कांग्रेसको आत्मघाती किचलो   

यथास्थितिमा रहने हो भने कांग्रेसको किचलोले ‘साम्बको गर्भ’बाट जस्तै आत्मघाती ‘मुसल’ जन्माउन सक्छ

नेपाली कांग्रेस र आन्तरिक किचलो पर्याय बन्न पुगेको धेरै भइसक्यो । देश र पार्टीको अवस्था जस्तो भए पनि कांग्रेसका नेताको ध्यान मूलतः आन्तरिक किचलोमै केन्द्रित हुने गरेको छ । सभापति शेरबहादुर देउवाको पार्टीका एकलौटी गर्ने चाहना र अरू नेताको आआफ्नो गुटलाई भाग खोज्ने प्रवृत्तिले पछिल्लो समयमा नेपाली कांग्रेसभित्र किचलो झन् चर्केर गएको देखिन्छ । सभापति देउवाले केन्द्रीय समिति बसाउनसमेत सकेका छैनन् भने पार्टीका विभिन्न विभाग, भातृभगिनी संस्थालगायतका संरचना पनि लामो समयदेखि अपूर्ण नै छन् । त्यतिमात्र हैन मुलुक संघीयतामा गइसके पनि नेपाली कांग्रेसले पार्टीको संघीय संरचना बनाउन सकेको छैन । कार्य सम्पादन समितिमा सभापति देउवा र वरिष्ट नेता रामचन्द्र पौडेलबीच ६०ः४० को अनुपातमा भागबन्डा गर्ने सहमतिपछि बस्न लागेको केन्द्रीय समितिको बैठक अर्का नेता कृष्णप्रसाद सिटौलाले बहिष्कार गर्ने धम्की दिएपछि बस्न सकेन ।  

देशमा ‘अधिनायकवादको बादल’ मडारिएको देख्ने नेपाली कांग्रेसका नेताहरू पार्टीभित्र भागबन्डा खोजेर केन्द्रीय समितिको बैठक बहिष्कार गर्दै बसेका छन् भन्ने पत्याउन कांग्रेसका कार्यकर्तामात्र हैन जनसाधारणलाई पनि मुस्किल हुन्छ । तर, यथार्थ भने त्यही नै हो । पार्टीभित्र गुटबन्दी हुनुहुँदैन वा गुटबन्दीले गर्दा नेपाली कांग्रेसले निर्वाचन हारेको हो अनि कांग्रेस कमजोर भएमा मुलुकमा लोकतन्त्र र राष्ट्रियता संकटमा पर्छ भन्ने भाषण कांग्रेसका सबै नेताले पटकपटक गर्दैआएका छन् । तर, पार्टीभित्र गुटबन्दी चर्काउन र सिंगो संगठनलाई गतिहीन तथा शिथिल बनाइराख्न पनि तिनै नेता दोषी देखिन्छन् । अहिले केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । विधान संशोधनमै केन्द्रीय समितिले ‘जालझेल‘ गरेको आरोप पार्टीकै नेताहरूले लगाएका छन् । तर, कांग्रेसका शीर्ष नेतालाई भने पार्टीको यस्तो दुर्दशामा समेत चिन्ता लागेको देखिएन। 

मुलुकमा अर्को लोकतान्त्रिक पार्टी भएको भए जनसाधारण र विशेषगरी लोकतन्त्रका पक्षधरहरू नेपाली कांग्रेस विघटनै भए पनि चिन्तित हुनुपर्ने थिएन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारलाई जनताले दिएको विश्वास र शंकाको सुविधा गलत सिद्ध भइसकेको छ । नेकपा (नेकपा)को सरकारले सत्तामा पुगेको वर्ष दिनमै संविधानको मर्म र लोकतान्त्रिक मूल्य मान्यता नराम्ररी मिचेको छ । सभामुख वा उपसभामुखमध्ये एक जना अर्को पार्टीको हुनुपर्ने संवैधानिक प्रावधानको अक्षर र भावनालाई रकमी तर्क दिएर नमान्नु वा संसदीय सुनुवाइ समितिले स्पष्टीकरण मागेको व्यक्तिलाई कानुनी छिद्र खोजेर सुनुवाइ प्रक्रिया छल्दै संवैधानिक आयोगमा नियुक्ति दिलाउनुजस्ता कार्यले पनि सरकारको बदनियत र धृष्टता उदांगो बनाएको छ । तर, त्यसको सशक्त प्रतिवाद गरेर संविधानको रक्षा गर्नुपर्ने प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भने आफूलाई बोलाउँदै नबोलाई संवैधानिक परिषद्को बैठक बस्ताुमेत रमिता हेरेर बसेका छन् । 

देशको लोकतान्त्रिक आन्दोलनको ६० वर्षसम्म नेतृत्व गरेको र २००७, २०४६ तथा २०६२÷६३ का जनआन्दोलनको नेतृत्व गर्ने नेपाली कांग्रेस निकम्मा नेतृत्वका कारण यति निरीह हुनसक्छ भन्ने सायद कल्पना पनि कसैले गरेका थिएनन् । सभापति देउवाले गुटगत संकीर्णताबाट माथि उठेर पार्टीलाई गति दिन सक्नुपथ्र्यो । अहिलेसम्मको अवस्था हेर्दा त्यसो हुनसक्ने संकेतसम्म पनि देखिँदैन । शीर्ष भनिएका अरू नेताले व्यक्तिगत वा गुटगत स्वार्थमा नलागी सभापति देउवालाई विधानअनुसारको काम गर्न सहज बनाउनुपर्थो । तर, अरू नेता पनि गुटगत स्वार्थभन्दा माथि उठ्ने सम्भावना देखिँदैन । अर्को विकल्प युवा नेताहरूले ‘दाइ’हरूको दौराको फेर समात्न छाडेर पार्टी र देशको हित हुनेगरी अगाडि बढ्ने हो । अझै पनि अरू पार्टीमा भन्दा सम्भावना भएका युवा कांग्रेसमै छन् । यिनले आँटे भने यो रुग्ण र जीर्ण पुस्ताबाट पार्टीलाई मुक्त गराउन सक्छन् । यथास्थितिमा रहने हो भने कांग्रेसको किचलोले ‘साम्बको गर्भ’बाट जस्तै आत्मघाती ‘मुसल’ जन्माउन सक्छ ।

प्रतिकृया दिनुहोस
ad