोच्ने कुरा हो यो । के यो डिजिटल सुविधाले मानिसलाई सुख र खुसी दिएको छ ? भौतिक सुख नै उत्तम सुख हो दुनियाँमा ? अबका मानिसलाई मानसिक सुख वाहियात लाग्न थालेको हो ? प्रश्नका औंलाहरु थुप्रै उठ्न सक्छन्, डिजिटल संसारमाथि । तर्कका ठेली तयार होलान् यसका पक्षमा, तर डिजिटल संस्कृतिले मानिसको वास्तविक सुख खोस्दै लगेको पक्का हो । 

फेसबुकका प्रमुख मार्क जुकरबर्गले नै थुप्रै पटक माफीसमेत मागिसकेका छन् । यो माफी मानिसको आन्तरिक सूचना फेसबुकले छताछुल्ल पारिदिएका कारण मागिएको हो । मानिसको खुसी खोसिएका कारण मागिएको हो । आन्तरिक रुपमा मानिस नाङ्गो हुँदा अवस्था के होला ? थाहा छैन, यसको अन्तिम परिणति कत्ति खतरनाक वा दर्दनाक हुने हो ! 

अहिले कतिपय मुलुक अनलाइन सेवा र त्यसको सुलभता विस्तार गरेर डिजिटल भविष्य विकासमा लागिपरेका छन् । तिनका नागरिक यसबाट कति सुखी होलान् ? ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’मा ती मुलुक कति नम्बरमा पर्लान् ? ह्यापिनेस स्केल मापनमा इन्टरनेट वा मोबाइलको सुविधा त राखिएको छैन ! सम्बद्ध देशका मानिसको इन्टरेनट पहुँचका आधारमा सुख मापन गरिँदैन । मानिसको वास्तविक सुख कहाँ लुकेको हुन्छ भन्नेबारे अहिलेसम्म किन अनुसन्धान र खोज नभएको होला ? 

एउटा प्रसङ्ग फिनल्यान्डको । सुखी नागरिकको देशमा सधैं अग्रपङ्क्तिमा पर्ने देश हो यो । यो सम्पन्न देशको दूरदराजसम्म पनि इन्टरनेट र मोबाइल सुविधा पुगेको छ । तर पनि त्यहाँका अधिकांश मानिस नेटवर्कबाट अलग बस्न रुचाउँछन् । गर्मी याममा त्यहाँका मानिस आफ्नो कटेजमा बस्न जान्छन् । उक्त समय उनीहरु इन्टरनेट चलाउँदैनन् । फिनल्यान्डमा पाँच लाखभन्दा बढी ‘समर कटेज’ छन्, जहाँ मानिसहरु आराम गर्न जान्छन् । आराम गर्ने समय उनीहरुलाई मोबाइल चलाउन पटक्कै मन लाग्दैन । उनीहरु मोबाइलहीन बस्दा निकै आनन्दित हुन्छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले फिनल्यान्डलाई हालै सबैभन्दा स्वस्थ देश मानेको छ । 

साइबर हमला

डिजिटल ढाँचामा अधिक निर्भरताले ठूलो नोक्सानी पनि पुर्याउन सक्छ । अमेरिका र चीनबीचको झगडा यही डिजिटल हानाथापकै कारण भइरहेको छ । मोबाइलमा जडित क्यामेराले जासुसी गरेको आरोप अमेरिकाले चीनमाथि लगाइरहेको छ । अमेरिकाले हुवावे नामको मोबाइलमा प्रतिबन्धसमेत लगाइदिएको छ । 

(छिमेकी हजुरआमा पनि सोच्नुहुन्छ– यो मोबाइल र इन्टरनेटमाथि प्रतिबन्ध लगाउन पाए ! उहाँलाई लाग्छ– आफ्नो खुसीमाथि मोबाइलले हमला गरेको छ ।)

एस्टोनिया नामको देशमा सन् २००७ मै साइबर हमला भयो । त्यसपछि उक्त मुलुकले आफ्ना कपितय कामलाई म्यान्युअल बनाएको थियो । साइबर युद्ध अबको लडाईं हुने अनुमान गर्न थालिएको छ । डिजिटलतन्त्रले कुनै मुलुकमात्र होइन मानिसको जीवनको सारा गोप्यतामाथि धावा बोलेको छ । उसको निजी जीवनको सुख खोसेको छ । 

राजेन्द्र पराजुली

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad