site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ग्लानि
Ghorahi CementGhorahi Cement

सानु शर्मा


लगभग एक हप्ता भइसकेको थियो म नेपालबाट फर्केको । मलाई एयरर्पोटबाट घरसम्म ल्याएर छोडेकी उर्वशीसँग मेरो विस्तृत रूपमा कुराकानी हुन पाएको थिएन । फोनमा खासै केही नभनौं भनेर म सप्ताहान्त कुरेर बसेको थिएँ । बाबालाई सँगै ल्याउन असमर्थ हुनुको कारण उसले पनि खासै जोड दिएर सोधिन ।

शुक्रबार साँझ डिनरको लागि भेटेपछि मैले उसलाई बाबाको स्थितिको बारेमा बताएँ । सुनेर ऊ गम्भीर भई । तर, खाना नसकुन्जेल केही भनिन । खाना खाएर सकिनेबित्तिकै उर्वशीले भनी, “गौतम ! मलाई लाग्छ— हामीले यहीँबाट बाटो अलग्याउनु बेस हुन्छ ।”

Agni Group

मलाई यस्तो लाग्यो— भर्खर अर्डर गरेको तातो कफी उसले मेरो टाउकोमा खन्याइदिई ।

“ह्... ह्वाट डु यु मिन ? बाटो अलग ?” मैले अकमकाउँदै भनें, “यत्रो दिनपछि आज भेट्दै छु म तिमीलाई । तिमीलाई थाहा छैन, तिमीबिना यतिका दिन...”

Global Ime bank

“गौतम ! प्लिज ! यति गम्भीर कुरा गरिसकेपछि यो मजाक नगर, नत्र मैले तिमीलाई कन्सिडर गरेको इन्टेलिजेन्ट टाइटल फिर्ता लिनुपर्ने हुन्छ ।” उसको स्वरमा केही यस्तो थियो, मैले नियालेर उसको अनुहार हेरें । यो त्यो अनुहार थियो, जसलाई आफ्नो बनाउने कोसिसमा मैले दिन–रात एक गरिदिएको थिएँ । यी तीन वर्ष पृथ्वीले सूर्यलाई घुमेजस्तै मैले उसको वरिपरि घुमेर बिताएको थिएँ । यो समयमा यस्तो माया–प्रेमको कुरा अलि आउटडेटेड लाग्न सक्छ, त्यो पनि अमेरिकाजस्तो ठाउँमा । तर, सत्य यही थियो । तीन वर्ष लामो तपस्यापछि उर्वशीको परिवार राजी भएको थियो उसको र मेरो बिहेका लागि । तर, एक महिनापछि हुन लागेको मेरो बिहेको बेहुली बाटो अलग गर्ने कुरा गर्दै थिई ।

“उर्वशी ! आ’भ एक्सप्लेन्ड एभ्रिथिङ । फेरि पनि...”

“तिमीले सबै एक्सप्लेन ग¥यौ, त्यसैले त म तिमीसँग बिहे गर्न चाहन्नँ,” ऊ टेबलमा भएको आफ्नो सानो पर्स टिपेर उठी । मेरो पैतालातलको जमिन भासियो मानौं । म जुर्मुराएर उठें अनि उसको हात थाम्दै विनीत स्वरमा भनें, “प्लिज उर्वशी ! मलाई माफ गर ! तर, यसरी मलाई बीचमा छोडेर नजाऊ ।”

“बीचमा छोडेर हिँड्ने बानी त तिम्रो छ गौतम, मेरो होइन,” उसले आफ्नो हात मेरो हातबाट छुटाई र अघि बढी ।

“उर्वशी ! प्लिज..”

“एउटा कुराको अनेस्ट जवाफ देऊ त !” उसले जाँदाजाँदै टक्क अडिएर मतिर फर्किंदै भनी, “तिम्रो विगतका कुरा हुँदा टुक्राटुक्रीमा धेरै कुरा सुनाएका छौ— तिम्रो बाबाको बारेमा, जसलाई सुनेर तिम्रो बाबाको एउटा उदाहरणीय छवि ठडिएको छ मेरो मनमा । बडो इज्जत र सम्मान छ मेरो मनमा तिम्रो बाबाको लागि । शायद त्यसैले पनि म तिमीसँग बिहे गर्न राजी भएँ । किनकि पैसा त जोड्न चाहे जसले पनि सक्छ, त्यो कुनै गाह्रो छैन । तर, लाग्छ— तिमीले त्यहीमात्रै सिक्यौ । पैसा कमाउन ।” ऊ एकैछिन अडिई अनि सानो स्वरमा भनी, “गौतम ! भन त— हाम्रो बिहे भइसकेपछी तिम्रो बाबालाई जस्तै मलाई पनि त्यस्तै केही भएको भए तिमी मलाई पनि त्यसैगरी चटक्कै छोडिदिन्थ्यौ ?”

मानौं बिजुली चम्कियो । चट्याङ खस्यो ममाथि । मैले आँखा उठाएर उसलाई हेर्न सकिनँ । घर सधैं बाहिरकाले बिगार्दैनन्, कहिलेकाहीँ घरभित्रकाले झनै नराम्ररी बिगार्छन्, जसरी मैले बिगारेको थिएँ ।

० ० ०

पाँच वर्षको थिएँ रे म, जब आमा दुर्घटनामा बित्नुभएको थियो । उहाँको स्कुटीलाई टिप्परले सय–दुई सय मिटर परसम्म घिसारेको थियो । बिचरी मेरी आमाले अस्पतालको मुख देख्नु त परै जाओस्, सग्लै चितामा पनि पुग्न पाउनुभएन । आमाको वीभत्स मृत्युले बाबाको मानसिक सन्तुलन हल्लाइदियो । उहाँ आमाको चितालाई आगो दिन सक्नेजति होसहवासमा हुँदै हुनुहुन्थेन । अरू नै कसैको हातबाट सल्किएर मेरी आमा आफ्नो खरानी पछाडि छोडेर यो संसारबाट बिदा हुनुभयो ।

बाबाको र आमाको जात मिल्थेन । त्यसै कारण उहाँहरूको सम्बन्धलाई लिएर व्यापक विरोध हुन्थ्यो, घरमा र गाउँमा पनि । माथिल्लो जातका मेरा बाबाको परिवारले आमाको परिवारमाथि यति थिचोमिचो र मारकाट ग¥यो, आमाको परिवार नराम्ररी लथालिंग भएर गाउँ छोड्न बाध्य भयो । उसै पनि त्यो गाउँमा सबै उच्व जात भनाउँदाहरूको राज थियो । आमाको परिवारलाई साथ दिने कोही थिएनन् । एक्लिएर गाउँवस्ती छोडी हिँडेका आमाको परिवारलाई त्यसबेला बाबाले साथ दिनुभयो । घरपरिवारको कडा विरोधको वास्ता नगरी बाबा पनि आमाको परिवारको पछिपछि शहरतिरै हानिनुभयो ।

शहर छिरेपछि पारिवारिक विरोधको वास्ता नगरी दुबैले बिहे गरे र साथमा जीवन शुरू गरे । बाबाको परिवारले भातपानी बारेको घोषणा ग¥यो तर बाबा डगमगाउनुभएन । दिन, महिना, वर्ष समयको हातबाट छुटे र अतीत बन्दै गए । उहाँहरूले दिन–रात नभनी मेहनत गरेर एकटुक्रा घडेरी जोडेर त्यही टुक्रामा आफ्नो सपनाको महल ठड्याउन भ्याउनुभयो । दुई कोठाको त्यो सानो टहरोमा बाबा–आमाको परिवार बढ्यो । दुईबाट तीन बन्नुभयो । म उहाँहरूको परिवारमा नयाँ भित्रिएको खुशीको कारण बनें । सात वर्षको वैवाहिक जीवन मेरो आगमनले उल्लासमय बन्यो । तर, मैले लिएर आएको खुशीको आयु छोटो निस्कियो ।

आमाका परिवारले पनि बाबा–आमालाई स्वीकारेको थिएन, जब आमालाई यमराजले स्वीकारे । असत्ती यमराज ! उसले त मेरी आमाको जात पनि हेरेन । उमेर र अवस्था पनि हेरेन । बाबा–आमाको त्यो उदाहरणीय प्रेम पनि हेरेन । बाबाका लागि घरपरिवार छोडिदिने मेरी आमा बाबालाई छोडेर यमराजकी हुनुभयो ।

आमाको मृत्युपछि लगभग ६ महिना बाबाले सधैं तिहारमा टीका लगाउने साहिँली फुपूको परिवारमा पालिएँ म । त्यसपछि बाबा सम्हालिनुभयो । आमाले आफ्नो पछाडि छोडेर जानुभएको म अब उहाँको बाँच्नुको कारण थिएँ । आमाको वियोगमा बहुलाउनुभएका बाबाको बहुलट्टीपन मतिर स¥यो । म आँखावरिपरि नभए बाबालाई प्यानिक अट्याक शुरू हुन्थ्यो । म आँखाबाट ओझेल पर्नासाथ उहाँ मलाई खोज्दै हिँडिहाल्नुहुन्थ्यो । यहाँसम्म कि उहाँ मेरो कक्षाकोठामै चिहाउन आइपुग्नुहुन्थ्यो कयौं पटक । धन्न जागिर त्यहीँ थियो । बाबा त्यहीँ मास्टर हुनुहुन्थ्यो । असलमा दरिएका मेरा बाबा आमाप्रति सहानुभूति राख्नेहरूको कारण नै टिकेको थियो बाबाको जागिर । नत्र त आमाको निधनको बेलामै छुट्ने थियो जागिर ।

आमा जीवित हुँदा बैंकमा काम गर्नुहुन्थ्यो । बैंक नजिकै थिएन त्यसैले बाबाले सारा खर्च कटाएर, भ्याएजतिको ट्युसन पढाएको पैसा जोडेर त्यो स्कुटी किनिदिनुभएको थियो आमाको लागि, आमाले नमान्दा नमान्दै । त्यही स्कुटी आमाको निधनको कारण बन्यो, जसका लागि बाबाले आफूलाई कहिल्यै माफ गर्नुभएन ।

आमाको मृत्युको वर्षदिन नपुग्दै बाबालाई अर्को बिहे गर्न दबाब दिनेहरूको घुइँचो लाग्न थाल्यो । उहाँले आमासँग बिहे गरेदेखि दैलो नटेक्ने कसम खाएको परिवार अब प्रत्येक हप्ता गाउँबाट घिउ र गुन्द्रुकको साथमा केटीको कुरा बोकेर आउन थाल्यो । हाम्रा छिमेकीहरू पनि ‘कसरी हुर्काउनुहुन्छ यो चिचिलोलाई एक्लै ? यसैको लागि भए नि बे गर्नुस् !’ भनेर सम्झाउँथे । तर, बाबा टसको मस हुनुभएन ।

“मेरै भरोसामा छोडेर गै बैमानीले ! अब यसलाई अरूको पोल्टामा हालिदिए भोलि माथि गएर तेल्लाई कसरी मुख देखाउँछु ?” बाबा भक्कानिनुहुन्थ्यो । सुन्नेहरू पनि तुरुक्कै आँसु चुहाउन बाध्य हुन्थे बाबाको विलौना सुनेर ।

यत्रा वर्ष अत्याचार झेलेर ढुंगा भएको आमाका माइतीको मन पनि मलिलो भयो बाबाको आँसु देखेर । उनीहरूले आउन–जान शुरू गरे हाम्रो घरमा । त्यसै पनि बाबाले दोस्रो बिहे गर्न नमान्दा चिढिएको बाबाको परिवार त्यो देखेर झनै भड्किए । फेरि एकपटक पानी–बाराबारको स्थिति सिर्जना भयो ।

म अलि ठूलो भएँ । तर, बदमास पनि उत्तिकै भएँ । बाबाले चाहिनेभन्दा बढ्तै पुल्पुल्याउनुभयो । त्यसले मलाई एकदमै जिद्दी, अटेरी र उद्दण्ड बनायो । टोल–छिमेकले सम्झाउँदा बाबा उनीहरूसँगै लड्न–भिड्न जानुहुन्थ्यो । उहाँ मरो कुनै बदमासीलाई बदमासी मान्नुहुन्थेन, त्यसैले म झन्–झन् बिग्रिँदै गएँ । एउटा पढाइ ठीकठाक थियो, बाँकी सबै बानी–बेहोरा खत्तम । मेरा मामा घरतिरकाले पनि मेरो गुनगान सुनेर बाबालाई सम्झाउन खोजे । अझ उनीहरूले त मलाई साथै लगेर पाल्ने प्रस्ताव पनि राखे । बाबालाई बिहे गरेर घरबार जोड्न सल्लाह दिए । त्यसपछि त के चाहियो र ! बाबाले उनीहरूलाई अर्कोपटक घरमा छिर्न नदिने कसम खानुभयो । घरमा कोही नआएकै फाइदा थियो मलाई पनि । एक्लो बाबालाई म मनमर्जी नचाउन सक्थें । त्यसैले उचालिरहन्थें उहाँलाई सबैको विरुद्ध । बिस्तारै–बिस्तारै बाबा एक्लिँदै जानुभयो । टोल–छिमेकीले हस्तक्षेप गर्न छोडिदिए । स्कुलमा पनि खासै कोही बाबासँग मुख लाग्थेनन्, मेरो मनोमानीसँग सबै आजित जो थिए ।

१४ वर्षको थिएँ शायद, जब स्कुलकै एकजना सिनियर दाइको टाउको फुटाइदिँदा । टोलमा पुलिस आयो । बाबाले मेरो अपराध आफ्नो टाउकोमा लिनुभयो । कसैले पत्याएनन् । तर, प्रत्यक्षदर्शी कोही नभएको त्यो घटनामा आफ्नो हात रहेको बाबाले यति विश्वासिलो तरिकाले वर्णन गर्नुभयो, पुलिसले बाबालाई समातेर लग्यो । खै कुन्नि किन हो, त्यो दाइले पनि मेरो नाम लिएनन् । मलाई दुई दिन अलि आत्मग्लानि भयो तर तेस्रो दिन छाती फर्काएर स्कुल गएँ । कसैले मलाई केही भनेनन् । घरमा बाबा नभएपछि म लुरुक्क मामा घरतिर लागें । आफ्नो पकाएर खाने हुती थिएन । मामा घरकाले तिरस्कारपूर्ण भावले हेरे तर मलाई बाल ? चुपचाप खाना दिन्थे, बस्न दिन्थे । अरू कुनै कुराको पर्वाह गर्न मैले कहाँ जानेको थिएँ र !

यसैबीच एकदिन मामाले बाबाको जागिर छुटेको, उहाँलाई फौजदारी मुद्दामा दुई वर्षको जेल सजाय भएको कुरा माइजूलाई सुनाउनुभयो । तर, म फर्केर बाबालाई हेर्नसम्म गइनँ । मलाई डर थियो— बाबाले कतै मलाई पुलिसको जिम्मा दिएर आफू बाहिर निस्कने पो हो कि ?

मामाले बाबालाई छुटाउन लागेपुगेको गरिरहनुभयो तर सारा टोल–छिमेकी बाबासँग विमुख भएकाले उहाँको केही लागेन । बाबाको अनुपस्थिमै मेरो एसएलसी सकियो । टाउकोमा नराम्रै चोट लागेका करण ती दाइ निकै समय अस्पताल बसे । उनको त्यो वर्षको पढाइ रोकियो । तर, मलाई त आफ्नै बाउको पर्वाह थिएन, उनको हुने कुरै भएन ।

म झन्–झन् बिग्रिँदै गएँ । एकदिन मेरो उपध्रो सहँदासहँदा भरिएर बसेका मामाले कसेर दुई झापड लगाए । म पनि के कम ! बाउलाई त कुनै खातिरमा नल्याउने मैले, मामाको थप्पड के सहन्थें ! मैले पनि हात उठाएँ । मामाले मलाई घोक्र्याएर घरबाट निकाले र कहिल्यै फर्केर नआउन चेतावनी दिए । माइजू र हजुरबुवा–हजुरआमाको मध्यस्थता काम लागेन । म मामा घरबाट निकालिएँ ।

दिनभरि यता उता हल्लेर बित्यो । साँझ पर्दै गएपछि मन छड्किन थाल्यो— कता जाऊँ ? टोल–छिमेकमा कुनै यस्तो घर थिएन, जसलाई मैले नहड्काएको होस् । न दुखाएको होस् । मामाको घर त झन् जाने कुरै आएन । झमक्क साँझमा आफ्नो घरछेउको बाटोमा ठुङ्ठुङाउँदै बसिरहेको मलाई कसैले बोलायो । फर्केर हेरें । त्यही दाइ झोला बोकेर आउँदै थिए, जसको मैले टाउको फुटाइदिएको थिएँ । मेरो सातोपुत्लो उड्यो । म उठेर दगुर्न थालें ।

“ओई गौतमे ! काँ जान्छस् यसबेला, यो जाडोमा ? हिँड् मसँगै जाम् !” उनले पछाडिबाट भने । मैले सशंकित भावले फर्केर उनीतिर हेरें ।

“म केइ गर्दिनँ । सत्ते । काकाले मेरो खुट्टा समातेर तेरो ज्यान बक्साइसकेका छन् । उसै पनि तेरो कर्तुतको सजाय झेलिरहेकै छन् उनी, त्यसमाथि तँलाई क्यै गरेर म तँभन्दा अधम कसरी हुनू, भन् त !” उनको स्वर सामान्य भए पनि त्यसमा मुछिएको तिरस्कारले पहिलो पटक जिस्कायो मलाई । म केही बोलिनँ ।

त्यो रात उनले मलाई आफ्नो घर लिएर गए । घरमा कोही थिएन । पछि उनैले सुनाए—आमाको माइतमा सप्ताह भएकाले सबै उतै गएका थिए । मलाई एकैछिन आश्चर्य लाग्यो— आमाको माइतीलाई उनले मामाघर किन भनेनन् ?

दिनभरिको भोको मलाई उनले खाना बनाएर खुवाए । धन्दा सकेर ओच्छ्यानमा पल्टिएपछि उनले मेरो घर–परिवार, बाबा र आमाको बारेमा उनले सुनेका, देखेका कुरा सविस्तार सुनाए—

“तेरा बाबाले तेरो लागि गरेको जस्तो कसैका बाउले गर्न सक्दैनन् । पुलिसको कुटाइ र सजायबाट तँलाई बचाउन तेरो बाउले आफ्नो भएको जम्मा पुँजी, घरघडेरी मेरी सौतिनी आमाको नाउँमा गरिदिए । अस्पताल आएर मेरो खुट्टा समाउँदै रोए बुढा । भने, ‘म त पुलिसको जतिसुकै ज्यादती सहुँला तर मेरो बालख छोराले सहन सक्दैन ! केदार बाबु ! म हुँदाहुँदै मेरो छोराले थाना कचहरीको अनुहार देख्न परे म के जवाफ दिउँला तेसकी आमालाई ? त्यो प्युसोलाई मेरो जिम्मामा त्यसै त छोडेकी नहोली तेल्ले ! मेरो नराखे नि त्यो कलिलो उमेरमै मरेर गएकी गौतमकी आमाको भरमा राखिदे बाबु ! म जीवनभरिको लागि तेरो ऋणी हुनेछु !’ त्यसपछि मैले हुन्न भन्नै सकिनँ ।”

केदार दाइले भिजेका आँखा पुछे । मैले आँखा उठाएर उनलाई हेर्ने हिम्मत गर्न सकिनँ ।

“तँलाई त थाहै छैन, तँ कति भाग्यमानी छस्,” उनले मेरो टाउकोमा हात राखे, “आमा रहेर बाउ मरे भने छोराछोरी टुहुरा हुन्नन् भन्ने उखानलाई गलत बनाइदिए काकाले । नत्र मेरै बाउलाई हेर् ! तेरै उमेरको थिएँ म पनि, मेरी आमा मर्दा ! ६ महिना कुर्न सकेनन्— अर्की बे गरेर ल्याए । तेरो बाउले जस्तै मन पराएर, भगाएर बे गरेका थिए मेरो बाउले मेरी आमासँग । फरक यतिमात्रै— उनेरूको जात मिल्थ्यो । मन परेर बे गरेर ल्याएकी स्वास्नी मरेपछी ५ मैना उसको यादमा बस्न नसक्ने मेरा बाउले मलाई के खातिरमा ल्याउँथे ? आमा गुमाउने सन्तानको बाउ कहिल्यै साख्खै हुन्नन् भन्थे मेरा मवली, मेरा बाउले त्यही गरेर देखाइदिए । कान्छी आमा र उनीबाट जन्मेका सन्तान आफ्ना भए, म सौतेलो । बाउका लागि पनि । मेरो बाउलाई मैले खाए÷नखाएको, लाए÷नलाएको, पढे÷नपढेको कुनै खोजखबर कहिल्यै भएन । कहिलेकाहीँ छेउमा बोलाएर मायाले टाउकोमा हात राखिदिए भने कान्छी आमाको पारा अकासिन्थ्यो— कतै बाको वात्सल्य अलिकति मतिर चुहियो भने उनका आफ्ना सन्तानलाई नपुग्ने पो हो कि भनेर । उसो त वरपर सुनेको जत्तिकी खराब छैनिन् मेरी कान्छी आमा । भए नि उनलाई दोष लाउने ठाउँ कहाँ छ र, बाउ नै आफ्नो नभएसि ?” केदार दाइले खुइय्य गरे । मेरो मन एकतमासको भयो । आजभन्दा अघि मसँग कसैले त्यस किसिमको कुरा गरेको थिएन ।

“हुन त बाउ–आमा छन्, घर–परिवार छ तर म आमा मरेपछि आफैं हुर्कें । तँलाई था’छैन गौतम ! कति गाह्रो हुन्छ त्यो उमेरदेखि एक्लै, आफैं बाँच्न ! मावलीले अलेलि मद्दत गरे । नत्र त जे गरें, मैले आफ्नै बुतामा गरें । तैले टाउको नफुटाइद्या भए म नि बेलैमा एसएलसी पास हुन्थें । काम खोज्थें र अगाडि पढ्थें । एक वर्ष त्यत्तिकै खेर गयो, नत्र यतिबेला कलेजको एक वर्ष सकिन्थ्यो !” उनले आँशु पुछे ।

“सरी केशव दाइ !” मैले मनैदेखि भनें ।

“मलाई नभन् सरी । मेरो चोटको भर्पाई मेरा बाउ–आमाले तेरा बाउलाई डराई–धम्काई गरेर लिइसके— तेरा बाउको भएको जेथा आफ्नो नाउँमा गराएर । त्यसमाथि तेरा बाउले तेरो गल्तीको माफी मेरो खुट्टा समाएर बक्साइसके । अब मेरो केही लिनुदिनु बाँकी छैन तँसँग । तेरो सरीको, तेरो माफीको सबैभन्दा आवश्यकता तेरो बाउलाई छ भाइ ! जा गएर उनलाई सरी भन् र जिउँदो तुल्याइदे उनलाई !”

म रुन थालें ।

“भाग्यमानी रैछस् भाइ तँ ! माया गर्ने बाउ–आमा सबैका हुन्छन् तर यस्तरी ज्यान अर्पिने बाउ कसैका हुन्नन् । जा गएर उनको खुट्टा थाम् र आफ्नो वरत्र–परत्र सुधार् । नत्र पछुताउनु पर्ला,” केशव दाइले भने ।

त्यो रात पहिलो पटक मलाई निद्रा परेन । पहिलो पटक आफू गलत, बाँकी सब सही लागे । बाबालाई दिएका ती सबै हैरानी, दुःख र तनाव याद गरेर मन छट्पटायो । त्योभन्दा धेरै— आफूलाई केशव दाइको ठाउँमा उभ्याएर मन डरायो । के हुन्थ्यो मेरो बाबा पनि उसको बाजस्तै भइदिएको भए ?

भोलिपल्ट म केशव दाइसँगै बाबालाई थुनेर राखेको ठाउँमा पुगें । केशव दाइको पछाडि उभिएको मलाई देखेर बाबाको अनुहारमा प्रलय आएर गुज्रियो । उहाँको अनुहारको भावलाई म आज पनि शब्दमा बयान गर्न सक्दिनँ । पोखिऊँ कि थामिऊँ जस्तै गरी उहाँका आँखाका डिलमा थर्थराई रहेको आँशुलाई मैले कहिल्यै बिर्सन सकिनँ ।

“यसलाई यहाँ नल्याभए हुन्थ्यो बाबु...” बाबाले जाडोले काँपेको जस्तै स्वरमा भन्नुभयो । केशव दाइ बाबाको नजिकै उभिएका थिए, म अलि पर । मैले राम्ररी टाउको उठाउन सकेको थिइनँ । मेरो त्यही झुकेको टाउकोमा हात राखेर उहाँ खासै केही नबोली फरक्क फर्केर भित्रतिर पस्नुभयो ।

त्यसपछि म फेरिएँ । यसरी फेरिएँ— टोल, छिमेक र आफन्तका लागि उदाहरण बनेर निस्किएँ । काम खोजें र कामसँगै पढाइलाई पनि निरन्तरता दिएँ । टोल–छिमेकका मान्छेहरूसँग यति लज्जित थिएँ कि त्यो टोल छोडेर साहिँली फुपूको घरछेउमा सरें । बाबा जेलबाट फर्किंदासम्म म अर्कै मान्छे भइसकेको थिएँ ।

हामी आफन्तहरूबाट अलग्गै बस्थ्यौं । मभन्दा पनि बाबा रुचाउनुहुन्थेन कुनै आफन्तको सामना गर्न ।

हामी बाउ–छोरा त्यो एउटा कोठाको क्षेत्रफलमा पनि यति टाढिएर बस्थ्यौं— मानौं हामी गोलाद्र्धका वल्लो र पल्लो छेउमा थियौं । एकदमै सीमित कुराकानी । त्यति, जतिबिना गुजारा चल्थेन । मलाई आफ्ना विगतका व्यवहार सम्झेर बाबाको सामु उभिन आत्मग्लानि हुन्थ्यो तर बाबालाई खै केले रोक्थ्यो !

एलएलबी सकेर अमेरिकाको नामी युनिभर्सिटीमा स्कलरसिप पाउँदाताकादेखि नै मैले बाबाको स्मरणशक्तिमा ह्रास आउँदै गएको अनुभूति गरेको थिएँ । तर, आफ्नो सजिलोको लागि म त्यो कुरालाई भ्रमको खोल ओढाएर अलग्गै राख्ने कोसिस गरिरहें । त्यसो त बाबा जेलबाट निस्केदेखि नै अलि भुलक्कड, बोल्दै गरेको कुरा बिर्सने हुनुभएको थियो । झोक्र्याइरहनुहुन्थ्यो । सोचिरहनुहुन्थ्यो तर के सोचेको भनेर सोध्दा केही भन्न सक्नुहुन्थेन । मलाई अमेरिका जाने हतार नभएको भए शायद म उहाँलाई डक्टरकोमा लगेर उहाँका ती समस्याका निदान खोज्ने कोसिस गर्थें होला । तर, त्यति गाह्रो गरी पाएको स्कलरसिप मेरो लागि सबैभन्दा महत्वपूर्ण बनिदिएको थियो । आफ्नो जन्मदाताको स्वस्थ्यभन्दा पनि महत्वपूर्ण ! उसै पनि हामीबीच दोहोरो संवाद नै कहाँ हुन्थ्यो र ! बाबाको झोक्र्याइरहने अनुहार अब मेरो लागि सामान्य बनिसकेको थियो । सधै त्यस्तै त देख्दै आएको हुँ मैले उहाँलाई । मेरो मन आफ्नै वकालत यति विश्वस्त ढंगले गथ्र्यो— मलाई बाबाको त्यो अवस्था उहाँको बढ्दै गएको उमेर र एकांकीपनको उपज लाग्थ्यो ।

साहिँली फुपूले महिनावारी तलबसरह रकम पाउने लालचमा बाबाको ख्याल राख्ने आश्वासन दिएपछि म बाबालाई उनीहरू र परिस्थितिको जिम्मामा छोडेर अमेरिका उडें ।

म अमेरिका पुगेको चौथो वर्ष हरि दाइले बाबाको हालत खस्किँदै गएको जनाएर मलाई घर फर्कन आग्रह गरे । मेरो पढाइको अन्त्य थियो त्यो । नाम र पैसा कमाउन बाँकी नै थियो । फर्कन सक्ने अवस्था थिएन । मैले आफूले महिनावारी पठाउने पैसामा अलिकति थपेर बाबाको राम्रो ख्याल राख्न आग्रह गरें । आखिर म गएर पनि केनै गर्न सक्थें र !

सात वर्षमा म गतिलो पैसा कमाउने बैरिस्टर बनें । उर्वशीसँग विवाह बन्धनमा बाँधिन तयार भएँ तर नेपाल फर्कने समय निकाल्न सकिनँ । हरि दाइले बाबाको स्वास्थ्यको कुरा निकालेपिच्छे मैले उनीहरूलाई दिने रकममा वृद्धि गरिरहें तर घर फर्किनँ । तबसम्म, जबसम्म उर्वशीले बिहेमा बाबाको अनिवार्य उपस्थितिको डिमान्ड राखिन । उसले भनेकी थिई, “एकजना बाबा त हुनुहुन्छ तिम्रो परिवारको नाउँमा, उहाँको आशीर्वादबिना कसरी हाम्रो बिहे सफल होला, भन त ? घर जाऊ गौतम ! यत्रो वर्षदेखि तिमी घर गएका छैनौ । यही बहानामा घर जाऊ र बाबालाई लिएर आऊ !”

उसको कुरा काट्न सक्ने हिम्मत थिएन मेरो । उसको सही कुरा काट्न सकिनँ मैले । म घर फर्किएँ ।

बाबाको बिजोग थियो ! उहाँको अवस्था देखेर एकपटक त म झन्डै डाँको छोडेर रोएँ । दुब्लाएर बाँसजस्तै हुनुभएको थियो । होस ठेगानमा थिएन । मान्छे चिन्नुहुन्थेन । दिसा–पिसाबको ख्याल गर्न सक्नुहुन्थेन । शरीरबाट आउने दिसा–पिसाबको गन्ध यति स्ट्रङ हुन्थ्यो, उहाँ नजिक पर्दा नाक नसमाती बस्न सकिन्थेन । कपाल र दाह्री–जुँगा टाटेपाटे मुडेको, फोहर कट्कटिएको शरीर । मेरो मनले जतिसुकै हाहाकार गरे पनि मैले उहाँको छेउ गएर उहाँलाई अँगाल्न सकिनँ । बरू हरि दाइ र फुपूलाई हकारें, कराएँ, बाबालाई राम्ररी नराखेको भनेर । उनीहरूले सफाइ दिए, “बाबाले कसैलाई वरिपरि पर्नै दिनुहुन्न !”

त्यस रात सुत्न तयार परिरहेकै बेला बाबा अचानक भित्र पस्नुभयो र मेरो लागि तयार ओच्छ्यानमा घुस्रिँदै भन्नुभयो, “बा ! म तपैंसँग सुत्छु है ! यहाँ न्यानो छ !”

म नराम्रोसँग हल्लिएँ, टाउकोदेखि पैतालासम्म । एकैछिन के गरौं, कसो गरौं भएँ तर बाबाको छेउमा जान सकिनँ । मैले केही गर्नुभन्दा पहिले हरि दाइ आए र बाबालाई जुरुक्क उठाएर लिई गए । बाबा मतिर हात फिँजाउँदै कराइरहनुभयो, “बा ! म तपैंसँग सुत्छु ! बा ! म तपैंसँग सुत्छु ! यहाँ न्यानो छ !” मैले त्यो दृश्य हेर्न नसकेर आँखा बन्द गरें ।

बाबालाई साथै लग्न भनेर आएको म, उहाँलाई एउटा–दुइटा डक्टरकोमा डुलाएर, केही टेस्ट गराएर, हरि दाइ र फूपूलाई ‘बाबाको राम्रो ख्याल राख्न’ भन्दै, अझै बढी पैसा पठाउने आश्वासन दिँदै अमेरिका फर्किएँ ।

पुग्नेबित्तिकै उर्वशीलाई बाबालाई साथै ल्याउन नसकेको करण बताएर बाबाको स्थिति वर्णन गरें । उर्वशी केही बोलिन । ऊ गम्भीर देखिन्थी ।

एक हप्ता म काममा निकै व्यस्त रहें । बाबाको यादले घच्घच्याउँदा ‘पैसा पठाएकै छु, राम्रो हेरचारको व्यवस्था गरेकै छु, त्योभन्दा बढी अरू के गर्न सक्छु र ?’ भन्ने सोचेर मनलाई सन्त्वना दिन्थें ।

शुक्रबार साँझ उर्वशीले डिनर खान रेस्टुरेन्टमा बोलाई । म दंग परें । डिनर सकिएपछि उर्वशीले मसँग बिहे गर्न नसक्ने बताई, जसको कारण खुद म थिएँ । म आकाशबाट धर्तीमा झरें ।

० ० ०

नेपाल जाने प्लेनमा बसेपछि मेरो आँखामा ती दिनहरू चलचित्रझैं उत्रिए, जब मैले बाबालाई दुःख दिएर हैरान पारेको थिएँ । तर, बाबाले मलाई कहिल्यै गालीसम्म गर्नुभएन । पिट्न त परै जाओस् । मेरो कारणले जेलसम्म पुग्नुभयो तर मसँग आजित भएर मलाई आफूबाट अलग गर्नुभएन । ती दिन याद गर्दा आफैंलाई कयौं पटक धिक्कारें मैले । ठीकै गरी उर्वशीले ! म गतिलो सन्तान बन्न नसकेको मान्छे, असल र भरपर्दो लोग्ने कसरी बन्न सक्थें ? एउटा सम्बन्धलाई इमानदारीपूर्वक धान्न नसक्ने मजस्तो कमजोर मान्छले अर्को सम्बन्धलाई इमान्दारी साथ दिन सक्थें— के भरोसा ?

अचानक, बिनासूचना अमेरिका उडेको एक हप्ता बित्दा नबित्दै म त्यसरी फर्किने कसैलाई आशा थिएन त्यहाँ ।

बाबा बरन्डाको पिलरमा मोटो डोरीमा बाँधिनुभएको थियो । हरि दाइ उहाँको सुकेको शरीरमा लठ्ठी बर्साइरहेका थिए । छेउमा उभिएकी हरि दाइकी स्वास्नी उहाँलाई अझै पिट्न उक्साइरहेकी थिइन् । मैले आँखा झिमिक्क गर्न सकिनँ । आफ्नो बचावमा हातले यताउता छेकिरहनुभएको बाबाको आँखा अचानक ममाथि प¥यो । उहाँले मतिर हात फिँजाएर आर्तनाद गर्नुभयो, “बा ! हेर्नू न... यल्ले मलाई कुट्छ !”

मेरो छातीमा ठूलो भुइँचोलो दौडियो । हरि दाइको हात रोकियो । उनले फर्केर मतिर हेरे । उनको कालोनीलो हुँदै गरेको अनुहार हेरेर मैले केही भन्न सकिनँ । के भन्थें ? जिम्मेवारी मेरो थियो तर पैसा तिरेर जिम्मेवारी बिसाएको मैले पैसा लिएर जिम्मेवारी बोक्नेलाई के भनेर गाली गर्थें ? बाउ मेरो भएपछि उनको जिम्मेवारी मेरो हुनुपथ्र्यो । जब म आफू नै जिम्मेवार हुन सकिनँ भने अरूसँग केको गुनासो ?

हरि दाइ सफाइमा कुन्नि के–के भनिरहे । उनकी श्रीमती पनि बचाउमा अघि सरिन् तर मैले केही सुनिनँ । केही भनिनँ ।

मैले बाबा बाँधिनुभएको बन्धन राम्ररी खोलेर नसक्दै उहाँ भक्कानिँदै मलाई अँगाल्न आउनुभयो । यसपटक मैले उहाँलाई आफूबाट पर धकेल्न सकिनँ । उहाँको आँसु र निधारबाट बगिरहेको रगतले मेरो सफा, उज्यालो टिसर्ट भिजिरह्यो । म अल्जाइमरले खियाइसकेका बाबालाई अँगालोमा थामेर थरथर काँपिरहें ।

त्यसपछि म रोएँ ।

रुनु जीवनका सबैजसो समस्याका समाधान होइनन् । तर, म रोएँ, रोइरहें ।

तबसम्म रोएँ, जबसम्म मेरो मनको मैलो पखालिएर आँखाबाट धर्तीमा झरेन ।

अठोट गरें— म मेरा बाबालाई अब कहिल्यै रुन दिनेछैन ! म उहाँलाई कहिल्यै एक्लो छोड्नेछैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC