site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खबरदार, मेरो स्वतन्त्रता नलुट !

माओवादीको हिंसात्मक विद्रोह कालमा आतंकविरुद्ध आवाज उठाउने वा रकम असुलीको आदेश नमान्ने व्यक्तिलाई ‘सफाया’ गर्ने धम्की सामान्य थियो । धम्की दिनेमात्र हैन, त्यस्ता हजारौं निहत्था नागरिक माओवादीका हातबाट मारिए, बेपत्ता पारिए । त्यतिबेला विनाकसुर अंगभंग पारिएका, उठीवास लगाइएका हजारौँ जना अझै नपाइने न्याय पखेर बसेका छन् । 

त्यही माओवादी र तिनै नेता कार्यकर्ता अहिलेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मिसिएर उनीहरूकै अनुसार ‘एकाकार‘ भइसकेका छन् । गएको फागुन १ गते ‘जनयुद्ध’ दिवस पार्टीले नै मनाएपछि माओवादीका हातबाट त्यस दशकमा भएका सबै ज्यादती र अत्याचार पनि तिनले आत्मसात गरे । 

गायक पशुपति शर्मालाई सत्तारुढ नेकपा (नेकपा) भातृसंस्था युवा संघ नेपालले ‘लुट्न सके लुट’का बारेमा दिएको धम्कीलाई यही पृष्ठभूमिमा हेर्नुपर्छ । माओवादीको शैली नै प्रतिध्वनित हुन्छ, युवासंघको धम्कीमा पनि । गायक शर्मालाई व्यक्तिगतरूपमा ककस्ले धम्क्याए वा सल्लाह सुझाव दिए त्यसको खुलासा उनैले नगरुन्जेल अनुमानका भरमा टिप्पणी गर्नु उचित हुँदैन । सामाजिक सञ्जालमा देखिएका धम्कीका अक्षरहरूकै बारेमा पनि सत्तारुढ दल वा कुनै समूहलाई दोष दिनु न्यायोचित हुँदैन । यसैले पशुपति शर्माको ‘‘लुट्न सके लुट’’ भन्ने गीत युट्युबबाट हटाउनुको कारण युवा संघ नेपालले ‘‘पशुपति शर्माका कार्यक्रमहरू आआफ्नो ठाउँमा सशक्त बहिष्कार गर्न गराउन’’ सत्तारुढ दलका कार्यकर्तालाई दिएको निर्देशन र ‘‘कलाकारको करियरमा असर पर्नसक्ने कडा कदम’’ चाल्ने धम्की नै हुनुपर्छ । उनले ‘युवा संघका कार्यकर्ताले’ भनेपछि गीत हटाएको स्वीकार पनि गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गायक शर्माले ‘‘परिमार्जन सहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट हटाउने निर्णय गरेको’’ जानकारी दिन जारी गरेको विज्ञप्तिमा भने युवा संघ नेपालकै धम्कीले गीत हटाएको स्पष्ट लेखिएको छैन । बाध्य पारिएको ध्वनित भने हुन्छ । अलि बलियो र ठूलो समूहले धम्की दिएपछि व्यापारिक सफलतालाई व्यवसायको मुख्य मानक ठान्नेहरू वा अभिव्यक्ति स्वतन्त्रताभन्दा जीवनको सुरक्षालाई महत्त्व दिनेहरूले सम्झौता गरिआएको देखिएकै छ ।

गायक पशुपति शर्माको विज्ञप्तिमा ‘‘म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो‘‘ भन्नेमा आफू ‘दृढ रहेको’ उद्घोष गरिएको छ । यो उनको उद्घोष कति सार्थक हुने हो पर्खेर हेरौँ । पशुपति शर्माको व्यावसायिक चेत र कलाकारको निष्ठामध्ये केले जित्छ देखिने नै छ । 

Global Ime bank

मैले त युट्युबबाट हटाइएको समाचारपछि मात्र त्यो गीत सुनेको हो । ‘प्रतिबन्धित’ पुस्तक उहिले पनि खोेजीखोजी पढिन्थ्यो । चर्को विरोध नगरेको भए गीत यति लोकप्रिय पक्कै हुने थिएन । यसैले पशुपति शर्मालाई युवा संघको धम्कीले घाटामा पक्कै पारेको छैन । त्यसलाई उनले कति ‘बेच्न’ सक्छन् नाफा त्यसैमा निर्भर हुनेछ । गीत हटाइएपछि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा समेत यसको चर्चा भने चुलिएको छ । सत्तारुढ दलकै केही कार्यकर्तासमेत गीतमा आपत्ति गर्नैपर्ने खासै केही नभएको ठान्दा रहेछन् । त्यसो त युवा संघले नै गीत हटाएको पनि हैन । तर, कलाकार धम्कीको भाषा सुनेपछि गलेको अनुमान त सजिलै गर्न सकिन्छ नि ! उनका सहधर्मीहरूले ‘गीतजस्ताको तस्तै’ फेरि राख्न माग गरेका छन् । तर त्यो माग पूरा गर्न त पहिले पशुपति शर्माको मनोबल दृढ न हुनुपर्छ । हैन र ? 

अरवेलको नाइन्टिन एट्टीफोर   
जर्ज अरवेलले आफ्नो उपन्यास ‘नाइन्टिन एट्टिफोर’ मा कपटी शासकहरूको उछित्तो काडेका छन् । सन् १९४९ मा प्रकाशित यस उपन्यासमा उनले १९८४ को ‘समाजवादी राज्य’ कस्तो हुनसक्छ भन्ने कल्पना गरेका छन् । तर, सबै अधिनायकवादी शासकहरूको चरित्र र प्रवृत्ति त्यस उपन्यासका भेट्न सकिन्छ । शासकहरू असहमति, विरोध, विमतिजस्ता शब्द नै मेटिदिन्छन् र ठान्छन् जनतामा असन्तोष छैन । तैपनि, उपन्यासका मूल पात्रहरू भने अस्तित्वको खोजीमा हुन्छन् । 

उपन्यास चर्चा अहिलेका लागि थाती राखौँ । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनका लागि कानुन बनाउन लागेको र त्यो नियन्त्रणमुखी रहेको विषयमा नेपाली समाज र विशेषगरी सामाजिक सञ्जालमा विवाद चर्केको छ । सरकार समर्थकहरूमध्ये केही कुरा चपाएर बोल्दैछन् । भन्छन्- यो नियमनकारी प्रावधान अभिव्यक्ति स्वतन्त्रताको नियन्त्रणका लागि नभएर सञ्जाल सञ्चालकको नियमन गर्न हो । अर्काथरी अलि स्पष्टरूपमा भन्छन्- सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई तह लगाउन कानुन चाहिएको हो । झट्ट सुन्दा त दुवैथरीको तर्क खासै आपत्तिजनक लाग्दैन । अझ, अनुदार परम्परावादी सोच हुनेहरूलाई त यस्तो तर्क सही नै लाग्ला । 

भारतकै सिको ? 
भारतमा पनि अहिले सामाजिक सञ्जाल नियमनको विषयमा विवाद चलिरहेको छ । एकातिर, सरकार गुगल, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाललाई देशभित्र नियन्त्रण गर्ने कानुन बनाउन लागेको छ । अर्कातिर, ट्विटरको गोपनीयतासम्बन्धी नीतिमा भएको कडाइविरुद्ध संसदीय समितिले छानबिन गर्न थालेको छ । संसदीय समितिले सत्तारुढ भारतीय जनता पार्टीकै निर्देशनमा छानबिन थालेको अनुमान धेरैले गरेका छन् ।

समिति समक्ष वयान दिन ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेलाई भारत बोलाएको थियो । डोर्सेले आउन नसक्ने उत्तर दिएपछि संसदीय समितिले म्याद थपेको थप्यै छ । सम्भवतः संसारकै सबैभन्दा धेरै ट्रोल सेना भएकोे भारतीय जनता पार्टी यसरी ट्विटरमाथि खनिनुको कारण चाहिँ गोपनीयतासम्बन्धी नयाँ नीतिले ‘बदनियतपूर्ण ट्रोल सेना’लाई अप्ठेरो पर्ने भएकाले रहेछ ।  

पशुपति शर्माको गीतको विरोधसँग भारतको कथित नियमनको प्रयास कसरी जोडिन्छ भन्ने धेरैलाई लाग्न सक्छ । एउटामात्रै उदाहरण दिऊँ । विसं २०३२ सालमा पञ्चायती संविधान केही खुकुलो बनाउने गरी मस्यौदा तयार भएको थियो भन्ने संविधान सुधार सुझाव आयोगका सदस्य श्रीभद्र शर्मालगायतबाट धेरैपटक सुनेको छु । तर, त्यहीबेला भारतमा संकटकाल लगाइयो । भारतमा संकटकाल लाग्नेबित्तिकै नेपालमा पनि संविधान कडा पारियो । फलस्वरूप, २०३६ सालको आन्दोलन भयो । हुनत, बीपी कोइरालाको सुझबुझले त्यसको सजिलै अवतरण पनि भयो । नत्र, विद्यार्थी आन्दोलन अराजक भइसकेको थियो । सरकारमाथि बढी दबाब दिने कम्युनिस्ट र कांग्रेसकै पनि एउटा समूहको प्रयास सफल भएको भए सम्भवतः जनमत संग्रह हुने थिएन । हाम्रो पुस्ताले खुला राजनीतिक गतिविधि देखेको वर्ष त्यही हो । त्यो २०३६ पछि राजनीतिमा सक्रिय पुस्ता अहिले राजनीतिक नेतृत्वमा पुगेको छ । 

अहिले पनि भारतमा सामाजिक सञ्जालमा कडाइ गर्ने प्रयास सुरु भएको छ । देखासिकी नेपालमा पनि हुँदैछ । सामान्य लाग्ने यो अनुदारतातर्फको यात्राले देशलाई उज्यालोतर्फ पक्कै लाँदैन । मोदी र ओलीलाई चीनको जस्तै सामाजिक सञ्जाल नियन्त्रण गर्ने रहर हुनु अस्वाभाविक पनि होइन । राजनीतिक आस्थाका आधारमा यी दुवै लोकतन्त्रवादी हैनन् । दक्षिणपन्थी हुन् कि वामपन्थी अधिनायकवादी विचारबाट दीक्षित हुन् । राष्ट्रिय स्वयंसेवक संघ भनिने हिन्दू प्रभुत्ववादी संगठनका कार्यकर्ता अहिले पनि महात्मा गान्धीको हत्याको दृश्य गर्वपूर्वक दोहोर्याउँछन् । केपी शर्मा ओलीको पार्टीले त मुक्ति अधिकारी, यदु गौतमको हत्यालाई गर्वको विषय बनाइसक्यो कथित ‘जनयुद्ध’ दिवस आधिकारिकरूपमै मनाएर ।

पञ्चायत २०७५ 
पञ्चायतमा पनि केही खुकुलो भयो भने अनुशासनको पैरवी निकै चर्को स्वरमा गरिन्थ्यो । अहिले पनि समाजको एउटा वर्ग यही अनुशासनको नाम लिएर देशलाई अनुदारवादतर्फ धकेल्न उद्यत छ । पशुपति शर्मालाई गीत हटाउन बाध्य पारेर अनुदारवादीहरू एक पाइला अगाडि बढ्न सफल भएका छन् । प्रस्तावित परिवर्तन त झन् सरकारको हस्तक्षेप बढाउनेछ । नियमनको नाममा व्यक्तिको स्वतन्त्रता खोस्न हुने कि नहुने भन्ने प्रश्न राजनीतिको सबैभन्दा पुरानो विवाद हो । सत्ताको नियतमा सन्देह नभए त कानुनजस्तो बनाए पनि हुन्थ्यो होला । तर, शासन सधैँ नै अनुदार र ‘जालिम’ हुन्छ ।

यसैले व्यक्तिको गोपनीयता र स्वतन्त्रतामा अतिक्रमण गर्ने अधिकार दिने गरी कानुन बनाउनु शक्तिशालीको हस्तक्षेप सजिलो बनाइदिनु नै हो । प्रस्तावित कानुमा दुर्नियत लुकेको स्पष्ट देखिन्छ । भारतमा ट्विटरको गोपनीयता र नियमनका कारण भारतीय जनता पार्टीको ट्रोल सेनालाई घृणा फैलाउन अप्ठेरो भएपछि न प्रतिबन्ध लगाउने कानुन बनाइयो । नेपालमा प्रस्तावित कानुनसँग मिल्दोजुल्दो व्यवस्था र व्यवहार चीनमा छ क्यारे ! चीन जानेआउनेहरू नै भनुन् स्वतन्त्रताको संरक्षण त्यसबाट हुन्छ कि हुन्न ? त्यो नेपालमा कति सान्दर्भिक र उचित हुन्छ ?

अन्धकार यात्रा
पशुपति शर्माको गीतप्रति देखाइएको सत्ताधारीको असहिष्णुताले अन्धकारतिरको अनुदार यात्रा सुरु भएको भान हुन्छ । लगानी ठूलो भएपछि मिडिया त शासकले खरिदेरै पनि तह लगाउन सक्तोरहेछ । पत्यार नलागे विनोदविक्रम केसीको कविता ‘समाचार कक्षमा शासक’ पढे अझ स्पष्ट हुन्छ । (अहिलेसम्म विनोदलाई त कसैले धम्की दिएको छैन होला नि !) भारतमा त नयाँ शब्द ‘गोदी मिडिया’ प्रचलितै भएको छ । 

अन्त्यमा, व्यक्तिको अन्तिम सहारा अब सामाजिक सञ्जाल नै हो । अनि यसपछि आक्रमण हुने व्यक्तिको स्वतन्त्रतामै हो । यसैले अरू जे जे लुटे पनि खबरदार मेरो स्वतन्त्रता नलुट ! मेरो सबैभन्दा ठूलो सम्पत्ति यही स्वतन्त्रता हो । 

सम्बन्धित समाचार

गीत गाएर पाप गरेको होइन, युवासंघका कार्यकर्ताको फोन आएपछि हटाएको हुँ : पशुपति शर्मा 

 

लुट्न सके लुट् जस्ताको त्यस्तै अपलोड गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको माग 

 

पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ युट्युबबाट हटाइयो 

 

'असल नियतको गाली राज्यले सहनुपर्छ'


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC