site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
विवेक गुमाएको कांग्रेस
Agni Group
Global Ime bank
मूलतः चिकित्सा शिक्षामा सुधार र विकृतिको अन्त्यका लागि आमरण अनशनमा रहेका डा. गोविन्द केसीका मागमा नेपाली कांग्रेसले 'राजनीतिक माग' पनि देखेछ । त्यसैले डा. केसीका राजनीतिक मागहरूमा असहमति जनाउने निर्णय पनि कांग्रेसले गरेछ । बरु, डा. केसीसँग पहिलेका अनशनका बेला भएका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय कांग्रेसले गरेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र अर्का एक जना आयुक्तमाथि महाभियोग लगाउनुपर्ने बाहेक डा. केसीका अरू माग पूरै चिकित्सा  शिक्षासँग सम्बिन्धत छन् । यसैले कांग्रेसले 'राजनीतिक' देखेको माग महाभियोगसम्बन्धी नै हो भन्ने सहजै बुझिन्छ । अर्थात्, कांग्रेस अख्तियारका आयुक्तहरूमाथि महाभियोग लगाउने पक्षमा छैन । महाभियोगविरुद्ध उभिने अधिकार कांग्रेसलाई छ । तर, संसद्को सबैभन्दा ठूलो पार्टीका नाताले डा. केसीले किन महाभियोग लगाउने माग गरे र उनको माग किन सही वा गलत छ भनेर जनतालाई बताउने दायित्व पनि कांग्रेसको हुन्छ । यद्यपि,  कांग्रेसमा देखिएको यो विचलन उसको इतिहासअनुरूप भने छैन । लाग्छ, नेपाली कांग्रेस वास्तवमै तर्बुजा हुँदै गएको छ ।   
 
'तर्बुजा कांग्रेस' भन्ने शब्द ममता बनर्जीले भारतको पश्चिम बंगालको कांग्रेस पार्टीका लागि प्रयोग गरेकी थिइन् । तर्बुजा भनेर उनले बाहिर कांग्रेसजस्तै (हरियो) देखिए पनि भित्र कम्युनिस्टको (रातो) स्वभाव र चरित्र अपनाएका पश्चिम बंगालका कांग्रेसी नेता कार्यकर्तालाई भनेकी हुन् । यो संज्ञा मन परेकाले बेलाबखत कम्युनिस्टका पछि लागेका नेपालका कांग्रेसजन बारेमा म पनि प्रयोग गर्छु । ममता  पहिले भारतीय राष्ट्रिय कांग्रेसकै नेता हुन् । कांग्रेससँग दिक्क भएपछि उनले तृणमूल कांग्रेस नामको पार्टी खोलिन् र जनताका दैलोमा पुगिन् । अनि कम्युनिस्ट किल्ला' मानिएको पश्चिम बंगालबाट ३० वर्ष लामो कम्युनिस्ट शासन समाप्त पारिन् । फलस्वरूप, पश्चिम बंगाल पुनः विकासको बाटामा अग्रसर भएको छ । नेपाली कांग्रेस भने संसद्को सबैभन्दा ठूलो दल भएर पनि लोकतान्त्रिक प्रतिबद्धता संदिग्ध भएको संसद्को तेस्रो दलको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डको नेतृत्वमा सत्तामा जान मरिहत्ते गर्दैछ । 
 
कम्युनिस्टहरू राजनीतिलाई नैतिक हैन रणनीतिक दृष्टिबाट हेर्छन् र तदनुरूप अभ्यास गर्छन् । सिद्धान्ततः 'सर्वहाराको अधिनायकत्व'मा विश्वास गर्छन् तर सत्तामा जानका लागि संसदीय वा अरू प्रकारका लोकतान्त्रिक विधि अपनाउन पनि हिचकिचाउँदैनन् । उनीहरू आफ्ना सबै उचित अनुचित क्रियाकलापलाई सजिलै सैद्धान्तिक लेप लगाइदिन्छन् । कार्यकर्ता आफ्नो विवेकमा हैन नेताको इसाराबाट सञ्चालित हुन्छन् । 'निषेध'बाट प्रतिपादित सिद्धान्त भएकाले कम्युनिस्टहरू अरूलाई निषेध गर्ने धेरै बाटा सजिलै पहिल्याउँछन् । नेताले जे गरे पनि सही मान्ने र त्यही नेताले पछि आत्मालोचना गरेपछि गलत ठान्ने चलन कम्युनिस्ट पार्टीहरूको परम्परा हो । यसैले उनीहरू फुट्न र जुट्न पनि बेरै लगाउँदैनन् । आफैँले जाने जतिका सबै गाली गरेको व्यक्तिलाई तुरुन्तै नेता मान्न पनि तयार भइहाल्छन् । विधिको शासन, सत्याग्रह, नैतिकता, अहिंसाजस्ता विधि र प्रक्रियालाई कम्युनिस्टहरूले 'बुर्जुवा चरित्र' भन्छन् ।  साध्यका लागि जस्तो सुकैसाधनप्रयोग गरे पनि हुन्छ भन्ने मान्छन् ।
 
नेपाली कांग्रेसका कुनै पनि नेता कार्यकर्ता आफूलाई कम्युनिस्ट ठान्न पटक्कै तयार हुँदैनन् । हुन पनि  लोकतन्त्र, सामाजिक न्याय, विधिको शासन, राजनीतिक नैतिकताजस्ता नाराबाट आकर्षित भएरै उनीहरू नेपाली कांग्रेसमा लागेका हुन् । कांग्रेसमा यस्ता कुनै पनि गुण छैनन् वा रहनेछैनन् भन्ने थाहा भएको भए पक्कै पनि उनीहरू यो पार्टीमा लाग्ने थिएनन् । तर, अहिलेको कांग्रेस बदलिएको छ ।  यसैले अधिकांश कार्यकर्ताले पार्टीले सैद्धान्तिक बाटो बिराउँदै जाँदा पनि मेसै पाउँदैनन् । पार्टीले गल्ती गरेको देख्दै देख्दैनन् । अर्थात्, कम्युनिस्टहरूले जस्तै नेताको निर्णय गलत भए पनि सही मानेर स्वीकार गर्छन् । विवेक प्रयोग गर्नेहरू कि त पार्टी छाडेर हिँड्छन् नभए निष्क्रिय हुन्छन् । नेताका निर्णयमा प्रश्न उठाउनेहरू सजिलै मूलधारबाट पान्छ्याइन्छन् । अर्थात्, कम्युनिस्ट पार्टीमा जस्तै हुने गरेको छ । 
 
परन्तु, नेपाली कांग्रेस सत्याग्रहका जगमा बनेको पार्टी हो । पार्टी स्थापनाका लागि बनारसमा वा कलकत्तामा भएका भेलाहरूकै जगमा यो पार्टी बनेको कसैले ठानेको छ भने त्यो भ्रम हो । कांग्रेसको बीजारोपण त पिताजीका नामले विख्यात कृष्णप्रसाद कोइरालाले चन्द शमशेरलाई पठाएका गरिब नेपालीको टोपी र भोटाको पार्सलमै भएको थियो । यस्तै कांग्रेसको जग त मोहन शमशेरको शासनलाई झुकाउने विश्वेश्वरप्रसाद कोइरालाको अनशनबाट बसेको हो । कांग्रेसमा अहिले नेपाल विद्यार्थी संघका नेताहरूको नेतृत्व छ । नेविसंघको स्थापना कृष्णप्रसाद भट्टराईको 'पञ्चायत स्वीकार नगर्ने, हतियार नउठाउने र पराइभूमिमा आन्दोलन नगर्ने' सैद्धान्तिक अडानको जगमा भएको हो । कांग्रेसले हतियार पनि उठायो देशमा लोकतन्त्र स्थापनाका लागि । अनि, मेलमिलापको नीति अपनायो राष्ट्रियता जोगाउनका लागि । पञ्चायतका स्थानीय निर्वाचनमा भाग लिँदा पनि कम्युनिस्टहरूले ढाँटेर, पञ्च नै भएर भाग लिए भने कांग्रेसले आफ्नो पहिचान नलुकाई सहभागी भएको थियो । अर्थात्, कांग्रेस विगतमा सधैँ नै कांग्रेस रहिआएको थियो । त्यसको प्रमुख कारण सत्य, सिद्धान्त र विवेकको निर्देशमा अडिग रहनु थियो ।
 
कांग्रेसका कार्यकर्तामा पहिले त चित्त नबुझेमा कुरा बुझेपछि चुप लाग्ने बानी थिएन । तर, अहिले धेरैमा कुरो बुझेपछि चित्त नबुझे पनि चुप लाग्ने प्रवृत्ति देखियो । आफैँलाई ढाँट्न खोज्नेहरू यसरी चुप लाग्छन् । समाजको नेतृत्व गर्नेहरू यसरी आफैँसँग भाग्दैनन् । डा. केसीका माग राजनीति देख्नेहरूले स्पष्ट भन्न सक्नुपर्थ्यो हामी लोकमान सिंह कार्कीविरुद्ध जान सक्तैनौ । तर, कांग्रेसले त रकमी निर्णय पो गरेछ । डा. केसीले अख्तियारका आयुक्तहरूविरुद्ध प्रमाणसहित आरोप लगाएका छन् । संवैधानिक निकायका पदाधिकारीमाथि आरोप लागेपछि छानबिन गर्ने संसद्ले नै हो । संसद्ले छानबिन नगर्ने हो भने असंवैधानिक बाटोबाट समाधान खोज्नुपर्छ । त्यसो गर्नु परे संविधान विफल भएसरह हुन्छ । के नेपाली कांग्रेस यो संविधान विफल होस् वा असफल देखियोस् भन्ने चाहन्छन् ? कम्युनिस्टहरूका लागि संविधानबाहिरबाट समाधान खोज्न अप्ठेरो नलाग्नु अस्वाभाविक होइन तर कांग्रेसले त विधिको सम्मान गर्नुपर्ने नि !
 
आरोप लाग्दैमा कोही पनि कसुरदार ठहरिँदैन । आफ्नो सफाइ पेस गर्ने र अपराध सिद्ध नहुँदासम्म व्यक्ति निर्दोष ठानिन्छ । अख्तियारका आयुक्तहरू पनि आरोप लाग्दैमा अपराधी भइहाल्दैनन् । छानिबन भएपछि कसुरदार ठहरिए उनीहरूलाई हटाउने संवैधानिक प्रक्रिया सुरु हुन्छ । संसदीय छानबिनमा उनीहरू निर्दोष देखिए भने डा. केसीले पनि पक्कै महाभियोग लगाउनै पर्ने हठ नगर्लान् ।  कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले भनेजस्तै अख्तियारका आयुक्तहरूविरुद्ध प्रश्न उठेपछि पनि छानबिन गर्नबाट पन्छनु रकमी कायरता हो । यसले स्वयं आरोपित आयुक्तहरूको पनि भलो हुँदैन । कारण, छानबिन नहुँदासम्म  त उनीहरू सन्देहको घेरामै रहिरहने छन् । यस प्रकरणमा संसद्ले अपनाउने अभ्यास परम्परा बन्नेछ । जनताले चुनेको संसद्लाई सार्वभौम निकाय बनाउने कि कसैको इसारामा चल्ने कठपुतली भन्ने प्रश्नको निर्णय पनि यस प्रकरणमा हुनेछ ।
 
सदनले समाधान नगरे वा सरकार तमासे भए जनताले सडकबाट समाधान निकाल्छन् । डा. केसीको अनशनको उत्तर सडकबाट निकाल्नु पर्ने अवस्था उत्पन्न भयो भने सबैभन्दा ठूलो क्षति कांग्रेसलाई नै हुन्छ । नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो र संसदीय पद्धतिको पक्षधर लोकतान्त्रिक दल भएको नाताले संविधानवादको पराजयमा सबैभन्दा धेरै हार त कांग्रेसकै हुनेछ । कांग्रेसले इतिहास सम्झेर सत्ताका लोभमा विवेक गुमाउने काम नगरोस् । अझै पनि भरोसा कांग्रेसकै हो । गगन थापा, प्रदीप पौडेलहरू कांग्रेसमै छन् । सत्याग्रहीको समर्थनमा बाबुराम भट्टराई अगाडि सरेको र कांग्रेसका नेताहरू काइते तर्क गरेर पन्छेको विडम्बना पनि देख्नुपर्ने रहेछ । समयले कति निर्मम व्यंग्य गरेको हो यो ?
 
   
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC