डेड प्याराडाइज

डेड प्याराडाइज

– विकास मरासिनी


परिदृश्य १

म सूर्योदयको प्रतीक्षामा छु । शिशिर याम छ, जाडोले शरीर काँपिरहेको छ । झ्यालमा बसेर रुखका पातमा लागेका शीतकण हेर्दै छु । बाहिर सुनसान छ । मेरो मुखबाट अनवरत रूपमा तातो बाफ निस्किरहेको छ ।

सूर्यको लालीकिरण पूर्वको क्षितिजमा अलिअलि गर्दै देखिन्छ र रुखका पातमा भएका शीतकण तपतप गर्दै भुइँमा झर्छन् । जाडोले कठ्यांग्रिएका केटाकेटी र बूढाबूढी बिस्तारै घरको आँगनमा निस्किन्छन् । मेरो शरीरमा पनि बिस्तारै सूर्यको प्रकाशले स्पर्श गर्छ । मन आनन्दित हुन्छ ।

के मेरो जीवनमा पनि यस्तै सूर्यको उज्यालो प्रकाशले स्पर्श गर्ला ?

लथालिंग जीवन । सपनाको चाप । असन्तुष्ट आत्मा । तनावपूर्ण मगज । अस्तित्व खोजिरहेको आत्मा । मेरो लागि हरेक दिन उस्तै उदास र निरश हुन् । बिहानीको सुनौलो किरणजस्तो छैन मेरो दिन । भन्नेहरू भन्छन्, “प्रत्येक बिहानीले नयाँ दिन र नयाँ बाटो कोर्छन् ।”

तर, मेरो लागि प्रत्येक दिन सुसाइडल स्टेट हो । सुसाइडल डे हो । कुनै डंक मिम देखेर एकैछिन हाँसे पनि सुसाइडल स्टेटमा म पुगेकै हुन्छु र यसैगरी विसंगतिपूर्ण जिन्दगी बाँचेको हुन्छु । 

मन एकतमासको हुन्छ । बा–आमाका सपना कता तुहिए ? मेरा सपना कहाँ हराए ? स्कुलमा गुरुहरूले राखेका अपेक्षा कुन बाटो भएर अलप भए ? मसँग उत्तर छैनन् ।

आफू हुनुको अस्तित्व खोज्छु— म किन जन्मिएँ ? केही पाउन ? केही गुमाउन ? के पाएँ ? के गुमाएँ ?

शून्यभन्दा बढी कहिल्यै पाउँदिनँ । जीवनमा संगति खोज्छु, विकृति र विसंगतिले अँठ्याउँछन् । जीवनको लय खै कहाँनेर गाँठो परेको छ ।

आजकल ममा नित्सेको भूत चढेजस्तो लाग्छ । फरक यत्ति छ कि ऊ वेश्याबिना सुत्न सक्दैन । मलाई सुत्नका लागि कुनै वेश्याको आवश्यकता पर्दैन ।

परिदृश्य २

एक्कासि कफीको तलतल लाग्यो । मेरा पाइलाहरू आफैं डेड प्याराडाइजतिर लम्किए । म टेबलमा बसेर कफीको पर्खाइमा थिएँ । एक्कासि मेरो नजर सेतो दाह्री भएको बूढो मान्छेमा प¥यो । कता–कता देखेजस्तो लाग्यो, एकछिन गम खाएँ ।

अनि बल्ल चिनें— रसियन बूढा लियो टल्सटय रहेछन् । आफ्नो उपन्यासको केही अंश अरूलाई सुनाउँदै थिए । साह्रै बाठा बूढा— हजारौं बिघा जमिनका मालिक, जवानी छउन्जेल मोज गरे । जीवनको उत्तराद्र्धतिर किताब लेखेर आफूलाई शुद्ध पारे ।

उता हातमा चुरोट छोपेर माथितिर हेर्दै स्वर्गका अप्सरासँग कुरा गर्दै रै’छन् महाकवि देवकोटाज्यू । देवकोटाले सायद मनमनै भन्दाहुन् “कास म दश वर्षबढि बाँचेको भए कति राम्रो हुन्थ्यो होला । कालजयी किताबहरुको ठेली लगाउँथें ।”

शंकर लामिछाने कुनै एब्स्ट्र्याक्ट चिन्तनमा डुबिरहेका थिए । रोमान्टिक कवि जोन किट्स आफ्नो मास्टरपिस ‘स्लिप एन्ड पोइट्री’मा हेरबदल गर्दै थिए । २५ वर्षे कलकलाउँदो उमेरमा यो संसार छाडेर गए । नाम कमाउन धेरै बाँच्नुपर्दो रहेनछ भन्ने दिव्य ज्ञान पनि मैले उनैबाट पाएको हुँ । यता हाम्रा देवकोटा पनि कति बाँचे र ? अनि भैरव अर्याल ? शंकर लामिछाने ?

उता पल्लो छेउको भित्तामा भ्यानगग आफ्नो क्यानभासमा रमाइरहेका थिए । मिकेलान्जेलो डेविड र पाइटाको मूर्तिलाई मुसार्दै थिए । उनको छेउमा अर्को कागजको पाना थियो, जसमा उनको प्रेमिल कविता लेखिएको थियो । विलियम सेक्सपियर बूढा पनि देखा परे, जो कहिल्यै स्कुल गएनन् तर पनि नामुद साहित्यकारको रूपमा स्थापित भए । नाम कमाउन बस असल कर्म गर्नुपर्दो रै’छ । 

ठीक यही बेला कोही ‘मेरो प्यारो ओखलढुंगा’ नामक कविता वाचन गर्दै मेरो सामुन्ने आयो । घोरिएर हेरें, वेटर पो रहेछ । मेरो टेबलमा कफी राखेर ऊ मुसुमुसु हाँसिरह्यो र एकछिनमै अलप भयो ।

पछि बल्ल चिनें— सिद्धिचरण श्रेष्ठ पो वेटरको वेशमा आएका रहेछन् । थकथकी लाग्यो । आफैंलाई धिक्कारें । लगत्तै मेरो छेउमा रवीन्द्रनाथ टैगोर बूढा आए र सान्त्वना दिन थाले, “हे बालक ! तँ एक्लो भएर किन दुःख मान्छस् ? आफ्नो बाटो हिडिराख्, पाइला अगाडि बढाइराख् । कसैले बोलाएन भनेर किन दुःख मान्छस् ?”

हो न हो, बूढाले ठीक कुरा गरे ।

परिदृश्य ३

एक्कासि डेड प्याराडाइज क्याफेको एउटा कुनामा दुई व्यक्ति देखिए । मेरो ध्यान त्यतै गयो ।

एकजना अधवैंशे भन्दै थियो, “प्रकृति भनौं या भगवान भनौं— जो जसले बनाए पनि नारीलाई क्या बनायो यार !”

कोकेनले लठ्ठ परेजस्तो देखिने अर्को व्यक्ति बोल्यो, “मलाई त प्रकृतिकै दामी क्रियचर नारी लाग्छ भन्या । जति बुझ्न खोज्यो, उति नै नबुझेजस्तो । नारीदेह बनाउँदा कति समय लगाएको होला है ? कापमा कोपेको होल !”

“नाइ, नाइ, त्यो त होल होइन, त्यो त ब्ल्याक होल हो । यु नो म्यान, दिस वल्र्ड इज बिलोङ टु ब्ल्याक होल । सो कल्ड ब्लाक होल,” अधवैंशेले यत्ति भनेर प्रसंग बदल्यो, “नाममात्र कुमारी हो के यसको । के लाग्छ तँलाई, त्यो केटी भर्जिन छे ?”

कोकेनवाला आवेशमा आयो, “हे यु मोरोन, किप योर माउथ अफ शट, ब्लडी बास्टर्ड ।”

अधवैंशे वचाउमा उत्रियो, “अँ ! रमिताचैं तँलाई माल लाग्छ, अनि कुमारीचैं गतिली । मलाई त दुबै उस्तै लाग्छन् । तैले रमिता र (फूल)कुमारीलाई किन छुट्टाछुट्टै नजरले हेर्छस् ? प्रेम भनेको के हो ? तैले कसलाई चैं बढी माया गर्छस् ?”

कोकेनवाला लठ्ठिएका आँखा देखाउँदै बोल्यो, “अँ, मेरो विचारअनुसार प्रेम व्यक्तिपिच्छे फरक हुन्छ । प्रेमबारेमा मेरो छुट्टै राय छ । अलिक पृथक छ ।”

अधवैंशेले भन्यो, “अँ, सुनौं न त तेरो परिभाषा । तेरो सोकल्ड फिलोसोफी ।”

त्यसपछि कोकेनवालाले स–सानो मन्तव्य दिन अघि स¥यो, “प्रेम व्यक्तिपिच्छे फरक–फरक हुन्छ । कसैलाई देख्दा मसल–प्रेमवाला विचार आउँछ । कसैलाई देख्दा आत्मिक प्रेमवाला । आफ्नै विचारले त हो जीवन जिउने । म कुमारीलाई चोखो माया गर्छु, रमितालाई भने अर्कै तरिकाको यानेकि मंसल–प्रेम गर्छु । आजकल बजारमा मसल–प्रेम छ्यापछ्याप्ती पाइन्छ । तँलाई थाहा छ, रमितालाई मैले मेसेजमा के लेखेको छु ?”

अधवैंशलाई के थाहा होस्— भन्यो, “नभनी कसरी था हुन्छ र ?”

कोकेनवालाले मेसेज देखायो—

“प्रिय ! तिम्रो प्रेम पाउन
म हजार बार स्खलित भएँ
लाखौं बार शिथिल भएँ
तर पनि तिमी मौन छौ, शान्त छौ
तिम्रो त्यो अप्सरारूपी शरीरले मलाई मागिरहेछ
आऊ तिमी–हामी एक होऊँ अनन्तसम्म ।

प्रेम यत्रतत्र सर्वत्र हुन्छ
प्रेम घरदेखि जंगलसम्म हुन्छ
प्रेममात्र सबै पर्याप्त हुँदैन
अब हामीले बुद्ध, लेनिन जन्माउनुपर्छ ।
यो दुनियाँलाई नयाँ रूप दिनुपर्छ ।”

अधवैंशे चकरायो, “यी लाइन कता–कता सुनेजस्तो लाग्यो त हौ !”

कोकेनवालाले भन्यो, “क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको ‘प्रीत’बाट लिइएको हो ।”

अधवैंशे जंगियो, “यसरी अर्काको लेख चोर्न पाइन्छ ?”

कोकेनवालाको दोस्रो चरणको मन्तव्य शुरु भयो, “किन नपाउनू ? उनले पनि त ‘डल हाउस’को कपी ग¥या छन् नि ! यो दुनियाँ कपी र पेस्टमै अड्किएको छ । फेरि अर्को कुरा— सबै कपी गरिँदैन । कपी भए पनि सभ्य भाषामा यसलाई अरूबाट प्रभावित भएको भन्ने बुझिन्छ । बस्— अलिकति रूपरेखाचैं फरक पार्नुपर्छ । तँलाई त थाहै छ होला नि, नाट्यसम्राट बालकृष्ण समको भनाइ छ नि, ‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ’ भन्ने । यो भनाइ अस्तित्वादी सोरेन किर्केगार्डको भनाइबाट प्रभावित छ । के गोपालप्रसाद रिमाल भगवान हुन् ? के सम भगवान हुन् ? हाम्रा महाकवि त सेक्सपियर, किट्स, सेली, वर्डस्वर्थबाट प्रभावित छन् । मानिसहरु कोही न कोहीबाट प्रभावित भएकै हुन्छ ।”

परिदृश्य ४

म डेड प्याराडाइजमा कफीको पर्खाइमा थिएँ । एक कपले मन नभरिएपछि अर्को कप मगाएको थिएँ । मेरो मनपर्ने कफीचैं ब्ल्याक हो । ‘बाथटब’ नाटकमा ‘कालो कफी पिउनेहरूको मन कालो हुन्छ’ भनिए पनि मेरो मन भने कालो थिएन । मन कालो बनाउन नसक्दा मैले जीवनमा धेरै कुरा गुमाइसकेको थिएँ । अब मसित न गुमाउने चिज छ न त पाउने कुनै अभिलाषा नै । म अब बिनाबिकार जीवन जिउँछु । आजसम्म मनमा कुनै पनि कालो पर्दा आउन दिइनँ भने अब किन आउन दिने ? मेरो आत्माले मलाई दिनमा हजारपल्ट यही कुरा सुनाउँछ । म आफ्नो आत्मासित हार्छु । म आफ्नो आत्माबिना रहन सक्दिनँ । बिनाआत्मा फगत शरीर न हो । मासुबाट बनेको शरीर, नाथे शरीर । ब्रह्माजीले कुखुराको सुलीबाट बनाएको गन्हाउने शरीर ।

म आफ्नै लुसिफरसित कुरा गर्दै थिएँ । म बेलाबेलामा लुसिफरसित कुरा गरिरएको हुन्छु । मलाई भगवानमा भन्दा बढी लगाव लुसिफरमा छ । 

यहीबेला कसैले ‘हेलो’ भनी बोलायो । टक्क नजर उठाएर हेर्दै थिएँ, कता–कता चिनेजस्तो लाग्यो । आकर्षक पहिरन, उज्यालो अनुहार, चौडा निदार, बेलीबटम प्यान्टमा सजिएको साठीको जिम मोरिसनजस्तो । मैले बस्न आग्रह गरें । ऊ बस्यो । उसले पनि ब्ल्याक कफी मगायो र भन्यो, “म आइमाईलाई घृणा गर्छु ।”

म ट्वाँ परें । एउटा मान्छे कसरी आइमाईलाई घृणा गर्न सक्छ ? यो त स्वतः नै प्रकृतिको खिलाफ भयो ! फेरि यो मानिस पनि आइमाईको काखबाटै जन्मिएको होइन र ? कि कुनै भैंसी वा गाईबाट ?

मन एकतमासको भयो । मैले गम खाएको देखेर उसले भन्यो, “मलाई था’छ तपाईं के सोच्दै हुनुहुन्छ भनेर । तर, यो कुरा सही हो । म आइमाईलाई साँच्चै नै भित्री हृदयबाट घृणा गर्छु । साँचो अर्थमा भन्नु पर्दा म अहिलेको नित्से हुँ, आधुनिक नित्से । नित्से के ! चिन्नुहुन्छ होला नि ? त्यो के जर्मनीको साइको । ब्लडी साइको । आइमाईलाई भगवानको दोस्रो गल्ती मान्नेवाला के !”

म उसका कुराले वाल्ल परें । मुखबाट शब्दै झरेनन् । ऊ आफ्नै गतिले भट्टाउँदै गयो, “म कुनै आइमाईको काखबाट जन्में तर त्यही आइमाईप्रति मेरो सम्मान छैन । किनभने म चाहेर जन्मेको होइन । म मेरो आफ्नो इच्छाले जन्मेको होइन । त्यसैले मलाई मजाले आइमाईलाई घृणा गर्ने अधिकार छ । मैले जीवनमा धेरै आइमाईलाई प्रेम गरें तर म आइमाईसितको प्रेममा म कहिल्यै स्खलित हुन सकिनँ । आइमाईसितको प्रेममा मेरो वीर्य कहिल्लै स्खलन भएन । त्यो आइमाई पनि के आइमाई, जसले चरम आनन्द नदिलाओस्, वीर्य स्खलित नगराओस् । कम्तीमा पनि दुई दर्जन आइमाईलाई प्रेम गरें तर मेरो आत्माले चरम आनन्दको सीमा भेट्टाउन सकेन । आइमाईसितको प्रेम निकै खल्लो भयो ।”

आफूलाई आधुनिक नित्से भन्ने त्यो उज्यालो अनुहारले गरिरहेका अँध्यारा कुरा मेरो दिमागबाट एकछिन भित्र छिर्नै सकेनन् । ऊ बर्बराइरह्यो, मैले सुनिरहें, “मेरो आत्माले सन्तुष्टि पाउन सकेन । मलाई त चरम आनन्द ज्याक निकोल्सनको अभिनय हेर्दा आउँछ । स्टेफन किङको ‘इट’ उपन्यास पढ्दा आउँछ । जब म कुनै कलाकारको वर्णन गर्छु, कुनै लेखकको कृति पढ्छु, तब म शिथिल हुन्छु । यति मजाले शिथिल हुन्छु कि मेरो कट्टु पूरै भिज्छ । जब मलाई कट्टु भिज्नका लागि आइमाईको साथ चाहिन्न भने मैले किन प्रेम गर्नू आइमाईलाई ? फेरि तपाईंको मनमा लाग्न सक्छ कि यो त समलिंगी रहेछ, आइमाईसित टाढा भाग्ने । म समलिंगी पनि होइन । समलिंगी त कुनै न कुनै शरीररँग आकर्षित हुन्छन् । तर, म कसैसित आकर्षित हुँदिनँ । मलाई चरमोत्कर्ष दिने चिज कला र साहित्य हुन् । म भिन्सेन्टको रंगमा नाच्छु । देवकोटाको स्वच्छन्दतावादमा रहेको रसपान गर्छु । विथोविनको नोटमा झुम्छु । ज्याक निकोलसनको अभिनयमा जीवन्त हुन्छु । किन चाहियो अब मलाई आइमाई ?”

उसले बोलिसकेपछि मेरा आँखा ठूलाठूला भए । उसले धाराप्रवाह शैलीमा आफ्ना कुरा राखिरह्यो । उसको आवाजमा दम छ । उसको तर्कले अनेक तर्क तान्छ । घरिघरि उसको भाषण मलाई मदन भण्डारी र मार्टिन लुथर किङको जस्तै शक्तिशाली लाग्छ ।

मेरो कफी सेलाइसकेको हुन्छ । मलाई कफीको कुनै वास्ता छैन किनभने मैले यो निरस जीवनमा यत्तिको रसिलो मानिस भेटेको थिइनँ ।

एक्कासि ऊ गायब भयो । दायाबाँया नजर लगाएँ, कतै भेटिनँ । उसको टेबलमा एउटा किताब थियो, ‘द गे साइन्स’ भन्ने । मलाई किताबको बारेमा कता–कता सुनेजस्तो लाग्यो । अँ साँच्चै, यो किताब त जर्मनीका महान दार्शनिक नित्सेले लेखेका हुन् क्यारे ! अनि त्यो हँसिलो मानिसले किन किताब छाडेर गयो त ?

अघिसम्म एउटाले ‘नारीलाई क्या बनायो’ भन्दै गुनगान गाउँदै थियो, अर्कोले ‘आइमाई बेकार हो’ भन्दै छ । अधवैंशे, कोकेनवाला र जिम मोरिसनजस्तो देखिने आधुनिक नित्सेले मलाई ज्याक ड्यानियल्सको भन्दा कडा मात दिइरहेका थिए ।

आखिर भगवान् नमान्ने नित्सेले किन महिलालाई ‘भगवानको दोस्रो गल्ती’ भन्यो ?
 

प्रतिकृया दिनुहोस
ad