प्रदीप भट्टराईले लामो समय मह सञ्चारसँग काम गरे । टेलीचलचित्रबाट सुरु रङ्गीन दुनियाँको उनको यात्रा अहिले ठूलो पर्दासम्म आइपुगेको छ । ०७३ मा उनले पहिलो पटक फिचर फिल्म ‘जात्रा’ निर्देशन गरे । ‘जात्रा’बाट सफलता पाएका प्रदीपले त्यसको एक वर्षपछि मह सञ्चारको ब्यानरमा चलचित्र ‘शत्रु गते’ निर्देशन गरे । अहिले उनी तेस्रो कथानक चलचित्र लिएर आउँदैछन् । जेठ ३ गते प्रदीपको कथा तथा निर्देशनमा ‘जात्रै जात्रा’ आउँदैछ । सुरुमा ‘जात्रा’ सिक्वेल बनाउँदिन भनेका उनी अहिले त्यही चलचित्रको सिक्वेलका रुपमा ‘जात्रै जात्रा’ लिएर आउन लागेका हुन् । किन ? चलचित्रमा लगानी बालुवामा पानी भइरहेका बेला कसरी बनाउन सकिन्छ दर्शक तान्ने चलचित्र ? सुरुका दुईटा चलचित्रमा मह जोडीको प्रत्यक्ष सहभागिता देखिए पनि तेस्रो चलचित्रमा मह जोडीको उपस्थिति देखिएको छैन, किन ? यी र यस्तै प्रश्नको सेरोफेरोमा निर्देशक प्रदीप भट्टराईसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
‘जात्रा’ रिलिज भइसकेपछि यसको सिक्वेल आउँछ ? भनेर सोध्दा आउँदैन भन्नुहुन्थ्यो । तर अहिले सिक्वेलका रुपमा ‘जात्रै जात्रा’ बनाउनु भयो । किन आाफ्नै अडानमा पनि अडिन सक्नु भएन ?
चलचित्रमै काम गरेपछि केही न केही गर्नैपथ्र्यो । त्यसमा पनि ‘जात्रा’ रिलिज भएपछि यसको सिक्वेल चाहियो भन्नु भएको थियो । ‘जात्रा’को क्लाइमेक्स मन पराउने दर्शकले पनि भाग दुई बन्नुपर्छ है भन्नु भएको थियो । एकथरी दर्शक क्लाइमेक्स हेरेर कस्तो ठाउँमा सकेको ? अपूरो भयो भनेर निरास हुनु भएको थियो । उहाँहरुले पनि बाँकी के हुन्छ अर्को चलचित्रमा देखाउनु पर्यो भन्नु भएको थियो । यी सबै कुराले भित्री मनमा चाहिँ बनाउनु पर्छ कि भन्ने थियो । तर चलचित्र बनाइहाल्ने र पैसा कमाइहाल्ने भन्ने लोभ थिएन । त्यही भएर करिब तीन वर्षपछि यो चलचित्र आउन लागेको हो ।
स्क्रिप्ट लेख्न कति समय लाग्यो ?
स्क्रिप्ट लेख्नुपर्छ भन्ने भएपछि दिमागमा विभिन्न आइडिया आए । लेख्यो, चित्त बुझ्दैन, च्यात्यो । लेख्यो, चित्त बुझ्दैन, च्यात्यो । धेरै पटक यो क्रम चल्यो । दर्शकले त्यो २ करोड ८० लाख रुपैयाँ कसरी नक्कली भयो ? र त्यो पैसा कहाँ गयो मलाई थाहा छ भन्नु हुन्थ्यो । तर म कथाले लेख्ने र चलचित्र निर्देशन गर्ने स्वयम्लाई भने थाहा थिएन । किनभने हामीले त क्यारेक्टर जन्माउने र बगाउने काम गरेका थियौं । त्यही भएर कुन आइडियाबाट चाँहि सबै दर्शकलाई कन्भिन्स गर्न सकिन्छ भन्ने छलफल गर्यौं । हामीले निकालेको अन्तिम आइडियामा हाम्रो टिममा सबै व्यक्ति कन्भिन्स भएपछि त्यसमा काम सुरु गरेका हौं ।
यति गर्नका लागि हामीलाई लामै समय लागेको छ । अन्तिम आइडिया आएपछि साढे ६ महिना स्क्रिप्ट लेखनमा खर्चिएका छौं । जबकि मैले जात्रा १७ दिनमा लेखेको थिएँ । आइडिया गर्भाधानको कुरा गर्दा त अढाई वर्ष अगाडि बाट दिमागमा यसरी यो कथालाई थप अगाडि बढाउन सकिन्छ भनेर विभिन्न आइडियाहरु आइरहन्थे ।
नयाँ स्टोरीमा काम गर्न सजिलो कि सिक्वेलमा ?
सिक्वेलमा काम गर्न निकै कठिन रहेछ । पुरानै आइडियामा बाँधिनुपर्ने । पुरानो स्टोरीबाट दायाँ–बायाँ गर्न नपाइने हुँदोरहेछ । अपेक्षा पूरा पनि हुनुपर्यो । दुई–तीनवटा कुरालाई जस्टिफाई गर्दा बन्छ कि भन्ने थियो । तर कहाँ बन्नु ? बन्दोरहेनछ । त्यही मात्रै गर्यो भने त साँच्चै हामीले समाजमा भन्ने गरेको जात्रै जस्तो हुन्छ । ‘जात्रै जात्रा’ बनाउन त मेहनत चाहिने रहेछ । क्यारेक्टरको जिन्दगी त अझै दुःखमा पर्नुपर्यो । जेलमा परेपछि जिन्दगी तहसनहस हुनुपर्यो । दुःख हेरेरै दर्शकले मन पराउने हो । त्यसैले पहिलाको ‘जात्रा’ले त लखेटिरहेको छ त्यससँगै हामीले अर्को ‘जात्रा’ पनि थपेका छौं । अर्को जात्रा थपेर ‘जात्रै जात्रा’ बनाएका छौं । जुन अहिले हामीले सुन काण्ड भनेर ट्रेलरमा पनि देखाएका छौं ।
ब्ल्यान्क चेक हो कि हैन ‘जात्रै जात्रा’ ?
हामीले बिजनेसको रुपमा यसलाई कहिल्यै पनि लिएनौं । हेर्ने हो भने त्यस्तै चलचित्र बनाउने हो । चलेका कलाकार राखेर, चल्ने चल्ने गीत हालेर पनि चलचित्र बनाउन सकिन्छ । तर हामीलाई जसरी दर्शकले ‘जात्रा’मा मन पराउनु भयो त्यसलाई कायम राख्दै त्यस्तै चलचित्र बनाउनु थियो । फेरि पनि दर्शकले यिनीहरुले राम्रो चलचित्र बनाएछन् है भन्ने सोच्नुहोस् भनेर बनाएका छौं । तर व्यापारका हिसावले पनि केही मात्रामा सोचेका छौं । एउटा गीत हालेका छौं । दयाहाङ राईलाई राखेका छौं । यसकारण अलिअलि बिकाउन पनि खोजेका छौं ।
अघिल्लो सिरिज चल्यो त्यसैले यो पनि चलिहाल्छ भनेर फगत पैसा कमाउनकै लागि बनाइएको चलचित्र होइन यो । नेपालमा अघिल्लो चलचित्र चलेपछि त्यसको नाम लिएर सिरिज बनाउने चलन छ । हामीले त्यसो गरेका छैनौं । अघिल्लो भाग रिलिज भएपछि त्यसको कथा पूरा गर्नुपर्छ भन्ने आवाज र माग आएपछि नै हामीले यसलाई सिक्वेल बनाएका हौं ।
नेपाली चलचित्रको व्यापार निराशाजनक छ । त्यसैले दुई करोड हाराहारीको रिक्स लिनुभन्दा पहिलो सिरिज मन पराएका दर्शक आए भने लगानी उठिहाल्छ भनेर त्यसको सिक्वेल बनाउने चलन छ नि !
सिक्वेलमा झन बढी रिस्क हुन्छ । नयाँ विषयमा नयाँ तरिकाले काम गर्न धेरै सजिलो छ । नयाँ आइडियामा स्वतन्त्र तरिकाले काम गर्न सकिन्छ । तर यसमा अघिल्लो चलचित्रको कथामा बाँधिएर काम गर्नुपर्छ त्यसैले यसमा झन् धेरै रिस्क छ । फेसबुक म्यासेन्जरमा कुरा गर्दा पनि मलाई के छ भनेर सोध्नेलाई म विरामी परेको बेला विरामी छु भनेर भन्यो भने ‘गेट विल सून’ पनि भन्नुहुन्न थियो । ‘जात्रा’को सिक्वेल कहिले आउँछ भनेर प्रश्न गर्नुहुन्थ्यो । त्यो आग्रहलाई पूरा गर्न सिक्वेल बनाउनु परेको हो । आग्रहसँगै लुकेको अपेक्षालाई पनि पूरा गर्नु थियो । त्यसैले यो मेरा लागि चुनौति पनि थियो । त्यसैले यो सजिलो काम हैन । सिरिज र सिक्वेल त फरक कुरा हुन् ।
अढाई वर्षपछि कलाकारलाई पुरानै क्यारेक्टरमा फर्काउन कत्तिको कठिन हुँदोरहेछ ?
अढाई वर्ष अगाडि हिँडेको बाटोमा पुनः फर्किएर हिँड्न सजिलो थिएन । क्यारेक्टरमा फर्किन विपीन कार्की लगायतले धेरै मेहनत गर्नु भएको छ । विपीनजीले फेरि एक पटक जात्रा हेर्नुभयो । त्यसको लवज, टोन टिप्ने प्रयास गर्नुभयो । मेरो तर्फबाट पनि मैले प्रयास गरेँ । म कहिले पनि सुरुमा हेवी सिन सुट गर्दिन । सुरुका पाँच दिन म जहिले पनि सामान्य सिन सुट गर्छु, ताकी त्यो बिग्रियो भने पनि चलचित्रलाई खासै असर नगरोस् । त्यति सुट गर्दासम्म क्यारेक्टरले लय समातिसकेका हुन्छन् । विपीनजीको पनि ‘जात्रा’मा करिब एक साता पछि मात्रै त्यो क्यारेक्टर आएको थियो । तर चलचित्रमा त पूरै क्यारेक्टर आएको देखिन्छ । त्यसको कारण सामान्य सिन सुरुमा छायांकन गरेकैले हो । चल्न मिल्ने ठाउँबाट काम सुरु गरेको थिएँ यसपटक पनि । तर पहिला एकपटक गरिसकेको क्यारेक्टर भएकाले फर्ममा आउन कठिन भएन ।
चलचित्र छायांकनकै क्रममा विपीन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचियो । त्यसको असर चलचित्रमा पर्यो कि परेन ?
पक्कै पनि मुख्य क्यारेक्टरकै खुट्टा भाँचिएपछि त्यसको असर त परिहाल्छ । तर हामीलाई भन्दा पनि विपीनजीलाई नै त्यसको असर धेरै पर्यो । त्यही कारण हामीले दुई महिना पछि चलचित्र रिलिज गर्दैछौं ।
त्यो दुर्घटनाको असर पर्दामा देखिँदैन ?
दुई महिना ढिलो पनि विपिनजीकै कारण भयो र दुई महिनापछि चलचित्र आउनु पनि विपीनजिकै कारणले हो । जिउ नै दाउमा राखेर काम गर्न उहाँ तयार हुनुभयो । चलचित्रप्रति उहाँको कति अगाध स्नेह छ भन्ने उसले पनि पुष्टि हुन्छ । थोरै तलमाथि भएको भए पनि उहाँको खुट्टा ड्यामेज हुन सक्थ्यो ।
४५ दिन रेष्ट गरेपछि उहाँ छायांकनमा जानु भयो । तर उहाँको खुट्टाको पेन सकिएको थिएन । उहाँको दिमाग खुट्टामा जान्थ्यो । त्यसैले काम त सकिएला तर उहाँको खुट्टाका लागि पनि रिस्क भयो र चलचित्रका लागि पनि रिस्क हुने भयो भनेर हामीले फेरि अर्को दुई महिना आराम गराएर मात्रै छायांकन सुरु गरेका थियौं । अहिले विपीनजीको खुट्टा भाँचिएको थियो भन्ने चलचित्रको छायांकनमा भन्ने पर्दामा देखिँदैन ।
करिब दुई करोड लगानी भएको चलचित्र हलमा रिलिज भएपछि कुन दिन उत्रिने हो निश्चित हुँदैन । मेकरलाई कत्तिको हुन्छ ?
डर त मान्नै पर्छ । तर कुन समयमा डर मान्ने त्यो चाँही महत्वपूर्ण पक्ष हो । चलचित्र बनिसकेर टेबलमा आइसकेपछि मानेको डरको के अर्थ ? यो चाहिँ मिलेन यो फेरि सुट गर्नुपर्यो भनेर पुनः छायांकन गरेर थप्दै जाने हो भने झन् खर्च बढ्छ । त्यो डरले डिप्रेसनमा मात्रै लैजाने हो । स्क्रिप्टको काम हुँदा खर्च कम गर्ने हो । त्यो स्टेजसम्म हामीले पनि डर मानेको हो । स्क्रिप्ट लक नगर्दासम्म मात्रै हो हामीले डर मानेको । स्क्रिप्ट लक गरेर फ्लोरमा गइसकेपछि मानेको डरको अर्थ छैन र हामी अहिले डराएका पनि छैनौं ।
‘जात्रा’मा गीत हरिवंश आचार्यले गाइदिनु भयो । प्रचारमा मह जोडीले केही हदसम्म सहयोग गर्नुभयो । मह सञ्चारको ब्यानरमा दोस्रो चलचित्र ‘शत्रु गते’ निर्देशन गर्नुभयो । तेस्रो निर्देशनमा आइपुग्दा करिबकरिब मह जोडीबाट अलग हुनु भएजस्तो दखिन्छ । अब उहाँहरुको साथको आवश्यकता पर्न छोडेको हो ?
दाइहरुले सहयोग गरिरहनु भएको छ । हरेक मुख्य काम चलचित्र निर्माणको घोषणा, गीत र ट्रेलर रिलिजमा उहाँहरु हुनुहुन्थ्यो । टिजर, ट्रेलर आउँदा उहाँहरुले फेसबुकमा सेयर पनि गर्नु भएको थियो । उहाँहरुको पनि चलचित्र ‘दाल भात तरकारी’ यही समयमा रिलिज भएकाले त्यस्तो लाग्न सक्छ । तर एक अर्कालाई सहयोग भइरहेको छ । त्यस्तो केही छैन ।
चलचित्रको खस्किँदो व्यापारका बीच पनि यहाँका दुईटा चलचित्र (जात्रा र शत्रु गते’ले राम्रो व्यापार गरे । वास्तवमा राम्रो चलचित्र कसरी बनाउन सकिन्छ ? अर्थात् चलचित्र के कारण राम्रा बनिरहेका छैनन् ?
स्क्रिप्ट नराम्रो हुनु नै चलचित्र नराम्रो बन्नुको मुख्य कारण हो । स्क्रिप्ट नराम्रो बन्नुको कारण टिम राम्रो नभएर नै हो । सिनेमाको ज्ञान भएका व्यक्तिसँग सुझाव सल्लाह नलिनु पनि अर्को कारण हो । हामी चलचित्र रिलिज हुने दिनसम्म पनि चलचित्रको विषय लुकाउँछौं । आफूले बनाउँदै गरेको चलचित्रलाई थप कसरी राम्रो बनाउने भन्ने विषयमा हामी छलफल नै गर्दैनौं । यो लुकाउने विषय हैन । एउटै विषयमा कति चलचित्र बनेका छन् । मेकर क्रिएटिभ र मेहनती भयो भने विषय एउटै भए पनि एंगल र प्रस्तुती शैलीले चलचित्रलाई फरकपन दिन सकिन्छ । त्यसैले लुकाउनु पर्छ भन्ने मलाई लाग्दैन ।
स्क्रिप्ट एकदम राम्रो तर कलाकारको अभिनय र खिचाइले चलचित्र बिग्रियो भन्ने रेकर्ड आजसम्म छैन । स्क्रिप्ट राम्रो तर कलाकार, सिनेमेटोग्राफर झुर भएकै कारण चलचित्र बिग्रियो भनेको त हामीले खासै सुनेका छैनौं । राम्रो स्टोरी भन्न सकियो भने जुनसुकै कलाकार भए पनि टाउकोले टेकेर भए पनि उसले अभिनय गर्छ ।
राम्रो स्क्रिप्ट लेख्न बस्न राम्रै व्यक्ति बस्नु पर्यो । राम्रा व्यक्तिलाई राम्रै पारिश्रमिक दिनुपर्यो । तर हामी स्क्रिप्टमा लगानी गर्न तयार छैनौं भने स्क्रिप्ट कसरी राम्रो बन्छ ?
पारिश्रमिक भएन र समय पुगेन त्यसैले स्क्रिप्ट राम्रो भएन भन्नु बहाना मात्रै हो । पैसा भएन र समय भएन त्यसैले राम्रो स्क्रिप्ट लेख्न सकिन, पैसा र समय दुवै भए म राम्रो स्क्रिप्ट लेख्छु भन्नेलाई म खुला रुपमा आह्वान गर्छु– लेख्नुस् । रिसर्च गरेर एउटा स्याम्पल स्क्रिप्ट दिनुस् । चित्त बुझ्यो भने म किन्छु तपाईंको स्क्रिप्ट । २० लाख ३० लाख जति पनि तिर्न तयार छु । तर राम्रो स्क्रिप्ट लेख्नुस् ।