site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
दुई चरणको मर्जर गराएर बैङ्कको संख्या ‘सिंगल डिजिट’को बनाउनुपर्छ
Sarbottam CementSarbottam Cement

जनक शर्मा पौड्यालले तीन दशकभन्दा बढी बैङ्किङ क्षेत्रमा बिताइसकेका छन् । लन्डनस्थित सवा ३ सय वर्ष पुरानो बैङ्क ‘बाक्र्लेज’ मा दुई वर्ष काम गरेर फर्केपछि उनले ग्लोबल आईएमई बैङ्कको नेतृत्व गरे । अहिले उनी ‘कुलिङ पिरियड’मा छन् । उनको बैंकिङ करियर सन् १९८७ अगस्टबाट सुरु भएको हो ।

उनको बुझाइअनुसार नेपालजस्तो सानो अर्थतन्त्रमा बैंकको संख्या धेरै हुनु हुँदैन । तर, मर्जरले क्रेडिट क्रन्चको समस्या समाधान भने नहुने उनको दाबी छ ।

उनी समय–समयमा नेपालका बैंकिङमा कर्पोरेट गभर्न्यान्सको अवस्था पातलिँदै गएको आफूले अनुभव गरेको बताउँछन् । कर्पोरेट गभर्न्यान्स अभावकै अभावका कारण बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको बताउने तिनै पौड्यालसँग मौद्रिक नीतिको पूर्वसन्ध्यामा बाह्रखरीका रोविन पौडेलले गरेको कुराकानीको सारः

Prabhu Bank
Agni Group
NIC Asia

ग्लोबल आईएमई बैङ्क छाडेपछि पछिल्लो ५ महिना कुलिङ पिरियडमा हुनुहुन्छ । बैङ्किङ क्षेत्रमा अहिले प्रत्यक्ष रुपमा संलग्न नहुँदाको परिदृष्यलाई कसरी हेर्नुभएको छ ?

बैङ्कका विवभिन्न समस्या यथावत् छन् । नेपाली बैङ्कहरु पछिल्लो ३–४ वर्ष क्रेडिट क्रन्चबाट नराम्ररी प्रभावित भए । त्यसको दीर्घकालीन समाधान पत्ता भेटिएको छैन । बैङ्कहरुबीच पनि अस्वस्थ प्रतिस्पर्धा बढिरहेको देखिन्छ । बजेटले ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि बैङ्कहरुसँग लगानी गर्न सक्ने रकम छैन । बैङ्किङ क्षेत्रको मुख्य चुनौती यिनै हुन् ।

Global Ime bank

बढी नाफा र अस्वस्थ प्रतिस्पर्धा गरेको आरोपबाट बैङ्कहरु जोगिन किन नसकेका ?

तथ्यपरक आरोप लगाउने र आरोपका लागि आरोप लगाउने कुरा बिल्कुलै फरक हो । तर, बैङ्कहरुले नेपाल राष्ट्र बैङ्कको नियमविपरीत कार्य गरेको मैले देखेको छैन । रियलइस्टेट र अटोमा लगानी गर्दा लगानीयोग्य रकमको अभाव भयो भन्ने सुनिन्छ । तर बैङ्कले वैधानिक रुपमा गर्न पाउने र सक्ने क्षेत्रमा मात्र लगानी गरेका छन् । सीसीडी ८० प्रतिशतभन्दा बढी लगानी गरेका छैनन् । तर बैङ्कहरुको पुँजीवृद्धि भएअनुसार लायबिलिटी रिसोर्सेसमा समस्या छ । आर्थिक वृद्धि सोचेको जसरी हुन नसक्दा निक्षेपको अभाव भएको हो । बैङ्कलाई यहाँ गल्ती गरिस् भनेर भन्ने ठाउँ म देख्दिनँ ।

यसमा केन्द्रीय बैङ्कको भूमिकालाई कसरी हेर्नुहुन्छ ?

राष्ट्र बैङ्कको भूमिका सकारात्मक नै छ । लगानीयोग्य रकम भएको अवस्थामा बैङ्कले उत्पादनमुखी क्षेत्रमा लगानी गर्न केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।

क्रेडिट क्रन्चको समस्या निक्षेप अभावकै कारण भएको हो । पछिल्लो समय विदेशी बैङ्क तथा वित्तीय संस्थाले विदेशबाट रकम ल्याएर कर्जा प्रवाह गर्ने व्यवस्था छ । तर राष्ट्र बैङ्कले यससम्बन्धी नीति बनाए पनि सम्भावित समस्यातर्फ हेरेन । नेपाली मुद्रा अवमूल्यन हुनु, भारतसँगको स्थिर विनिमय दरले निम्त्याउने जोखिम बैङ्कहरुले थेग्न सक्दैनन् भन्ने मलाई लाग्छ ।

यो जोखिम के–कति हुन्छ भनेर आकलन गर्न सकिँदैन । एक डलरमा ५–६ रुपैयाँमात्र बढ्यो भने अर्बौं भित्राउँदा धेरै ठूलो फरक हुन्छ । बैङ्कले हेजिङको लागत उठाएर लगानी गर्दा त्यसको मूल्य धेरै पर्न जान्छ । यो कस्ट १२–१३ प्रतिशतसम्म पर्छ । यो लगानी केमा गर्ने ? उद्योगमा त परै जाओस्, अन्य आयोजनामा पनि लगानी गर्न सक्ने अवस्था छैन ।

त्यसैले राष्ट्र बैङ्कले खेल्ने भूमिका बढाउन जरुरी म देख्छु । किनकि, देश विकासको अभिभारा राज्यले लिनुपर्छ । लगानी जोखिम पनि राज्यले उठाउनुपर्छ ।

२८ वटा बैङ्क छन्, तर लगानी गर्ने पैसा छैन । विदेशीले पनि लगानी गर्ने बेला सोच्न थाल्छन् । यसका कारण प्रत्यक्ष वैदेशिक लगानी आउन सक्दैन । उद्यमीले निकै राम्रो आइडिया लिएर आए पनि बैङ्कहरुले लगानी गर्न सक्ने अवस्था छैन ।

पुँजी वृद्धि गरेपछि लगानीयोग्य रकमको अभाव देखिएको छ । अर्कोतिर राष्ट्र बैङ्कले रिफाइनान्सिङ सुविधा पनि बढाएको छ, यो राम्रै हो । तर हेजिङ फन्डको मेकानिज्म यहाँ कार्यान्वयन नगरेसम्म विदेशी लगानी भित्रँदैन, लगानीयोग्य रकमको अभाव सधैं भइरहन्छ ।

तरलता समस्या (क्रेडिट क्रन्च) समाधान गर्न राष्ट्र बैङ्कले अपनाउने औजार कतिका प्रभावकारी छन् ? 

तरलता अभाव हुन नदिन राष्ट्र बैङ्कले विभिन्न औजार प्रयोग गर्ने गरेकै छ । ट्रेजरी बिल, रिपो–रिभर्स रिपो आदि प्रयोग गर्ने गरेको छ । क्रेडिट क्रन्चको अभाव तत्काल हटाउने औजार त सीसीडी रेसियो हो ।

बैङ्कहरुलाई निक्षेपको ८० प्रतिशत कर्जा लगानी गर्ने अनुमति छ । समय–समयमा सीसीडीमा राष्ट्र बैङ्क केही लचिलो पनि बन्दै आएको छ । हुन त राज्यको काम आर्थिक गतिविधि बढाउने हो । बैङ्कहरुलाई सघाउँदा देशको आर्थिक गतिविधि बढ्छ । यसमा राज्यका निकाय केही लचिलो बन्नुपर्छ । यसले उद्यमशीलता र रोजगारी सिर्जनामा सघाउ पुग्छ ।

अहिले सीसीडी गणनामा समयसापेक्ष परिमार्जन गर्नु आवश्यक देखिन्छ वा सीसीडीको अवधारणा नै पूर्ण रुपमा हटाउन सकिन्छ । जारी हुन लागेको मौद्रिक नीतिले पक्कै पनि तात्विक र व्यावहारिक रुपमा यो कुरा छुने विश्वास लिएको छु ।

हामीले अपनाउनुपर्ने केही अन्य उपाय पनि छन् । ‘बासेल थर्ड’ कार्यान्वयनको चरणमा छ । यसमा एउटा गज्जबको व्यवस्था छ, नेट स्टेबल फन्डिङ रेसियो । कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको स्थिर फन्डिङ रेसियोले उसको तरलता, क्यास इन–आउटको मापन र नियन्त्रण गर्छ । अर्को छ, लिक्विडिटी कभरेज रेसियो । त्यसले बैङ्कहरुको तरलताको अवस्था र क्षमता मापन तथा नियन्त्रण गर्छ । यसले बैङ्कहरुको तरलता पर्याप्त अवस्थामा पुग्न लागेको जानकारी गराउँछ ।

यी दुई व्यवस्थालाई कार्यान्वयनमा ल्याए सीसीडीमा चिन्ता रहँदैन । यसरी सीसीडी छाडेर एनएसएफआर र एलसीआरबाट तरलता नियम गर्न सके तरलता समस्या समाधान हुन्छ भने २० प्रतिशत थप लगानी गर्ने अवसर आउँछ ।

यसबाहेक हेजिङ फन्डको व्यवस्था गरिदिएर बैङ्क तथा वित्तीय संस्थाले तत्कालका लागि १ खर्ब रुपैयाँ ल्याउन सके अर्थतन्त्र धेरै माथि जान्छ । मौद्रिक नीतिमा यससम्बन्धी व्यवस्था गरे हुन्थ्यो ।केही समयअघि बैङ्किङ क्षेत्रका समस्या समाधान गर्ने भनेर केन्द्रीय बैङ्कका डेपुटी गभर्नरको नेतृत्वमा सुझाव दिइयो । त्यसको प्रभावकारिता कत्तिको रह्यो ?

त्यसले समस्याको पहिचानचाहिँ गर्यो । र, समाधान कसरी गर्ने भन्ने ठोस रुपमा दिशानिर्देश गरे पनि कार्यान्वयन हुन सकेन । समस्या समाधान गर्ने ठोस रुपमा रणनीति लिएर अघि बढेको मैले देखिनँ । आमनागरिकको हैसियतले राज्यमा विकासको प्रचुर सम्भावना भएपछि नीतिगत स्थायित्व र स्थिरता भएको मैले देखेको छैन । म राजनीतिक विचारले विकासमा फरक पार्नेमा विश्वास राख्दिनँ । चीनमा कूल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी भित्रिन्छ ।

क्रेडिट क्रन्च, बैङ्कहरुको मात्र समस्या हो ?

यो २८ वटा बैङ्कहरुको मात्र समस्या होइन, ३ करोड नेपालीको हो । आफ्नो व्यवसाय सञ्चालन गर्ने उद्यमीको समस्या हो, देशको समस्या हो । पहिलो प्राथमिकतामा राखेर साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न समाधान गर्नुपर्नेे समस्या हो । लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैङ्कले केही सोच्ला । यसअघि पनि २० प्रतिशत क्रेडिट ग्रोथ गर्ने लक्ष्य लियौं । तर मौद्रिक नीतिको पूर्वाद्र्धमा १८ प्रतिशत मात्र ग्रो गर्न सक्यौं ।

मौद्रिक नीतिको मुखैमा हामी छौं, लगानीयोग्य रकमको अभाव उस्तै चरम अवस्थामा छ । सजिलो र विस्तृत कार्ययोजनासहितको भाषामा भनिदिनोस् न, यो समस्या समाधान कसरी गर्ने ?

समाधानका उपायबारे मञ्चहरुमा धेरै गफ गरिन्छन् । तर्क र वितर्कका टेबलटेनिस खेलिन्छन् । लगानीयोग्य रकम अभाव समाधानका लागि गरिनुपर्ने कार्य म क्रमैसँग भन्छुः

सबैभन्दा पहिलो, बासेल थर्डको नेट स्टेबल फन्डिङ रेसियो र लिक्विडिटी कभरेज रेसियोले बैङ्कलाई तरलताको जोखिमबाट बचाउँछ । यो संसारभर सफल सूत्र हो । तरलता प्रयोजनाका लागि सीसीडी राख्नुहुँदैन । सीसीडी हट्यो भने बैङ्कमा लगानीयोग्य रकम बढ्छ । २८ वटा बैङ्क प्रत्येकसँग औसत १ खर्ब रुपैयाँ निक्षेप छ । सीसीडी हटाउँदा प्रत्येकसँग २० अर्ब रुपैयाँ लगानीयोग्य रकम थप हुन्छ । र, ५ खर्ब ६० अर्ब रुपैयाँ लगानीयोग्य रकम बढ्छ ।

दोस्रो, साढे ८ प्रतिशतको आर्थिक वृद्धि हुन ३–४ वर्षका लागि प्रत्येक वर्ष कम्तीमा ६ खर्ब रुपैयाँ प्रवाह गर्नुपर्छ । हामीसँग त्यति रकम छैन । त्यसैले प्रत्यक्ष वैदेशिक लगानी अत्यावश्यक छ । त्यसका लागि राष्ट्र बैङ्कले कुनै धितो नराखी कर्जा लिन पाउने व्यवस्था छ । तर नेपाल उच्च जोखिम भएको देश हो । उनीहरुको रेटिङमा हामी विश्वसनीय छैनौं । हामीलाई विश्वसनीय बनाउन राज्यले काम गर्नुपर्छ । अहिले रिस्क प्रिमियम उच्च छ ।

मैले भन्न खोजेको विदेशी ऋणमा हुने जोखिम कम गर्न राज्यले हेजिङको व्यवस्था गर्नुपर्छ । राष्ट्र बैङ्कसँग हरेक दिन, हरेक वर्ष डलर उपलब्ध रहन्छ । उसले डलरको लेनदेन गर्ने हो । त्यसैले कर्जा लिने बेलामा र तिर्ने बेलामा बैङ्कहरुलाई डलर दिए हुन्छ । बीचमा मुद्रा अवमूल्यनबाट हुने जोखिम ती बैङ्कले बेहोर्नु त पर्दैन । अथवा राज्यसँग मिलेर कोष सिर्जना गर्न सकिन्छ । उचित अध्ययन गरेर जोखिम प्रक्षेपण पनि गर्न सकिन्छ ।

विदेशबाट बैङ्कले लगानी भित्र्याउँदा कतिले विदेशी संस्थाले धितो माग्न सक्छन् । यसमा प्रतिफलको ग्यारेन्टि सरकारले गरिदिनुपर्छ ।

तेस्रो, बजेटको आकार पनि सानो छ । पूर्वाधार विकासमा बजेट छ । पूर्वाधारले ऊर्जा खपत कम हुन्छ, समयको सदुपयोग, डेलिभरी इफिसियन्सी बढ्छ । बजेट बढाउनुपर्छ, पैसाले पैसा तान्छ, लगानीले लगानी भित्राउँछ ।

चौथो, हामीकहाँ अनौपचारिक अर्थतन्त्र मौलाउँदो छ । ३२–४२ प्रतिशत अर्थतन्त्र अनौपचारिक छ । यसमा हामी आत्तिएर हुँदैन । तर राज्यले यो अर्थतन्त्रलाई समयसीमा र कार्ययोजना बनाएरै निर्मुल पार्नुपर्छ ।

प्रेषणलाई औपचारिक माध्यमबाट ल्याउन सकिन्छ । विदेशमा कमाएको पैसा वैधानिक माध्यमबाट नेपाल पठाएको प्रमाण वा सबै तलब बैङ्कमा जम्मा गरेको स्टेटमेन्ट नभए भिसा नवीकरण रोकिदिए भइहाल्यो नि ! कि उसले बैङ्किङ च्यानलबाट पठाओस् वा घर आउँदा बोकेर आओस् । डरले भए पनि सबैले बैङ्किङ च्यानलबाट नै पैसा पठाउँथे ।  सिंहदरवारको कुनामा बसेर एक पन्नाको निर्णय गर्न नसक्दा अनौपचारिक अर्थतन्त्र मौलाएको छ । यसबारे ठूलाठूला भाषणमात्र हुने गरेका छन्, त्यो पनि नेता र कर्मचारीबाट । निर्णय लिन उहाँहरुलाई कसले रोकिरहेको छ ?

औपचारिक प्रणालीबाट आए, बैङ्किङ क्षेत्रमा जम्मा हुन्छ । सो रकमध्ये खर्च गर्न चाहनेले केही रकम खर्च गर्छन् । तर बाँकी रहेको रकम त लगानी गर्न सकिन्छ नि ।

पाँचौं, देशको अर्को विशाल समस्या शोधनान्तर घाटा (ब्यालेन्स अफ पेमेन्ट) हो । इतिहासमा हामी सबैभन्दा कमजोर अवस्थामा छौं । आज गर्ने वस्तुको आयातमा ‘सर्ट टर्म’ रुपमा बैङ्कको सबैभन्दा ठूलो कर्जा प्रवाह हुने गरेको छ । यो हिस्सा ४० प्रतिशतको हाराहारीमा छ । यसमा एकदमै अत्यावश्यक वस्तु, औद्योगिक औजार, प्रविधिसम्बन्धी उपकरणबाहेक यहीँ उत्पादन हुने वस्तु आयातमा कडाइ गर्नुपर्छ । नेपालमा आयात यति सहज छ, आज एउटा ट्रेडिङ फर्म खोल्नुस्, भोलि नै आयातको अनुमति पाउनुहुनेछ । बैङ्कले एलसी खोल्दिहाल्छ ।

उत्पादन र निर्यातमा मूल्य अभिवृद्धि नगर्ने उपभोग्य वस्तुको आयातमा शतप्रतिशत एलसी नदिए हुन्छ । शतप्रतिशत मार्जिनबिना बैङ्कले कर्जा दिनुहुँदैन । यसो गर्दा बैङ्कको मार्जिन डिपोजिट बढ्छ । बढीमा ५ प्रतिशत मार्जिनमा एलसी खोलिन्छ । फेरि अस्वस्थ प्रतिस्पर्धाले अर्कोले त्योभन्दा कममा एलसी खोलिदिन्छ !  धेरै बैङ्क हुँदा व्यावसायिकता हरायो । आजभन्दा ३१ वर्ष पहिले म बैङ्कमा काम गर्दा निर्यात विभाग भन्ने छुट्टै अङ्ग थियो । अहिले निर्यातको डकुमेन्टेसनका लागि कर्मचारीलाई सिकाउन स्याम्पल पनि भेटिँदैन । प्रत्यक्ष वैदेशिक लगानी पनि जीडीपीको २ प्रतिशतमात्र छ ।

छैटौं, विदेशी बैङ्कका शाखा नेपालमा खोल्नुपर्छ । एक दशकअघि नेपाली बैङ्क ती बैङ्क प्रतिस्पर्धा गर्न नसकेर उल्टै उनीहरुलाई फर्काए । विदेशी बैङ्कहरुको नेटवर्थको हिसावले उनीहरु नेपालमा जतिपनि लगानी गर्न सक्छन् ।

सातौं, सरकारले बजेटको आकार बढाउनुपर्छ । बजेटको मात्रा बढाएर मात्र हुँदैन, समयमा बजेट खर्च गर्नुपनि पर्छ । सरकारको बजेट खर्चको तरिका चार बाली लाग्ने खेतको झैं हुनुपर्छ ।

दिनहुँ युवा विदेशिने क्रम जारी छ । राज्य नै विप्रेषणमा खुसी देखिँदा आगामी समयमा झनै भयावह अवस्था सिर्जना हुन्छ ।

यी विषयमा ध्यान दिन सक्दा तमाम समस्या समाधान हुन्छ । अन्तरवार्ता र टिकाटिप्पणीले मात्र देश बन्दैन । अब देशमा ‘पाराडाइम सिफ्ट’ चाहिएको छ । शासनव्यवस्था राजतन्त्रबाट गणतन्त्रमा गएझैं आर्थिक नीतिमा पनि आमूल परिवर्तनको आवश्यकता छ । पुरानै तरिकामा हल्का अदलबदलले अब काम गर्दैन ।

यहीँ रोजगारी सिर्जना हुन्छ । राष्ट्र बैङ्क जुन लयमा गएको छ, राम्रो छ, यसमा अझै एग्रेसिभ हुनुपर्छ ।तपाईंको अभिव्यक्तिमा पनि आयो कि धेरै बैङ्क हुँदा व्यावसायिकता हरायो भन्ने । मौद्रिक नीति आउनुभन्दा पहिले पनि फोर्स मर्जरको कुरा चलिरहेको छ । यो विषयलाई कसरी हेरिरहनु भएको छ ?

मर्जरको कुरा पनि टेबलटेनिस खेलेको झैं भइरहेको छ, तर्क र वितर्क । नेपालमा पनि बैङ्कको संख्या बढी छ भन्ने कुरामा म सहमत छु । तर, कति हुनपर्ने र यति नै हुनुपर्छ भन्ने आधार छैन । बेलायतले ४ वटा बैङ्क राख्यो । हामीकहाँ राज्यले केही बोलेकै छैन, अध्ययन गरेकै छैन । आर्थिक नीति उदारवादी छ । नियन्त्रण र लघु व्यवस्थापनतर्फ हामीले ध्यान दिएकै छैनौं ।

संख्या यति नै हुनुपर्छ म भन्न सक्दिनँ । किनकि, सो संख्यामा म तर्क दिन सक्दिनँ । तर, बैङ्कको संख्या मर्जर भएर घट्यो भने राम्रो गर्छ । त्यही भएर नियामक निकायले मर्जरको नीति ल्याउनु सराहनीय कार्य हो । तर, मर्जरको औचित्य के ? भनेर लामो किटान र गृहकार्य आवश्यक छ ।

तीन वर्षअघि पुँजी बढाउँदा बैङ्कको संख्या ३२ बाट २८ मा झर्यो । सांकेतिक कुरा गर्ने हो भने, पहिले २–२ अर्बको ३२ गाई पालेकामा पुँजी बढाएर ८–८ अर्बको २८ वटा हात्ती पाल्यौं । अनि गाईले १२ महिनामा खाने अन्न (निक्षेप) हात्तीलाई तीन महिनालाई मात्र पुग्यो । अनि तीन महिनामा क्रेडिट क्रन्च दोहोरिनु स्वभाविक हो । हरेक वर्ष त्यो दोहोरिएकै छ ।

त्यसो भए बैङ्कहरु मर्जरमा जाँदा उनीहरुलाई के फाइदा हुन्छ त ?

पहिलो कुरा त अहिले भइरहेको अस्वस्थ प्रतिस्पर्धा धेरै मात्रामा घट्छ । त्यसले अर्थतन्त्र र प्रोफेसनल गभर्न्यान्सलाई समर्थन गर्छ । र, बैङ्कका बोर्ड, सञ्चालक, व्यवस्थापन समिति पनि थप ‘प्युरिफाइ’ हुन्छ । किनभने दक्ष र अनुभव भएका मान्छे मात्र बैङ्किङ क्षेत्रमा रहन्छन् । बैङ्क बुझ्दै नबुझेका मान्छेले बैंक चलाउनुभन्दा बैङ्किङ बुझेका तथा खारिएर आएका तथा दुरदर्शी मान्छे मात्र बाँकी रहन्छन् । क्षणिक निर्णय गर्ने मान्छे बैङ्किङ प्रणालीबाट आउट हुन्छन् ।

दीर्घकालमा अपरेसनल इफियन्सि बढाउँछ भने अपरेसनल कस्ट घटाउँछ, उत्पादकत्व पनि बढाउँछ । सुरुमा केही व्यक्ति यस प्रणालीबाट साइड लाग्न कस्छन् । सञ्चालक सञ्चालक रहँदैनन् । अध्यक्षको संख्या पनि बैङ्कको संख्या जतिले घट्छ त्यतिले नै कम हुन्छन् । प्रमुख कार्यकारी अध्यक्ष पनि सोही अनुसार घट्छन् ।

यसको अर्थ एकदमै जाने बुझेका बैङ्करमात्र बाँकी रहन्छन् ।

अरु देशको उदाहरण हेर्दा नेपालमा बढी हो । तर, मैले हचुवाको भरमा ‘यति बैङ्क आवश्यक’ भन्न उचित हुँदैन । बैङ्कको संख्या घटेको राम्रो, मर्ज भएर घटेको झनै राम्रो । यो कार्य पनि स्वस्थ हुनुपर्छ ।

फोर्सफुल मर्जर आवश्यकता, बाध्यता कि जोखिम निम्त्याउने तत्व ?

फोर्स मर्जरले नसोचेको प्रणालीगत जोखिम निम्त्याउँछ । पहिले पुँजीवृद्धिको समयमा पर्याप्त गृहकार्य नगर्दा क्रेडिट क्रन्चको समस्या आयो जुन अझै समस्या समाधान हुन सकेको छैन । म अझै पनि, अर्थतन्त्रको सिद्धान्तअनुसार अन्य अवस्था यथावत् हुँदा अरु ४–५ वर्ष क्रेडिट क्रन्चको समस्या समाधान हुँदैन ।

बैङ्कको क्षमता एकैपल्ट बढेको छ । उनीहरुसँग २८ खर्ब निक्षेप छ, २४–२५ खर्ब कर्जा दिने बजारमा छ । तर, उनीहरुको कर्जा प्रवाह गर्ने क्षमता ३६–३७ खर्ब छ । तर, बजारमा उद्यमीहरु कर्जा लिन बैङ्कमा लाइन लागेर बसेका छन् । पुराना परियोजना लगानी नपाएर अड्किएर बसेका छन् । किनकी बैङ्क कर्जा दिन सक्ने अवस्थामा छैनन् । यसले कतिपय आयोजना समयमा सम्पन्न हुन सकेका छैनन् ।

१२ खर्ब थप कर्जा दिन सक्ने बैङ्कको क्षमता मिट गर्ने अहिले आधा छैन । तत्कालका लागि मैले माथि भनेका बुँदा कार्यान्वयन गर्नुपर्छ । राज्यले कडाइ गरे सबै कठीन हुन्छ ।

रिफाइनान्समा अहिले दिँदै आएको ५० अर्ब रुपैयाँ पनि पर्याप्त छैन । कमर्सियल रेट अलिकति कममा ब्याजदरमा प्राप्त रिफाइनान्सको रकम बढाइएको निर्यात बढाउन सकिन्छ । तर, त्यो रकम निर्यातमा खर्च गर्नुपर्छ ।

त्यसैले नेपाली अर्थतन्त्रका लागि मर्जर अत्यावश्यक छ । तर, मर्जर सम्भवतः भोल्युटियरि हुनुपर्छ । राम्रो मर्जरले बैङ्किङ क्षेत्रमा सिनर्जि ल्याउँछ । फोर्स मर्जरले विघटन, टकराव तथा नकारात्मक भावना बढाउँछ । त्यसैले ७ दिनभित्र मर्जर गर्न समयसीमा तोकिने स्वस्थ अभ्यास होइन कि !

बैङ्कले आफ्नो स्रोतको भरपुर उपयोग गरेर उच्च प्रतिफल कमाउने हो । किनकी बैङ्क नाफामूलक संस्था हो । सेयरधनीको विश्वास र आत्मविश्वासका लागि भएपनि नाफा कमाउनै पर्दछ । बैङ्कहरुले नाफा धेरै गरे भन्ने आरोप पनि आधारहीन हो । किनकी पुँजी लगानीको अनुपातमा हेर्दा बैङ्कको नाफा बढी छैन । १६–१७ लगानी गरेर ४ अर्ब नाफा गर्नु स्वभाविक हो । औसतमा १२–१५ प्रतिशत प्रतिफल छ । यो भन्दा ३ गुणासम्म पनि नाफा अनुपात भएका व्यवसाय नेपालमा चलेकै छन् ।

संख्या घट्नुपर्छ । प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ । यसले एउटा गुणस्तर सिर्जना गर्छ र फलस्वरुप क्वालिटी कन्ट्रोल पनि हुन्छ । र, बैङ्क प्रोफेसनलहरुले मात्र चलाउँछन् । यसले गर्दा अनुभव नभएका मान्छे ल्याएर सम्झौता गर्नुपर्ने अवस्था आउँदैन । सीईओ नपाएर बैङ्क भौतारिनु पनि पर्दैन ।

सीमित निक्षेपका माझ बैङ्कको संख्या घटाएर क्रेडिट क्रन्चको समस्या समाधान होला त ?

मर्जरको उद्देश्य र औचित्यमाथि त्यही भएर उचित गृहकार्य आवश्यक छ भनेर मैले भनेको । लगानीयोग्य रकम अभाव भएका कारण मर्जर गराउनुपर्छ भन्ने कसैको मनसाय छ भने त्यो विल्कुलै गलत हो । मर्जरले क्रेडिट क्रन्चको समस्या समाधान गर्दैन ।

आज सबैभन्दा कम सीसीडी रेसियो हुने बैङ्कको ७६ प्रतिशत र उच्च करिब ८० छ । यसको अर्थ सबै बैङ्कलाई मर्ज गराए पनि बनेको एउटा बैङ्कको सीसीडी ७७–७८ प्रतिशत हुन्छ । सीसीडीको लगाम लगाएर जति मर्ज गरेपनि क्रेडिट क्रन्चको समस्या समाधान हुँदैन । लगानी गर्ने स्पेस नबढाएसम्म लगानीयोग्य रकमको अभावको समस्या समाधान गर्दैन ।

क्लोजिङको बेलामा मर्जरको बाध्यतामा राख्दा बैङ्क मर्जरको गृहकार्य गरिरहेका होलान् त ? यो व्यावहारिक छ ?

बैङ्कहरुलाई यो मनोवैज्ञानिक दबाब हो । असार मसान्त अरु त्रैमासिकको अन्त्यजस्तो होइन । हो त्रैमासिक भनेको बैङ्कको ‘डेट्रिमेन्टल क्वार्टर’ हो । वार्षिक प्रतिवेदनकै आधारमा बैङ्कको अवस्था निर्धारण हुन्छ । यसैका आधारमा बैङ्कको विविध पक्षको विश्लेषण गरिन्छ । यो चुनौतीका माझ दिन तोकेर ‘मर्जरमा जा !’ भन्नुजति अबुझपन केही होइन ।

यसरी फोर्सफुल मर्जर गराउँदा प्राणालीगत जोखिम झनै बढेर आउँछ । यसरी अस्वस्थ मर्जर भए, पछि समस्या आउँछ । पछि छुट्नुपर्ने अवस्था आए कस्तो कानुनी प्रक्रिया के हुने भन्न्नेबारे पनि स्पष्ट पारिनुपर्ने ।
किनकि जबरजस्ती विवाहले निश्चित रुपमै सम्बन्धविच्छेद निम्त्याउँछ ।तपाईंको विचारमा बैङ्कको संख्या कति ठीक हुन्छ ?

मैले पहिले नै भनिहालेँ । मसँग संख्या भन्ने आधार छैन । तर, सायद नेपालका लागि ‘एक अङ्क’को बैङ्क संख्या उचित हुन्छ । संख्या नियामक निकाय वा राज्यले तोक्नुपर्छ । नत्र संख्याको कुरा बहस र तर्कको विषय मात्र बन्छ ।

वास्तवमा नेपालमा दुई चरणको मर्जर आवश्यक छ । पहिलो चरणमा व्यवस्थापन, कर्पोरेट गभर्न्यान्स, व्यावसायिक रुपमा कमजोर मानिएका १० वटा वाणिज्य बैंकलाई तत्काल मर्जरमा लैजानुपर्छ । यसो गर्दा १८ बैंक बाँकी रहन्छन् ।

ती बैंकलाई अर्को चरणमा मर्जर गराएर नेपालमा बैंकको संख्या सिंगल डिजिटको भए नेपालमा आइडियल, स्ट्रङ, दीगो र दीर्घकालमा विदेशी बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने बैंकिङ प्रणाली विकास हुन्छ ।

ग्लोबलमा रहँदा र पछि पनि तपाईंले धेरै सफल मर्जरहरु गराउनुभयो । कस्तो लाग्छ ?

मेरो अनुभवमा १० वटा संस्था मर्ज गरियो । विभिन्न किसिमको अनुभव भयो । कस्ता र कत्रा संस्था आउँदा कस्तो हुनेरहेछ भन्ने अनुभव भयो । सबै राम्रो भयो, मलाइ गर्व लाग्छ ।

स्वस्थ मर्जर गराउन के गर्न सकिन्छ ?

बैङ्कहरुलाई पर्याप्त समय दिनुपर्छ । राष्ट्र बैङ्कले कम्तिमा ३ महिनाको समय दिएर आकर्षक प्रोत्साहन दिइनुपर्छ । धेरैलाई आफ्नो आकार ठूलो होस् भन्ने पक्कै लाग्दछ । १६ अर्ब रुपैयाँ पुँजी भएको बैङ्क सानो होइन ।

पुँजीवृद्धि गर्न दुई वर्ष समय दिइयो । यो बेला हकप्रद सेयर जारी गर्न दिइयो । निक्षेप पुँजीमा परिवर्तन भयो । र, क्रेडिट क्रन्चको समस्या सिर्जना भयो । बैङ्किङको निक्षेप र कर्जाको फरक भनेको म्याराथुन सुरु गरको सक्न लागेको धावकझैं भयो । निक्षेप भर्खर सुरु गर्दैछ । कर्जाले दौड सक्न लागिसक्यो ।

त्यतिबेलै राइट नदिएर बैङ्क नघटेको भए बैङ्कको संख्या कम हुन्थ्यो । मर्जर स्वस्थकर हुनुपर्छ ।

यसका लागि बैङ्कहरुलाई प्रोत्साहन दिन सकिन्छ । उदाहरणका लागिः असार मसान्तभित्र मर्जरको नाम लिएर आउने बैङ्कलाई दुई वर्ष कर मिनाहा गरिदिने घोषणा गरिदियो । भोलि नै जोडी लिएर आउँछन् । किनकि वर्षको एक अर्ब त त्यही बच्यो । पुँजी ठूलोले बढ्छ । लगानीकर्तालाई सोहीअनुसार प्रतिफल मिल्छ । भलै राज्यलाई एक अर्ब रुपैयाँ राजस्व कम होला । तर, राज्य दीर्घकालका लागि केही उपलब्धी खोज्छ भने केही बलिदान त गर्नैपर्छ ।

नेपालमा ठूला संस्थाबीच मर्जर गराउन कस्ता चुनौती छन् ?

नेपालमा मर्जरलाई बुझ्ने, मर्जर गराउन सक्ने, नेतृत्व लिन सक्ने मानव संशाधनको अभाव छ । मेरो बैङ्कको अवस्था यस्तो छ, मलाई मर्जर आवश्यक छ भनेर बैङ्क स्वयम्ले बुझ्नुपर्छ ।

तपाईंले यसअघि भनेझैं असार मसान्तमै जोडी खोज्नुपर्दा एउटा प्रश्न त उठिहाल्छ– ‘म किन सम्झौता गर्ने ? बैङ्कको अध्यक्ष को बन्ने ? प्रमुख कार्यकारी को बन्ने ? यस्तैमा कुरा मिल्दैन ।
तर, दुवैले एकअर्कालाई बुझ्ने, भोलिको बोर्डको संरचना कस्तो हुनेबारे सम्झौता गर्न चुनौती छ । अहिलेजस्तो दबाबका बीच मर्जर स्वस्थ हुँदैन । नत्र, हतारमा विहे गर्यो, फुर्सतमा पछुतायो जस्तो हुन्छ ।

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC